केन्द्रीय संस्करण
सन्दर्भ : ओशोको जन्मजयन्ती

‘हामी यौनबारे पाखण्डी छौँ, त्यही भएर विकृति बढिरहेको छ’

यौन जोडिएका घटनामा व्यक्ति हैन, प्रणाली दोषी छ : स्वामी आनन्द अरुणसँगको अन्तरवार्ता

person explore access_timeमंसिर २५, २०७६ chat_bubble_outline0

ओशो रजनिशका चेलामध्ये एक ओशो सन्यासी स्वामी आनन्द अरुण ओशो तपोवनका संस्थापक हुन् । अहिले उनले देश विदेशमा गरेर १ सय ३ वटा शाखा विस्तार गरेका छन् । ओशोको दर्शनमा आधारित योग, ध्यान जस्ता आध्यामिक कार्यक्रमहरुलाई विश्वाव्यापी गरिरहेकास्वामी आनन्द अरुणसँग धर्म, अध्यात्म लगायत समसामयिक विषयमा रातोपाटी संवाददाताशम्भु दंगालले गरेको कुराकानी :

तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?

बिहान साढे ५ बजे उठ्छु । नुवाइधुवाइ गरेर बिहान ७ बजे हाम्रो सामूहिक प्रार्थना हुन्छ । नेपालभरी ७ बजे र विश्वभरी नै ओशोको सन्यासीहरुले स्थानीय समयअनुसार बिहान ७ बजे प्रार्थना हुन्छ । हाम्रा १ सय ३ केन्द्रहरु छन्, अधिकांश केन्द्रमा बिहान ७ बजे हामी प्रार्थना गर्छौं । त्यसपछि ५ मिनेट मौन बस्छाँै हामी । त्यसपछि ध्यान हुन्छ अनि योगा हुन्छ । योगा र ध्यान सक्दा करिब १० बज्छ । योगा गरेपछि म शान्त भएर बस्छु ।

स्वामीजीको आध्यात्मिक यात्रा कहाँ पुग्यो ?

यस्तो छ, आध्यात्मिक यात्राको सुरुवात त हुन्छ तर यसको अन्त्य हुँदै हुँदैन । जहिले पनि हामी यसको मध्यमै हुन्छौँ । आध्यात्मिक यात्रा यस्तो छ कि जसले मैले पूरा गरेँ भन्छ, त्यहाँ अहङ्कार हुन्छ । यो चाहिँ सतत चलिरहने यात्रा हो । यसमा मेरो शौभाग्य छ, १० वर्ष ओशोबाहेक अरु गुरुहरुसँग रहेँ । त्यसपछि गुरुसँग चलिरहेको छु । खुसी छु म यात्रा राम्रो चलिरहेको छ । यात्राको आनन्द आइरहेको छ । लक्ष्य आनन्द हो, आनन्दित छु । म ‘इन्लाइटेन्ट भएँ, बुद्धत्व प्राप्त गरेँ’ केही मित्रहरुले यस्तो घोषणा गर्नुहुन्छ, म त्यससँग सहमत छैन । ओशाको मार्गमा हिँड्न पाउनुनै ठूलो उपलब्धि मान्छु म ।

भौतिकवादलाई अध्यात्मको विपरीत अर्थमा पनि लिइन्छ । भौतिकवादविना अध्यात्मवादको अस्तिस्व सम्भव छ कि छैन ? यी दुईबीच कस्तो अन्तरसम्बन्ध हुन्छ ?

यही ओशोको सबैभन्दा ठूलो देन हो । अहिलेसम्म ओशोभन्दा पूर्व धार्मिक व्यक्तिहरुको कस्तो धारणा थियो भने हामी आधात्मिक हाँै, हामीले सांसारिक गतिविधि गर्नु हुँदैन, पूरै समय ध्यान पूजा गर्नुपर्छ भन्ने थियो । भौतिकवादीहरु के भन्थे भने, हामी जवान छौँ अहिले त कमाउने समय हो । मर्ने बेला गर्ने हो अध्यात्म त भन्ने धारण थियो ओशो भन्दा पूर्व । ओशाको सबैभन्दा ठूलो क्रान्ति नै यही हो, उहाँले के भन्नुभयो भने भौतिकता र अध्यात्ममा कुनै विरोध छैन । एकले अर्कोलाई परिपूर्ति गर्छ । विना भौतिकता अध्यात्म सम्भव पनि हुँदैन । भौतिक सुविधा नजुटाएको भए यो कोठामा हामी कसरी अन्तरवार्ता गर्न सक्थ्यौँ । रुखको मुनी बस्नुपथ्र्यो हैन हामीले क्यामेरा नै किन्न सक्दैनथ्यौँ । त्यसकारण भौतिक सुविधा चाहिन्छ र भौतिक सुविधाले मात्रै पुग्दैन, आध्यात्मिक साधना पनि चाहिन्छ । विश्वमा ओशोको सबैभन्दा ठूलो योगदान यही हो, उहाँले आध्यात्म र भौतिकवादका बीचमा समन्वय गर्नुभयो । दुईवटैको अनिवार्यताको व्याखा गर्नुभयो ।

*****

भौतिकवादमा लागेर जब मान्छे दुःखी हुन्छ, सन्तुष्ट हुँदैन, जो मान्छे अलि संवेदनशील छ, अधिकांश मान्छे त भौतिकवादमै अल्झिरहेको हुन्छ, उसलाई थाहै हुन्न कि भौतिकवादको सीमा के हो । मैले भन्ने गरेको छु अधिकांश व्यक्ति ‘ब्रेड एन्ड सेक्स’ र आफ्नो प्रसिद्धि यही तीन चिजमा अल्झिएका हुन्छन् । अधिकांश व्यक्ति त खान लगाउन घर बनाउन र सम्भोग गर्न यतिमै उसको जीवन दौड हुन्छ ।

*****

तर, भौतिकवादको नकरात्मताबाट मानिस अध्यात्मवादतर्फ लाग्छ भनिन्छ के यो सही हो ?

त्यसमा केही सत्यता छ । भौतिकवादमा लागेर जब मान्छे दुःखी हुन्छ, सन्तुष्ट हुँदैन, जो मान्छे अलि संवेदनशील छ, अधिकांश मान्छे त भौतिकवादमै अल्झिरहेको हुन्छ, उसलाई थाहै हुन्न कि भौतिकवादको सीमा के हो । मैले भन्ने गरेको छु अधिकांश व्यक्ति ‘ब्रेड एन्ड सेक्स’ र आफ्नो प्रसिद्धि यही तीन चिजमा अल्झिएका हुन्छन् । अधिकांश व्यक्ति त खान लगाउन घर बनाउन र सम्भोग गर्न यतिमै उसको जीवन दौड हुन्छ । त्यसमध्ये केही व्यक्ति हुन्छन् उनीहरु प्रसिद्धि चाहन्छन् । अधिकांश यी ३ वटा चिजबाहेक चौथो चिज चाहँदैनन्, सामान्य व्यक्ति । त्यसमा जो व्यक्ति बौद्धिक हुन्छ, जति नै प्रसिद्धि पाए पनि मर्नेबेला त आर्यघाटमा केही जाँदैन त्यहीँ छुट्छ सबै । न धन जान्छ, कहिले पनि यो चिजले सेक्सले धनले र प्रसिद्धिले कहिले पनि कसैलाई पुग्दै पुग्दैन जति भए पनि । यसले क्षणिक सुख जति पनि दिन्छ, यसमा म सहमत छु । यसले सन्तुष्ट दिँदैन । यो जब बोध हुन्छ तब व्यक्ति आध्यात्ममा लाग्छ । त्यसकारण भौतिकवादको फ्रस्टेसन जरुरी छ । तर सबैलाई हुँदैन । अधिकांश व्यक्तिले यसको व्यर्थता देख्दै देख्दैनन् । पैसाको पछाडि दगुर्दा दगुर्दा, कामवासनाको पछाडि दगुर्दा उसको जीवन समाप्त हुन्छ, त्यसको व्यर्थता देख्दैन । भाग्यशालीले मात्रै देख्छ ।

*****

ओशोले पहिले चोटि ‘सिन्थेटिक रिलिजन’ ल्याउनुभएको छ कि भौतिकवादले अध्यात्मवादलाई मद्दत गर्छ र अध्यात्म शिखर हो, भौतिकवाद चाहिँ आधार हो । विनाआधार शिखर बस्न सक्दैन । खालि आधार बसाएर मात्र पनि सुख आउँदैन । भौतिकवाद पृष्ठभूमि हो, अध्यात्म त्यसको शृङ्गार हो ।

*****

अध्यात्मवादले संसार क्षणिक छ भन्छ, भौतिकवादले अध्यात्मवादलाई प्रगतिको बाधक मान्छ, के अध्यात्मवाद प्रगतिको बाधक हो ?

यो खास गरेर कार्ल मार्क्सले यो तर्क विश्वव्यापी नै बनाए । नास्तिकहरु त सुरुदेखि नै थिए । संसारमा ईश्वरलाई नमान्ने, अध्यात्मलाई नमान्नेको कमी छैन । उनीहरुको तर्क थियो कि ‘यावत जीवेत सुखं जीवेत, ऋणं कृत्वा घृतं पिवेत’ । जबसम्म बाँच्नु छ सुखसँग बाचौँ । ऋण लिएर पनि घिउ पिऔँ । यो त चलिआएको हो भौतिकवादीहरुको धारणा । तर के छ भने त्यो घिउ पिएर हुन्छ के । भौतिकवादले सुख दिनै सक्दैन, सुविधा दिन सक्छ । सुखका लागि आध्यात्म चाहिन्छ । यसलाई चाहिँ काल मार्क्सले विश्वव्यापी गर्नुभयो । अध्यात्म चाहिँ अफिमको नसा हो । ‘रिलिजन इज द अफिम अफ सोल’ भन्नुभयो । त्यो भन्नुको पनि के बाध्यता थियो भने अध्यात्मवादले पश्चिममा अत्याचार गरेको थियो । उहाँ जहाँ जन्मिनुभयो युरोपमा, जहाँ उहाँ हुर्किनुभयो त्यहाँ चाहीँ ३ वटा धर्मको बोलवाला थियो र अहिले पनि छ, इस्लाम, क्रिस्चियानिटी र यहुदी धर्म । यो तीनवटै धर्मले त्यहाँ अत्याचार पनि गरेको थियो । यी तीनवटै धर्म अतिवादी धर्म हुन् । काल मार्क्सको ‘एक्सपोजर’ बुद्ध धर्मसँग भएन, अन्तिमसम्म । अन्तिममा केहीलाई उहाँले भन्नुभएछ कि बुद्ध धर्म जस्तो छ भने म पनि मान्न तयार छु । एक से एक नास्तिक पनि बुद्ध धर्मलाई पढेपछि उनीहरु आध्यात्मले उन्नतीमा बाधा गर्छ भन्ने मान्दै मान्दैनन् । अहिले जापानले उन्नति किन गर्यो ? एसियामा जापान नै हो सबैभन्दा धेरै उन्नति गर्ने । एक समय त सबै गरिब नै थिए । दोस्रो विश्वयुद्धपछि त जापान बर्बाद नै भइसकेको थियो । यसरी छिटो कसरी उठ्यो त्यहाँ पनि बुद्धिज्मको ठूलो हात छ । बुद्ध धर्म धेरै व्यावहारिक धर्म हो । त्यसले गर्दा जापनीहरु धेरै मिहिनेती भए, साहसी भए, उनीहरुले छिटो आर्थिक उन्नति गरे । आध्यात्मले गरिबी बढाउँदैन, समृद्धि अघि बढाउँछ । आध्यात्मले समृद्धि हुँदैन भन्नु गलत धारणा हो । आध्यात्मवादीहरुको धारणा के छ भने भौतिकवादीहरुले धर्म बिगार्छन् । यो पनि एकाङ्की धारणा हो । भौतिकवादीहरु नर्कमा जान्छन्, त्यो पनि एकाङ्की धारणा हो ।

ओशोले पहिले चोटि ‘सिन्थेटिक रिलिजन’ ल्याउनुभएको छ कि भौतिकवादले अध्यात्मवादलाई मद्दत गर्छ र अध्यात्म शिखर हो, भौतिकवाद चाहिँ आधार हो । विनाआधार शिखर बस्न सक्दैन । खालि आधार बसाएर मात्र पनि सुख आउँदैन । भौतिकवाद पृष्ठभूमि हो, अध्यात्म त्यसको शृङ्गार हो ।

******

अर्को दृष्टिकोणबाट हेर्ने हो भने प्रचण्ड भौतिकवादीहरु पनि कमाएर, घर बनाएर, महँगो गाडी किनेर मात्र पनि सन्तोष भएनन् । त्यसकारण पश्चिमी जगतमा एक प्रकारको निराशा पनि छ । पूर्वीय जगतमा पनि निराशा छ तर हामीले राम्रोसँग बुझ्न सकिरहेका छैनौँ । किनभने यहाँ जो निराश देख्दा पनि लाग्छ, खान लाउन पुगेको छैन होला । तर जसलाई खान लाउन पुगिरहेको छ तर पनि जीवनमा सुख र सन्तोष छैन । अहिले पश्चिममा सबैभन्दा आकर्षित धर्म चाहिँ बुद्ध धर्म भएको छ । किनभने यो ‘-यास्नल रिलिजन’को रुपमा रहेको छ । त्यो बौद्धिक धर्म हो, त्यसमा तर्क छ, धेरै क्रियाकाण्ड छैन, शुद्ध विज्ञान हो । त्यसकारण पश्चिमी जगतमा बुद्ध धर्म मान्नेहरुको सङ्ख्या बढिरहेको छ ।

******

अहिले संसारमा विभिन्न सम्प्रदायका धर्महरु प्रचलनमा छन् । धर्म र अध्यात्मबीच फरक के हुन्छ ? धर्म अध्यात्म हो वा अध्यात्म धर्म हो ?

अलिकति फरक छ यसमा । धर्म भनेपछि कस्तो हुन्छ भने, कुन धर्म भन्ने भइहाल्छ । शंकराचार्यको भन्नुभयो भने हिन्दू धर्ममा पनि अनेक सम्प्रदाय छन् । तान्त्रिक छन्, शक्तिका उपाशकहरु छन् । धर्म भन्ने वित्तिकै त्यसमा विशेषण जुट्छ । धर्म भनेपछि कुन धर्म, हिन्दु धर्म भने पनि कुन सम्प्रदाय ? मुसलमान भएपछि सिया कि सुन्नी भन्ने आइहाल्छ । यो धर्मको रूप हो त्यो चाहिँ आध्यात्म हैन, त्यो चाहिँ सङ्गठन हो । जस्तो राजनीतिक पार्टीहरु छन् नि माओवादी, एमाले लगायत । मार्क्सवादमा विश्वास गर्ने नेपालमै एघार बाह्रवटा पार्टीहरु छन् । किन यति धेरै विभाजन हुन्छ भने हामी सही मार्क्सवादी हौँ भन्ने विश्लेषण हुन्छ । त्यस्तै शङ्काराचार्य वालाहरुले भन्छन्, हामी नै सही हिन्दु हौँ । वैष्णवहरुले के भन्छन् हामी नै सही हिन्दु हौँ । धर्म चाहिँ विश्लेषणयुक्त भएकाले विभाजन ल्याउँछ । अध्यात्म भनेको सही विज्ञान हो । विज्ञान क्रिस्चियन हुँदैन नि । विज्ञान हिन्दु पनि हुँदैन, विज्ञान त विज्ञान हो । विज्ञान भौतिक पदार्थको विज्ञान हो । अध्यात्म चाहिँ आत्माको विज्ञान या जीवनको विज्ञान हो । त्यसकारण अध्यात्म धेरै टिकाउ हुन्छ भने पछिसम्मको समयलाई समेट्न सक्छ । हामी चाहिँ सङ्गठित धर्मको पक्षमा छैनौँ, हामी शुद्ध अध्यात्मको पक्षमा छौँ ।

अहिले संसार पुँजीवादमा आधारमा अघि बढिरहेको छ, पैसा, पद, प्रतिष्ठाको पछि मान्छेहरु कुदिरहेका छन् । तपाईंले धेरै देशहरु पनि घुम्नुभएको छ, मानिसहरु अध्यामप्रतिको रुचि कस्तो छ ?

दुईवटै भइरहेको छ । एक त के भइरहेको छ भने पश्चिमका नवयुवाहरु बढी, पूर्वका कम युवाहरुमा सङ्गठित धर्मप्रति आस्था घट्दै गइरहेको छ । चर्चहरु खाली छन् । तिनीहरु बिक्रीमा छन् । अरू धर्मका मानिसले चर्चहरु किनेका छन् । विदेशका विभिन्न देशमा नेपालीले नै चर्च किनेर मन्दिर बनाइरहेका छन् । रविशंकरले ठूलो चर्च किनेर पशुपतिनाथको मन्दिर बनाउनुभयो । कारण के भने युवाहरुको चर्चमा रुचि छैन । बूढाहरु मात्रै जान्छन्, आइतबार जान्छन् डेढ घण्टाका लागि अनि चर्चमा ताला लागिरहेको हुन्छ । ४० प्रतिशत व्यक्ति पश्चिममा यस्ता छन्, जो भन्छन् कि म धर्ममा विश्वास गर्दिनँ, एक प्रकारले नास्तिक छन् । त्यसकारण एकतिरबाट हेर्नुभयो भने धर्म मान्ने मान्छेहरुको सङ्ख्या घटिरहेको छ । हाम्रोमा पनि केही घटिरहेको छ ।

अर्को दृष्टिकोणबाट हेर्ने हो भने प्रचण्ड भौतिकवादीहरु पनि कमाएर, घर बनाएर, महँगो गाडी किनेर मात्र पनि सन्तोष भएनन् । त्यसकारण पश्चिमी जगतमा एक प्रकारको निराशा पनि छ । पूर्वीय जगतमा पनि निराशा छ तर हामीले राम्रोसँग बुझ्न सकिरहेका छैनौँ । किनभने यहाँ जो निराश देख्दा पनि लाग्छ, खान लाउन पुगेको छैन होला । तर जसलाई खान लाउन पुगिरहेको छ तर पनि जीवनमा सुख र सन्तोष छैन । अहिले पश्चिममा सबैभन्दा आकर्षित धर्म चाहिँ बुद्ध धर्म भएको छ । किनभने यो ‘-यास्नल रिलिजन’को रुपमा रहेको छ । त्यो बौद्धिक धर्म हो, त्यसमा तर्क छ, धेरै क्रियाकाण्ड छैन, शुद्ध विज्ञान हो । त्यसकारण पश्चिमी जगतमा बुद्ध धर्म मान्नेहरुको सङ्ख्या बढिरहेको छ ।

उपनिषद् अहिलेसम्म कसैले राम्रोसँग बुझाएको छैन । उपनिषद् पनि बुद्धका उपदेश जस्तै वैज्ञानिक हुन् । तर अहिले पश्चिमी जगतमा बुद्धको दर्शन बुझाउने मानिस छन् । दलाई लामा पनि अहिले घुमिरहनुभएको छ । बुद्धधर्मको बारेमा वैज्ञाजिन ब्याखा गर्ने काममा ओशोले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । अरू लामाहरु पनि धेरै छन् त्यहाँ, जेन मास्टहरु छन् । स्वामी विवेकानन्दपछि उपनिषद्को व्याख्याता राम्रा छै्रनन् । उहाँपछि उपनिषद्को धर्ममा मानिसको आकर्षण छ तर प्रचारक छैनन् ।

ओशोले धर्मलाई कुन रूपमा लिनुहुन्थ्यो ? धर्मप्रति उहाँको दृष्टिकोण के थियो ?

धर्मलाई उहाँले अन्तरको विज्ञान मान्नुहुन्छ । हिन्दु धर्ममा हुने घरपरिवार छोडेर मागेर खाने कुराको ओशो विरोधी हुनुहुन्छ । ओशोले धर्मलाई एउटा ‘डाइनामिक्स’ दिनुभएको छ । पश्चिमा जगतमा अहिले उहाँका किताबहरु खुब बिकिरहेका छन् । रुस जस्तो देशमा सायदै कसैको घर नहोला ओशोको किताब नहोस् । पश्चिमा जगतमा पनि उहाँका पुस्तकहरु धेरै चर्चित भइरहेको छ । आउने यो शताब्दीको अन्त्यसम्म वा आउने ८० वर्षमा ओशो बुद्ध जतिकै समान्नित हुनुहुन्छ भन्ने मेरो विश्वास छ । ओशोप्रति मानिसहरुको रुचि बढिरहेको छ । उहाँको दर्शन वैज्ञानिक छ ।

ऐतिहासिक रूपमै नेपाल आध्यात्मिक, धार्मिक भूमिका रूपमा रहेको छ । अहिले नेपालमा धर्म, अध्यात्मप्रति मानिहरुको दृष्टिकोण कस्तो छ ?

यसको मामिलामा म नेपालको गरिबीलाई ठूलो अभिसाप मान्छु । गरिब मान्छेको धर्म जुन हुन्छ, त्यो गरिबीले धेरै प्रभावित भइहाल्छ । अहिले पशुपतिनाथको मन्दिरमा जानेहरु पनि अलि सुख सुविधा हुने ठाउँमा जागिर लागोस् । छोराछोरी सरकारी जागिरे छ भने त्यसको भन्सारमा सरुवा होस, पैसा कमाओस् – पशुपतिनाथमा गएर यस्तै कुराहरु माग्छन् किनभने हामी गरिब छौँ । किनभने गरिबको जुन धर्म हुन्छ, त्यसमा धेरै भौतिक आकाङ्क्षाहरु जोडिन्छ । त्यसकारण यो धार्मिक क्षेत्र नै हो, ऋषिमुनिहरुकै देश हो । यसलाई साँच्चै अध्यात्म फैलाउने हो भने सबैभन्दा छिटो आर्थिक उन्नति गर्नुपर्छ । अध्यात्मवादी भएर पनि म भन्दैछु, सबैभन्दा पहिला आर्थिक काम गर्नुपर्छ । ‘वार फुडिङ’मा यो देशलाई मुक्त गर्नुपर्छ । अहिले एसिया नै गरिब छ । एसियामा हामी सबैभन्दा गरिब छौँ । अफगानिस्तानलाई माफ गर्न सकिन्छ, युद्ध भइरहेको छ त्यहाँ । तर हामीलाई माफ गर्न सकिँदैन । अफगानिस्तानमा स्रोत साधानको पनि कमी छ तर हामीसँग सबै प्रकारका स्रोत साधान छन् । अहिले युरेनियम पनि छ भन्ने कुरा आइरहेको छ । पेट्रोल छ, प्राकृतिक सम्पदा छ । टुरिस्ट आर्कषण छ । नेपाल गरिब हुनु चाहिँ आश्चर्यजनक घटना हो । हाम्रै बेवकुफीले यो गरिब भएको हो । यो आफै धनी हुने देश हो । हामी आफैले यसलाई गरिब बनाइरहेका छौँ । अनेक पार्टी बनाएका छौँ, अनेक मूर्खता गरेका छौँ । यो देश सम्पन्न हुनासाथै उपनिषद, शिवका आध्यात्मिक क्षेत्र सबै सप्रन्छ । अनि हामी आध्यात्मिक हुन्छौँ ।

*****

सबैभन्दा पहिले हामीले भौतिक विकास नगरी त्यो आध्यात्मिक हुँदैन । धार्मिकतामा कहीँ न कहीँ लोभ लुकिराखेको हुन्छ । जो मान्छेले राम्रो लुगा लगाउन पाएको छैन, राम्रो खान पाएको छैन उसले कसरी बुद्धका वचन बुझ्छ ? कसरी उपनिषद् बुझ्छ ? बुझ्दै बुभ्mदैन नि । उसको मन त खान लाउनमै घुमिराख्या हुन्छ ।

*****

यसको मतलब हामी आफ्नो स्वार्थसिद्धि पूरा गर्न मात्र मन्दिरमा जान्छौँ ?

आधिकांश मन्दिरमा अब जुत्ताको ¥याक छ, त्यहाँ जुत्ताहरु जम्मा गर्छौं । तर जहाँ छैन, मन्दिर जाँदा हामी जुत्तातिर पनि ध्यान दिइराखेका हुन्छौँ, भगवानतिर पनि ध्यान दिइराखेका हुन्छौँ । अस्ति म वीरगञ्ज एउटा मन्दिर गएको थिए, १ मिनेट पनि लागेन जुत्ता चोर्न । यस्तोमा कसरी ध्यान गर्छन् मान्छेले ? यो गरिबीको कारणले भएको हो ।

तपाईं भोको हुनुहुन्छ भने भोजन पहिलो आवश्यकता हो, ध्यान पहिलो आवश्यकता हैन, अध्यात्म पहिलो आवश्यकता हैन । खाली पेट छ भने हामीले परमात्मासँग पहिला भोजन पुगेको छैन भन्ने हाम्रो आधारभूत आवश्यकता माग्छौँ नि । भाकै पेट छ भने जति सुन्दर पेन्टिङ राखे पनि त्यसको सुन्दरता देख्न सक्नुहुन्न । संगीत सुन्न सकिँदैन । त्यसैले पहिलो आवश्यकता हो भौतिक हो । भौतिक समृद्धि भएन भने मान्छे इमानदारीतापूर्वक अध्यात्ममा लाग्न सक्दैन ।

भनेपछि अध्यात्मवादको विकासको जग भनेको भौतिकवादको विकास नै हो ?

हो, अहिले पश्चिमा अध्यात्मको जन्म भइरहेको छ । ओशो तपोवनमा पनि अधिकांश मान्छे विदेशका छन् । युरोप र अमेरिकाका विकसित राष्ट्रबाट हामीलाई बोलाउँछन् । किनभने उनीहरुको खान लाउन पुगिसक्यो । उनीहरुलाई खान लाउन पुगेर पनि केही पुगेन भन्ने बोध आयो । त्यही भएर उनीहरु अध्यात्मतिर ढल्किरहेछन् ।

जस्तो यहाँले अघि चर्चा गर्नुभयो, हामीसँग युरेनियमदेखि लिएर आम प्रकृतिक स्रोत साधन छन् । तैपनि नेपाल विकास हुन सकेन भन्नुभो । यसको मतलब अब नेपालमा आध्यात्मिक विकास हुनका लागि भौतिक विकास हुन जरुरी छ ?

छ । सबैभन्दा पहिले हामीले भौतिक विकास नगरी त्यो आध्यात्मिक हुँदैन । धार्मिकतामा कहीँ न कहीँ लोभ लुकिराखेको हुन्छ । जो मान्छेले राम्रो लुगा लगाउन पाएको छैन, राम्रो खान पाएको छैन उसले कसरी बुद्धका वचन बुझ्छ ? कसरी उपनिषद् बुझ्छ ? बुझ्दै बुभ्mदैन नि । उसको मन त खान लाउनमै घुमिराख्या हुन्छ । त्यो मान्छेले कसरी बुद्धका जीवन नस्वर हो भनेर कसरी बुझ्छ ? उपनिषद्का अहम ब्रह्म, बसुदैव कुटुम्बकम कसरी बुझ्छ ? बुझ्नै सक्दैन नि । यो बसुदैव कुटुम्बकम तब पैदा भएको थियो, जब हाम्रो यो क्षेत्रलाई समृद्धिको पहाड भनिन्थ्यो । खान लागाउनका लागि बढीभन्दा बढी उब्जनी हुन्थ्यो । त्यो बेला जसको घरमा धान बढी हुन्छ, मकै बढी छ त्यो धनी हो । त्यो हामीसँग थियो । त्यो बेला नै उपनिषद् पैदा भयो । त्यही भएर जबसम्म भौतिक उन्नति हँुदैन तबसम्म आध्यात्मिक उन्नति पनि हँुदैन ।

नेपालमा यहाँले जुन आध्यात्मिक अभियान चलाइराख्नु भएको छ, त्यसको प्रभाव के कस्तो छ ?

यसको प्रभाव त पहिलो म आनन्दित छु । म खुसी छु । यो काम गरेर मलाई सन्तुष्टि मिलिरहेको छ । जब म मान्छेलाई दीक्षा दिन्छु या अहिले शिविर गराएको छु । यो काम गर्दा म खुसी हुन्छु । यो काम जुन हो, आनन्द आएन भने काम गर्नै सकिँदैन । मलाई काममा सन्तोष छ, आनन्द छ । यसमा धेरै नवयुवक साथीहरु पनि हेर्नुहुन्छ, उहाँहरु पनि लाग्नुभएको छ । हेर्नुहुन्छ, हाँस्नुहुन्छ । नाच्नुहुन्छ । योगा गर्नुहुन्छ । अधिकांश नेपाली खानपानको गलत अभ्यासले अहिले अस्वस्थ छन् । त्यसको तुलनामा तपोवनमा बस्ने मान्छे धेरै स्वस्थ छन् । हामी अस्पताल धाउनुपर्दैन । मेरै उमेर ७६ वर्ष भइसक्यो, म अहिलेसम्म एक पटक पनि हस्पिटलाइज हुनु परेको छैन । मलाई केही राम्रो काममा लागिरहेछु भन्ने सोचले सन्तोेष लाग्छ ।

११ डिसेम्बरमा ओशो रजनिशको जन्म जयन्ती छ, अहिलेको सन्दर्भमा ओशो दर्शनको सान्दर्भिकता कस्तो छ ?

एकदम सान्दर्भिकता छ । अहिले ओशो जस्तो दर्शन फस्टाएन भने हामी अर्को विध्वंशमा जान्छौँ । एउटा विध्वंश बताउँछु म तपार्इंलाई । एउटा त तेस्रो विश्वयुद्धमा जाने खतरा सधैँ रहिरहन्छ ।

एटोमेटिमक हतियार विश्वका धेरै देशसँग भइसक्यो । उनीहरुका बीचमा द्वन्द्व छ । इजरायल र अरबको बीचमा सधैँ द्वन्द्व छ । यिनीहरुको बीचमा मारामार छ । भारत र पाकिस्तानको बीचमा विगत ७० वर्षदेखि सधँै तनाव छ । तीन चार पटक युद्ध भइसक्यो । अहिले पनि भरखर भरखर युद्ध होलाझैँ भइसकेको थियो । दुवैसँग एटोमिक पावर छ । अब यो नर्थकोरिया र साउथ कोरिया बीचको सम्बन्ध मैले भन्नै पर्दैन । यो एटोमिक पावर यति खतरनाक छ कि एक जना हेड अफ दि स्टेटको मति बिग्रियो भने वा टेन्सनमा आयो भने ? किनकि मानव मस्तिष्क हो कहिलेकाहीँ तनावमा आउँछ, कहिलेकाहीँ डिप्रेसनमा आउँछ । कहिलेकाहीँ चै त्यो एकदमै निराश हुन्छ, सुसाइडल हुन्छ । मान्छेको नेचर नै हो । त्यस्तो मान्छे संसारमा खोज्न कठिन छ, जसको जीवनमा एकदुई चोटि सुसाइडल टेन्डेन्सी नआएको होस् ।

****

जब म ओशोमा लागेँ त्यतिबेला इन्डियामा जनसङ्ख्या करिब करिब ४५ करोड थियो र संसारको जनसङ्ख्या साढे तीन अरब थियो । त्यो बेलादेखि ओशो कराउनुभयो कि अनिवार्य रूपमा परिवार नियोजन गर । यदि यसो नगर्ने हो भने यो शताब्दीको अन्त्यसम्म हामी डबल हुन्छौँ । डबल भएपछि खाना त छोडौँ । पानी पनि पाउँदैन । ओशोले यो ६० वर्षअघिबाट कराइराख्नु भएको छ । आज ओशोको सान्दर्भिकता एकदमै बढी छ । जति ढिला गर्छौँ हामी ओशोलाई बुझ्नलाई त्यति नै मानव सङ्कट बढ्दै जान्छ ।

****

हरेक व्यक्तिले कम्तीमा १० चोटि जीवनमा एभरेजमा सुसाइडल टेन्डेन्सीबाट ग्रसित हुन्छ । त्यस्तो सुसाइडल टेन्डेन्सी यदि एटोमिक राष्ट्रको हेड अफ दि स्टेटको मनमा आइदियो र त्यसको ठीक समाधान भएन भने यो विश्व २४ घण्टाभित्र खरानी बन्छ । यत्रो ठूलो सङ्कट छ बुझ्नोस् । एउटा क्राइसिस त मैले बताए एटोमिक वारको ठूलो डर छ ।

दोस्रो सङ्कट छ विश्व तापमानको । प्रत्येक वर्ष तापक्रम बढिराखेको छ र अब १ डिग्री मात्रै तापक्रम बढ्यो भने ३० प्रतिशत हिमालय पग्लिन्छ । हिमालय पग्लियो भने के हुन्छ ? जति यो क्षेत्रका नदी छन् तिनीहरु हिमालको हिउँमा निर्भर छ । पानी सुकेपछि अहिले नै दुनियाँमा पानीको भयङ्कर अभाव छ । त्यसैले ग्लोबल वार्मिङ इज अनोदर थ्रेट । राजनीतिज्ञहरुले यो कुरा सम्बोधन गर्दैनन् ।

तेस्रो सबैभन्दा ठूलो समस्या हो ह्युमन बम । मतलब अत्यधिक जनसंख्या वृद्धि । अहिले संसारमा साढे सात अरब मान्छे भइसक्यौँ । १ सय वर्ष अगाडि हामी १.५ अरब थियौँ । हामीले ६ अरब १०० वर्षमा जोड्यौँ । अब यति मान्छे संसारमा भइसक्यो कि पानीको समस्या युनिभर्सल भइसक्यो । हामी संसारको जुनसुकै देशमा जान्छौँ त्यहाँ पानीको समस्स्या छ । हामी कहाँ पनि छ पानीको समस्या छ । मान्छेलाई जति पानी चाहिन्छ, त्यसको नेपालमा, काठमाडौँ सहरमा जति पानी चाहिन्छ त्यसको ३० प्रतिशत मात्रै पुगिरहेको छ । ७० प्रतिशत पानीको अभावमै छ । यो नेपालको मात्रै कहानी हैन, मुम्बईमा अहिल त्यस्तै छ । भारतको मद्रासमा अहिले पर हेड एक सातामा सात लिटर पानी दिइन्छ ।

पानीको ठूलो समस्या मदासमा पनि छ । अब एक लिटर पानीले मान्छेले खाने कि नुहाउने कि के गर्ने ? मिनिमम मान्छेलाई राम्रोसँग जिउनका लागि १ सय लिटर पानी चाहिन्छ । त्यो १ सय लिटर पानी अहिले दुनियाँका अधिकांश सहरमा पुगिराखेको छैन । यसको आवश्यकता बढी छ । ‘वाटर क्राइसिस इज गोइङ टु किल अस’।

पानीको समस्या हुन बाँकी संसारमा एउटा पनि देश बाँकी छैन । एउटा दुईवटा सानो सानो देश बाँकी होला । विश्वव्यापी पानीको समस्या भइसक्यो । भयङ्कर रूपमा पानीको समस्या भइसक्यो । यो शताब्दीको अन्त्यसम्ममा हामी १२ अरब भइसक्छौँ । ६० प्रतिशनत जनसङ्ख्या बढ्नेवाला छ । त्यसपछि विश्व नर्क बन्नेवाला छ । त्यसपछि के हुन्छ भने खानलाई पानी हुँदैन । हिँड्नलाई दुई तीन घण्टा जाम नभई हिँड्न सकिँदैन । प्रदूषण बढ्छ ।

त्यही भएर अहिले ओशोको आवश्यकता छ । जब म ओशोमा लागेँ त्यतिबेला इन्डियामा जनसङ्ख्या करिब करिब ४५ करोड थियो र संसारको जनसङ्ख्या साढे तीन अरब थियो । त्यो बेलादेखि ओशो कराउनुभयो कि अनिवार्य रूपमा परिवार नियोजन गर । यदि यसो नगर्ने हो भने यो शताब्दीको अन्त्यसम्म हामी डबल हुन्छौँ । डबल भएपछि खाना त छोडौँ । पानी पनि पाउँदैन । ओशोले यो ६० वर्षअघिबाट कराइराख्नु भएको छ । आज ओशोको सान्दर्भिकता एकदमै बढी छ । जति ढिला गर्छौँ हामी ओशोलाई बुझ्नलाई त्यति नै मानव सङ्कट बढ्दै जान्छ ।

तपाईंको राजनीतिक दलका उच्चतहको व्यक्तिसँग पनि धेरै भेटघाट हुनेगर्छ । उहाँहरुमा अध्यात्मिक तहको अवस्था कस्तो पाउनुभएको छ ?

अहिलेको राजनीतिक अवस्थाको कुरा गर्ने हो भने वहाँहरुले आफ्नो कार्यकर्तालाई खुसी राख्नका लागि बिहानदेखि बेलुकासम्म भेट्नु पर्छ । उनीहरुको सरुवा, बढुवा, मागहरुको सवालमा हरेक मन्त्रीहरुको घरमा कार्यकर्ताको भीड लाग्ने गर्छ । कार्यकर्ताको महत्त्वकाङ्क्षा पुरा गरिएन भने भोलि चुनाव लड्न नसक्ने भन्ने हुन्छ । अहिलेको राजनीतिक परिवेशमा राजनीतिक गर्ने व्यक्तिलाई आध्यात्म गर्न फुर्सद नै छैन । यो राजनीतिक सिस्टमले राजनीतिक व्यक्तिलाई पनि सुख छैन । २४ घण्टा दौडेको दौडेकै छन् । सबै राजनीतिक व्यक्तिलाई स्वास्थ्यको बारेमा ध्यान दिने समय छैन । अनेक रोग लाग्छन् । कति राजनीतिक व्यक्तिहरु अस्वस्थ्य हुनुहुन्छ, त्यो हामीले देखिराखेका छौँ । राजनीतिक व्यक्तिले समयको व्यवस्थापन नै गर्न सकिराखेको अवस्था छैन । यो राजनीतिक सिस्टममा राजनीतिकर्मी पनि एकदमै व्यस्त छन् । अलिकति उहाँहरुको पनि राजनीतिक अहंकार सिवाय केही पनि मिल्दैन,खान पनि फुर्सद छैन् । सुत्न, आफ्नो परिवारलाई पनि समय छैन भने भएका सुविधालाई उपभोग गर्न पनि समय छैन । ५ दिन कुनै ठाउँमा म गएर विश्राम गरौँ भने कुनै पनि राजनीतिकर्मीलाई समय छैन । जब कि अमेरिकाको राष्ट्रपतिले हरेक ३, ४ महिनामा ७, ७ दिन बोटिङ गर्ने, गल्फ खेल्न जाने गरेका छन् । अन्य देशका राष्ट्रपति, प्रधानमन्त्रीको पनि विश्राम गर्छन् । माइन्ड फ्रेस गर्छन् । हाम्रा राजनीतिक व्यक्तिहरुलाई त्यो सुविधा हामीले दिन सकेका छैनौँ । समय व्यवस्थापनको लागि राजनीतिकमा व्यापक सुधारको आवश्यक छ । हरेक पार्टीका केही व्यक्ति आध्यात्मिक छन्, ओशोमा छन् । तर ती व्यक्तिहरु चाहिँ थोरै हुनुहुन्छ ।

*****

अहिलेको जुन मानव विकास छ । जसरी हामीलाई समाजले पाखण्डी बनाइराखेको छ । यो पाखण्डी समाज हो यहाँ खाने दाँत र देखाउने दुईवटा दाँत छन् । सबैलाई आफू शिष्ट, सेक्सको मामिलामा पवित्र भएको देखाउनुपर्ने छ । भित्र चाहिँ उसको व्यवहार अर्कै हुन्छ । यो झुटा व्यक्तित्व जुन हाम्रो समाजले खडा गरेको छ यसैले सबै भइरहेको छ । ओशो सेक्सलाई प्राकृतिक रुपमा स्वीकार गर भन्नुहुन्छ । यो किन उपद्रो छ ? सारा मानसिक रोगहरु अहिले छन् ? त्यसको कारक नै सेक्स हो ।

*****

मान्छेको अनिवार्य आवश्यकतामा गाँस, बास, कपास र सहवास भनिन्छ । सहवासको विषय बढी किन विवादित भयो ?

विषय नै त्यस्तै छ । गाईवस्तु, चराचुरुङ्गी बाँदर कही पनि सेक्सको समस्या छैन । मनुस्यमा मात्रै किन छ भने सेक्सलाई हामीले प्राकृतिक रुपमा स्वीकार गरिराखेको छैनौँ । सेक्स प्राकृतिक कुरा भएको हुँदा यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने ओशोको भनाइ छ । यसलाई ‘पाप छ, ठीक छैन्, गलत छ’ भनिरहँदा त्यस्ता कुराहरुले नै समाजमा विकृति फैलिरहेको छ ।

पछिल्लो समय नेपालमा यौन हिंसाका घटनाहरु बढिरहेको छ । यसलाई तपाईंले कसरी लिनु भएको छ ?

सेक्सको समस्या ठूला ठूला राजनीतिक व्यक्तिमा पनि भएको सुन्नुभयो । राजनीतिकभन्दा पनि बढी ठूला ठूला धर्मगुरुहरुमा बढी छ । तर यो नठान्नुस् कि राजनीतिककर्मी र धर्मगुरु नभएका व्यक्तिमा सेक्सको समस्या छैन । धर्मगुरु र राजनीतिकर्मी मिडियामा बढी छाउँछन् । नाम चलेका व्यक्तिको सञ्चार माध्यममा कथा छापिन्छ । सामान्य व्यक्तिको कथा छापिँदैन मिडियामा आउँदैन । त्यसकारणले सेक्स नेता र धर्मगुरुको मात्रै समस्या हो भन्ने हामीलाई लाग्छ । रातोकथा सबैको छ ।

यो अहिलेको मनुस्यताको समस्या हो । अहिलेको जुन मानव विकास छ । जसरी हामीलाई समाजले पाखण्डी बनाइराखेको छ । यो पाखण्डी समाज हो यहाँ खाने दाँत र देखाउने दुईवटा दाँत छन् । सबैलाई आफू शिष्ट, सेक्सको मामिलामा पवित्र भएको देखाउनुपर्ने छ । भित्र चाहिँ उसको व्यवहार अर्कै हुन्छ । यो झुटा व्यक्तित्व जुन हाम्रो समाजले खडा गरेको छ यसैले सबै भइरहेको छ ।

ओशो सेक्सलाई प्राकृतिक रुपमा स्वीकार गर भन्नुहुन्छ । यो किन उपद्रो छ ? सारा मानसिक रोगहरु अहिले छन् ? त्यसको कारक नै सेक्स हो ।

त्यसो भए यौनको मामिलामा आदर्शको नाटक गरिन्छ ?

ठीक भन्नुभयो तपाईंले । आदर्शको नाटक भयो । ब्रह्माचार्य थोरै मानिसका लागि मात्रै सम्भव छ । हजारमा एक पनि सायद हुँदैन । सबै धार्मिक व्यक्तिले ब्रह्माचारी बन्नुपर्छ भन्ने धारणा आयो तर त्यो सम्भव हुँदैन । मानिसले न सन्यास लिन्छ तर जिउको हर्मोन वा रसायनले त सन्यास लिँदैन । उसलाई भोक लाग्छ । धार्मिक व्यक्तिले किन खानुभयो त भन्नुहुन्न । धार्मिक व्यक्तिलाई पसिना किन आयो, किन गन्हायो भन्न मिल्दैन । किनभने पसिनाको त गन्ध आउँछ । दिसापिसाब पनि जानैपर्छ । सबै प्राकृतिक चिज गर्नुपर्छ, हुन्छ भने सेक्स किन हुन्न ? सेक्स पनि त प्राकृतिक हर्मोन हो । त्यसलाई यसरी स्वीकारिएर ल्याएको भए धार्मिक व्यक्तिहरु जेल जाने थिएन ।

हामीले सोच्यौँ, स्वामी, सन्यासी वा धार्मिक व्यक्ति हुनेवित्तिकै सेक्सबाट अलग हुनुपर्छ । तर त्यो कसरी सम्भव छ ? शरीरको रसायनलाई थोरै थाहा छ कि तपाईं गृहस्थ, सन्यासी, स्वामी वा धार्मिक व्यक्ति हुनुहुन्छ भनेर ? दिसा, पिसाब भोक जस्तै यौन पनि प्राकृतिक चिज हो भनेर सहज ढङ्गले बुझियो भने यो समस्यालाई छिटो समाधान गर्न सकिन्थ्यो । नाम चलेका राजनेता, कलाकार, पत्रकार वा कुनै पनि व्यक्तिसँग हामी के अप्राकृति अपेक्षा गर्छौं भने उनीहरु सेक्सबाट मुक्त भएको होस् । उनीहरु अर्कै लोकबाट उत्रिएका, गङ्गा स्नान गरेका मानिस होऊन्, उसमा वासना, इच्छा हुँदै हुँदैन भनेर भन्नु हाम्रो चाहनाको कमजोरी हो । अहिले यौनसँग जोडिएर भइरहेका घटनाहरुमा व्यक्तिको दोष होइन । व्यक्तिलाई माफ गर्न सकिन्छ तर प्रणालीलाई माफ गर्न सकिन्न ।

२१ औँ शताब्दीमा विश्वव्यापी रूपमै यौनप्रति एउटा उदार दृष्टिकोणले जन्म लिएको छ । पश्चिममा त धेरै भइसक्यो । हामीहरु अलिकति रुढीवादी, परम्परावादी छौँ र हामीकहाँ कुनै कुरा हुनलाई समय लाग्छ । पश्चिमी जगत्मा लिभिङ टुगेदर (विवाह नै नगरीकन जीवन साथ विताउने) संस्कार नै आइसक्यो ।

पत्नीको पनि केटासाथी (ब्वाइफ्रेन्ड) वा पतिको पनि केटी साथी छ भने पति वा पत्नीले त्यति ‘माइन्ड’ गर्दैन । पश्चिमा जगत्मा धेरै कुराहरु स्वीकार्य नै भइसक्यो । एक प्रकारको उदार दृष्टिकोण पैदा भइरहेको छ पश्चिमा जगत्मा । हामीकहाँ पनि भइरहेको छ, नभएको होइन । हिजो महिलालाई दबाएर राखिएको थियो, उनीहरुको धेरै शोषण भएको थियो, अहिले उनीहरुले पनि आफ्नो स्वतन्त्रता उपभोग गरिरहेका छन् र त्यो सुरु भएको छ ।

काम अर्थात् सेक्सको बारेमा विश्वव्यापी रूपम नै उदारवादी धारणा विकास भइरहेको छ । हाम्रो सामाजिक परिवेश यस्तो छ कि कुनै चिज आउनलाई समय लाग्छ । कतिपय कुराहरुलाई ग्रहण गर्न समय लाग्दैन । जस्तो, जिन्स पाइन्ट अमेरिकामा चल्यो भने यहाँ तुरुन्तै आइहाल्छ । जबकि जिन्स पाइन्ट लगाउने हाम्रो संस्कार, प्रचलन होइन । जिन्स पाइन्ट लगाएर मात्र पुग्दैन ।

उनीहरुले त्यसमा ठाउँ ठाउँमा च्यातेको हुन्छ । त्यसको उपयोगिता त देखिँदैन । तर अमेरिकामा जिन्स प्यान्ट च्यातेको छ भने नेपालमा पनि तुरुन्तै त्यसरी नै च्यातिहाल्छ । भन्नुको अर्थ, यी चिजहरु, पिजा, कोकोकोला लगायतका चीजहरु हामी अति छिटो ग्रहण गर्छौं, स्वीकार्छौं । तर पश्चिमा जगत्मा जुन सामाजिक क्रान्ति, उदारवादी परिवर्तन भइरहेको छ, त्यो कुरालाई स्वीकार्न, ग्रहण गर्न चाहिँ हामी समय लगाउँछौँ । तर त्यो हुन्छ, समयको मागलाई कसैले रोक्न सक्दैन ।

यो पिढी सङ्क्रमणको समयमा भएकाले दुःख पाउँछ । सङ्क्रमणको कालमा रहेको यो पिढीलाई अलि सङ्कट छ । त्यसमा ओशोको विचार औषधि हो । त्यसकारण हामी नेपालमा १०३ ध्यान केन्द्रहरु खोलेर दुई हजार व्यक्तिलाई मैले नै दीक्षा दिएको छु । नब्बे हजार व्यक्ति उदार मनोवृत्तिका छन् । हरेक विषयमा ओशोको दृष्टिकोण रुढीवादी छैन, व्यापक र उदार छ । त्यो विषयमा सेक्स, सामाजिक व्यवहार, पैसा पनि पर्छ । हाम्रो दृष्टिकोण बडो उदार र खुला छ । विस्तारै त्यसको प्रभाव देखिँदै जानेछ । हामी समुद्रमा एक बोरा चिनी हालेर एकै दिनमा समुद्र त गुलियो हुँदैन । तैपनि प्रयास त गर्नुपर्छ । अहिले हामीले हरेक सन्यासीले पाँचवटा रुख रोपौँ भनेर अभियान सुरु गरेका छौँ ।

हामी नब्बे हजार सन्यासी छौँ । हामीले प्रत्येक वर्ष रोप्यौँ र जोगायौँ भने साढे चार लाख रुख जोगिन्छ । हामीले रोप्ने ती रुखहरुले अहिले काटिइराखेका रुखहरुको भरपाई, क्षतिपूर्ति त गर्दैन । तर पनि प्रयास त गर्नुपर्यो । हामीले प्रयास गरिरहेका छौँ । हाम्रो वाणगङ्गा कम्युनमा खोला छ, देशका हरेक खोलाहरुमा शोषण भएको छ, पानी सुक्दै गइरहेको छ । खोलामा तीन चार महिना मात्रै पानी हुन्छ । बर्खा बाहेकको बाँकी समयमा त्यो नाला जस्तो मात्रै हुन्छ । बुद्धको गाउँबाट बगेको ऐतिहासिक वाणगङ्गा नदीको किनारमा त्यसलाई संरक्षण गर्न एक लाख रुख लगाउने सङ्कल्प गरेका छौँ । त्यो गरेर त्यो नदीलाई हामी जीवित राख्ने छौँ ।

यी सब हामी गरेका छौँ । यसको राष्ट्रमा प्रभाव पर्नेछ । हामी राष्ट्रिय जागरण अभियान लिएर घुम्ने छौँ । हामी सबै नेपालीलाई बच्चा कम पैदा गरेर रुख रोप्न आह्वान गर्छौं । एक सम्पत्ति, एक सन्तति र प्रत्येक व्यक्तिले पाँचवटा रुख रोपौँ भन्ने हाम्रो नारा छ । हामी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म प्रयास जारी राख्नेछौँ ।

हाम्रो प्रयत्न हुनेछ : जनसङ्ख्या नियन्त्रित होस् र हरियाली बढोस् । अनि विचारमा पनि व्यक्ति उदार बनून् । हामी धर्मान्ध, विचारको अन्ध र मेरै विचार ठीक छ, बाँकी सब गलत छ भन्ने एक प्रकारको बहुत ठूलो हिंसाबाट बचौँ । यो विश्वमै सबैभन्दा ठूलो सङ्कट ल्याउने हिंसा हो । यो हिंसाबाट मुक्त हुनुपर्छ । जुन व्यक्ति यो ठान्छ ः मेरो विचार सर्वश्रेष्ठ हो, अरूको विचार निकृष्ट हो ः हिंस्रक मान्छे हो । त्यसको विरुद्धमा हामीले अभियान चलाएका छौँ । अरूको विचार सुनौँ, ऊ पनि सही हुन सक्छ : यति चाहिँ उदारता लिऔँ । यो हाम्रो राष्ट्रिय अभियान हो ।

मेरो हजुरबाले रोपेको रुखको आँप अहिले मैले खाइरहेको छु । मैले रोपेँ भने मेरा सन्ततिले खाला ।

११ डिसेम्बर अर्थात् ओशोको जन्मजयन्तीमा तपाईंहरु के गर्दै हुनुहुन्छ ? कुनै नयाँ खालको कार्यक्रमहरु पनि गर्दै हुनुहुन्छ कि ?

हरेक ओशो उत्सवमा हामी सबैलाई स्मरण गराउँछौँ कि वर्षमा पाँचवटा रुख रोपौँ र हुर्काऔँ र एउटाभन्दा बढी बच्चा पैदा नगरौँ । कोही पूर्णकालीन फुर्सदमा छन् भने बच्चा नै नबनाऔँ बरु थुप्रै सडक बालबालिकाहरु छन्, तिनलाई पालौँ । आफ्नो जीवनमा पूरै समय अध्यात्ममा दिने सोच छ भने बच्चा नै नबनाऔँ । आफ्नै बच्चा बनाउने मन भएका दम्पतीले पनि एउटा भन्दा बढी नबनाऔँ । यसलाई हामीले राष्ट्रिय अभियान नै बनाएका छौँ ।

त्यसबाहेक, सांस्कृति कार्यक्रम, साङ्गीतिक कार्यक्रमहरु गर्छौं, साथीभाइहरुसँग चियापान तथा ओशोका दर्शनका बारेमा पुस्तक, अडियो भिडियोहरु चलाउँछौँ ।

त्यसबाहेक हामीले एउटा नयाँ अभियानको थालनी गरेका छौँ : कम्तीमा तीन चोटि बिहान ७ बजे, दिउँसो १२ बजे र साँझ ८ बजे हामीले सात सात मिनेटको प्रार्थना गरौँ । यो हामीले संसारभरि नै सुरु गरेका छौँ । नेपालबाट यो सुरु भएको १५ दिन मात्रै भएको छ र संसारभरि नै विस्तारै हाम्रा केन्द्रहरुले यो अभ्यास गर्दै जानेछन् ।

सबैलाई हाम्रो आग्रह छः सक्नुहुन्छ अरू ध्यानहरु गर्नोस्, अन्यथा बिहान १ चोटि आफ्ना गुरुलाई, बुद्धलाई, जसमा ओशो, गौतमबुद्ध, कृष्ण, मोहम्मद, जिसस पनि पर्नुहुन्छ । जुन गुरु तपाईंको हुनुहुन्छ, उहाँलाई याद गरेर तीन चोटि नमन गर्नुहोस् । बुद्धम शरणम् गच्छामि : धर्ममः शरणम् गच्छामिः सङ्घम् शरणम् गच्छामिः भनेर संसारभरिकै सबै ध्यान केन्द्रहरुलाई नमन गर्नुहोस् । यो बुद्धका मात्रै हैन, यो एक्काइसौँ शताब्दीकै धार्मिक प्रयोग हो । यसले मन शान्त हुन्छ ।

*****

पुरानो सन्यास जीवनविरोधी थियो । त्यसले अध्यात्मलाई मात्रै मान्थ्यो, भौतिकवादलाई मान्दैनथियो । कि बौद्ध भिक्षु जस्तो मागेर खाने, कि आश्रममा बसेर खाने, उपार्जन नगर्ने, मानिसले मठ मन्दिरमा दिएको चन्दाबाट खाने भन्ने धारणा थियो । हामी त्यसको विरोधी छौँ । हामी के भन्छौँ भने मागेर खाने होइन, बाँडेर खानुपर्छ । हामी जति कमाउँछौँ, त्यसको कम्तीमा १० प्रतिशत बाँड्नुपर्छ । हाम्रो सन्यासको यो धारणा छ ।

*****

मोहम्मदले पाँच चोटि सामूहिक प्रार्थना गर्न सिकाउनुभयो । हामी तीन चोटि किन गर्न सक्दैनौँ । दिनको तीन पटक सात सात मिनेट ध्यान गर्दा २१ मिनेट मात्रै लाग्छ तर त्यसले मनको स्नान हुन्छ, मनको शुद्धि हुन्छ । हामी प्रयोग गरिरहेको यो विधिलाई अपनाउन हामी ११ डिसेम्बरको दिन हरेक केन्द्रलाई हामी आग्रह गर्छौं ।

१०३ केन्द्रमा ९० हजार सन्यासी आबद्ध छौँ र एक सन्यासीसँग १० जना गैरसन्यासी जोडिएका छन् । त्यसकारण हाम्रो सङ्ख्या अहिले नौ लाख छ । हामी उहाँहरु सबैलाई दिनको तीन पल्ट ७ मिनेटको प्रार्थना गर्नुहोस् भनी अनुरोध गर्छौं ।

ओशोका सन्यासी र अरू धर्मसँग सम्बन्धित पनि सन्यासीहरु हुन्छन् । सामान्यतः सन्यासी भनेको घरपरिवार, मायामोह, धनसम्पत्ति सबै परित्याग गरेर ध्यान साधना गर्ने व्यक्ति भनेर बुझिन्छ । त्यो सन्यासी र ओशो सन्यासीमा के फरक हुन्छ ?

पुरानो सन्यास जीवनविरोधी थियो । त्यसले अध्यात्मलाई मात्रै मान्थ्यो, भौतिकवादलाई मान्दैनथियो । कि बौद्ध भिक्षु जस्तो मागेर खाने, कि आश्रममा बसेर खाने, उपार्जन नगर्ने, मानिसले मठ मन्दिरमा दिएको चन्दाबाट खाने भन्ने धारणा थियो । हामी त्यसको विरोधी छौँ । हामी के भन्छौँ भने मागेर खाने होइन, बाँडेर खानुपर्छ । हामी जति कमाउँछौँ, त्यसको कम्तीमा १० प्रतिशत बाँड्नुपर्छ । हाम्रो सन्यासको यो धारणा छ ।

कमाइको १० प्रतिशत निमुखा, कमाइ नभएका तथा आवश्यकता भएकाकोमा पुर्याउनुपर्छ । त्यसकारण ओशो सन्यास बाँडेर खाने संन्यास हो, मागेर खाने संन्यास होइन । हामी आफ्नो बाहुबलले उपार्जन गर्छौं, अधिकांश सन्यासीहरुको पेसा छ । आश्रममा हामी ७० जना जति सन्यासी बस्छौँ ।

तर यो नठान्नुहोस् कि हामी काम गर्दैनौँ । बाहिरको मानिसले १० देखि ५ काम गर्छ । हामी बिहान ७ देखि रातिको १० बजेसम्म काम गर्छौं । अरू मानिसलाई शनिबार बिदा हुन्छ, हामीलाई शनिबार नै सबैभन्दा बढी काम हुन्छ । हामी हप्ताको सातै दिन, वर्षको ३६५ दिन काम गर्छौंं, सात घण्टा मात्रै काम गर्ने कुरामा विश्वास गर्दैनौँ, जबसम्म काम सकिँदैन, हामी बाह्रै घण्टा पनि काम गर्छौं । त्यसकारण हामी बाहिरका व्यक्तिभन्दा बढी कर्मठ छौँ । हाम्रा सन्यासीहरुको सक्रियता बाहिरका व्यक्तिहरुभन्दा बढी छ ।

यही फरक छ हाम्रो संन्यासमा । हाम्रो संन्यास रचनात्मक सन्यास हो । यो पलायनवादी हैन, सिर्जनवादी संन्यास हो ।

हेर्नुहोस भिडियो :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.