शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो बन्नेछ संसारको सबैभन्दा नयाँ देश, २० हजारको मृत्युपछि पायो स्वतन्त्रता

बिहीबार, २६ मङ्सिर २०७६, १३ : ४३
बिहीबार, २६ मङ्सिर २०७६

विश्वको मानचित्रमा अर्को एउटा देश देखिने भएको छ । करिब एक दशकदेखि जारी हिंसा समाप्त हुने स्थितीमा पुगेको पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब देशको रुपमा घोषित हुने भएको छ ।

वास्तवमा बोगेनविलमा जनमत संग्रह गराइएको छ । यहाँका स्थानीयले आफ्नो स्वाधीनताका लागि भोट हालेका छन् । जनमत संग्रहमार्फत् यो द्वीपले पपुआ न्यू गिनीबाट अलग्गिएर एक स्वतन्त्र देश बन्नेतर्फ अग्रसर भइरहेको छ ।

रोयटर्सको एक रिपोर्ट अनुसार भोट दिने १ लाख ८१ हजार ६७ मध्ये १ लाख ७६ हजार ९ सय २८ अर्थात् करिब ९८ प्रतिशतले स्वतन्त्रताको समर्थनमा मतदान गरे । यस्तै, तीन हजार ४३ ले मात्रै पपुआ न्यू गिनीसँगै बस्नका लागि मतदान गरे । करिब एक हजार भोट रद्द भए ।

यो जनमत संग्रह २० वर्षदेखि जारी त्यो शान्ति प्रक्रियाको हिस्सा हो जतिबेला बोगेनविल र पपुआ न्यू गिनीबीच चलेको रक्तपातपूर्ण युद्ध सन् १९९८ मा समाप्त भएको थियो । यो गृहयुद्धमा २० हजार बढीको ज्यान गएको थियो ।

बोगनविल प्रशान्त महासागरको एक द्वीप हो जुन अहिलेसम्म पपुआ न्यू गिनीको हिस्सा थियो । नोभेम्बर २३ देखि सुरु भएको मतदानको बुधबार परिणाम आएको छ । अब यो संसारको सबैभन्दा नयाँ देश बन्न जाँदैछ ।

यद्यपि, अब यो जनमत संग्रह पपुआ न्यू गिनीको संसदमा पेश हुनेछ । जानकारीका अनुसार यसको विरोध पनि हुनसक्छ । तर जनताले पपुआ न्यू गिनीको संसदमा पनि मतदानको दबाब पक्कै दिने बताइएको छ ।

यसरी रह्यो बोगनभिल नामः

अहिलेसम्म बोगनभिल पपुआ न्यू गिनीको एउटा प्रान्त थियो । तरपनि यहाँका मानिसहरुले आफूलाई स्वतन्त्र मान्थे । यसको नाम १८ औं शताब्दीको फ्रान्सेली अनुसन्धाताको नाममा राखिएको छ ।

हुन त बोगनविलेको स्वतन्त्रताको घोषणा पपुवा न्यू गिनी (पिएनजी) सन् १९७५ मा स्वतन्त्र हुनुअघि भएको थियो तर पिएनजी र अष्ट्रेलियाले यसलाई कहिले पनि स्वतन्त्र मानेका थिएनन् ।

सन् १९८० को दशकमा बोगनविलका लडाकू र पपुआ न्यू गिनीबीच रक्तपातपूर्ण संघर्ष चलेको थियो । यसमा करिब २० हजारको मृत्यु भएको थियो । त्यसपछि सरकारले मतदानको बचन दिएको थियो जुन अहिले पूरा भएको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्णः

बोगनभिल प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ पाइने सुन र तामाको खानीबाट दशकौंसम्म पपुआ न्यू गिनी अत्यधिक समृद्ध रह्यो । यो द्वीप ९ हजार ३ सय १८ किलो मिटरमा फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप