केन्द्रीय संस्करण

कसरी उठ्यो चिलीमा नवउदारवादविरुद्ध जनउभार ?

person explore access_timeमंसिर २३, २०७६ chat_bubble_outline0

ल्याटिन अमेरिकी देश चिलीमा अहिले नव उदारवादविरुद्ध आन्दोलन चलिरहेको छ । भनिन्छ इतिहासका निर्माता जनता हुन् । आज तिनै जनता जसले आफ्नो इतिहासको निर्माण गरे । उनीहरु नै चिलीबाट नवउदारवादको जरो उखेल्न ४८ दिनदेखि देशको राजधानी सेन्निएगोदेखि देशका मध्य सहरमा हातमा झण्डा लिई सोबाइस्टिएन पिनराका अश्रुग्यास, रबरका गोली, पानीका फोहोरा, लाठी र गोलीविरुद्ध निरन्तर लडिरहेका छन् ।

उनीहरुको एउटै नारा छ, नव उदारवादको अन्त्य र समाजवादी व्यवस्थाको स्थापना । चिलीबाट नवउदारवादी अर्थनीतिको सफाइ जसले गर्दा पुँजीवादी केन्द्रहरुको र त्यसका प्राध्यापकहरुको सातो उडेको छ । उसै त फिडेल क्यास्ट्रो र चेग्वेभोको ल्याटिन समाजवादी अर्थनीतिको मोडलबाट त्रसित अमेरिका ह्युगो चाबेजको बोलेभियन क्रान्ति रोक्न नाभीदेखिको बल लगाउँदासमेत सफल हुन नसकेको अवस्थामा चिलीमा एकाएक स्वस्फूर्तरूपमा उठेको जनउभारले नवउदारवादीहरु आतङ्कित बनेका छन् । 

पृष्ठभूमि
क्युबाली क्रान्तिपछि पूरै ल्याटिन अमेरिकामा समाजवादी क्रान्तिको उभार चल्यो । सन् १९७३ मा चिलीमा पनि समाजवादी सरकार थियो । तत्कालीन अमेरिकी राष्ट्रपति थिए रिचर्ड निक्सन । उनले चीनसँग सम्बन्ध सुधारेका थिए । सन् १९७२ मा अमेरिका र चीनको बीचमा पिङ्पोङ सन्धि भएपछि अमेरिकाले चीनलाई तानाशाही, निरङ्कुश देश भन्न छाडेर जनगणतन्त्र चीन स्वीकार गर्यो भने चीनले अमेरिकालाई साम्राज्यवादी, कागजी बाघ भन्न छाड्यो । तर अमेरिका र रुसको भने क्युबालगायत अन्यदेशका विषयलाई लिएर शीत युद्ध चलेको थियो । त्यही समयमा रुस र चीनबीचमा ठूलो बहस चलको थियो ।

विश्वका दुई कम्युनिस्ट देशहरुको बीचमा चर्को विवाद चलेको बेला अमेरिकाले समाजवादी खेमामाथि निरन्तर प्रहार गरिरहेको थियो । चिलीको साल्भाडोर एलेन्डे नेतृत्वको सरकार एकातर्फ चीन रुसको विवाद र अर्कातर्फ शीत युद्धको तारो बन्यो । त्यसपछि अगस्टो पिनोचेतले १९९३ सम्म सैन्य शासन चलायो । सैन्य शासनका बेला करिब २ लाख चिलीका जनता विस्तापित भएका थिए । चिलीका विद्यार्थी, युवा, मजदुर र बुद्धिजीवीहरुले निक्सनको कठपुतली अगस्टोको शासनको विरोध गर्न थाले । अगस्टोले चिलीमा समाजवादी व्यवस्थाको ठाउँमा नवउदारवादी अर्थनीतिको जग बसाले । त्यसले नयाँ नयाँ सङ्कट निम्त्याउन थाल्यो ।

त्यसपछि चिलीमा नयाँ संविधान जारी गरियो । सन् १९९० मा नयाँ राष्ट्रपतिका रूपमा एल्येइन आए । त्यसपछि चिलीमा नवउदारवादले झन् तीव्रता पायो । सन् २००२ मा चिलीले युरोपियन युनियनसँग व्यापार सम्झौता गर्यो । त्यस्तै सन् २००३ मा अमेरिकासँग, सन् २००४ मा कोरियासँग खुला व्यापार सम्झौता गर्यो । त्यस्तै समाजवादी पार्टीबाट निर्वाचित महिला राष्ट्रपति मिचेल्ली बाचेतले सन् २००६ मा चीनसँग, सन् २००७ मा जापान र भारतसँग फ्री व्यापार सम्झौता गरिन् । त्यस्तै न्युजिल्यान्ड, ब्रुनाई, पानामा, सिङ्गापुर, पेरु र कोलोम्बियासँग पनि सम्झौता गरेपछि चिलीमा नयाँ नयाँ आर्थिक सङ्कट देखापर्न थाले । नवउदारवादी अर्थतन्त्र उन्मुख चिलीको अर्थ व्यवस्थामा भूमण्डलीकरणको प्रत्यक्ष असर पर्न थाल्यो ।

चिलीको अर्थतन्त्र उत्पादनमुखीभन्दा पनि वित्तीय अर्थतन्त्रका कारण अस्वस्थ बन्न पुग्यो । सन् २००८ को अमेरिकी आर्थिक मन्दी (रिसेसन) को प्रत्यक्ष मारमा पर्यो भने अर्कातर्फ खुला अर्थतन्त्रको कारण १ भर्सेस ९९ को स्थिति उत्पन्न हुन थाल्यो । त्यसै कारण ल्याटिन अमेरिकाभरी सन् २०१० पछि १ का विरुद्ध ९९ को आन्दोन करिब २०१६ सम्म लोकप्रिय नारा नै बनेको थियो । धनी र गरिबको बीचको खाडल एकपछि अर्को गरी नाटकीय रूपमा बढ्दै गयो । सर्वसाधारणका लागि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता उपभोग गर्न नसक्ने अवस्था आयो । नवउदावादी अर्थतन्त्रको चर्को चेपुवामा परेका चिलीका जनताले सन् २००६ र २०१६ मा पनि धेरै ठूलो आन्दोलन गरे तर उनीहरुको माग पूरा भएन । जुन अहिले आएर ५१ औँ दिनसम्म निरन्तर चलिरहेको छ । 

 कसरी उठ्यो चिलीमा नवउदारवादविरुद्ध जनउभार ?
चिलीको आर्थिक सङ्कट चरम चुलीमा पुगेको त्यहाँका सरकारी रिपोर्टहरुले बताउँछन् । चिलीमा १ प्रतिशत धनाड्यहरुले २६.५ प्रतिशत जनसङ्ख्या बराबर सम्पति ओगटेका छन् । त्यस्तै चिलीको ५० प्रतिशत न्यून आय भएको जनता सम्पत्ति बराबरा २.१ प्रतिशत धनाड्यहरुको सम्पत्ति रहेको इकोनमिक कमिसन फर ल्याटिन अमेरिका एन्ड द क्यारेबियनको तथ्याङ्कले देखाएको छ । त्यस्तै न्यूनतम ज्याला ३ लाख १ हजार पिसोस (करिब ३७५) रहेको सरकारी तथ्याङ्कले देखाएको छ । त्यस्तै सहरका कामदारहरुले आफ्नो ज्यालाको १३.८ प्रतिशत पैसा यातायातमा खर्च गर्ने गरेका छन् । शिक्षा, स्वास्थ्य, चर्को हाउजिङ भाडाले त्यहाँका जनताको अवस्था जर्जर बनेको छ ।  

निष्कर्ष 
जसरी रुसका सर्वहारा तथा श्रमजीवी वर्गले तत्कालीन शासक जारका संविधान तथा कानुनका दस्तावेजहरुलाई कुल्चँदै जारका संविधान तथा कानुन पालकहरुको आदेशको ठाडो उल्लङ्घन गर्दै आफ्नो भाग्यको फैसला आफै गर्न पुँजीवादी जगेडको नाभी (केन्द्र)बाट पुँजीवादले लादेका जन्जिर चुँडाल्न, क्रान्तिको महासमरमा सहभागिता जनाए र पुँजीवादी व्यवस्थाको संरक्षक जार शासनको चिहान खने ।

ठीक त्यस्तै आज पनि पुँजीवादी हेडक्वाटर अमेरिकाको नाकमुनि ल्याटिन अमेरिकी देश चिलीका मध्यमवर्ग (श्रमजीवी) वा जनताले नवउदारवादको चिहान खनिरहेका छन् तर उनीहरुलाई नयाँ युगको लेनिनको खाँचो परेको छ । 

चिलीमा उठेको सरकार विरोधी आन्दोलन कुनै शासक (राष्ट्रपति सेवास्टिएनका) शासनसँग नभएर पुँजीवादी अर्थतन्त्रमा देखा परेका सङ्कटको उपज हो । विशेष गरी अहिले विश्व पुँजीवादी व्यवस्थाको चौथो चरणमा प्रवशेसँगै पुँजीवाद (भूमण्डलीकृत अवस्थाको) सङ्कटग्रस्त बन्दै गएको प्रमाण चिलीमा सहजै देख्न सकिन्छ । 

पहिलो कुरा आजको पुँजीवाद हिजो अर्थात् डेबड रिकार्डो, आडम स्मिथ र माल्थसहरुको समयको जस्तो प्रतिस्पर्धात्मक अवस्थामा छैन । किनभने आज जसले आफ्नो स्वरूप एकाधिकार हुँदै भूमण्डलीकृत अवस्थामा फेरेको छ । संयुक्त राष्ट्र सङ्घको विकास कार्यक्रम आयोजनाअन्तर्गत प्रकाशित मानव संसाधन रिपोर्ट सन् (२०००) ले आजको युगलाई भूमण्डलीकृत बताएको थियो । जसमा चार विशेषता उल्लेख थिए । १) नयाँ बजार, २) नयाँ उकरण, ३) नयाँ कर्ता र ४) नयाँ नियम रहेका छन् । पहिलो कुरा अहिलेको भूमण्डलीकृत अर्थतन्त्र वित्तीय अर्थतन्त्र (सुदखोरी) मा टिकेको छ ।

दोस्रो यो उत्पादनबाट कटेको छ । तेस्रो अतिकेन्द्रित भएको छ । जस्तो संसारका १ प्रतिशत धनाड्यको हातमा ९९ प्रतिशत जनताको बराबर सम्पत्ति कब्जामा रहेको अक्सफामको रिपोर्टले देखाएको थियो । तेस्रो अहिलेको अर्थतन्त्रको मुख्य हिस्सा अनुत्पादक क्षेत्रमा लगानी हुने गरेको छ । अहिले अमेरिका, बेलायत, फ्रान्स, रुस र चीनजस्ता ठूला अर्थतन्त्र भएका देशहरुको ठूलो लगानी उत्पादन क्षेत्रमा भन्दा पनि अनुत्पादक क्षेत्र (हतियार निर्माण) मिसायल, ठूला ठूला हतियार उद्योगहरूमा लगानी गर्ने गरेका छन् । जसले गर्दा उत्पादकत्व क्रमशः घट्दै गएको छ । चौथो अन्तर्राष्ट्रिय एकाधिकारवादको पक्ष पोषण गर्ने संस्थाहरुको नयाँ नियम बनाएका छन्, जसले बहुराष्ट्रिय निगमहरुको लुटपाट बढेको छ र त्यसले राष्ट्रिय पुँजीपतिको टाट पल्टाइरहेको छ । पाँचौँ अहिले विकास भएको विज्ञान प्रविधिको विकाससँगै यसले श्रम शोषण तीव्र पारेको छ ।

श्रमजीवी जनताको यसप्रति आक्रोश बढ्दो छ । छटौँ नवउदारवादी अर्थतन्त्रको नाइके अमेरिका आफै आफ्नो नीतिको विरुद्धमा उभिन थालेको छ । जसको थालनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । ईयूका उत्पादनमाथि भारी कर वृद्धि, चीनसँग थालेको ट्रेडवार इत्यादी, नवउदारवाद स्थापित गर्न सक थेरापीको आवश्यकतामा जोड दिने फ्रिडम्यान थिए । तर आज अमेरिकाकै राष्ट्रपति संरक्षणवादको निष्कर्षमा पुगेका छन् । तसर्थ अहिलेको पुँजीवाद आन्तरिक र बाह्य दुवै कारण धरापमा परेको छ । 

उदाहरणका लागि अहिलेको पुँजीवाद व्यापारिक, प्रतिस्पर्धात्मक, एकाधिकार हुँदै भूमण्डलीकृत चरित्रमा पुगेको छ । अहिले चिलीको समस्या भनेकै भूमण्डलीकृत साम्राज्यवादकै हो । चीन र अमेरिकाको ट्रेड वारका कारण चिलीको मुख्य आयको स्रोत मानिने कपरको मूल्य अन्तर्राष्ट्रिय बजारमा नाटकीय रूपले ओरालो लागेको छ । भूमण्डलीकृत अर्थतन्त्रको अभिन्न अङ्ग बनेको चिलीमा अन्तर्राष्ट्रिय डलरको मूल्य र अन्य अन्तर्राष्ट्रिय बजारको प्रत्यक्ष आर्थिक प्रभाव चिलीमा पर्ने गरेको छ । 

चिलीमा नवउदारवादको स्वेत आतङ्कको अन्त्य गर्दै त्यसको वैकल्पिक व्यवस्थाको माग गरेर करिब २ महिनादेखि सडक आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरुले १४ अक्टोबरदेखि अहिलेका चिलीका राष्ट्रपति सेबास्टिएन पिनराको राजीनामा र नयाँ समाजवादी संविधानको स्थापनाको लागि सङ्घर्ष गरिरहेका छन् । तर चिलीका मध्यमवर्गीय जनता अमेरिकी कठपुतली पिनराको सरकारलाई फालेर नवउदारवादी अर्थ व्यवस्थाको अन्त्य गर्न सङ्घर्ष गरिरहेका भए पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने आन्दोलनकारीहरु अन्योलमा देखिन्छन् । १७ अक्टोबरका दिन राजधानी सानएन्टिएगोमा मात्रै दशौँ लाख जनता सडकमा उत्रिएका थिए । अहिले पनि सहरहरु आन्दोलनकारीको कब्जामा रहेका छन् । सरकारले बल प्रयोग गर्न सक्ने अवस्था नै छैन । तर अहिलेको चिलीको आन्दोलनको मुख्य समस्या भनेको नेतृत्वको हो । जसरी रुसमा लेनिनले पुँजीवादी राज्यसत्ताको तख्ता पल्टाए । त्यसरी नै चिलीको सेबास्टिएनको मक्किएको पुँजीवादी सत्तालाई ढाल्न नयाँ लेनिनको आवश्यकता खड्केको देखिन्छ । 

लेनिनले जसरी पुँजीवादको साम्राज्यवादमा पतन भएको पत्ता लगाए । लेनिनले साम्राज्यवादका विशेषगरी ५ वटा मुख्य चरित्र (पुँजीको निर्यात, औद्योगिक पुँजी र वित्तीय पुँजीको गठजोड र वित्तीय अल्पतन्त्रको अवस्था, अति उत्पादन, शक्ति राष्ट्रहरुको विभाजन र अन्तर्राष्ट्रिय एकाधिकावादी सङ्घको निर्माण) पत्ता लगाएर त्यसको ध्वंश पार्न सहरी जनविद्रोहको नेतृत्व गरे र रुसमा कम्युनिस्ट व्यवस्थाको जग बसालेका थिए ।

त्यसरी नै आज पनि पुँजीवादी (भूमण्डलीकृत साम्राज्यवाद) का आर्थिक विशेषताको पहिचान गरेर त्यसको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न आवश्यक छ । अझ चिलीमा आन्दालेनको वस्तुगत अवस्था तयार भइसके पनि आत्मगत अवस्था भने कमजोर देखिएको छ । मुख्यगरी वस्तुगत रूपले आन्दोलन अघि बढिसकेको भए पनि पनि आत्मगत रूपमा आन्दोलनकारी भने निक्कै नै कमजोरी देखिएको छ ।

विद्यमान नवउदारवादी व्यवस्थालाई चिरेर अगाडि बढ्न परिपक्व नेतृत्वको अझ भूमण्डलीकृत साम्राज्यवादी अर्थव्यवस्थालाई सैद्धान्तिक र सङ्गठनको माध्यमबाट चिरेर नवउदारवादको चिहान खन्ने एक्काइसौँ शताब्दीको लेनिन चाहिएको छ । आशा गरौँ चिलीले पुँजीवादी व्यवस्थाका विरुद्धमा नयाँ लेनिनको जन्म दिने छ । विश्वभरी नयाँ विकल्पका लागि आन्दोलनको आँधी हुरी ल्याउने छ । त्यसको उदाहरण चिली, फ्रान्सको पछिल्लो देशव्यापी हड्ताल, इराकको सरकार विरोधी प्रदर्शन लगायत विश्वभरी पुँजीवादको विरुद्ध नयाँ क्रान्तिको उभारको थालनी भएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.