बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मारुती सिमेन्टले कामदार निकालेपछि आत्महत्या

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ५२
मङ्गलबार, २४ मङ्सिर २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ मा रहेको मारुती सिमेन्ट उद्योगले एक मजदुरलाई कामबाट निकालेपछि दुःखद घटना भएको छ । 

गोलबजार नगरपालिका ९ गोविन्दपुरकी अनितादेवी पासवानले उद्योगले निकालेपछि आत्महत्या गरेकी हुन् । 

उद्योगबाट निकालिएपछि मंगलबार उनले नजिकैको सिसमको बोटमा पासो लगाएर आत्महत्या गरेको अन्य मजदूरहरुले बताएका छन् । 

उनको आत्महत्यापछि आक्रोशित मजदूरहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत उद्योगको गेटमै उचित क्षतिपूर्तिको मागगर्दै चक्काजाम गरेका थिए भने प्रहरीले बल प्रयोग गरेर दुई घण्टापछि राजमार्ग खुलाएको थियो । 

उद्योगमा  विगत १६÷१७ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आएकी पासवानलाई उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको थियो । 

आफूलाई अवकास दिइएको बारे समेत जानकारी नपाएकी पासवान आज मंगलबार विहान कामगर्न जाँदा उनलाई प्रहरीको सहयोगमा अपमानजनक ढंगले उद्योगबाट निकालिएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोद कुमार महतोले जानकारी दिए । उद्योगबाट निकालिएपछि उनले नजिकैको सिसमको बोटमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको महतोको भनाइ छ । 

व्यवस्थापनले उद्योगको हित विपरित कार्यगरेको भन्दै उनलाई अवकास दिएको बताइएको छ ।  

उद्योगका मजदुरहरुले चिया, मिठा (सखर) बापत प्रत्यक दिन ५० रुपैयाँका दरले पाउँदै आएका थिए । व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको मजदुरहरुको आरोप छ । यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदुरहरुको आरोप छ । यहाँ कार्यरत करिव ४ सय मजदुरले कामकाज ठप्प पारेपछि उद्योग अहिले बन्द भएको जनाइएको छ । 

उद्योग व्यवस्थापनले उनीसँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोद कुमार महतो, सभ्य कुमार यादव, मोहन कुमार यादव र मिथिलेश कुमार यादवलाई पनि एक महिनाको लागि निलम्बन गरेको छ । 
घटनापछि उद्योग व्यवस्थापनले मजुदरहरुलाई बार्ताको लागि बोलाएपनि उनीहरु सामूहिक रुपमा बार्ताको माग गर्दै आएको छ । यता उद्योग व्यवस्थापनले भने घटनापछि मजदुरहरुसँग बसेर वार्ताको प्रयास  भइरहेको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप