बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षको भव्य तयारीमा सरकार

सामाजिक सञ्जालदेखि क्लबसमेत प्रचारप्रसारको माध्यम बनाइने
सोमबार, २३ मङ्सिर २०७६, १४ : ४८
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले प्रचारप्रसारको कामलाई तीव्रता दिएको छ । सन् २०२० नजिकिँदै गर्दा सरकारले भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्रता दिएको हो । 

भ्रमण वर्षलाई नै लिएर सरकारले सामाजिक सञ्जाल, सञ्चारमाध्यम, चर्चित क्लब रोधीघरलगायतको माध्यमबाट प्रचारप्रसारका सामाग्री प्रस्तुत गर्ने जनाएको छ । 

पर्यटन वर्षको पूर्वसन्ध्यामा प्रचारात्मक योजना कार्यक्रम अनुसार पर्यटकीय क्षेत्रहरुमा चलेका क्लब, बार तथा रोधीघरहरुमा भ्रमण वर्षको प्रचारात्मक सामाग्री प्रस्तुत गर्न थालिएको बोर्डका प्रमुख कार्यकारी निर्देशक(सिईओ) दिपकराज जोशीले जानकारी दिए । 

‘यतिखेर हामी भ्रमण वर्षको पूर्वसन्ध्यामा छौँ । हामीले प्रचारप्रसारका कार्यक्रमहरुलाई क्रमशः अघि बढाइरहेका छौँ,’ सिईओ जोशीले भने, ‘भ्रमण वर्षको काउन्टडाउन शुरु भइसकेको छ । प्रचारप्रसारकै लागि हामीले पर्यटकीय क्षेत्रमा चलेका क्लबहरुमा शुरुवातमा केहि प्रचारात्मक सामाग्री प्रस्तुत गर्ने वातावरण मिलाएका छौँ ।’

जोशीका अनुसार यस्ता सामाग्री प्रमुख पर्यटकीय क्षेत्रहरु सौरहा, पोखरा, बुटवल, लुम्बिनी, ठमेल लगायतका क्षेत्रहरुमा संचालित क्लब, बार तथा सोधीघरहरुमा पनि चलाइने छ । 

साथै भ्रमण वर्षको प्रचारप्रसारका लागि देशभित्र रहेका र विदेशमा रहेका चर्चित व्यक्तित्व र सेलिब्रेटीलाई प्रयोग गर्ने बोर्डले जनाएको छ । त्यस्ता व्यक्तिहरुको सामाजिक सञ्जाल नेटवर्क प्रयोग गर्दै भ्रमण वर्षको प्रचार प्रसार गर्ने योजना बनेको छ ।

केही समयअघि सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक तथा समाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई खुलेर भ्रमण वर्षको लोगो राखेर प्रचार प्रसार गर्न अनुरोध गरेका थिए ।

भ्रमण वर्ष प्रचार प्रसारमा तथा व्यवस्थापनका लागि सरकारले सक्दो प्रयत्न गरिरहेको छ । सन् २०२० भ्रमण वर्षको प्रारम्भिक मिति भएपनि पर्यटन वर्ष कार्यक्रम एक दशक लामो योजना रहेको मन्त्री भट्टराईले बताएका छन् । 

‘भ्रमण वर्ष २०२० मनोवैज्ञानिक वर्ष हो । यसमा हामीले पर्यटन व्यवसायको मनोविज्ञान बनाउने हो,’ मन्त्री भट्टराईले भने, ‘हाम्रो लक्ष्य एक दशकको हो ।’

मन्त्री भट्टराईले एक दशकभित्र भौतिक पूर्वाधार तथा विकास निर्माणका कार्यहरु समेत सबल भइसक्ने हुँदा सो समयमा ३५ लाख माथि पर्यटक वार्षिक नेपाल भित्रन सक्ने विश्वास व्यक्त गरे ।  अहिलेको भ्रमण वर्षको योजना समेत पञ्चवर्षीय रहेकाले सन् २०२० मै सबै अपेक्षा पुरा नहुने तर त्यसको पछिल्ला वर्षहरुमा नतिजा देखिने मन्त्री भट्टराईले बताए । 

एयरर्पोट व्यवस्थापन
अहिले सरकारले भ्रमण वर्षको अवसरमा नेपाल भित्रने पर्यटकको चापलाई ध्यानमा राखी छिटोभन्दा छिटो लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सम्पन्न गर्न लागेको छ । विमानस्थल निर्माणको सबै काम भ्रमण वर्ष भित्रै सम्पन्न गर्नेगरी लागिपरिएको पनि मन्त्री भट्टराईले बताए ।

साथै सरकारले त्रिभुवन विमानस्थललाई समेत व्यवस्थित गर्ने भएको छ । अहिले रहेको डोमेस्टिक एयरलाई दक्षिण तर्फको पेप्सिकोला तर्फबाट उडान गर्न मिल्ने गरी व्यवस्थापन गरिँदै छ । त्यस्तै, अहिले एयरर्पोटमा रहेको ट्याक्सी रनवेलाई हटाई जहाज पार्किङ्ग तथा उडानको व्यवस्थापन गरिने भएको छ । बाँकी रहेका खाली स्थानहरुलाई समेत प्रयोगमा ल्याइने मन्त्री भट्टराईको भनाइ छ । 

यता, देशैभरी रहेका साना ठूला ४३ एयरर्पोटहरुलाई व्यवस्थित गरिने र आफ्नो खर्च आफै मेन्टेन्स गर्न सक्षम बनाइने छ । ‘विविध कारण हाम्रा एयरर्पोटहरुले आफ्नो खर्च आफै धान्ने अवस्थामा छैनन् । यसको शीघ्र व्यवस्थापनको आवश्यकता छ,’ मन्त्री भट्टराईले भने, ‘अब पहाडी विमानस्थल बाहेकका तराई क्षेत्रका विमानस्थलहरुले आत्मनिर्भर हुनु पर्छ । एयरर्पोटको बिजनेस, अकुपाई तथा बाहिरी व्यवस्थापनमा एयरर्पोट आफै सक्षम हुनुपर्ने छ ।’

हाल त्रिभूवन विमानस्थल लगायत ३–४ वटा विमानस्थलहरुले मात्र खर्च धान्न सकिरहेको अवस्था छ । 

स्वदेशी तथा विदेशी गरी हाल त्रिभूवन विमान स्थलबाट दैनिक ६ सयको हारहारीमा फ्लाईट हुँदै आएको छ । 

 सन् २०२० को जनवरी १ मा भ्रमण वर्ष २०२० को उद्घाटन गरिँदैछ । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप