शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : रोहिंग्यालाई नेपाल ल्याउन गिरोह सक्रिय, भारतीय दूतावास छिर्ने डिआईजी कारबाहीमा

बिहीबार, २६ मङ्सिर २०७६, ०७ : ३०
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौँ । २०७६ मंसिर २६ गते राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेता खेलाडीलाई पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

यस्तै पुलको नाममा पप्पुले गरेको गोलमाल, भारतीय दूतावास छिर्ने सशस्त्रका डीआईजीमाथि कारबाही गरिएको, सीमा समस्याबारे कुरा गर्न विशेष दूत भारत पठाउने विषय छायामा परेको, गिरोहको सेटिङमा रोहिंग्या नेपाल आउने गरेको लगायतका समाचारलाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । 

कान्तिपुर दैनिकले ‘३० हजार टाकामा भित्रन्छन् रोहिंग्या’ शीर्षकमा मुख्य समाचार छापेको छ । काठमाडौँको बूढानीलकण्ठ–११ स्थित राममन्दिर नजिकै टहरामा १७१ तथा बूढानीलकण्ठकै लसुनेटार र काभ्रेको पनौतीसमेत गरी ३७८ जना रोहिंग्या गिरोहको माध्यमबाट आइपुगेको समाचारमा जनाइएको छ । म्यानमारबाट विस्थापित भएर बंगलादेशमा पुगेका उनीहरु एजेण्टलाई ३० हजार बंगाली टाका (४० हजार नेपाली रुपैयाँ)  तिरेर भारत हुँदै काठमाडौँ आइपुगेका हुन् । 

रोहिंग्यालाई नेपाल ल्याउन र बस्ने ठाउँ मिलाउन गिरोह नै सक्रिय रहेको गृह मन्त्रालयको ठम्याइ छ ।

कान्तिपुरमै अन्तर्राष्ट्रिय आपराधिक समूहले अनलाइन ठगी र ह्याकिङको माध्यमबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्याउने गरेको खुलेको समाचार छापिएको छ । अन्तरराष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ ।  

नयाँ पत्रिका दैनिकले ‘पुलको नाममा पप्पुको तमासा’ शीर्षकमा समाचार छापेको छ । सरकारबाट ६ करोड नगद बुझेको पप्पु कन्स्ट्रक्सनले बीचको भाग मात्र ठड्याएर भैरहवा–लुम्बिनी सडकखण्डमा दुई पुल अलपत्र पारेको, ०७३ बर्खामा सकिनुपर्ने काम ०७६ हिउँदसम्म पर्खिएर सरकारले बल्ल ठेक्का तोडेको, अर्को ठेक्का कहिले लाग्ने हो निश्चित नभएको, ठेक्का लिएको सात वर्षसम्म पनि चितवनको गोलाघाटमा पुलको डिजाइनसमेत नबनेको र पप्पुले केही कामै नगरेपछि कालोसूचीमा राख्न सिफारिस भएको समाचार सार छ । 

नयाँ पत्रिकामै कूटनीतिक आचारसंहिता विपरित गोप्य रुपमा भारतीय दूतावास छिर्ने सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठमाथि सशस्त्र प्रहरी बलले अनुशासनको कारबाही गरेको खबर छापिएको छ । 
अनुमति नलिइ ६ मंसिरमा बा२झ२३९० नम्बरको सरकारी गाडी चढेर उनी लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

गोरखापत्र दैनिकले ‘सागमा पदक पाउने खेलाडीलाई पुरस्कार’ शीर्षकमा समाचार छापेको छ । 

समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक जितेका खेलाडीलाई प्रतिपदक ११ लाख, रजत पदक प्राप्त गरेका खेलाडीलाई प्रतिपदक ६ लाख, कांस्य पदक विजेता खेलाडीलाई ३ लाख र समूह खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको समाचारमा उल्लेख छ । प्रमले बुधबार खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएर सो घोषणा गरेका हुन् । 

गोरखापत्रमै राजधानीमा विजुलीका तार भूमिगत गरिन लागिएको खबर छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताए । तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिए । 

अन्नपूर्ण पोस्टले ‘चर्चामै चिसियो विशेष दूत’ शीर्षकमा समाचारमा छापेको छ । समाचारमा भारतसँगको सीमा विवादबारे वार्ता गर्न नेकपा नेता माधव नेपाल विशेष दूत बनेर भारत जाने योजनामा एकाएक ‘ब्रेक’ लागेको उल्लेख छ । 

‘सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन। अनि रोकियो कमरेडको विशेष–दूत बनेर भारत जाने प्रसंग’, नेकपाका एक सचिवालय सदस्यले भने। नेपाललाई साँच्चै दूत बनाएर पठाउन खोजेका भए प्रधानमन्त्रीले तीन तरिकाबाट पहल लिन सक्थे, पहिलो, नेपालस्थित भारतीय राजदूतलाई बोलाएर विशेष दूत पठाउँदै छु, तयारी गर्नुस्। दोस्रो, विशेष दूत पठाउन लागेको जानकारी परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर गर्न सक्थे।

तेस्रो, आफंैले सीधा–सीधा टेलिफोन संवाद गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष दूत पठाउन लागेको जानकारी गराउन सक्थे। तर यी प्रयास खास नभएको कारण माधव नेपालको ‘विशेष दूत’ को चर्चा ‘प्रोजेक्सन’ मात्र भएको बुझाइमा छन्, नेकपाका ती सचिवालय सदस्य। भारतले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सापछि कालापानी क्षेत्रको सीमा विवाद फेरि एकपल्ट बल्झेको हो।

राजधानी दैनिकमा अख्तियारसँग जोडिएकाहरु नै धमाधम भ्रस्टाचार मुद्दामा तानिएको खबर छापिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक घुस प्रकरणमा मुछिएपछि उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता भयो । विशेष अदालतले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाठकसँग ७८ लाख नै धरौटी मागेको थियो ।

पाठक मात्रै होइनन् पछिल्लो समय अख्तियारमा बसेर गएका कर्मचारी तथा प्रहरीहरू पनि धमाधम भ्रष्टचार काण्डमा नै मुछिन थालेका छन् । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा छन् ।

अख्तियारमा बसेर गएका प्रमुख अधिकृत, प्रहरी र कानुनका उपसचिवसहित ६ जनाभन्दा बढी घुस प्रकरणमा मुछिएको पाइएको छ । केही त अख्तियारद्वारा नै रंगेहात पक्राउसमेत परेका छन् ।

अख्तियारमा लामो समय बसेर अन्यत्र सरुवा भएका कर्मचारी नै घुस काण्डमा मुछिन थालेपछि अख्तियारको स्वच्छतामाथि नै गम्भीर प्रश्न सिर्जना हुन थालेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप