शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकअघि काँग्रेसका दुई समूह आन्तरिक गृहकार्यमा

देउवा र कोइराला निवासमा विभाग गठनकोे जोडघटाउ
बुधबार, २५ मङ्सिर २०७६, १४ : १०
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन  र इतर पक्ष केन्द्रीय कार्यसमिति बैठकका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । 

बुधबार बिहान सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवास महराजगञ्जमा संस्थापन र इतरपक्षका नेताबीच छुट्टाछुट्टै छलफल भएको छ । 

संस्थापन पक्षबाट सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु बालकृष्ण खाण, रमेश लेखकलगायतका नेताहरुबीच छलफल भएको थियो ।

यता इतर पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, डा. शेखर कोइराला, चन्द्र भण्डारी, प्रदीप पौडेललगातका नेताहरुको सहभागिता थियो । 

विभाग गठन र भ्रातृ संगठनमा तदर्थ समिति ल्याउने विषयमा देउवा पक्षबाट उपभापति निधिको नेतृत्वमा सहमहामन्त्री महत र प्रवक्ता शर्मा यता पौडेल पक्षबाट सिंहको नेतृत्वमा बडू र हृदयराम थानीबीच मंगलबार छलफल भएको थियो ।

दुई पक्षीय तर्फको वार्ता टोलीका संयोजकले आज बिहान भएको आफू पक्षीय छलफलमामा हिजो भएको छलफलको ब्रिफ्रिङ गरेका थिए । वार्ता टोलीबीच हिजोको छलफलमा कुनै सहमति हुन सकेन । उनीहरुले आफ्नो अडान राखेका थिए ।

सभापति देउवा बिहीबारको केन्द्रीय समिति बैठकअघि केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउने तयारीमा जुटेका छन् ।  

उक्त विषयहरु विधानअनुसार केन्द्रीय कार्यसमितिमा छलफल गर्नुपर्ने विषय नभएकाले देउवा र पौडेल पक्ष आन्तरिक सहमतिको जोडघटाउमा व्यस्त भएका हुन् ।

विभागको नेतृत्व र भ्रातृ संगठनमा पदाधिकारी भागबण्डा कसरी मिलाउने भन्नेबारे देउवा पक्षले रणनीति बनाइरहेको बुझिएको छ । देउवा पक्ष कुनै भ्रातृ संस्थाको नेतृत्व पौडेल पक्षलाई नदिने रणनीतिमा छ ।

यस्तै संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले देउवा पक्षको रणनीति छ । 

यता महाराजगञ्जको बैठकमा पौडेल पक्षले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागमध्ये दुईवटा आफ्नो पक्षले पाउनुपर्ने अडानमा लिएको छ । साथै ६०–४० को भागबण्डा अनुसार अगाडि बढ्नुपर्ने बैठकको जोड रहेको सहभागी एक नेताले बताए ।

उनका अनुसार नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्वमा पौडेल पक्षको दाबी छ । तर नेविसंघ र तरुण दलमा अध्यक्षसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र तीमध्ये अध्यक्ष संस्थापन, पौडेल र सिटौला पक्षले एक–एक महामन्त्री दिने देउवाको तयारी रहेको बूढानीलकण्ठ स्रोत बताउँछ ।

जसका लागि अपराह्न ४ बजे पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएका वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी पौडेलले बताए । 

पदाधिकारी बैठकमा इतर पक्षसँग सहमति जुटाउने प्रयासमा देउवा रहनेछन् । 

विधानअनुसार महाधिवेशनको दुई महिनामै र नयाँ विधान अनुसार ६ महिनामा  विभाग गठन गर्नुपर्ने व्यवस्था छ । तर सभापति भएको ४५ महिनापछि देउवाले विभाग गठनमा जोड दिएका छन् ।

काँग्रेसमा लामो समयदेखि विभाग गठन चर्चा चल्दै आएको थियो । यता एकपटक गठन भएर विघटन भएका काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिसमेत पनि डेढ वर्षदेखि अस्तित्वमा छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप