बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : माघ ९ गते राष्ट्रियसभाको निर्वाचन, आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

बिहीबार, २६ मङ्सिर २०७६, १८ : ४६
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । 

राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई यसअघि नै अनुरोध पत्र प्राप्त भइसकेको छ ।

 उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सरकारले मिति घोषणा गरेको हो । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । 

सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।  

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना रहेका छन् ।

गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् ।

यो निर्वाचनमा पहिलो हुने निर्वाचन हुने प्रणालीबाटै उम्मेदवारको चयन हुनेछन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वा्चित हुनेछन् ।

मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको थियो ।

काँग्रेस बैठक

नेपाली काँग्रेसको बिहीबारको लागि बोलाइएको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल पक्षले बाहिस्कार गरेको छ ।

बैठकको एजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषय समावेश गर्न सभापति शेरबहादुर देउवा राजी नभएको भन्दै पौडेल पक्षले बैठक बाहिस्कार गरेको हो । 

उनीहरू बैठक हलमा प्रवेश नै नगरी पार्टी कार्यालय सानेपाबाट हिँडे । पौडेल पक्ष सहभागी नभएको बैठकमा देउवाले आफू निकटका केन्द्रीयहरुलाई बैठकको एजेण्डा वितरण गर्नुबाहेक अरु कुनै छलफल हुन सकेन । पौडेल समूहले  बहिस्कार गरेसँगै अर्को बैठक यही मंसिर २९ गतेसम्मको लागि स्थगित भएको छ ।  


उधौली पर्व 

मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किरात समुदायले उधौली पर्व मनाएका छन् ।

तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ । 

यता नेवारी समुदायमा योमरी पूर्णिमाको रौनक छ । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा मनाउने गर्छन् ।  योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ ।

आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
विश्व बैंकले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । 

सन २०१९ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भएपनि २०२० मा यो दर घटेर ६ दशमलव ४ प्रतिशत कायम हुने प्रक्षेपण भएको हो ।

 विश्व बैंकले बिहीबार काठमाडौंमा नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त आर्थिक वृद्धि हासिल हुने जनाएको हो । सेवा क्षेत्र र रेमिट्यान्यका कारण आर्थिक वृद्धिदरलाई बढी सघाउ पुग्ने समेत विश्व बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नु र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने क्रम बढ्दै जाँदा रेमिट्यान्सको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने पनि उल्लेख छ । 

रेमिट्यान्सको वृद्धिले घरेलु व्यापार तथा उपभोग बढाउने बताएपनि यसलाई उत्पादनमुलक क्षेत्रमा जान नसक्नुको कारण भने खुलाएको छैन । त्यस्तै विश्व बैंकले भ्रमण वर्ष २०२० मा पर्यटकको आगमन उच्च हुन सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण भएमा होटल व्यवसायमा उल्लेख्य सुधार भई अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान समेत बढ्न सक्ने उल्लेख गरेको छ । तर सेवा र रेमिट्यान्सको योगदान बलियो हुँदा औद्योगिक क्षेत्रको वृद्धिदर भने कमजोर रहेको जनाएको छ । यो अवधिमा सेवा क्षेत्रको वृद्धिदर ५७ प्रतिशत र कृषिको योगदान थप २४ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ । 

विश्व बैंकलेृ सन २०१९ मा ४ दशमलव ५ प्रतिशत रहने भएपनि २०२० मा ५ प्रतिशत भन्दा बढी मूल्य वृद्धि रहने प्रक्षेपण पनि गरेको छ । विश्व बैंकले बजेट खर्च प्रयाप्त हुन नसक्नुले भने अर्थतन्त्रलाई चुनौती दिन सक्ने उल्लेख गरेको छ । 

त्यस्तै राजश्वको आधार अझै बढ्न सक्ने अनुमान पनि विश्व बैंकले गरेको छ । रिपोर्ट सार्वजनिक भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रका चुनौतीका विषयमा विश्व बैंकले गरेको विश्लेषण महत्वपूर्ण रहने बताए । 

कुलमान घिसिङको भनाइ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए । क्षेत्रीय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताए । 

सदस्य सचिव रमेश सिलवाल
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरकारले खेलाडीहरुका लागि घोषणा गरेको पुरस्कारले खेलाडीहरुको मनोबल बढेको समेत बताए ।  त्यसैले खेलाडीहरुलाई एशियन, ओलम्पिक र विश्वकपको तयारीका लागि तयार गर्न सजिलो भएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप