पोखरामा आकाशे पुल निर्माण कार्य सुरु
पोखरा । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण शुरुआत गरेको छ ।
बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको छ ।
वडा नं ८ स्थित सिर्जनाचोकमा बन्न लागेको पुलको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै पर्यटकीय शहर पोखरा शान्त, सुरक्षित र कोलाहल मुक्त छ भन्ने सन्देश विश्वलाई दिनुपर्नेमा जोड दिए ।
उनले भने, “ बजार क्षेत्रमा बन्ने आकाशे पुलबाट सर्वसाधारणलाई सहज हुन्छ । दुर्घटनाको जोखिमसमेत घटाउने छ । ”
महानगरले रु दुई करोड ३० लाख ११ हजार लागतमा सो पुल आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी केएम जेभिएनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको छ ।
पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गरिने इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए । उनका अनुसार चालू वर्षभित्रमा अन्य दुई स्थानमा समेत निर्माण थालनी गरिने छ ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा आकाशे पुल वर्षौँदेखिको आवश्यकताका रुपमा रहेको चर्चा गर्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा लिनुपर्ने बताए ।
प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले निर्धारित मितिभित्रमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याए ।
महानगर प्रमुख मानबहादुर जिसीले आकाशे पुलसँगसँगै मुख्य चोकमा ट्राफिक बत्ती राख्ने योजनासमेत अघि बढेको जानकारी दिए । उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा विकास र समृद्धिको यात्रामा महानगर अघि बढेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक