बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशलाई नै चुनौती दिँदै गढीमाई मेलामा बर्बरतापूर्ण पशु बलीः पशु कल्याण संघ

सोमबार, २३ मङ्सिर २०७६, १९ : ४४
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं– सर्वोच्च अदालतले ‘रक्तपातरहित गढीमाई’ को सम्वन्धमा गरेको फैसला प्रभावकारी हुन नसकेकोमा पशु कल्याण संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

पशु कल्याण संघ नेपालले पत्रकार सम्मेलनको आयोजना गरी “रक्तपातरहित गढीमाई” “बली अन्धविश्वासको गरौँ न की नि निर्दोष पशुहरुको” भन्ने मूल अभिप्रायका साथ प्रदेश नं. २ मा विशेषगरि बारा, पर्सा र रौतहट जिल्लाका साथै नेपाल भारत सिमा क्षेत्रमा संघीय सरकार र सरोकारवाला निकायहरुसँगको सहकार्यमा पशुबली निरुत्साहन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरे पनि कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरेको छ ।

संघले सम्मानित सर्वोच्त अदालतले धर्मका नाममा हुने पशुबली निरुत्साहन गर्नु भनी गरेको फैसला, जसमा सम्बन्धित सरकारी निकायले धार्मीक साँस्कृतिक संवेदनशीलतालाई मध्यनजर राख्दै पशुबली निरुत्साहन गर्नका लागि आवश्यक पहल गर्नुपर्ने कुराको निर्देशन गरी सकेको र “रक्तपातरहित गढीमाई” अभियानसँगै गढीमाई मेलामा पशुबली बन्द हुने विश्वास भए पनि यो हुन नसकेको बताएको छ ।

पशु कल्याण संघ नेपालले पशु बली बिरुद्धको अभियानको महत्व, प्रभावकारीता र सार्थकताका लागि पशु सेवा विभाग, महागढीमाई नगरपालिका, पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन मूल समिति तथा जिल्ला प्रशासन कार्यालय बारा लगायतका निकायहरुसँगको छलफल तथा  समन्वयमा स्थानीय स्तरमा आवश्यक गतिविधिहरु सञ्चालन गरेको थियो । 

यस संघले छलफल र समन्वय गरेका सरकारी निकाय तथा मन्दिर एवम् मेला व्यवस्थापन समितिहरुद्धारा गढीमाई मेलामा हुने पशुबली निरुत्साहन गर्नका लागि ठोस र नतिजामुखी योजना निर्माण गरि प्रभावकारी रुपमा कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो ।

त्यस्तैगरी, पशु कल्याण संघद्धारा गढीमाई मेलाका समयमा छिमेकी मुलुक भारतबाट बलीका लागि धेरै मात्रामा जनावरहरु ल्याईने गरेको तथ्यलाई मध्यनजर गरि सिमाक्षेत्रबाट हुने पशुहरुको अबैधानिक पैठारी नियन्त्रणका लागि स्वयम्सेवकहरु परिचालन गरि गस्ती गर्नुका साथै स्थानीयहरुलाई पशुबलीजस्ता अन्धविश्वासका सम्बन्धमा सुसुचित गर्ने अभिप्रायले जनचेतनामूलक कार्यक्रमहरु र सडक नाटकहरु प्नि प्रस्तुत गर्ने कार्यहरु गरिएको थियो । 

पशु कल्याण संघ नेपालले गरेका यी प्रयत्नहरु, मेला व्यवस्थापन समितिले मेलापूर्व पशुबलीलाई प्रोत्साहन नगर्ने भनी गरेको प्रतिवद्धता र महागढीमाई नगरपालिकाका नगर प्रमुखको नेतृत्वमा घोषणा भएको परेवा संरक्षण अभियानका साथै यस संघको रक्तपातरहित गढीमाई अभियानप्रतिको सरोेकारवालाहरुले भने समर्थन रहेको थियो ।

गढीमाई मेलालाई रक्तपातरहित बनाई गढीमाईको गरिमा विश्वसामु फैलाउने उद्देश्यसहित कार्यरत पशु कल्याण संघ नेपालको प्रयत्नका बाबजुद पनि यस वर्षको गढीमाई मेलामा रगतको खोलो बग्नु दुःख र दुर्भाग्यपूर्ण कुरा भएको संघले बताएको छ । गढीमाई माताको मन्दिरबाट २०० मिटरको दुरीमा रहेको करिब १३७३५ वर्ग मिटरको पर्खालको चौघेराभित्र २०० भन्दा बढी अनधिकृत व्यक्तिहरुद्धारा बलीका नाममा हजारौँ निर्दोष पशुहरुको हत्या गरियो । 

जिम्मेवार निकायद्धारा व्यक्त गरिएका प्रतिवद्धता र कार्ययोजनाको विपरित अकस्मात र नाटकीय ढंगले अनधिकृत व्यक्तिहरु प्रवेश गरि करिब ५ घण्टाको अवधिमा सबै पाडाहरुको हत्या गरियो । एक्काइसौँ शताब्दिमा अएर पनि धर्मका नाममा हुने यस्ता वर्वर कृत्य देख्नुपर्दा हामी अत्यन्तै मर्माहत बनाएको संघले जनाएको छ । 

यस घटनाले सबै कुप्रथा र क्रुरताको अन्त्य गर्दै आधुनिक समाज निर्माण गर्ने मानवीय विचारधारालाई निकै पछाडि धकेली दिएको संघको तर्क छ । कति संख्यामा जनावरको बली दिईयो भन्ने अधिकारीक तथ्याङ्क कसैसँग पनि नभएको अवस्थामा बली पश्चात पशु कल्याण संघ नेपालले मृत जनावरहरुको टाउको गणना गरिएकोमा करिब ४००० राँगाहरुको बली दिइएको र दशौँ हजारको सँख्यामा अरु पशु पंक्षिहरु विशेषगरी बोका र कुखुराहरुको बली चढाइएको छ । 

मेला व्यवस्थापन मूल समिति तथा सम्बन्धित सरकारी निकायले बली नदिने तथा पशुपंक्षि संरक्षणका लागि गरेका प्रतिद्धताको बिपरित अमानवीय र बर्वर पशु हत्याले निरन्तरता पायो । सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत चुनौती दिने गरि भएको यो बर्वरतापूर्ण बलीको पशु कल्याण संघ नेपाल घोरनिन्दा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप