केन्द्रीय संस्करण
अर्थ–वार्ता

‘मेरो दौड आर्थिक वर्षको अन्त्यसम्ममा कृषिमा १५ प्रतिशतको लगानी बढाउने हो’

बजारमा ऋणको माग छ, तर निक्षेपका स्रोतहरु खड्किएको छ : सनराइज बैङ्कका सिइओ जनक शर्मा पौड्याल

person explore access_timeमंसिर २७, २०७६ chat_bubble_outline0

गत असारमा सनराइज बैङ्कको व्यवस्थापकीय नेतृत्व सम्हाल्न पुगेका जनक शर्मा पौड्यालले आफ्नो कार्यकालमै बैङ्कलाई शीर्ष १० भित्र ल्याउने लक्ष्य लिएका छन् । बैङ्किङ क्षेत्रमा ३२ वर्षभन्दा बढी समय विताइसकेका शर्मा नविल, एनआईसी, लक्ष्मी, ग्लोबल आईएमई बैङ्क हुँदै सनराइजको यात्रा तय गरेका हुन् ।

सन् १९८७ मा नविल बैङ्कमा इन्ट्री लेभलबाट बैङ्किङ करियरको सुरुवात गरेका शर्माले प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका छन् । नेपालका बैङ्कहरुमा १७ वर्षको अनुभव सँगालेपछि एमबीए अध्ययनका लागि लन्डन पुगेका शर्माले लन्डनमा अध्ययनसँगै त्यहाँकै बैङ्कमा साढे चार वर्ष काम गर्ने अवसर पाए ।

विदेशी बैङ्कको अनुभव लिएर नेपाल फर्किएका शर्माले ग्लोबल आईएमई बैङ्कमा सहायक महाप्रबन्धबाट नायव प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । बैङ्क र बैङ्किङको रेशारेशा केलाइसकेका शर्माले ग्लोबल आईएमई बैङ्कमा आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा बुझाएका थिए ।

६ महिने कुलिङ पिरियडपछि सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त शर्माले गत कात्तिक २० गते तीन अर्ब रूपैयाँको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नामको ऋणपत्र जारी गरे । तोकिएको समय मङ्सिर १९ गतेसम्म बैङ्कले शतप्रतिशत ऋणपत्र बिक्री गर्न सफल पनि भयो । ऋणपत्रले पूरक पुँजीको काम गरिरहेको बताउने उनै शर्मासँग बैङ्कको अबका योजना र समग्र बैङ्किङ अवस्थाबारे रातोपाटीका लागि टुना भट्टले गरेको कुराकानी ।

–प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि तपाईंले आफ्नो कार्यकालमा बैङ्कलाई शीर्ष १० भित्र ल्याउने दाबी गर्नुभयो । कस्तो योजना बनाउनुभएको छ ?

सनराइज बैङ्क ‘राइजिङ टु सर्भ’ भनेर उदाएको पूर्ण आकारको वाणिज्य बैङ्क हो । बैङ्क अहिलेको वरीयतामा कहिले १६ कहिले १९ कहिले २२ त कहिले २३ नम्बरमा आउने गरेको छ । फरक फरक मापदण्डमा फरक फरक स्थानमा उभिएको छ । नेप्सेमा सनराइज एक नम्बर बैङ्कको सूचीमा परेको छ । सनराइजमा नियुक्त भएको छ महिना हुन लाग्यो । अहिलेसम्मको मेरो अनुभवबाट नियाल्दा सनराइजलाई उत्कृष्ट बैङ्क पाएको छु ।

बैङ्कस्थिर तरिकाले अगाडि बढेको छ । एउटा बैङ्क बलियो हुनका लागि बैङ्कमा जुन पूर्वाधार हुनुपर्ने हो त्यो यहाँ छ । जस्तोः कर्पोरेट गभर्नेन्सको दृष्टिले बैङ्क निकै राम्रो छ । त्यसैगरी, कम्प्लायन्समा सहिष्णु छ, प्रक्रिया कार्यान्वयनमा दौडिरहन्छ । ग्राहकलाई बैङ्कले भगवान मानेर व्यवहार गर्छ । ग्राहकको सन्तुष्टिका लागि कसरी उनीहरुलाई खुसी पार्न सकिन्छ भनेर काम गर्दै आएको एक बैङ्क हो सनराइज ।

तपाईंले सोधेको प्रश्न अलि जटिल छ र यसको कार्यान्वयन पनि जटिल नै छ । किनकि २७ वटा बैङ्कबीचको प्रतिस्पर्धामा उत्रनु छ । नेपालको पुँजीका हिसाबले २७ वटा बैङ्क धेरै नै हो । बैङ्कहरुलाई पुँजी बढाउनुपर्ने छ । हुन त हरेक वर्ष बैङ्कले नाफा बढाउँदै लैजादा पुँजी पनि बढ्दै गइरहेको छ । त्यस्तै एकातिर ग्राहक हो भने अर्कोतिर कर्मचारी । यी दुईको समिश्रण नै बैङ्कको प्रगतिको मूल सूचक हुन् ।

त्यसैले, कर्मचारीको तालिम, प्रेरणा, कर्मचारीको वृद्धि विकासका लागि विभिन्न कार्यक्रम गरेर उनीहरुलाई जति अभ्यस्त र व्यावसायिक बनाउन सकियो उति नै वितरण र उत्पादकत्वमा वृद्धि हुन्छ । यी दुई कुराले नै बैङ्कलाई आफ्नो लक्ष्य प्राप्तिका लागि दौडाउने छ भन्ने लागेको छ ।

शाखा सञ्जालतिर पनि हामीले यो वर्ष २० देखि २५ वटा शाखा विस्तार गर्ने योजनामा छौँ । कति खुलिसके भने कति खुल्न बाँकी छन् । शाखारहित बैङ्किङ सेवालाई पनि एक सय पुर्याउने लक्ष्य राखेका छौँ । लक्ष्य प्राप्तीमा हामी दौडिरहँदा गुणस्तरीय सेवा महत्त्वपूर्ण हुन्छ । शाखा सञ्जाल छिटो छरितो बनाउन, कर्मचारीले ग्राहकलाई खुसी राख्ने किसिमले सेवा गर्न सक्षम भए, कर्मचारीको अनुभव, क्षमता अनि गुणस्तरमा विकास गर्न सकिएमा बैङ्कले फड्को मार्ने छ ।

यी सबै पक्षलाई आधार मानेर नै बैङ्कलाई टप टेनमा पार्न सकिन्छ भनेर म अगाडि बढेको छु । यीबाहेक पनि अरू योजना र नीतिहरु हुनसक्छन् । ती सबैलाई हामी अनुकरण गरेर अगाडि बढ्ने छौँ । यसले आगामी चार वर्षमा बैङ्कलाई उत्कृष्ट टप टेनमा पार्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

*****

विगतका वर्षमा जुन वृद्धिदर थियो, त्यो अहिले छैन । यता बजारमा ऋणको माग छ, परियोजनाहरु पनि छन् तर त्यसलाई प्रयाप्त मात्रामा लगानी गर्नका लागि निक्षेपका स्रोतहरु केही वर्षदेखि नै खड्किएको छ । निक्षेप छेलोखेलोको अवस्थामा छैन ।

*****

—यस पटक समग्रमा बैङ्कहरुको नाफादर खुम्चियो । गत आर्थिक वर्षको भन्दा अझ ८ वटा बैङ्कको नाफा त घटेकै छ किन होला ?

बैङ्कहरुको नाफा घटबढ हुनु बैङ्कको आफ्नै अवस्थामा भर पर्ने कुरा भयो । यसमा आआफ्नो रणनीति, अवस्था, पुँजीको गुणस्तर, अनुपालक र नेतृत्वमा फरकपनलगायतले त्रैमास, वार्षिक हरेक समयमा बैङ्कहरुको प्रदर्शन, नाफा, घाटामा फरक परिरहन्छ ।

विगतका वर्षमा जुन वृद्धिदर थियो, त्यो अहिले छैन । यता बजारमा ऋणको माग छ, परियोजनाहरु पनि छन् तर त्यसलाई प्रयाप्त मात्रामा लगानी गर्नका लागि निक्षेपका स्रोतहरु केही वर्षदेखि नै खड्किएको छ । निक्षेप छेलोखेलोको अवस्थामा छैन ।

बैङ्कको आ–आफ्नो नियम पनि हुन्छ । बैङ्क भनेको दसौँ पुस्ता फेरिँदा पनि चलिरहने दीर्घकालीन व्यवसाय हो । तर पनि कतिले छोटो समयमै उच्च वृद्धि लिन्छु भनेर दौडिन्छन् भने कोही स्थिर नै हुन्छन् । छोटो समयमै दौडिन खोज्दा दुर्घटना हुन सक्छ । धेरै विवेकपूर्ण ढङ्गले स्थिरतामा रहुनु राम्रो हो । धेरै आक्रामक नभइ संस्थागत रणनीतिमा केन्द्रित भई अनुपालनलाई उत्कृष्ट स्थान दिएर गयो भने त्यो बैङ्क पछिसम्म बलियो बन्न सक्छ ।

नेपालमा निजी बैङ्क सञ्चालनमा आएको ३६ वर्ष मात्रै भयो । मैले बेलायतमा बार्क्लेज बैङ्कमा काम गरेँ । त्यो बैङ्क तीन सय २७ वर्षमा दौडिरहेको छ । ती बैङ्कहरुले कस्ता कस्ता अवस्थाको सामना गर्यो, कति अनुहार परिवर्तन भए । चार सय मिलियन फाइन लाग्दा पनि ती बैङ्कलाई असर गरेन । कारण, उनीहरु यति मजबुद हुन्छन् कि जस्तो अवस्थालाई पनि फेस गर्न सक्छन् । तर हामी कहाँ सानो समस्या भयो भने पनि डामाडोल हुन्छ ।

जुन संस्था अनवरत रूपमा चलिरहन सक्छ, त्यो सफल हुन्छ । तर सफल र असफल भनेर मापन गर्नलाई बैङ्क कुनै प्रोजेक्ट होइन यसलाई अहिले नै मापन गर्न सकिन्न यी त भविष्यमा गर्ने कुरा हुन् । जुन बैङ्क भविष्यको चित्र निर्धारण गरेर स्थिर रूपमा चलिरहन सक्छ । त्यो मात्रै राम्रो, बलियो अनि उत्कृष्ट हो भन्न सकिन्छ । अझ भन्नुपर्दा कर्पोरेट कल्चरमा चलेको बैङ्क नै बलियो बैङ्क हो ।

—पहिलो त्रैमासकै आधारमा भन्नुपर्दा समग्र वर्ष बैङ्कका लागि कस्तो रहला, नाफा अझै खुम्चिएला वा बढ्ला ?

यो आर्थिक वर्ष मझौला खालको नै हुन्छ । विगतको जस्तो फड्को नै मार्ने सम्भावना कम छ । एउटा प्राकृतिक वृद्धि त हुन्छ नै सँगै कहिले काहीँ आउने सम्भावनाले अलिकति फड्को मार्नलाई पनि सहयोग गर्छ ।

त्यसैगरी, राष्ट्र बैङ्कले विदेशबाट ऋण लिनको लागि नेपाली बैङ्कहरुलाई खुला गरिदिएको छ । हामीजस्तै धेरै बैङ्कहरुले कोसिस गरेका छौँ । त्यो अलि सहज ढङ्गबाट आउने सम्भावना भयो भने लगानी थप गर्न सकिन्छ । र, नाफा बढाउन पनि सकिन्छ । तत्काल त्यति सहज त नहोला तर देशकै रिस्क रेटिङ, प्राइसिङ, बरोइङ प्राइसिङ, कस्ट इफेक्टिभनेसलाई हेर्दा तत्काल फड्को मार्ने अवस्था भने छैन ।

तुलनात्मक रूपमा वर्ष सहज हुनुपर्छ, धेरै अपेक्षा राख्नु जरुरी छैन । स्थिर तरिकाले सुशासनमा जाने हो भने नाफा कमाउने कुरामा केही राम्रो हुन सक्छ ।

*****

नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान भनेपछि कृषकको देश भयो हाम्रो देशमा जता गए पनि कृषक छन् । उनीहरुको उत्थानका लागि कस्तो प्रकारको ऋणको आवश्यकता पर्छ, कुन आकारको ऋणको अवश्यकता पर्छ भन्ने कुरालाई बुझेर हामीले त्यसको विकासमा केन्द्रित छौँ । जस्तो सामान्य उदाहरण हेर्ने हो भने कृषिमा बैङ्कले १० प्रतिशत लगानी पुर्याउनुपर्छ । हामीले अहिले पनि साढे १२ प्रतिशतभन्दा माथि कृषिमा लगानी गरेका छौँ । यसलाई अझ बढाउनेतिरको दौड हो हाम्रो ।

*****

—पहिलो त्रैमासमा नै सनराइजको नाफा ३७.६ प्रतिशतले बढ्यो यसप्रति सन्तुष्ट हुनुहुन्छ ?

राम्रै छ । हाम्रो समग्र नाफा ३७.६ प्रतिशतले भयो वास्तवमा यो निकै राम्रो हो । सन्तोष गर्ने ठाउँ छ । तर आउने त्रैमासमा पनि यही स्तरमा नाफा बढाउनु त्यति सहज भने छैन । तर हामी यही स्तरमा नाफा बढाउने कोसिस भने निरन्तर गरिरहने छौँ । हामी आक्रामक शैलीमा भन्दा स्थिरतामा विश्वास गर्छौं, त्यसैले ठूलै फड्को नमारे पनि सन्तोषजनक हुनेछ ।

–तर, तपाईंले त हामी दौडिनुपर्ने छ भन्नुभएको थियो । कता दौडँदै हुनुहुन्छ ?

हो, हामी दौडिनु अवश्य पनि पर्छ । दौडिराखेकै पनि छौँ । मेरो फोकस चाहिँ एसएमई र रिटेल बैङ्किङमा हो । यसमा चाहिँ हामी दौडिन चाहेका हौँ । हामी नेपाल र नेपालको कृषकका लागि छुट्टै पहिचान बनाएर नेपालका लागि नेपालीको बैङ्क भएर अगाडि दौडँदै छौँ ।

नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान भनेपछि कृषकको देश भयो हाम्रो देशमा जता गए पनि कृषक छन् । उनीहरुको उत्थानका लागि कस्तो प्रकारको ऋणको आवश्यकता पर्छ, कुन आकारको ऋणको अवश्यकता पर्छ भन्ने कुरालाई बुझेर हामीले त्यसको विकासमा केन्द्रित छौँ । जस्तो सामान्य उदाहरण हेर्ने हो भने कृषिमा बैङ्कले १० प्रतिशत लगानी पुर्याउनुपर्छ । हामीले अहिले पनि साढे १२ प्रतिशतभन्दा माथि कृषिमा लगानी गरेका छौँ । यसलाई अझ बढाउनेतिरको दौड हो हाम्रो ।

कृषकलाई खोजी खोजी आर्थिक सहयोग गर्न सक्यौँ भने देशको उत्पादकत्व बढ्छ । राष्ट्रिय अर्थतन्त्रमा, कुल ग्राहस्थ उत्पादनमा सहयोग पुग्छ । कृषकको घरपरिवारमा आयआर्जनको व्यवस्था हुन्छ, रोजगारी सिर्जना हुन्छ । यसलाई राष्ट्रिय स्तरमै अगाडि बढाउने हो भने विदेश गएका नेपालका ६० लाख बढी युवा स्वदेश फर्कने वातावरण मिल्छ । यसले देश बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसका लागि एउटा संस्थाले मात्र गरेर पुग्दैन । यो राष्ट्रिय अभियानको रूपमा आउनुपर्छ । हरेक घरघरमा हरेक व्यक्ति उत्पादनमा लाग्ने हो भने किन विदेशिन पर्यो ?

म यो आर्थिक वर्षको अन्त्यसम्ममा कृषिमा १५ प्रतिशतको लगानी बढाउने दौडमा छु । अब यो सात महिनामा साढे २ प्रतिशतले कृषिमा लगानी बढाउनु निकै गाह्रो छ । किनकि यहाँ बैङ्कहरुले १० प्रतिशत पनि पुर्याउन सकेका छैनन् । यस्तो अवस्थामा १५ को लक्ष्य राखेको छु मैले । त्यसैगरी, विपन्न वर्ग कर्जामा पनि ५ प्रतिशत गर्नुपर्छ ।

हामीले जिल्लाका शाखाहरुमा छुट्टै डेस्क राखेर कृषि कर्जाको विषयमा विपन्न वर्गका ग्राहकहरुलाई आफ्नो व्यक्तिगत कारोबार र संस्थागत कारोबार कसरी गर्ने भन्नेबारे जानकारी दिने गरेका छौँ । ट्याक्स, भ्याटको विषय अलि जटिल भएकाले यसमा सुरुबाटै कसरी एकाउन्टिङ राख्नेबारे बुझ्नु जरुरी ठानेर हामीले फाइनान्सियल एडभाइजरी सेवाका लागि भिन्दै डेस्कको सुरुवात गरेका हौँ । जिल्ला जिल्लाका लगभग ६० शाखामा यस्ता डेस्क छन् । हामीले फाइनान्सियल एड्भाइजरी, एकाउन्टिङ, ट्याक्स, भ्याटलगायतका विषयमा ज्ञान दिने गरेका छौँ ।

*****

हाम्रो भौगोलिक बनावटका कारण पनि बैङ्कहरुलाई केही समस्या पक्कै छ । सहुलियत कर्जामा पनि बैङ्कहरु जानुपर्ने हो, यसमा पनि सहभागिता कम नै छ । राष्ट्र बैङ्कले भर्खरै पनि एउटा बैङ्कले असारसम्म पाँच सय यस्ता कर्जा गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

*****

अहिले पनि हामीले साढे २ प्रतिशतभन्दा माथि त सीधै किसानको खेतमा पुगेर लगानीमा जोडिएका छौँ । यसले खेतमा किसानी गरिरहेको किसान र बैङ्क सीधै जोडिएको छ । त्योबीचमा कुनै पनि बाधा व्यवधान छैन र किसानलाई थप कमिसन तिर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।

अर्को दुई तीन वर्षमा ५ प्रतिशत नै कर्जा विपन्न वर्गमा लैजाने, विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्ने योजनामा पनि छौँ । नेपाली किसान अनि महिलाहरुको आआफ्नो उद्यमशीलता र सीपमा लगानी होस् भनेर हामी दौडिएका छौँ । यसलाई ७५३ स्थानीय तहमा अभियानका रूपमा लैजाने हो भने उत्पादकत्व पनि बढ्नेछ, आयात घट्ने छ र निर्यात बढ्ने छ । यसबाट, फलफूल, तरकारी, खाद्यान्नलगायत हामीले आयात गर्ने चिज निर्यात गर्न सक्ने छौँ, जसले राष्ट्रिय अर्थतन्त्रलाई पनि माथि उकास्न सहयोग पुग्ने छ ।

–तर राष्ट्र बैङ्कले त लगानीको क्षेत्र तोकिदिँदा पनि बैङ्कहरुले टेरेनन् भनेको छ नि ? बैङ्कहरु विशेष गरेर कृषिमा लगानी गर्न किन डराएको होला ?

हाम्रो भौगोलिक बनावटका कारण पनि बैङ्कहरुलाई केही समस्या पक्कै छ । सहुलियत कर्जामा पनि बैङ्कहरु जानुपर्ने हो, यसमा पनि सहभागिता कम नै छ । राष्ट्र बैङ्कले भर्खरै पनि एउटा बैङ्कले असारसम्म पाँच सय यस्ता कर्जा गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

यसमा एकोहोरो बैङ्कहरुलाई मात्र भन्नु भन्दा पनि सहभागिताका हिसाबले ग्राहक समुदाय जस्तोः सहुलियत कर्जाको ग्राहक, कृषिको ग्राहकलगायतले कतिको बैङ्कमा पहुँच बढायो कतिको कारोवार भयो, कतिको भएन, डिफ्युज भयो भने के कारण भयो ? हामीसँग डाटा छैन । त्यसैले जटिलता छ । कृषिमा अझ जटिलता किन छ भने हामीले यसको सुरक्षा कसरी गर्ने ? साना साना फाइलबाट ठूलो पोर्टफोलियो जम्मा हुँदैन ।

एउटा ठूलो कर्पोरेट हाउसलाई एउटा कारोबारबाट दुई अर्बको कर्जा दिएर व्याज कमाउन कति सजिलो छ । एउटै फाइलबाट एउटै कर्मचारीको इन्ट्रीबाट काम सकिन्छ भने दुई अर्ब कृषिमा लगानी गर्दा अन्य २० जना कर्मचारी परिचालन गर्नुपर्छ । लगभग ५० वटा शाखाबाट कारोबार फैलाउनुपर्छ, यो ज्यादै खर्चिलो छ जटिल पनि छ तर पनि यो हाम्रो आवश्यकता हो ।

*****

तरलताको हिसाबले समस्या दोहोरिँदैन जस्तो लाग्छ । तरलतामा सबै बैङ्कहरुले मेन्टेन गरेका छन् । तर तरलताका सट्टा क्रेडिट क्रन्च (लगानी योग्य पुँजीको अभाव) जुन ३ वर्षभन्दा अगाडिदेखि देखिँदै आएको छ । यो चाहिँ फेरि पनि दोहोरिन सक्छ । 

*****

देशभरीका साना व्यावसायिक उद्योगहरु ठूला व्यावसायिक घराना बन्न सके भने पक्कै पनि देश धनी हुन्छ । रोजगारी यही पुग नपुग हुन्छ । नेपालीको जीवनस्तरमा सुधार ल्याउने छ । जसले देशलाई परिवर्तन गर्न पनि सहयोग गर्न सक्छ ।

राष्ट्र बैङ्कको निर्देशनलाई बैङ्कहरुले टेरेनन भन्ने नै हुँदैन । देशको सर्वोच्च नियामक संस्थाको नीति निर्देशनको विपरीत जान्छु भन्न सकिँदैन र त्यो मिल्दैन पनि । कही कसैलाई आफ्नो लक्ष्य पूरा गर्न समस्या भएको हुन सक्छ । तर पनि हामीले नीति, नियम, निर्देशन र अनुशासनका कुरालाई दोस्रो प्राथमिकतामा राख्न हुँदै हुँदैन । संस्थालाई पछिसम्म बलियो र टिकाउ बनाउन राष्ट्र बैङ्कको नियमलाई अक्षरस पालना गर्दा नै बैङ्कहरुको भलाइ हुन्छ ।

—जस्तोः बेला बेलामा राष्ट्र बैङ्कले विभिन्न सर्कुलर जारी गर्दै यो गर त्यो गर भनिरहेको हुन्छ त्यसले तपाईंहरुलाई कत्तिको सहजता हुन्छ ?

समय र परिस्थिति अनुसार अर्थतन्त्र कतातिर बगेको छ, लक्ष्य, बजेट, योजना, नीति हरेकको आधारमा सर्कुलरहरु आउने हो । परिवर्तन भएका विषयमा सर्कुलर आउने गर्छ । आर्थिक मामलामा देशलाई कता लैजाने भन्ने विषयमा नयाँ नयाँ योजना हुन्छन् र यसमा सर्कुलर आउनुपर्छ यो एकदमै सकारात्मक पक्ष हो ।

हाम्रो सम्पूर्ण अभ्यास सही बाटोमा होस्, अनियमितता नहोस् भनेर नै सर्कुलर आउँछ । बैङ्क निकै संवेदनशील संस्था हो जहाँ जनताको पैसा जम्मा भएको हुन्छ, त्यसैले अनुशासनमा बसेर काम गर्न जरुरी हुन्छ ।

कतिपय सर्कुलर सहज हुन्छन् भने कतिपय केही असहज पनि हुन्छन् । कहिले काहीँ बैङ्कहरुलाई असहज हुने खालको पनि आउँछ, यस्तोमा हामी बैङ्कर एसोसिएसनमार्फत केन्द्र बैङ्कलाई सुझाव तथा सल्लाह तथा परिमार्जनका लागि आग्रह गर्ने गरेका छौँ । यसले सहजीकरण गर्ने गरेको र केन्द्र बैङ्कले पनि सकारात्मक रूपमा लिने गरेको छ । बैङ्कहरुलाई मार्गदर्शन गर्नका लागि यस्ता सर्कुलर आउनुपर्छ पनि ।

—विगत जस्तै यस वर्ष पनि निक्षेपभन्दा कर्जा प्रवाह दर बढेको छ । यसको सन्तुलन नहुँदा बैङ्कहरुमा सङ्कट आइसकेको अथवा आउने पक्का देखिन्छ । पटक पटक समस्या दोहोर्याउँन बैङ्कहरु नै सचेत नभएको आरोप छ नि ?

तरलताको हिसाबले समस्या दोहोरिँदैन जस्तो लाग्छ । तरलतामा सबै बैङ्कहरुले मेन्टेन गरेका छन् । तर तरलताका सट्टा क्रेडिट क्रन्च (लगानी योग्य पुँजीको अभाव) जुन ३ वर्षभन्दा अगाडिदेखि देखिँदै आएको छ । यो चाहिँ फेरि पनि दोहोरिन सक्छ । 

क्रेडिट क्रन्चको अवस्था हेर्दा अहिले पनि अफ्टेरो अवस्था छ । किनभने निक्षेप सङ्कलनको अवस्थाको प्रचुरता पहिलेको जस्तो नभएकाले अझ केही वर्षसम्म क्रेडिट क्रन्चको असर रही रहन सक्छ ।

कतिपय बैङ्कले ऋण दिन नसकेर ऋणीहरुलाई फर्काए भनिएको छ । तपाईंको बैङ्कमा चाहिँ ऋण दिन नसकेर फर्काउनुपर्ने अवस्था छ कि छैन ?

अब ऋणको भार कस्तो भन्ने हो । ऋणीले किन ऋण माग्यो ? कस्तो ऋण माग्यो ? बैङ्कले किन ऋण दिएन ? तरलतासँग जोडिएर नदिएको चाहिँ पक्कै हौइन होला । साना, मझौला ऋणमा रोकिने सम्भावना हुँदैन ।

ठूला ठूला प्रोेजेक्टहरुमा जाँदा चाहिँ क्रेडिट क्रन्च अनि सीसीडी रेसियोका कारणले जुन ८० प्रतिशतको मान्यता छ, यसको आधारमा कही कसैलाई अफ्ठ्यारो परेको हुन सक्छ । हामी पनि ७८ प्रतिशतको हाराहारीमा चलिरहेका छौँ । दुई प्रतिशतको मात्रै अफर जुन छ एक प्रतिशत सुरक्षाका लागि र आकस्मिकताका लागि सुरक्षित गर्दा फेरि गैरअनुपालक होला भनेर माथि नजाने हो भने एक प्रतिशतको मात्रै वृद्धि गर्न सकिन्छ । एक प्रतिशतको मात्रै वृद्धिले बैङ्कलाई चाहिने नाफा र वृद्धि त हुँदैन । यो बैङ्किङ उद्योगमा केही हदसम्म समस्याका रूपमा छ नै ।

तीन वर्ष अगाडिदेखि नै चलेको यो अझै केही वर्ष चल्न सक्छ । जसरी बैङ्कहरु पुँजीकृत भए त्यही आधारमा बैङ्कले लगानी गर्नसक्ने क्षमताको आधारमा लगानी गर्नकै लागि निक्षेप आउने क्षेत्र प्रयाप्त भएन । निक्षेपको वृद्धिले ऋणको वृद्धिलाई भेट्टाउन यो वर्ष अझै लाग्छ ।

–विदेशबाट ऋण ल्याउन सक्ने बाटो पनि त खुल्ला छ नि, तपाईंहरुलाई विदेशी ऋण चाहिँदैन ?

सबै बैङ्कहरुले कोसिस गरिरहेका छन् । हामीले पनि कोसिस गरेका छौँ । मूल्य लगायतका पक्षमा समस्या भएन भने ऋण लिने सोचमा छौँ । विदेशबाट ऋण लिँदा बैङ्कबाट मात्रै होइन विभिन्न सङ्घ संस्थाहरुबाट पनि ल्याउन पाइन्छ । विदेशी नागरिकले पनि फिक्स्ड डिपोजिट खोलेर राख्न सक्ने गरी आएको व्यवस्था निकै सहज व्यवस्था हो । आगामी दिनमा अझै मनिटरिङ पोलिसीलाई सहजीकरण गर्नेमा विश्वस्त हुन सकिन्छ ।

विश्व बजारमा ऋणात्मक व्याजदरमा चलेका मार्केटहरु पनि छन् । बैङ्कमा पैसा राख्दा उल्टो पैसा तिर्नुपर्ने हुन्छ । विकसित देशहरुमा न्यून व्याजदरमा चलिरहेको पनि हुन्छ । कतिपय देशमा बैङ्कमा खाता खोलिदिएर पैसा राखिदिए मात्रै पनि हुन्छ । यस्तो अवस्थामा बरो गर्न सकियो मात्रै भने उनीहरुका लागि पनि राम्रो प्रतिफल र यहाँ व्यवसायको विकासमा नी सहयोग हुने सम्भावना छ । यसलाई अझै उदारीकरण गरेर सम्भावना बढाउन सकिन्छ ।

राष्ट्रको क्रेडिट रेटिङलाई सुधारेर जाने हो भने नेपाल विदेशीका लागि लगानीको राम्रो गन्तव्य हो । यहाँ हरेक किसिमले पैसा सुरक्षित छ, रिटर्न पनि राम्रो छ, पुँजीको ग्यारेन्टी हुन्छ, प्रतिफल पनि सहज किसिमले बाहिर लैजान सकिन्छ, नीतिमा स्थिरता लगायतको प्रवित्ति देखाउन सकियो भने नेपाल विश्व बजारको त्यस्तो गतिलो गन्तव्य हुन सक्छ ।

र, आन्तरिक पुँजी कम भइरहेको अवस्थामा सीसीडी ८० प्रतिशत नै भए पनि विश्व बजारको उपस्थिति हुनासाथ लगानीका लागि समस्या हुने छैन ।

*****

मर्जर भनेको स्वतस्फूर्त जाने कुरा हो । संस्थागत म्यारिजलाई नै मर्जर भनिन्छ । जसरी विवाह हुन्छ त्यसैगरी दुई संस्थाबीचको विवाह हो मर्जर । कुनै पनि संस्थाको व्यावसायिक रणनीति, उद्देश्य, प्रक्रिया, लक्ष्य सबै एक भयो भने एउटै उद्देश्यका साथ गन्तव्यमा पुगौँ, भन्ने अवस्थामा मर्जर सम्भव हुन्छ ।

*****

  –तर, पछिल्ला केही घटनाहरुले बैङ्कलाई असुरक्षित मानिएको छ नि ?

त्यस्तो होइन । बैङ्कलाई जनताले पूर्ण सुरक्षित मान्नुभए हुन्छ । यसमा आत्तिने, पीर मान्नुपर्ने केही छैन । यदाकदा घटेका घटनाको कुरा गर्दा यस्ता घटना दुनियामै फाट्टफुट घटिरहन्छन् । तर यसलाई घट्न भने दिनु हुँदैन ।

यसलाई कसरी सुरक्षित गर्ने ? अटोमेसनलाई कसरी राम्रो बनाउने ? ता कि यस्ता घटना घट्नु अगावै अलर्ट सिस्टम बसोस् र सुरक्षाको प्रत्याभूति अझ राम्रो होस् भन्नका लागि लगानीलाई बढाउनुपर्छ । बैङ्कको भित्री संरचना अनि टेक्नोलोजीमा लगानी गर्नलाई प्रशस्त ठाउँ छन् । सुरक्षाको हिसाबले यस्ता क्षेत्रमा लगानी गर्न र सुरक्षा बढाउन बैङ्कहरु अगाडि बढिरहेका छन् । नेपालका बैङ्किङ पूर्ण सुरक्षित छन् ।

अझ भन्नुपर्दा अन्य देशको बैङ्किङभन्दा नेपालको बैङ्किङ सुरक्षित र परिपक्व छ । यहाँको भित्री अभ्यास, प्रक्रिया, संस्कार राम्रो छ । रेगुलेटरी संस्था केन्द्र बैङ्कको पनि भूमिका महत्त्वपूर्ण छ । घटना घट्न सक्छ तर जनताको निक्षेप सुरक्षित छ । ढुक्क भए हुन्छ ।

–अन्त्यमा, मर्जरमा जानेबारे के सोच्नुभएको छ ? 

मर्जर भनेको स्वतस्फूर्त जाने कुरा हो । संस्थागत म्यारिजलाई नै मर्जर भनिन्छ । जसरी विवाह हुन्छ त्यसैगरी दुई संस्थाबीचको विवाह हो मर्जर । कुनै पनि संस्थाको व्यावसायिक रणनीति, उद्देश्य, प्रक्रिया, लक्ष्य सबै एक भयो भने एउटै उद्देश्यका साथ गन्तव्यमा पुगौँ, भन्ने अवस्थामा मर्जर सम्भव हुन्छ ।

यसलाई स्वतस्फूर्त रूपमा हुन दिनुपर्छ । यसले टिकाउ र दीर्घकालसम्म चल्न मद्दत गर्छ । बाध्यात्मक किसिमले गर्दा डिसिन्ट्रिगेट (विच्छेद)को अवस्थामा पुग्न सक्छ । यसले अस्थिरतालाई निम्त्याउन सक्छ । सबै कुरा मिलेर राम्रो अवस्थामा अगाडि बढ्दा मर्जर निकै सकारात्मक हो, यो हुनु पनि पर्छ । यसले संस्थालाई अझै बलियो र टिकाउ बनाउँछ ।

मर्जर र एक्युजिसनका लागि हामीले आँखा, कान खोलेका छौँ । हामीलाई साधारणसभाबाट मर्जरमा जान बोर्डले अनुमति प्रदान गरेको छ । हाम्रो मर्जर कमिटी पनि बनिसकेको छ । उपयुक्त संस्था, हाम्रो गोरेटो र उद्देश्यमा समाहित हुन सक्ने भयो भने हामी अवश्य पनि अगाडि बढ्ने छौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.