शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रंगशालामा पत्रकार र दर्शकमाथि कुटपिट प्रकरणः छानबिन समिति गठन

बिहीबार, २६ मङ्सिर २०७६, १२ : ४९
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । मंसिर २४ गते मंगलबार नेपाल र भुटानबीच भएको फुटबलको फाइनल खेल हेर्न पुगेका दर्शक र पत्रकारमाथि आक्रमण भएको सम्बन्धमा प्रहरीले छानबिन थालेको छ । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्यामलाल ज्ञवालीको संयोजकत्वमा बुधबार ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

जतिसक्दो चाँडो प्रतिवेदन दिने गरी एसएसपी श्याम ज्ञवालीसँगै डिएसपीद्वय श्याम चौधरी र मनोहर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो । 

समितिले बुधबारबाटै छानबिन सुरु गरिसकेको र जतिसक्दो चाँडो प्रतिवेदन बुझाउने संयोजक श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

घटनामा डीएसपीद्वय रुगम कुँवर र सन्तोषसिंह राठौर मुछिएका छन् । तर उनीहरुले प्रहरीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका क्रममा भएको घटनालाई अतिरञ्जित गराइएको गुनासो गरेका छन् । 

यता महानगरीय प्रहरी वृत्त कालीमाटी वृत्तका प्रमुख समेत रहेका डिएसपी कुँवरले सो ‘विवाद’ का क्रममा आफ्नो औँला भाँचिएको बताएका छन् । उनले पुलिसले कुटेको मात्रै समाचार आएको तर पुलिसमाथि भएको आक्रमणबारे कसैले नदेखेको उनले गुनासो गरे । 

उनले रंगशाला प्रवेश गर्न खोज्ने एक युवा प्रहरीमाथि हातपातमा उत्रिएपछि नियन्त्रणमा लिने क्रममा सो घटना हुन पुगेको दावी गरे । यद्यपि घटनाबारे छानबिन समिति बनिसकेकाले आफूले समितिलाई पूर्ण सहयाेग गर्ने उनले बताए । 

उनले भने, ‘मंसिर २४ गते मंगलबार नेपाल र भुटानबीच फाइनल खेल हुँदै थियो । अपरान्ह ३ बजे हुने फाइनल खेलका लागि ११ बजेदेखि नै दर्शकहरु जान थालिसकेका थिए । तर त्यस दिन नै सांसद र कर्मचारीहरुको फुटबल पनि दशरथ रंगशालामा नै गरिएको थियो । त्यसकारण त्यहाँ सचिवज्यूहरुको सवारीसाधन पनि पार्किङ गरिएको थियो । भित्र खेल भइरहेकाले सुरक्षा दिनु पनि हाम्रो कर्तव्य थियो । तर फाइनल खेलको टिकट पहिले नै सकिएको कारण बाहिर होहल्ला र हुलदंगा भइरहेको थियो ।’

उनले अगाडि भने, ‘टिकट नपाएको र भित्र प्रवेश गर्न नपाएको झोंकमा युवाहरु नाराबाजी र हुलदंगा गरिरहेका थिए ।त्यसक्रममा रंगशालाको पार्किङमा पार्किङ गरि राखिएको एक सचिवज्यूको गाडीमा भिडले लात्तीले हान्न थाल्यो । त्यसैक्रममा प्रहरीले भीड तितरवितर पार्न लाठीचार्ज गर्न लाग्यो । तर भीडमा रहेका एकजना युवा भने प्रहरीमाथि नै जाइलाग्न आइपुगे । हामीले उनीहरुलाई धेरैपटक सम्झाउने कोशिश गर्यौँ । तरपनि उनीहरु मानिरहेका थिएनन् । उनीहरु ‘टिकट वा पास’ उपलब्ध गराएर भित्र पठाइदिन आग्रह पनि गरिरहेका थिए । त्यो प्रहरीबाट सम्भव थिएन ।’ 

तर दुबै उपलब्ध गराउन नसक्ने बताएपछि भिडलाई हटाउन लाग्दा ती युवकले आफूमाथि आक्रमण गरेको उनले दावी गरे ।  २४–२५ वर्षका ती युवाले आफूलाई नै लछारपछार गरेर बायाँ हातको माझी औंला नै भाँचिदिएको उनको दावी छ । 

त्यही क्रममा आत्मरक्षा गर्ने गर्दा लात्तीले हान्न पुगिएको उनको दावी छ ।  ‘प्रहरी अधिकृत भएको कारण आत्मरक्षाका लागि पेस्तोलसमेत हुन्छ । तर मैले पेस्तोल निकालेको त होइन नि । आफ्नो औंला भाँचिदिने व्यक्तिलाई मैले दुई लात्ती हानेकै हो । म क्रुर भएर कसैमाथि बर्बर आक्रमण गरेको छैन । तर मिडियाका साथीहरुले प्रहरीको पीडाचाहिँ देख्नुभएन ।’ उनले भने । 

 उनले सोही क्रममा पत्रकार भनेर नचिन्दा एक पत्रकारमाथि समेत हातपात हुन पुगेको बताए ।  

प्रहरीले सचिवको गाडी तोडफोड गर्न खोज्ने र आक्रमणमा संलग्न रहेको आरोप लागेका युवक शिवबहादुर कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप