बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कम्पनीले हरेक कर्मचारीलाई दियो ५६ लाखको बिदा बोनस, स्टाफबीच रुवाबासी

बिहीबार, २६ मङ्सिर २०७६, ०८ : २६
बिहीबार, २६ मङ्सिर २०७६

एक रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई ५० हजार डलर (करिब ५६ लाख रुपैयाँ) बदा बोनस दिएको छ । कम्पनीले आफ्ना सबै १ सय ९८ कर्मचारीलाई बोनस दिन १० मिलियन डलर (करिब १ अर्ब १२ करोड रुपैयाँ) खर्च गरेको छ । बोनसको चेक लिएपछि हरेक स्टाफ अचम्मित थिए भने कतिको आँखामा खुसीका आँखु बगेका थिए । डेली मेलमा प्रकाशित फोटो हेर्दा त स्टाफबीच रुवाबासी नै चलेको जस्तो देखिन्छ ।  

अमेरिकाको बाल्टिमोरको सेन्ट जोन प्रोपर्टीज नामको कम्पनीले एक होलिडे पार्टीको मौकामा बोनसको घोषणा गर्‍यो । न्यूयोर्क पोष्टको रिपोर्ट अनुसार स्टाफलाई उनीहरुको कार्यकालको हिसाबले बोनस दिइनेछ तर धेरैजसो स्टाफले  ५६ लाख नै घर लैजाने बताइएको छ  ।

कम्पनीले शानदार प्रदर्शन गरेकोले आफूहरु कर्मचारीलाई अतिरिक्त पैसा दिन सफल भएको बताएको छ । अमेरिकाका ८ राज्यमा कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड स्क्वायर फिटको भवन तयार पारेको छ ।

कम्पनीको तर्फबाट जारी एक भिडियोमा अकाउन्ट्स स्पेशलिस्ट डेनिएल भेलेन्जियाले यसलाई जीवन नै परिवर्तन गरिदिने क्षण बताएका छन् । उनी १९ वर्षदेखि कम्पनीमा कार्यरत छन् ।

विशेष कुरा के हो भने यो होलिडे बोनस कम्पनीको तर्फबाट वार्षिक रुपमा दिइने बोनसभन्दा निकै भिन्न छ । शनिबार राती आयोजित एक कार्यक्रममा बोनसको घोषणा गर्दै ८१ वर्षे कम्पनीका संस्थापक अध्यक्ष एडवर्ड सेन्ट जोनले भने, ‘म यसलाई उत्सवको रुपमा मनाउन चाहन्थेँ । जसले यो काममा अत्यधिक मेहनत गर्नुभयो उहाँहरुका लागि केही सार्थक काम गर्न चाहन्थेँ । मैले डुङ्गा चलाएँ तर यसलाई उहाँहरुले नै अघि बढाउनुभएको हो । ’

‘डुङ्गालाई चलाइराख्न उहाँहरुले अथक मेहनत गर्नुभएको छ । समूहबिना हामी केही पनि होइनौं, साँच्चै केही पनि होइनौं ।’

‘यो उत्सव मनाउनका लागि म आफ्ना कर्मचारीलाई ठूलै तरिकाले पुरस्कृत गर्न चाहन्थेँ जसले उहाँहरुको जीवनमा केही महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’

‘म मेरो प्रत्येक कर्मचारीप्रति उहाँहरुको काम र समर्पणका लागि कृतज्ञ छु । उहाँहरुलाई कृतज्ञता ज्ञापन गर्न योबाहेक अरु तरिका मैले देखिनँ ।’

सेन्ट जोनले कम्पनीले ४० वर्षमा आफ्नो उद्देश्य प्राप्त गर्ने सोच राखेकोमा १४ वर्षभित्रै यो सम्भव भएकोमा पनि आफू अत्यधिक खुसी भएको बताएका छन् ।

सेन्ट जोनले जब बोनसबारे जानकारी दिए तब बोनस रकम उल्लेखित रातो खाम खोल्दा कर्मचारीले विश्वासै गर्न नसकेर चिच्याएका थिए ।

यो चकित पारिदिने घोषणा बाल्टिमोरको डाउनटाउनस्थित द ग्राडमा घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप