‘महानायक’ को अबको यात्रा – राजनीति ?
महानायक राजेश हमालको परिवारको फिल्मप्रतिको आकर्षण गज्जबको थियो । उनका बुबा चूडाबहादुर हमाल फिल्म हेर्न निकै रुचाउँथे । बनारसमा अध्ययन गरेका हमालका बुबा हिन्दी फिल्मका पारखी थिए । राजकपुरका फ्यान ।
दूतावासमा जागिरे भएपछि आफूले सिनेमाको पर्दामा भेटेका कलाकारसँग प्रत्यक्ष भेट्ने अवसर पाउँदा चूडाबहादुर दङ्ग पर्दै हमाललाई ती कलाकारसँग खिचाएका तस्बिर देखाउँथे । किस्सा सुनाउँथे । तर उनले हमाललाई ‘तँ पनि एक दिन यस्तै कलाकार बन्नुपर्छ’ भनेर कहिल्यै भनेनन् । अर्थात, चूडाबहादुर हमाललाई कलाकार बनाउन थाहँदैनथे ।
छोरोलाई जागिरे बनाउने चूडाबहादुरको चाह थियो । ‘सायद उहाँ दुई–तीन वर्षमा एक पटक बन्ने नेपाली फिल्ममा छोरोको भविष्य छैन भन्ने सोच्नुहुन्थ्यो’, हमाल बुबाको नजरबाट आफूलाई चिहाउँछन् ।
तर हमालले आफ्नो मनसाय बनाइसकेका थिए । नेपाली फिल्ममा भविष्य खोज्छु भन्ने । बुबा भन्थे, ‘एउटा फिल्म खेलेर के गर्छस् । तेरो भविष्य कसरी बन्छ ।’ हमाल चुपचाप बुबाको कुरा सुन्थे । किनकि उनीसँग त्यसको कुनै उत्तर थिएन । फिल्म असफल भए त अर्कै कुरा फिल्मले अपार सफलता हासिल गर्यो भने पनि के गर्ने, कहाँ जाने भन्ने हमाललाई थाहा थिएन ।
तर पनि हमाल पछि हटेनन् । उनले आफैसँग सङ्घर्ष गरे, भावनात्मक सङ्घर्ष । परिवारको इच्छाविपरीत जाँदा गर्नुपर्ने हरेक खाले सङ्घर्ष ।
सिनेमा खेल्नु हमालको चाह यत्ति थियो । सिनेमा खेलेर हिरो बनियोस् या नबनियोस् ।
०००
जीवनको पहिलो फिल्म हमालले भारतको दिल्लीमा हेरे । उनका बुबा भारतस्थित नेपाली दूतावासमा जुनियर अधिकृतको रूपमा सरुवा भएर गएका थिए । राजेश पनि बुबासँग उतै पढ्थे । दूतावास नजिकै सप्रो हाउस थियो । हरेक आइतबार त्यहाँ फिल्म लाग्ने । हमाल त्यतिबेला पुगनपुग ४ वर्षका थिए ।
त्यो फिल्म कुन हो हमाललाई अहिले ठ्याक्कै याद छैन । ‘ममता हो कि’ उनी विगत केलाउन खोज्छन् ।
उनले हेरेको पहिलो नेपाली फिल्म ‘आमा’ हो । त्यतिबेला नेपाली फिल्महरु कमै बन्थे । हलमा फिल्म लाग्यो कि सबैको चासो बढ्थ्यो । नाम, कथा, कलाकार, निर्देशक भन्दा पनि नेपाली फिल्म भन्ने भावना पाइन्थ्यो । ४–५ वर्षमा एक पटक लाग्ने नेपाली फिल्म हेर्ने अवसर हमालले एक कक्षामा पढ्दा पाएका हुन् ।
त्यसपछि चार कक्षामा पुग्दा उनले फेरि अर्को नेपाली फिल्म हेरे, ‘हिजो आज र भोलि ।’ तर उनलाई अहिले यी फिल्मको कथावस्तुबारे सम्झना छैन । ७ कक्षामा पढ्दा हमालले ‘मनको बाँध’ हेरे । त्यसको भने उनलाई राम्रोसँग सम्झना छ ।
हमालले फिल्म हेर्दा बालकुनीको दुई–अढाई रूपैयाँ टिकट मूल्य थियो । सामान्यको एक मोर (पचास पैसा) । हमाल विगततिर पुग्छन्, ‘एक रूपैयाँमा गाडीमा चढेर काठमाडौँ घुमिन्थ्यो । १० रूपैयाँ भयो भने त राम्रो रेस्टुरेन्टमा बसेर मज्जाले खान पुग्थ्यो ।’
नेपाली फिल्मका महानायक हमालप्रति मानिसहरुको बुझाइ हुनसक्छ, यो सानोमा सिनेमाको किरो नै हुनुपर्छ भन्ने । तर त्यस्तो केही होइन । उनी हिन्दी फिल्महरु हेरेर प्रभावित भएका पनि होइनन् । भारतमा क्याम्पस पढेका हमाललाई उनका उमेरका साथीभाइले हेर्ने कमर्सियल फिल्महरुले कहिल्यै तानेन ।
कुनै फिल्म लाग्यो भने ‘फस्ट डे फस्ट सो’ हेर्ने भन्ने हुन्थ्यो । तर हमाल यो जमातमा कहिल्यै परेनन् । कहिलेकाहीँ साथीहरुले कर गरेर ‘हिँड् न यार’ भनेपछि उनी हल पुग्थे । हलमा फलानोको फिल्म चलेको छ, जानैपर्छ भन्ने साथीहरुको क्याटागोरीमा हमाल कहिल्यै परेनन् ।
बरु उनी फिल्म नै हेर्न गइहाले भने पनि आर्ट फिल्महरु हेर्थे । त्यसबेलाका अफ बिट फिल्महरु । या त चण्डीगढमा आइतबार लाग्ने अङ्ग्रेजी फिल्म हेर्न सुटुक्क पुग्थे ।
हमालको आर्ट फिल्म हेर्ने लत चाहिँ रुसमा बसेको हो । बाबुको सरुवा भएपछि उनी ९ कक्षा पढ्न रुस पुगे ।
‘प्राय रसियन फिल्महरु बालबालिकालाई केन्द्रित गरेर बनाइएको हुन्थ्यो’, हमाल भन्छन्, ‘त्यो हेर्न स्कुलले पनि प्रोत्साहन गर्ने र परिवारले पनि ।’ रुसमा त्यतिबेला ग्लामर फिल्महरु खासै बन्दैनथे । जीवन, संस्कृति र इतिहाससँग सम्बन्धित फिल्महरु प्रदर्शनमा आउँथे ।
यस्ता फिल्म हेरेका हमाललाई भारतीय फिल्ममा रुचि नपर्नु स्वभाविक थियो । त्यसैले साथीहरु अमिताभ बच्चनको फिल्म हेर्न जाँदा हमाल अङ्ग्रेजी फिल्म कुरेर बस्थे ।
रसियन फिल्मले हमालमा समाजप्रतिको बुझाइ र हेराइका सम्बन्धमा गज्जबको चाह जागृत गरिदियो । समाजको सतही नभएर त्यसको गहिराइ, मानवीय मनोविज्ञान बुझ्नमा उनी लालाहित हुन थाले । जानमा होस् या अञ्जानमा उनको मनमा आउने भावनाहरु समाजप्रति समर्पित हुन थाल्यो ।
त्यसपछि उनको फिल्मप्रति आकर्षण बढ्यो । कलाकारका रूपमा होइन, मध्यकको रूपमा । हमाल भन्छन्, ‘फिल्मबाट त मानिसको जीवनका हरेक पक्षहरु सार्वजनिक गर्न सकिँदो रहेछ भन्ने लाग्यो ।’
०००
कुरा २०४६ सालको हो । त्यतिबेला हमाल भारतमै पढ्थे । बिदामा केही दिनका लागि नेपाल आएका थिए । नेपालस्थित भारतीय दूतावासबाट उनलाई फोन आयो, ‘तपाईं नेपाल आउनुभएको रहेछ । हामी बानेश्वरको एभरेस्ट होटलमा मोडलिङ प्रतियोगिता गर्दैछौँ । तपाईं पनि सहभागी हुनुपर्छ ।’
नेपालकै पहिलो मोडलिङ प्रतियोगिता थियो त्यो, -यापमा हिँड्ने । हमालले भारतमा हुँदा केही म्याजेजिनमा मोडलिङ गरिसकेका थिए । बुबा दूतावासकै जागिरे भएकाले कर्मचारीले चाल नपाउने कुरै थिएन । यसरी उनलाई ¥याम्पमा हिँड्न निम्तो आयो ।
हमाल सहभागी भए । २० जना युवतीहरुको बीचमा उनी एक्ला पुरुष । त्यै पनि उनी सानका साथ -यापमा हिँडे । ‘ममा फिल्मप्रतिको जुनुन भित्रैदेखि थियो । सायद त्यही कुरा प्रस्तुत गर्न चाहन्थेँ म’ हमाल हाँस्छन् ।
त्यसपछि सिनेमा प्रतिको उनको मोह झन् बढ्दै गयो । उनी आफ्ना भावनाहरु सिनेमाको माध्यमबाट अभिव्यक्त गर्न चाहन्थे । आफ्नो जीवनकालमा चाहेर पनि अभिव्यक्त गर्न नसकेका भावनाको माध्यम फिल्म हो भन्ने उनको मानसपटलमा परिसकेको थियो ।
भावनाहरु अभिव्यक्त नगर्दाको जीवन के जीवन, हमाल यस्तै सोच्थे । औपचारिकता, संस्कृति, घरानिया इज्जत, परिवेशले गर्दा रिसाउन चाहेको मानिस रिसाउन सक्दैन, ब्यक्त गर्न खोजिएको प्रेमभाव व्यक्त गर्न सक्दैन, रुन चाहेको रुन र हाँस्न चाहेको हाँस्न सक्दैन । राजेश पनि सक्दैनथे । त्यसैले उनले सिनेमालाई माध्यम बनाउन चाहे ।
हमाललाई लाग्छ मानिसहरु दुई किसिमले जिउँछन् । एउटा वास्तविक रूपमा, बाहिर जे देखिएको छ त्यो जीवन ।
अर्को, कल्पनाको संसारमा जिइरहेको जीवन । हमाल पनि कल्पना र दिमागमा एउटा दृष्टिकोण राखेर अर्कै संसारमा जिउन थाले । त्यो संसार सिनेमाको थियो ।
हमाल एउटा क्याफेमा बसेर कफी पिइरहेका हुन्छन् । त्यति नै बेला युवतीको प्रवेश हुन्छ । उनको टेबलमा गुलाफको फूल हुन्छ । उनी युवतीलाई देख्नासाथ झट्ट उठ्छन् र आफ्ना केही कुरा राखेर फूल युवतीलाई दिन्छन् । यहाँ राजेश कुनै फिल्मको सुटिङको कल्पना गर्दैछन्, जहाँ हिरो उनी र युवती नायिका हुन् ।
‘हेर्नुस् त जीवनमा कुण्ठित भावना फिल्ममा कसरी व्यक्त गर्न सकिँदो रहेछ । वास्तविक जीवनमा चाहेर पनि त्यसो गर्न सकिँदैन । उसले झापड हान्ने डर हुन्छ नि’, राजेश जोडले हाँस्छन् ।
मानिस आफ्ना भावनासँग जब पूर्णरूपमा खेल्न सक्छ तब मात्र उसले पूर्ण जीवन जिएको हुन्छ, हमालको बुझाइमा । र, उनलाई त्यही पूर्ण जीवन जिउने चाहले सिनेमातर्फ डोहर्याउँदै थियो । सायद उनी कसैलाई प्रेमपूर्वक मनको विचलन सुनाउन सकिरहेका थिएनन् ।
प्रेम मात्र होइन, सिनेमामा रिस पनि पोख्न पाइन्छ । भिलेनले कसैमाथि दुव्र्यवहार गर्दा उसको कठालो समात्न पाइन्छ, नेताले भ्रष्टचार गर्दा मुड्की बजार्न पाइन्छ ।
०००
अन्नतः हमालले नेपाली सिनेमाको यात्रा तय गरेरै छाडे । परिवारसँग अन्तरविरोध गरे ।
आफूले कलाकारसँग भेट्दा छोरालाई किस्सा सुनाउने हमालका बुबाले उनको फिल्मको सुटिङ कस्तो भयो भनेर कहिल्यै सोधेनन् ।
सुटिङ सकियो । फिल्मको प्रिमियरको समय पनि आयो । तर पनि परिवारको मन फेरिएन । छोराको कामको परिणामप्रति उनीहरुको चासो रहेन । साथीहरुका बुबाआमा मात्र होइन मामासमेत प्रिमियर हेर्न आएका थिए । हमाललाई त्यतिबेला नमीठो लाग्यो । उनले एक मित्र लिएर गए ।
जीवनमा आफ्नै फिल्म हेर्दा हमाललाई आनन्द आयो । फिल्म हेर्नेहरुले दिएको सकारात्मक प्रतिक्रियाले खुसी दियो । फिल्मका पात्रहरुसँग आफ्ना भावनाहरु साट्न पाउँदाको सन्तुष्टि त बेग्लै थियो ।
र, फिल्म ‘युगदेखि युगसम्म’ हिट पनि भयो । त्यसपछि राजेश हमालको नेपाली सिने जगतमा धमाकेदार प्रवेश ।
तर, एउटा कलाकारले फिल्म खेलेर आफ्ना आवश्यकताहरु पूरा गर्न सक्ने अवस्था थिएन त्यतिबेला । फिल्म खेल्दा पाउने पारिश्रमिक कति भन्ने नै ग्यारेन्टी हुन्थेन ।
त्यसैले त हमाललाई धेरैले प्रश्न गर्थे, तपाईं फिल्म त खेल्नुहुन्छ वास्तवमा तपाईं काम चाहिँ के गर्नुहुन्छ ?
हमालको फिल्म यात्राप्रति परिवारको सपोर्ट नरहे तापनि आर्थिक रूपमा भने सहयोग रह्यो । तर, यो समस्या धेरै समय रहेन । उनका फिल्म चल्दै गएपछि माग पनि बढ्दै गयो । हमालले आफूले लिने पारिश्रमिक तोक्दै गए, बढाउँदै लगे । र, आफूलाई व्यावसायिक बनाए ।
०००
हमालको कपालप्रतिको प्रेम अचम्मको छ । उनलाई अभिनय गराउन निकै सहज थियो तर कपाल कटाउन गाह्रो । ‘कपालसँगको मेरो साइनो भनेको फिल्ममा आउनुभन्दा पहिल्यैदेखिको हो’, उनी प्रष्ट्याउँछन् ।
उनी प्रायः लामो कपाल पाल्थे । सिनेमामा आएपछि चरित्रअनुसार अभिनय गर्नुपर्ने हुन्छ । त्यसका लागि कहिले कपाल पाल्नुपर्छ त कहिले काट्नुपर्छ । तर हमालले त्यो गरेनन् । उनलाई लाग्छ, चरित्रसँगै कलाकारको हाउभाउ पनि दर्शकका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
‘आफूले मन पराएको कलाकारले चाहे चौकीदारको भूमिका गरोस्, चाहे भरियाको गरोस्, चाहे प्रहरीको या गाउँलेको । आफूले रुचाउको कलाकारको स्टाइल नफेरियोस् भन्ने चाहना राख्नुहुँदोरहेछ’ हमाल भन्छन् । सायद दर्शकको त्यही प्रेमका कारण उनले कपाल काटेनन् ।
हमालका प्रायः फिल्महरुमा एक्सन हुन्छ । ‘हे’ भनेर उनी हात उठाउँछन् । तर ‘जीवन सङ्घर्ष’ फिल्ममा उनको एक्सन थिएन । त्यतिबेला दुई जना दर्शकले हमाललाई चिठ्ठी लेखे, ‘दाइ तपाईंको त यो फिल्ममा कपाल नै हल्लिएन’ भनेर । हमाल लाउड्ली हाँस्छन् ।
हमालले सुरुवाती दिनहरुमा युगदेखि युगसम्म, अधिकार, कसम, गोपि कृष्ण, देउता, भाउजु फिल्म खेले । उनले हरेक फिल्ममा आफ्नो चरित्र परिवर्तन गर्दै लगे, कहिले भरिया, कहिले लभर ब्वाय, कहिले प्रहरी, कहिले गाउँले, कहिले के त कहिले के । हिमालको शेर्पादेखि काठमाडौँको नेवार र तराईको किसानसम्म । पछिल्लो समय सकुन्तलासम्म आइपुग्दा नारीको भूमिका ।
फरक–फरक चरित्र निभाउनु हमालले फिल्म खेल्नुअघि चाहेको भावनाको अभिव्यक्ति न थियो । जसलाई उनले पूरा गरे । अर्थात, उनले आफूले चाहेको जीवन जिए ।
तर, तपाईंलाई नाच्न आउँदैनथ्यो रे नि ?
‘म आत्माबाट नाच्ने मान्छे हुँ । तपाईंले अहिले यहाँ सङ्गीत बजाइदिनुभयो भने म उठेर हल्लिहाल्छु । तर कुन स्टेप कसरी मिलाउने भनेर मलाई आउँदैन’ हमाल भन्छन् ।
डाइरेक्टरले मलाई यही स्टेप चाहिन्छ भनेर उर्दी जारी गरे भने हमाल घन्टौँ लगाएर भए पनि सिक्थे । देउता फिल्मको एउटा गीतमा उनले दुई घन्टा लगाएर नाच सिकेका छन् ।
हमाल जति चर्चित छन्, उनका डायलगहरु पनि उत्तिकै चर्चामा छन् । नेपाली फिल्ममा सुरुवाती दिनहरुमा हमालको परिचय नै उनका डायलग बनेका थिए । हमाल सुरुसुरुमा सिने क्षेत्रमा आउँदा डायलग भन्नासाथ हिन्दी फिल्मका डायलगहरु भन्ने बुझिन्थ्यो ।
देउता फिल्ममा हमालले भनेको ‘शङ्कर हुँ म शङ्कर’ उनको जीवनको सबैभन्दा बढी प्रभावकारी डायलग थियो । र, नेपाली सिने क्षेत्रमा हिन्दी सिनेमाको डायलग बर्चस्व ताड्ने पनि ।
त्यसपछि पृथ्वी फिल्मको, ‘साथीका लागि यो हात सलाम, दुस्मनका लागि यो हात फलाम’ उनको अर्को चर्चित डायलग हो । हमालका डायलग दर्शकले रुचाउन थालेपछि निर्देशकहरु उनलाई कुनै न कुनै डायलग भन्न लगाउनै पर्छ भन्ने मानसिकता राख्थे ।
फलस्वरूप ‘हे’ जन्मियो । हमाललाई लाग्छ यसको पनि एउटा विशेष भावना छ । मानिसहरुले यही शब्द अन्याय र अत्याचारका विरुद्ध प्रयोग गरेका छन् ।
‘मेरा फिल्महरु हिट हुनुमा मेरा डायलगको पनि कहीँकतै भूमिका छ है’, हमाल भन्छन् ।
०००
हमाललाई प्रत्येक फिल्ममा नायिका बदल्ने नायकका रूपमा लिइन्छ । तर, उनी यसलाई केवल संयोग मान्छन् । आफूले धेरै फिल्म खेलेकाले धेरै नायिका आवश्यक परेको उनको भनाइ छ ।
‘त्यतिबेला नायिकाहरु नै कम हुन्थे’, हमाल प्रष्ट्याउँछन्, ‘आज पो नायिका आवश्यक भन्नासाथ हजार जना अडिसन दिन आउँछन् त त्यतिबेला त टुकी बालेर नायिका खोज्नुपथ्र्यो ।’
राजेशलाई लिएपछि फिल्म त्यत्तिकै चल्छ, पुरानो नायिका किन चाहियो भनेर निर्देशकहरुले रिस्क पनि लिन्थे । तर नायिका परिवर्तन गर्नमा हमालको खासै भूमिका हुँदैनथ्यो । गौरी मल्ल, मौसमी मल्ल, जल शाह, करिष्मा, निरुता, विपना हमाल नायिकाहरुको नाम लिँदै जान्छन् र भन्छन्, ‘प्रायः मैले उहाँहरुसँग त हो फिल्म खेलेको ।’
उनीमाथि अर्को पनि आरोप छ, सुटिङमा भिलेनहरुलाई घाउ नै हुनेगरी किक हान्ने गरेको ।
‘म त्यस्तो अमानवीय कहाँ थिए र ? बरु भिलेनहरुले चारैतिरबाट मलाई घेरा हाल्थे, बढ्ता जोखिममा म पो हुन्थेँ त’ यो आरोप हमाल अस्वीकार गर्छन् । उनी आफ्नो हातको मुक्का पार्छन् र मतिर मुक्का बर्साउँदै भन्छन्, ‘हेर्नुस् त अहिले पनि मलाई कन्फिडेन्ट छ कि मैले कहाँसम्म मुक्का पु¥याएँ भने तपाईंलाई लाग्छ भन्ने ।’ बरु उनले दिउँसै तारा देख्ने थुप्रै सटहरु भेटेका छन्, कराँते मास्टरहरुको ।
उनीमाथि अर्को आरोप पनि छ, सुटिङका क्रममा निर्देशकले कट् भनेपछि नायिकालाई उचालिरहेको छ भने भुइँमै लड्नेगरी छाडिदिने गरेको ।
हमाल यसको जवाफ हाँसेर फर्काउँछन्, ‘कट् भनेपछि के अँगालोमा लिइराख्नु भनेर नि । तर, भुइँमै लड्नेगरी छाडिदिएको भने मलाई याद छैन है ।’
०००
सच्चा कलाकार कलाकारिता छाडेर कतै जाँदैन । हमाललाई लाग्छ बलिउड महानायक अमिताभ बच्चनले पनि सोही कारण राजनीतिमा प्रवेश गरेको तीन वर्षमै सांसद पदबाट राजीनामा दिएर सधैँका लागि राजनीति त्यागे । ‘सच्चा कलाकारले सधैँ आफ्नो कलालाई प्रेम गर्छ’, हमाल भन्छन्, ‘र म पनि ।’ उनलाई जीवनमा अब कला क्षेत्र छाडेर कतै लाग्छुजस्तो लाग्दैन ।
हमालले चाहेको भए उनी विदेश गएर ऐयासीपूर्ण जीवन बिताउन सक्थे । तर, उनले नेपाली दर्शक, नेपाली माटोको मायालाई छाड्न चाहेनन् । फिल्ममार्फत नै आफ्ना भावनाहरु साट्न चाहे, नेपालीका कुण्ठित भावनाहरु प्रस्फुटन गर्न चाहे ।
‘आम नेपाली जनसमुदाय । मैले गरेका पात्रहरु । हरेकको माया र सम्मान । यो सबै मलाई कलाले दिएको हो’, हमाल उत्साहित हुन्छन् ।
त्यसैले कला उनका लागि जीवनको अर्को पाटो नभएर जीवनकै एक पाटो हो । जसको सम्बन्ध सीधै उनको मुटुसँग गाँसिएको छ ।
उनी राजनीतिमा जाने हल्ला के हो त ?
फिल्म हमालको प्यासन हो भने राजनीति चासोको विषय । उनलाई लाग्दैन आफू कहिल्यै राजनीतिज्ञ बन्छु भन्ने ।
भन्छन्, ‘राजनीतिमा प्रवेश गर्नु भनेको बोराभित्र रहेको कुहिएको आलुसँग मिसिन जानु हो । जुन आलुले राम्रो आलुलाई पनि बिगार्छ ।’
त्यसो भए हमाल के बन्छन् ?
निर्देशक ।
तस्बिरहरु फेसबुकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)