शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०१९ मा फेला परेका ७१ वटा नयाँ प्रजाति : ‘डुल्ने’ विरुवादेखि अनौठो माकुराहरु

बिहीबार, २६ मङ्सिर २०७६, १० : २९
बिहीबार, २६ मङ्सिर २०७६

अहिलेसम्म थाहा नभएका प्राणी तथा विरुवाहरुको खोजी गर्नेक्रममा यस पटक  थुप्रै रोमाञ्चकारी नयाँ कुराहरु फेला परेका छन् । क्यालिफोर्निया एकेडेमी अफ साइन्सेजका अनुसन्धानकर्ताहरुले सन् २०१९ मा प्राणी र विरुवाहरुको ७१ वटा नयाँ प्रजाति फेला पारेका छन् ।

फेला परेको यो सूचीमा फूल, माछा, मुगा र लेउका समुद्रभित्रका नयाँ भागहरु, माकुरो, समुद्री स्लगहरु, कमिला र छेपाराहरु समेत छन् । ती नयाँ प्रजातिहरु तीन वटा महासागर, पाँच महादेशहरुका गुफा, जंगल र महासागरका अति गहिरो भागहरुमा समेत फेला परेका हुन् ।

यी नयाँ प्रजातिहरुका बारेको खोज र थप अध्ययनले हामीलाई वातावरण तथा जैविकताका बारमा तथा तिनको संरक्षणको बारेमा बुझ्न सहयोग गर्नेछ ।

एकेडेमीका विज्ञान प्रमुख सानोन बेन्नेट भन्छन्, जैविक विविधितासम्बन्धी वैज्ञानिकहरु के अनुमान गर्छन् भने केही परिचित र केही चाहिँ पृथ्वीका दुर्गम स्थलहरुमा दशकौंको अथक उत्खननका बाबजूद प्रकृतिका ९० प्रतिशतभन्दा प्रजातिहरु अझै पनि अज्ञात नै छन् ।’ उनी भन्छन्, ‘हाम्रो पृथ्वीमा जीवनलाई सम्भव तुल्याउने बोटविरुवा र जनावरहरुको प्रचुरमात्राको विविधिता अनि सबै जीवित प्रणालीको परस्परमा जोडिएको प्रणालीले हामीलाई अहिलेको वातावरणीय संकटलाई भरपाई गर्ने र त्यसबाट निस्कने सामुहिक मार्ग प्रदान गर्छ । नयाँ फेला पर्ने प्रत्येक प्रजातिले हामीलाई हाम्रो अति महत्वपूर्ण जैविक जीवन प्रणालीलाई राम्ररी बुझन् र त्यसको संरक्षण गर्नको लागि एउटा महत्वपूर्ण सम्झना गराइको रुपमा काम गर्छ ।’

२०१९ मा फेला परेको ती नयाँ प्रजातिहरुमध्ये केही यस प्रकार छन्ः

वाकान्डा माछा

‘ब्लाक प्यान्थर’को घरको रुपमा देखाइने वाकान्डा राज्य मार्भल कमिक्समा मात्रै अस्तिवमा रहँदै आएको छ, तर अनुसन्धानकर्ताहरुले के विश्वास गर्छन् भने उनीहरुले त्यसको एउटा प्रारुप पानीमुनि फेला परेका छन् । पानीभन्दा २६० फिट मुनि फेला परेको त्यो नयाँ प्रजाति माछा हो ।

यसअघि थाहा नपाइएको, माछाको यो प्रजाति  ‘ट्वीलाइट जोन’ भनिने पानीभित्रको लेउ र समुद्री विरुवाहरुले ओगटेको मुगाको चट्टाने भागमा पाइन्छ । यो क्षेत्र तान्जानियाको समुद्री तट नजिक पर्ने हिन्द महासागरमा पर्छ । यो फेयरी वारसेस’ भनेर चिनिने माछाको नयाँ प्रजाति हो ।

यो माछाको कत्लाको रंग यति गाढा वैजनी रंगको हुन्छ कि त्यो अनुसन्धानको लागि सुरिक्षत राखिँदा पनि जस्ताको तस्तै रहिरह्यो । सामान्यतः त्यस्ता रंगहरु केही समयपछि धमिलो भएर वा उडेर जाने गर्छन् ।

वाकान्डा र ब्लाक पान्थरको सम्मानमा  यो माछालाई  सिर्हिलाब्रस वाकान्डा (Cirrhilabrus wakanda) अर्थात् भाइब्रानिउम फेयरी वास (Vibranium fairy wrasse) नाम दिइएको छ । 

जब हामीले गोप्य र खासै वास्ता नगरिएको यो समुद्री चट्टाने क्षेत्रको बारेमा सोच्यौं, हामीले यो नयाँ प्रजातिको नाम वाकान्डाको आधारमा राख्नुपर्छ भनेर ठान्यौं, उक्त अध्ययनका प्रमुख लेखक तथा युनिभर्सिटी अफ सिड्नीका माछाका बारेमा अध्ययन गर्ने जीवविज्ञानका पिएचडी शोधार्थी विद्यार्थी यी–काई टी भन्छन् । उनी भन्छन्, ‘ हामीलाई हिन्द महासागरमा पाइने फेयरी वासका अन्य प्रजातिहरुका बारेमा थाहा थियो तर सधैं हामीले त्यस क्षेत्रको पश्चिमी भागमा कुनै हराइरहेको प्रजाति हुनुपर्छ भन्ने ठानेका थियौं । जब मैले यो अद्भूत बैजनी माछा देखें, तत्कालै मैले के थाहा पाएँ भने हामीले हराइरहेका पजलको टुक्रासँग व्यवहार गरिरहेका छौं ।’

अनुसन्धानकर्ताहरुले यो वर्ष विरोलोका जस्तो आँखा भएको कार्डिनियल माछा समेत गरी माछाका अन्य १६ नयाँ प्रजातिहरु फेला परेका छन् ।

लोपोन्मुख छेपारोहरु

सन् २०१९ मा अनुसन्धानकर्ता आरोन वाउएरले १५ वटा छिकेमिर्के छेपाराहरु, एउटा सुन्तले छेपारो, एउटा कोत्रे र तीन वटा चिल्ला छाला भएका छेपाराहरु फेला पारेका थिए । उनले फेला पारेका प्रायजसो सबै छेपाराहरु लोपोन्मुख खालका थिए । त्यो किन पनि भने ती सबै छेपाराहरु एउटा सानो भूगोलक्षेत्रभित्र फेला परेका थिए र जंगलको फडानी वा अन्य कुनै सानो परिवर्तनले पनि तिनको संख्यालाई न्यून बनाइदिन सक्छ । ती प्रजातिहरुलाई बेलैमा फेला पार्नु र तिनीहरुविरुद्धको खतरालाई सुनिश्चित गर्न सक्नु मुख्य कुरा हो । उदाहरणको लागि, फेला परेका मध्ये एउटा चिल्लो छाला भएको छेपारोलाई अतिक्रमणकारी ‘फायर एन्ट’ले खतरा पैदा गराइरहेको देखिएको थियो ।

‘हामीले अहिलेसम्म वेवास्ता गरेका बासस्थलहरु, जस्तै पहाडको टुप्पोहरु, मा खोजतलास गरेनौं भने हामीले त्यस क्षेत्रका लागि अति विशिष्ट रहेका जैविक विविधकताको एउटा ठूलो हिस्सालाई गुमाउने छौं’ बाउएर भन्छन् । आफ्नो पेशाकर्मको दौरानमा उनले २०५ भन्दा बढी सरीसृपहरु फेला पारिसकेका छन् ।

आश्चर्यलाग्दा समुद्री स्लगहरु

भेष बदल्न वा रुप परिवर्तन गर्नका लागि समुद्री स्लगहरु माहिर हुन्छन् । समुद्री स्लगका नयाँ फेला परेका प्रजातिहरु, माड्रेल्ला एम्फोरा (Madrella amphora) ले आफूलाई शंखेकीराको अण्डाको रुपमा भेष बदल्न सक्छ र त्यसैको खोलभित्र पनि लुकेर बसेको फेला पार्न सकिन्छ ।

‘हामीले हालसालै जेनेटिकको माध्यमबाट समुद्री स्लगले अरु प्रजातिहरुको रंगको नक्कल गर्न सक्ने कुरा सुनिश्चित गर्यौं तर यसले पूर्ण रुपमा अरु प्राणीकै नक्कल गरेको फेला पर्नु चाहिँ दुर्लभ कुरा हो’ मेरुदण्ड नहुने प्राणीहरुसम्बन्धी जीवविज्ञानका प्राज्ञिक क्युरेटर टेरी गोस्लाइनर भन्छन् । गोस्लाइनर थुपै्र समुद्री स्लगहरु पत्ता लगाउने व्यक्तिका रुपमा परिचित छन् । अनुसन्धानकर्ताहरुले आफ्ना अन्य प्रजातिहरुभन्दा अचम्म लाग्दो तरिकाले रुप फेर्ने, विशिष्ट रंग र सानो आकार प्रकारका पाँच प्रजातिका रंगीचंगी समुद्री स्लगहरु फेला पारेका छन् ।

‘डुल्ने’ विरुवा र दुर्लभ फूलहरु

वितेका वर्षहरुमा विरुवाहरुले एक आपसमा कुराकानी गर्ने र बाढीको डुबानबारे गुनासो गर्ने लगायत थुपै्र आश्चर्यलाग्दा कुराहरु थाहा लागिसकेको छ ।  यस वर्ष फेला परेका दुर्लभ फूल फुल्ने विरुवाका बारेमा अनुसन्धानकर्ताहरुले यत्रतत्र व्यापक खोजतलास गरिरहेका थिए ।

सेतो फूल फुल्ने ट्रेम्व्लेया अल्टोपाराइसेन्सिस (Trembleya altoparaisensis)  त्यस्तो विरुवा हो, जसलाई १०० वर्षभन्दा पहिले विख्यात वनस्पतिविद् अगस्ते फ्रान्कोइस मारिए ग्लाजियोले संकलन गरेका थिए । तर त्यो विरुवालाई अहिलेको समयमा फेला पर्नु अति कठिन साबित भयो ।

‘मानिसहरुले के सोच्दैनन् भने विरुवा पनि डुल्छन्, तर वास्तवमा तिनीहरु डुल्छन्’ एकेडेमीमा बोटानीका क्यरेटर फ्रान्क अल्मेडासँग काम गरिरहेका पीएचडी विद्यार्थी रिकार्डो पासिफिको भन्छन् । यो किन हुन्छ भने वातावरणमा आएको परिवर्तनसँगै विरुवाहरुले पनि आफ्नो आवश्यकतालाई ख्याल गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरु सर्ने गर्छन् ।

उनीहरुले ट्रेम्व्लेया अल्टोपाराइसेन्सिसलाई ब्राजिलको चापाडा डोस भेडेइरोस नेशनल पार्कमा फेला पारेका थिए ।

यस वर्ष, माडागास्करको नेशनल पार्कमा फेला परेको एक प्रजातिसहित जम्मा ८ वटा फूल फुल्ने नयाँ प्रजातिका विरुवाहरु फेला परेका छन् ।

गहिरो समुद्री कोरल

रिमोट कन्ट्रोलले सञ्चालित यानहरुले अनुसन्धानकर्ताहरुलाई गहिरो समुद्रभित्रको अनुसन्धानको क्रममा कोरल भनिने  लेउ र समुद्री विरुवाले ढाकिएका समुद्री मुंगाहरुको चट्टान समूह फेला पर्न र तिनलाई बुझन् मद्दत गरेको छ । यसैक्रममा A 2018 NOAA नाम दिइएको खोज अभियानले क्यालिफोर्नियाको तटमा क्रोमोप्लेक्सुरा कोरडेलव्यांकेन्सिस (Chromoplexura cordellbankensis)  नाम गरेको सुन्दर पहेलो समुद्री वनस्पतिको कोरल फेला पारेको छ ।

‘हामी समुद्री किनारका क्षेत्रहरुका बारेमा त जान्दछौं तर गहिरो समुद्र हाम्रो दृष्टि र मस्तिष्कबाट बाहिरै छ’ एकेडेमा मेरुदण्ड नभएकाहरुसम्बन्धी जीव विज्ञानका क्युरेटर गेरी विलियम्स भन्छन्  ।

यस वर्ष सान फ्रान्सिस्कोको तटबाट ६० माइल पर कोरडेल व्यांक नेशनल मेरिन स्यांकच्यूरीमा दुई नयाँ विविधतायुक्त कोरलहरु फेला परेका छन् ।

अनौठो माकुराहरु

अनुसन्धानकर्ताहरुले यसवर्ष पाँच नयाँ माकुराहरु फेला परेका छन् तीमध्ये केही अति अनौठो खालका छन् ।

तीमध्ये एउटा ‘कमिलालाई पुजा गर्ने’ (ant-worshipping) माकुराको परिवारबाट छन्, जुन कमिलाको देवलमा बस्ने गर्छ र त्यसो गर्नुको कारण पनि प्रष्टै छ । अनुसन्धानकर्ताहरुले तिनलाई मेक्सिकोको चिहुआहुआन मरुभूमिमा फेला पारेका थिए, जुन एउटा भत्किसकेको कमिलाको गुँडको वरिपरि मिलेर बसेका थिए । अरु अवस्थामा सामान्यतः तिनीहरु जमीनभित्र नदेखिने गरेर लुकेर रहेका हुन्थे ।

‘उनीहरुलाई हेर्ने एउटै उपाय भनेको खन्ने नै हो । तर त्यसो गर्दा उनीहरु आफ्ना प्राकृतिक अवस्थामा हुँदैनन्’ एकेडेमीमा कीराहरुको अध्ययन गर्ने विज्ञानका क्युराटोरियल सहायक डार्रेल यूविक भन्छन् ।

उनीहरुले माकुराको जीवनप्रणालीसँग मिल्दोजुल्दो नयाँ कीरा, जसलाई harvestmen भनिन्छ, पनि अँँध्यारो जीवनलाई अपनाएर गुफामा बाँचिरहेको फेला पारेका थिए । क्रोसियामा फेला परेका त्यो जीवको अध्ययनले विभिन्न प्रजातिका हाँगाविँगाहरुले कसरी विभिन्न वासस्थानहरुलाई आफ्नो अनुकूलतामा ढालेर बाँचिरहेका छन् भन्ने जान्न मद्दत गर्छ ।

स्काते पार्टी

स्काते भनेको रे माछा जस्तै देखिने माछाको एउटा प्रजाति हो । तीमध्ये धेरैजसो २००० फिटको गहिराईमा फाल्कल्याण्ड आइल्याण्डमा बाँचिरहेको फेला पर्छन् ।

यो माछा कोरियामा पनि पातलो पत्र काटेर मसलामा हालेर राखिएको पाइन्छ । बजारमा बिक्री वितरण भइरहेका त्यस्ता माछाहरुमध्ये त केही भरखरै फेला परेका डिप्टुरुस लामिल्लाइ नाम गरेको प्रजाति पनि हुन सक्छ ।

यो खोजले ती माछाहरुका बारेमा राम्ररी जान्न पाउनुभन्दा पहिल्यै तिनीहरु मारिएर नजाआउन भन्नाका खातिर संरक्षणको प्रयासलाई मद्दत गर्न सक्छ भन्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

सीएनएनमा प्रकाशित सामग्रीबाट अनुवाद गरिएको 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप