शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतका कतिपय फैसला र आदेश अनुकरणीय छन्: प्रधानन्यायाधीश जबरा

मङ्गलबार, २४ मङ्सिर २०७६, २२ : १०
मङ्गलबार, २४ मङ्सिर २०७६

रुपन्देही । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतको कतिपय फैसला र आदेश अनुकरणयोग्य भएको बताएका छन् । नेपाल बार एसोसिएशनले आज बुटवलमा आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन तथा ४६ औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा उनले वैयक्तिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, पिछडिएको समुदाय र अल्पसङ्ख्यकका विषयमा भएका फैसला वा आदेश अनुकरणीय रहेको बताए ।

प्रधानन्यायाधीश जबराले सामाजिक विकृतिका रुपमा रहेको बोक्सी, छाउपडी प्रथालगायतका विषयमा पनि अदालतको आदेश भएको उल्लेख गरे । उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका अपरिहार्य भएकामा जोड दिँदै कानून व्यवसायी र अदालतबिना न्यायपालिका अघि बढ्न नसक्ने बताए । प्रधानन्यायाधीश जबराले भने, ‘स्वतन्त्र, निष्पक्ष र सुदृढ न्यायपालिकाबाट मात्रै कानूनको सशक्त पालना हुन्छ ।’ उनले आफ्नो कार्यकालमा अहिलेसम्म न्यायाधीशको विषयमा उजुरी नपरेको स्पष्ट गरे । 

सो अवसरमा उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आवश्यक छलफल र परामर्श गरेर संविधान पुनरावलोकनका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्ने बेला भएको बताए । उनले विज्ञ समूहको प्रतिवेदनका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै विगतका केही वर्षदेखि न्यायाधीश नियुक्तिमा राजनीतिक रङ दिइएकाले अदालतप्रति अनास्था बढेको बताए । 
    
उपप्रधानमन्त्री यादवले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरे सक्षम र स्वतन्त्र न्यायपालिका निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने, ‘न्याय प्रणाली एकात्मक भएकाले प्रदेशसँगको सहकार्य आवश्यक भएको छ ।’ भोलिसम्म जारी रहने सम्मेलनमा सहभागी हुन देशभरबाट करीब ६०० कानून व्यवसायी बुटवल आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप