बक्स अफिस : हात्ती आयो, हात्ती आयो, फुस्सा...
काठमाडौैँ । फिल्म वितरक र निर्माता र चलचित्रघर सञ्चालकबीच सधैँ हिसाब–किताबका विषयमा किचलो, मनमुटाव अनि अविश्वास हुने गरेको थियो । चलचित्रघरले दर्शक र टिकट बिक्रीको गलत तथ्याङ्क दिने गरेको, वितरकले हिसाब–किताब गोलमाल गरेर देखाउने गरेको आरोप निर्माताले लगाउँदै आएका थिए ।
वितरक र हलवालाले भने निर्माताको आरोप मित्थ्या भएको बताउँदै आफुमाथी अविश्वास गरेको भनाइ राख्दै आएका थिए । यी तीनै पक्षबीच अविश्वासको खाडल दिन प्रतिदिन गहिरो बन्दै गइरएको थियो । यो समस्या समाधाका लागि सबै पक्ष सन्जिवनी बुट्टीको खोजीमा थिए । यस्तोमा बक्स अफिसलाई त्यो बुट्टीका रुपमा हेर्न थालियो ।
बक्स अफिस नेपालमा लागू भएपछि चलचित्रको अर्थसम्बन्धी तमाम अव्यवस्थालाई समाधान गर्ने र सबै पक्षबीच सुमधुर सम्बन्ध कायम गर्न मद्दत गर्ने विश्वास सबैमा थियो । निकै लामो समयको बहस र प्रयासपछि अन्ततः नेपाली चलचित्र घरमा बक्स अफिस पनि लागुभयो ।
चलचित्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा निर्माताको मागले चलचित्र विकास बोर्डले बक्स अफिस लागू त गर्यो । तर, त्यसबाट चलचित्रकर्मीहरुले अझै राहत पाउन नसकेको गुनासो गरिरहेका छन् । चलचित्र निर्माताहरु बक्स अफिस अहिले आफ्नो लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा...’ भने झैँ भएको बताइरहेका छन् ।
गत वैशाख १ बाट देशभरका चलचित्रघरमा बक्स अफिस लागु गरिसकेको चलचित्र विकास बोर्डले बताइरहेको छ । प्रविधिक रुपमा सक्षम नभएका र निर्माण प्रक्रियामा रहेका केही बाहेक अधिकांश चलचित्रघरमा बक्सअफिस लागु भएको चलचित्र विकास बोडको दाबी छ ।
तर, बक्स अफिस लागु भएको ८ महिना बितिसक्न लाग्दा पनि निर्माताहरु यसबाट सन्तुष्ट हुन सकिरहेका छैनन् । चलचित्रको व्यापार बारे अझै पनि वितरक र बक्स अफिसको रिपोर्ट फरक–फरक हुने गरेको छ ।
कहाँ छ बक्स अफिस ?
बक्स अफिसबाट अझै पनि निर्माता खुसी हुन नसकेको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई बताउँछन् । ‘देशभरका चलचित्रघरमा बक्स अफिस प्रणाली लागु भएको छ,’ अध्यक्ष भट्टराईले भने ‘केही प्राविधिक समस्याका कारण भने सोचेजस्तो प्रतिफल प्राप्त भने हुन नसकेको हो ।’ बक्स अफिसबाट कुनै राहत मिल्न नसकेको भन्ने निर्माताको भनाइ शतप्रतिशत सही नभएको उनको जिकिर छ ।
‘निर्माण र मर्मत क्रममा रहेका केही र प्रविधिक रुपमा असक्षम रहेका एक–दुई चलचित्र घर बाहेक अन्य सबै चलचित्रघरमा बक्स अफिस लागु भएको छ,’ अध्यक्ष भट्टराईले भने, ‘निर्माताहरुको समस्या अब पहिले जस्तो छैन ।’ अध्यक्ष भट्टराइले बक्स विकास बोर्डमा सुचारु अवस्थामा रहेको समेत जानकारी दिए ।
बक्स अफिस विकास बोडमा रहेको भट्टराइकै भनाइ निर्माता संघका अध्यक्ष आकाश अधिकारीले राखे । बक्स अफिस विकास बोर्डमा रहेपनि यसबाट निर्माताले राहत लिन नसकिरहेको अधिकारीले बताए ।
यता, निर्माता रोहित अधिकारी भने बक्स अफिस कहाँ र कस्तो अवस्थामा रहेको आफूलाई थाहा नै नभएको बताए । ‘इ–टिकेटिङ प्रणाली चाँही धेरै चलचित्रघरमा रहेछ,’ केही पहिले प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ का निर्मातासमेत रहेका रोहितले भने, ‘त्यो बक्सअफिस हो भने हैन मलाई थाहा छैन ।’
‘बक्स अफिस भए कहाँ छ ? त्यो के हो । सम्बन्धित पक्षले हामी जस्ता निर्मातालाई त्यसको बारेमा जानकारी गराउनु पर्ने हो । अहिलेसम्म केही थाहा छैन,’ रोहितले थपे ।
निर्माता असन्तुष्ट
देशभरका चलचित्रघरमा बक्सअफिस लागु भएको ८ महिना बढी समय बितिसकेको छ । बक्स अफिस छ भन्ने धेरै निर्मातालाई अझै थाहा नै छैन । थाहा पाएका निर्माताले पनि बक्स अफिस प्रभावकारी नभएको र आफूहरुले त्यसबाट राहत लिन नपाएको गुनासो गरिरहेका छन् । निर्माता रोहितले आफूहरुले सोचे जस्तो बक्स अफिस अहिले बन्न नसकेको बताए ।
निर्माता रोहितको कुरामा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि समर्थन गरे । उनले अहिलेको बक्स अफिस निर्माताले खोजेजस्तो हुन नसकेको बताए ।
‘बक्स अफिसको भाडो राख्दैमा र इन्टरनेट मार्फत टिकट काट्दैमा हामीले खोजेजस्तो बक्स अफिस भन्न मिल्दैन,’ अधिकारीले भने, ‘कोही व्यक्ति बोल्नु नपर्ने, सिस्टम र डाटा बोल्ने बक्स अफिस हामीले खोजेका थियौँ । अहिले आएको बक्स अफिसले हाम्रो त्यो माग सम्बोधन गर्न सकेको छैन ।’ निर्माताले चाहेजस्तो बक्स अफिस बोर्डले ल्याउनु पर्ने आकाशको जोड रहेको छ ।
विकास बोर्डका अध्यक्ष भट्टराई भने आकाश र रोहितको दाबीलाई खण्डन गर्छन् । निर्माताले खोजे जस्तै बक्स अफिस बोडले ल्याएको दाबी गर्दै भट्टराइले भने, ‘हामीले ल्याएको बक्स अफिस पनि राम्रो छ । कार्यान्वयन पनि राम्रोसँग भइरहेको छ,’ भट्टराइले भने, ‘केही प्राविधिक लगायतका समस्या देखिएका छन्, त्यो पनि मिलाउँदैछौँ ।’ भट्टराइले ८० प्रतिसत बढी हलमा बक्स अफिस राम्रोसँग राखेको खुलाए ।
हिसाब वितरककै भरमा
बोर्डले चलचिघरहरुमा बक्स अफिस लागू भइसकेको बताइरहँदा निर्माताहरुले भने अहिले पनि चलचित्रको हिसावका लागि वितरककै भरपर्नुे अवस्था छ । बक्स अफिसबाट हिसाव पाउन विभिन्न झन्झट रहेको भन्दै निर्माताहरु वितरककै भर परिरहेका छन् ।
बक्स अफिसमार्फत् सजिलोसँग दैनिक व्यवसायको हिसाब थाहा पाउने वातावरण नभएकोले आफुहरु वितरककै भरपर्नु परेको निर्माता रोहित अधिकारीले बताए । ‘वितरकसँग आफुले फिल्मको हिसाब एक फोनमा जहाँ भएपनि पाउन सकिन्छ,’ अधिकारीले भने ‘बक्स अफिसका लागि बोर्ड पुगेर विभिन्न झन्झट बेहोर्नुपर्छ ।’
आकाश अधिकारीले भने निर्माताको वितरकमा भरपर्ने पुरानो बानीका कारण बक्स अफिसबाट राहत पाउन नसकको बताए । ‘निर्माताले विकास बोर्ड र बक्स अफिससम्म पुग्न झन्झट मानेका कारण वितरकको भरमा पर्नुपरेको हो,’ आकाशले थपे ।
यता, अध्यक्ष भट्टराई भन्छन्, ‘बक्स अफिसको हिसाबकिताब चेक गर्नुपर्यो भनेर बोर्डसम्म अहिलेसम्म कोही निर्माता आएका छैनन् । बाहिर तिनै निर्माताले बक्स अफिसबाट हिसाव पाइएन भन्ने गरेका छन् ।’ निर्माताले दिएको हिसाब ठीक छ कि छैन भनेर दाज्न निर्माता बक्स अफिससम्म आउनु पर्ने भट्टराईको भनाइ रहेको छ ।
रोकिएन चोरी
बक्सअफिस लागु भएपछि हलवालले डिजिटल टिकट काट्छन् । यसरी काटिएको टिकटको रेकर्ड सर्भरमा हुने भएकोले हलवालाको चोरी रोकिने निर्माता सङ्घ र विकास बोर्डको विश्वास थियो । तर त्यो हुन सकिरहेको छैन । बक्स अफिस लागु भएका कतिपय हलमा हातैले टिकट काटिएको निर्माता सङ्घ तथा विकास बोर्ड दुवैले फेला पारेका छन् ।
बोर्ड अध्यक्ष भट्टराईले पनि बक्स अफिस लागु भएका केही हलले अझै हातले टिकट काटेको आफूले फेला पारेको स्वीकारे । चलचित्र घर इमान्दार नभएकोले बक्स अफिसमा समस्या पर्ने उनले भनाई राखे ।
तर, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले भने बक्स अफिस लागु भएको हलमा हातले टिकट काटेको विषयमा आफुलाई जानकारी नभएको बताए । प्रदीपले भने, ‘ कतिपय ठाउँमा राम्रोसँग बक्स अफिस लागू भएको छैन । बक्स अफिस लागू भएका स्थानमा किन हातले टिकट काटियो भनेर छानबिन हुनुपर्छ । नियतबस गरेको हो भने कारबाही गर्दा हामीलाई आपत्ति छैन ।’
बोर्ड अध्यक्ष भट्टराईले पनि के कति कारणले हातले टिकट काटिएको अनुसन्धान गरेर कारबाही गर्ने प्रकृया अगाडि बढाएको जानकारी दिए ।
‘हामीले नियतबस हातले टिकट काटेर चोरी गर्ने केही चलचित्रघरलाई कारबाही प्रक्रिया थालेका छौँ,’ भट्टराईले भने ‘आर्थिक हिनाबिना गर्ने जरिवाना र अटेर गर्नेलाई ताला लगाउन सक्ने व्यवस्था अहिलेको आर्थिक ऐनले गरेको छ । त्यो अनुसार कारबाही हुन्छ ।’ चोरी गरेर आर्थिक हिनामिना गर्ने चलचित्रघरलाई कडाभन्दा कडा कारबाही गर्न आफूपछि नपर्ने भट्टराईले सुनाए ।
जोगिएन चेकिङ खर्च
टिकट बिक्रीको हिसाब–किताब वास्तबिक नदेखाउने भन्दै निर्माताले चलचित्र रिलिज हँुदा प्रत्येक चलचित्रघरमा आफ्नो खर्चबाट एक व्यक्ति क्रस चेक गर्न नियुक्ति गर्ने चलन पहिले देखिकै हो । बक्स अफिसपछि विकास बोर्डले निर्माताको यो खर्च बच्ने बताउको थियो । तर अहिले पनि निर्माताहरुको त्यो खर्च बच्न सकेको छैन ।
‘बक्सअफिस राम्रो नभएको हो वा चलचित्र घरको नियत नराम्रो हो,’ निर्माता रोहितले भने ‘अहिले पनि निर्माताले क्रस चेकर राख्नुपर्ने बाध्यता छ ।’
‘फिल्म ‘छ माया छपक्कै’ रिलिजको समय बक्स अफिस भएका चलचित्रघरले पनि हातले टिकट काटेको म आफैले भेटेको छु,’ रोहितले थपे ।
निर्माताको हावादारी तथ्याङ्क
वक्स अफिस लागू भएपछि निर्माताले देशभरका चलचित्रघरको व्यवसाय सजिलै र तरुन्तै थाहा पाउन सकिने चलचित्र विकास बोर्डले दाबी गरिरहँदा निर्माताहरु भने आफ्नो फिल्मले गरेको व्यवसायलाई बढाइचढाइ गरेर मिडिया र बाहिर फिजाउने गरेका छन् । फिल्मको व्यवसायको बारेमा बाहिर आउने हल्ला निर्माताले नै फिजाउने गरेको बोर्ड तथा चलचित्र प्रर्दशकले बताउने गरेका छन् ।
‘फिल्मको व्यवसाय एउटा हुन्छ । निर्माता बाहिर अर्काे कुरा गर्छन्,’ चलचित्र संघका अध्यक्ष प्रदीपले भने, ‘इमान्दारिता नभएपछि के गर्ने ?’ आफ्नो फिल्मले गरेको ब्यवसाय हरेक निर्माताले इमान्दारिता साथ बाहिर ल्याए फिल्मको व्यवसायमा भएको भ्रम चिर्ने उनको भनाइ रहेको छ ।
फिल्मको व्यवसायको सत्यकुरा बाहिर ल्याउने मामिलामा निर्माता इमान्दार नभएको बोर्ड अध्यक्ष भट्टराई पनि बताउँछन् । ‘म पनि निर्माता हुँ । तर मैले कहिलै व्यवसाय नगरेको फिल्मले करोडौँ व्यवसाय गर्यो र फ्लप फिल्म हिट भयो भनेर भनिनँ,’ भट्टराइले अगाडि भने ‘निर्माता इमान्दार नहुँदा सर्वसाधारण माझ फिल्मकर्मीको विश्वास दिन प्रतिदिन गुम्दैछ ।’
राज्यलाई पनि फाइदा
झट्ट हेर्दा बक्स अफिस लागू भैसकेपछि निर्मातालाई फाइदा हुने देखिन्छ । तर, बक्स अफिसले सबैभन्दा बढी फाइदा राज्यलाई हुने धारणा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको छ ।
‘आफ्नो चलचित्रको व्यापारिक रिपोर्ट लुकाएर निर्माताले राज्यलाई कर नबुझाएको अवस्था थियो,’ उदयले भने ‘ई –टिकेटिङ भएपछि त्यसो गर्न सकिँदैन ।’ ई–टिकेटिङ राजश्वको सर्भरसँग कुनै न कुनै रुपमा जोडिने हुने भएकोले निर्माता, वितरक, प्रदर्शक सबैलाई राज्यको करको दायरामा ल्याउने उनको भनाइ छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि बक्स अफिसले सबै पक्षलाई करको दायरामा ल्याउने जानकारी दिए ।
के हो बक्स अफिस ?
सरल भाषामा भन्नुपर्दा बक्स अफिस भनेको टिकट काट्ने काउन्टर हो । दर्शकले हलमा पुगेर जब कुनै चलचित्रका लागि टिकट काट्छ, त्यही स्थानलाई बक्स अफिस भनिन्छ । यसमा केही प्राविधिक पक्ष पनि जोडिएका हुन्छन् ।
बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने एउटा डिजिटल प्रणाली हो । यसलाई ई–टिकेटिङ पनि भन्ने गरिन्छ । यो मार्फत् टिकट विक्री गर्दै आएका सम्पूर्ण चलचित्रघरको व्यापारको रिपोर्ट एउटा सर्भर केन्द्रित हुन्छ । यसबाट हरेक चलचित्रघरमा बिक्री हुने टिकटको संख्या निर्माताले अनलाइन मार्फत् सोही समयमा थाहा पाउन सक्छन् ।
यो प्रणाली जडान भएपछि कुन चलचित्रघरमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क लिन सजिलो हुन्छ । कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्दैनन् । प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले थाहा पाउन सक्छन् । आफ्नो फिल्मको विवरणका लागि निर्माताले ‘वितरकले कहिले हलसँग सोधेर दिन्छ’ भनेर भरपर्नु पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने