मजदूरले आत्महत्या गरेपछि बन्द गरियो मारुति सिमेन्ट उद्योग, आज पनि प्रदर्शन जारी

सिरहा । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् ।
अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।
घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदूरले आज बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।
आज दिउँसो दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदूर सङ्गठन प्रदेश नं २ का सचिव केदार देवले जानकारी दिए । ‘मारुति सिमेन्ट व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौँ’, सचिव देवले भने, ‘तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।’
मजदूरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदूरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?