बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बहिनीसँग आपत्तिजनक अवस्थामा भेटेपछि आफ्नै साथीको हत्या

साथीलाई ढाँटेर केटी भेट्न पुगेका थिए अविनाश
शनिबार, २८ मङ्सिर २०७६, १० : ३५
शनिबार, २८ मङ्सिर २०७६

भरतपुर महानगरपालिका–२७ घर भएका कालीराम महतो १०/१५ जना कामदारहरु राखेर गाउँघरमा घर बनाउने ठेक्कापटाको काम गर्थे । 

कालीरामले छोरा अविनाश महतोलाई पनि सँगै काममा राख्थे । अविनाशसँग गाउँकै विनोद महतो, विजय महतो, दिपेन्द्र महतो र यमकुमार महतो पनि काम गर्थे । सबैले सबैलाई विश्वास पनि उत्तिकै गर्थे । 
उनीहरुले भरतपुर महानगरपालिका–२७ स्थित भंगाह चोकका सिखाराम महतोको घर ठेक्कामा लिएर बनाइरहेका थिए । घटना हो मंसिर १२ गतेको । 

घरधनी सिखारामले ढलानको काम सकिएको भन्दै ३ बजेतिर काम सकेर उनीहरुलाई कुखुरा काटेर भोज खुवाएका थिए । भोजमा रक्सी पनि थियो । हल्का रक्सी पिइसकेका अविनाश बेलुकी करिब ६ बजेतिर घर जान्छु भन्दै निस्के साथीहरुसँगै । 

नयाँ पटिहानी चोक पुगेपछि उनीहरुले फेरि रक्सी थप्न सुरु गरे । साथीहरु धन बहादुर महतो, सुकराम महतो र अविनाश गरी ४ जना नयाँ पटिहानी चोकको ग्रिन चिल्ली रेस्टुरेन्टमा बसेर २ वटा बियर र १ प्लेट सुकुटी खाए । 

खाइसकेर सुकराम र अविनाश पर्साढापस्थित घर जाने भन्दै हिँडे । चिसोका कारण डम्म हुस्सु लागिसकेको थियो । 

अलि पर पुगेपछि सुकरामले अविनाशलाई देखेनन् । पछाडि आउँदै होला, हुस्सुले नदेखिएको होला भन्ठाने । त्यति चासो गरेनन् । सरासर आफ्नो घर गए र खाना खाएर सुते । तर अविनाश भने पुरानो पटियानीतिर लागिसकेका थिए ।

साँझ करिब ७ः४२ बजे पटियानी पुगेका अविनाशले लगातार ४ पटक यमकुमारको बहिनीलाई फोन गरे । अन्तिममा यमकुमारको बहिनीको फोन उठ्यो । 

फोनको क्रममा ‘म हिजो तिमीलाई भेट्ने आशामा राती तिम्रै घरमा बसें । तर, तिमीसँग भेट भएन । आज म तिम्रै घर नजिकै छु जसरी नि भेट्न आउ’ भने ।

राति करिब ९ बजेतिर यमकुमारको बहिनी पिसाब फेर्ने बहानामा बाहिर निस्किइन् । अविनाशलाई घरको पछाडी उभिएका देखेर उनी सिधै त्यहाँ पुगिन् । 

अविनाशले उनलाई हातमा समातेर नजिकै पराल राखेको ठाउँमा लगे । लगत्तै शारीरिक सम्पर्क गर्न खोजे । खासखुस गरेको आवाज केटीको दाइ दीपेन्द्रले थाहा पाए । 

नयाँ बन्दै गरेको घर थियो । झ्याल थिएन । दीपेन्द्रले उनीहरुलाई देखे । दीपेन्द्र एक्कासी त्यहाँ पुगेर अविनाशलाई समातेर कुटपिट गर्न थाले । 

कुटपिट गरेको खबर गाउँभरी फैलियो । अनि यमकुमार, विनोद, विजय पनि पुगे र सबै मिलेर काठको चिर्पट लगायतले निर्घात कुटपिट गरे । कुटपिटकै क्रममा अविनाशको मृत्यु भयो । 

खाल्डो खनेर गाडेको अवस्थामा अविनाशको शव ।

घटना लुकाउने प्रयास
अविनाशको मृत्यु भएपछि उनीहरुले घटना लुकाउन आफ्नै घरमा रहेको पर्दाले बाँसको लाठीमा अविनाशको शवलाई बेरेर घर भन्दा झन्डै १ किलोमिटर पर दक्षिणमा रहेको सारंगा होटल नजिकको खोला किनारमा लगि राति नै खाल्डो खनेर पुरिदिए । 

खाल्डोमा शव गाडेर कसैले नदेखोस् भनेर उनीहरुले पुरेको माथिपट्टि हरियो बाँसको झिक्राले समेत छोप्न भ्याए ।  

यसैबिच अविनाश र यमकुमारकी बहिनीको करिब ९/१० महिनाअघि नै घर बनाउने कामको सिलसिलामा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरुबीच मोबाइलमा मात्र नभएर बेलाबेला म्यासेन्जरमा समेत कुराकानी हुने गरेको पाइएको छ । 

घटना भएको दिन आफूहरुलाई त्यस्तो अवस्थामा देखेपछि दाजुहरुले अविनाशलाई कुटपिट गर्ने क्रममा अविनाशको मृत्यु भएको यमकुमारीकी बहिनीले प्रहरीसमक्ष बयान दिएकी छन् । 

उनकै बयानको आधारमा थप ४ जनालाई पक्राउ गरिएको हो । 

अविनाशको हत्यामा संलग्न चारै जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत चितवनबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अविनाशको हत्यामा संलग्न चारजना ।

यसरी पुग्यो प्रहरीमा जाहेरी

अविनाशका बुबा कालिरामले छोरा बेपत्ता भएको भन्दै भोलिपल्ट मंसिर १३ गते बिहान इलाका प्रहरी कार्यालय दिव्यनगरमा खोजतलासको निवेदन दिए । 

जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर दयाकृष्ण भट्टको नेतृत्वमा तत्काल अनुसन्धान तथा खोजतलासमा जुटेको प्रहरीले अविनाशले चढ्ने गरेको साइकल पुरानो पटिहानी नजिकै खेत छेउको कच्ची बाटोमा वेवारिसे अवस्थामा फेला पार्यो ।

स्थानीय मानिस समेतसँग सोधपुछ गर्दा घटनाका बारेमा कुनै थप प्रमाण नभेटिएपछि मृतकका आफन्त, स्थानीय समेतको सहयोगमा प्रहरीले २ दिनसम्म उक्त साईकल फेला परेको स्थान आसपासको बस्ती, खेत, जंगल, खोला समेततिर खोजी गर्यो ।

र, अन्ततः अविनाश बेपत्ता भएको २ दिनभित्रै प्रहरी घटनास्थलसम्म पुग्न सफल भयो । 

कर्तव्य गरि मारेर गाडिएको अवस्थामा अविनाशको शव फेला परेपछि प्रहरीको शंकाको सुई उनीसँगै काम गर्ने सुकराम, दिपेन्द्र, विजय, विनोद र यमकुमार महतोलगायतका अविनाशका साथीहरु तिर सोझियो । 

सोधपुछको क्रममा उनीहरुले घटनाबारे कुनै जानकारी नभएको भन्दै इन्कारी बयान दिए । 

ति मध्येका दीपेन्द्र र यमकुमारले अविनाश पल्लो गाउँको केटीहरुसँग लागेकाले त्यसैको कारण घटना भएको हुनसक्ने भन्दै २ दिनसम्म प्रहरी अनुसन्धान नै अर्कैतिर मोडिदिए । 

पछि मृतक र शङ्का लागेका व्यक्तिहरुको मोवाइलमार्फत प्रहरी घटनाको गहिराइसम्म पुग्न सफल भयो ।  

अविनाशको हत्यापछि शव खाल्डो खनेर गाडेको घटनास्थल ।

प्रहरीको निरन्तरको सक्रियताका कारण निर्ममता पूर्वक हत्या गरि शव लुकाइएको रहस्यमय घटनामा शीघ्र अनुसन्धान गरि ३÷४ दिनभित्रै घटनामा संलग्न सबै व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउन प्रहरी सफल भएको चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले बताए ।

बेला–बेला यस्ता घटनाहरु भइरहेको छ । यसअघि भक्तपुरमा एक युवक र युवतीलाई आपत्तिजनक अवस्थामा देखेपछि युवतीको दाईले युवकलाई कुटपिट गरेर हत्या गरेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार पारिवारिक र कानुनी शिक्षाको कमीको कारण यस्ता घटनाहरु घट्ने गर्छ । 

उनी भन्छन्, ‘अहिलेका बालबालिका प्रायः एकल परिवारमा हुर्किन्छन् । संयुक्त परिवारका बच्चाहरूले परिवारका सदस्यबाट नैतिक अनुशासन सिक्छन् र ठूलाले भनेको पनि मान्छन् । तर अहिले परिवारमा नैतिक अनुशासन हराइसक्यो । अहिलेको पुस्ता काममा व्यस्त छ । आमाबुवाले प्रशस्त समय दिन सकिरहेका छैनन् । पुरानो पारिवारिक संरचना हराएकाले राम्रा कुरा सिक्न पाएनन् र नराम्रो कुरा हटाउन पनि सकिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप