बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

बिहीबार, २६ मङ्सिर २०७६, १८ : २५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्र्नेछन् ।
महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । ‘सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ’, महासेनानी रायमाझीले भने । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उनले बताए ।

खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगितको उद्घाटन खेल मङ्सिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप