शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिमकोट दुर्घटना अपडेट: मृत्यु हुने र घाइतेको नाम खुल्यो

बिहीबार, २६ मङ्सिर २०७६, १७ : ५४
बिहीबार, २६ मङ्सिर २०७६

सिमकोट । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नंको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भिरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले बुझेका छन् । 

घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए । टिपर भिरबाट सात सय मिटरभन्दा तल खसेको उनले बताए ।

हिल्सादेखि खाद्य वस्तु र डिजेल बोकेर याल्वाङ्ग जाने क्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । हुम्लामा आज बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरीले आशङ्का गरेको छ । 

यसअघि मङ्सिर ११ गते सल्ली खोलाबाट चामल ओसारिरहेको टिपर सिमकोट लाग्नामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप