बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको केन्द्रीय कारागारमा १० वटा फाँसी दिने डोरी तयार गरिँदै, के यो निर्भयाका दोषीलाई हो ?

मङ्गलबार, २४ मङ्सिर २०७६, ०८ : ५८
मङ्गलबार, २४ मङ्सिर २०७६

भारतमा बलात्कारीलाई फाँसी दिइने सर्वत्र चर्चाबीच बक्सर सेन्ट्रल जेलमा फाँसी दिन प्रयोग हुने १० डोरी तयार हुँदै गरेको भारतीय संचारमाध्यमले बताएको छ ।

केन्द्रीय कारागारका अधिक्षक विजय कुमार अरोडाले जेल निर्देशनालयबाट यो हप्ताभित्र १० वटा डोरी तयार पारिसक्न आदेश दिइएको बताए । जेलको निर्माणशाललामा ६ जना कैदीले फाँसी दिन प्रयोग हुने विशेष प्रकारको ‘ह्याङ्गिङ रोप’ तयार गरिरहेका छन् । देशमा जतिबेला फाँसको आदेश जारी हुन्छ तब केन्द्रीय कारागार बक्सरका कैदीले नै फाँसीको डोरी तयार गर्दै आएका छन् ।

भारतभरी यही एउटा स्थान अर्थात् बक्सर सेन्ट्रल जेलमा मात्रै फाँसीको डोरी तयार हुन्छ । बक्सर केन्द्रीय कारागारलाई छोडेर भारतीय कारखाना कानूनमा यस्तो प्रकारको वा यस्तो गुणस्तरको डोरीको निर्माण भारतभरी नै प्रतिबन्ध छ । यस्तै, वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार सरकारी आदेशबाहेक यस्तो प्रकारको डोरी प्रयोग गर्न देशभरी नै प्रतिबन्ध छ । अहिलेसम्म राज्य सरकारको विशेष मागमा बक्सर सेन्ट्रल जेलले सन् १९९५ मा केन्द्रीय कारागार भागलपुर, सन् १९८१ मा महाराष्ट्र, सन् १९९० मा पश्चिम बंगाल, सन् २००३ मा आन्ध्र प्रदेश, सन् २००४ मा पश्चिम बंगाल, सन् २०१२ मा मुम्बई र सन् २०१३ मा दिल्लीलाई यो डोरी उपलब्ध गराएको छ ।

७ हजार २ सय धागोबाट बन्छ डोरी, १ सय ८४ केजी उठाउने क्षमताः

फाँसी दिनका लागि तयार गरिने डोरी आज पनि पंजाबमा उत्पादन हुने जे–३४ गुणस्तरयुक्त कपासको धागोबाट तयार हुन्छ । यसमा चारवटा गुच्छा हुन्छ । एउटामा ९ सय धागो हुन्छन् । कूल ७ हजार २ सय धागोबाट डोरी तयार गरिन्छ । धागो निर्माणपछि जेलमा नै बनेको विशेष प्रकारको रडमा सय किलोको सामान बाँधिन्छ र झट्का दिएर खसालेर यसको परीक्षण गरिन्छ । यसो गरेर निर्धारित तौल डोरीले उठाउन सक्छ सक्दैन भनेर हेरिन्छ । यसको तौल ३ किलो ९ सय ५० ग्राम र लम्बाई ६० फिटको हुन्छ । यो डोरीले १ सय ८४ किलोसम्मको तौल उठाउन सक्छ ।

फिलिपिन्सको राजधानी मनिलाबाट आउँथ्यो धागोः

सन् १८४४ मा अंग्रेजी शासकद्वारा केन्द्रीय कारागार बक्सरमा फाँसीको डोरी तयार गर्ने कारखाना लगाइएको थियो । त्यतिबेला यसको निर्माणका लागि फिलिपिन्सको राजधानी मनिलाबाट कपास मगाइन्थ्यो । यो विशेष डोरीको नाम ‘मनिला डोरी’ थियो । यहाँ तयार पारिएको फाँसीबाट पहिलो पटक सन् १८८४ मा एक भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको थियो ।

निर्भयाकाण्डका चार दोषीलाई फाँसी दिने चर्चाः

निर्भयाकाण्डका चार दोषीलाई यो महिनाको अन्त्यमा फाँसी दिन सक्ने अनुमान गरिएको छ । केन्द्रीय गृह मन्त्रालयले शुक्रबार यी आरोपीको दया याचिकाको फाइल अन्तिम निर्णयका लागि राष्ट्रपतिलाई पठाएको छ । यस्तै, दुई दिन अघि दिल्लीको उपराज्यपाल अनिल बैजलले पनि केन्द्रीय गृह मन्त्रालयलाई रिपोर्ट पठाएको थियो जसमा दोषीको सजाय कुनै पनि हालतमा माफीको योग्य नभएको बताइएको थियो । सन् २०१२ को डिसेम्बर १२ मा दिल्लीको एक गुडिरहेको बसमा निर्भयामाथि बलात्कार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप