शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुग्लिन–पोखरा राजमार्गसहित चार परियोजनाका लागि एडीबीको ३५ करोड अमेरिकी डलर सहयोग

मङ्गलबार, २४ मङ्सिर २०७६, १२ : ३४
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । एशियाली विकास बैङ्क (एडीबी) ले नेपाल सरकारलाई ३५ करोड डलर (३५८ मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ । उक्त सहयोग सडक पूर्वाधार विकाससहित कृषि परियोजना, खाद्य सुरक्षा तथा बागमती नदी सरसफाइ अभियानसहित चार परियोजनाका लागि एडीबीले ऋण सहयोग गर्न लागेको हो ।

मङ्गलबार अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता भएको छ । एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर मुख्खटर खमुडीखानोव र नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव राजन खनालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रमुखतः एडीबीको सहयोग मुग्लिन–पोखरा राजमार्ग सडक स्तरोन्नतीका लागि गरिएको हो । कुल ऋणको ५४ दशमलव ४७ प्रतिशत अर्थात् एक सय ९५ मिलियन अमेरिकी डलर मुग्लिन–पोखरा राजमार्ग स्तरोन्नतिमा खर्च गरिने छ ।

बाँकी ६३ मिलियन डलर ऋण बाढी पहिरोजस्ता विपत् व्यवस्थापन र बागमती नदी सरसफाईका लागि, ५० मिलियन डलर साना किसान विकास कार्यक्रमका लागि र ५० मिलियन डलर खाद्य सुरक्षा तथा कृषि परियोजनाका लागि खर्च गरिने जनाएको छ ।

नेपाली परियोजना तथा विकास निर्माणका कार्यमा सहयोग गर्दै आएको एडीबीले तीव्र विकासमा रहेको नेपाललाई पुनः पूर्वाधारसहित देशको विविध विकास निर्माण तथा कृषि, खाद्यान्न र नदी सरसफाइ परियोजनामा सहयोग गरेकोमा सरकारको तर्फबाट एडीबीलाई सचिव खनालले धन्यवाद दिए ।

यता, एडीबीका कन्ट्री डाइरेक्टर मुख्खटरले सहमति पत्रमा हस्ताक्षर गर्दै नेपालको वृद्धि विकासमा एडीबी सधैँ सकारात्मक रहेको बताउँदै ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ को कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, यस्तो सहयोग आउँदा दिनहरुमा समेत जारी राख्ने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप