मनोनित महामन्त्रीको सकस
काठमाडौँ । नेपाली काँग्रेसको विधानमा सभापतिपछिको शक्तिशाली पद मानिन्छ महामन्त्री । पार्टी संगठनमा पकडका हिसाबले महामन्त्री पद काँग्रेसमा निकै महत्वपूर्ण हो । काँग्रेसको इतिहास हेर्ने हो भने सरकार र पार्टीको एक साथ नेतृत्व गरेका दुई ऐतिहासिक पात्र गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पनि कुनै समय पार्टीको महामन्त्री पदमा रहेर आफ्नो राजनीतिक उचाई त्यो हदसम्म बढाएका थिए ।
नेपाली काँग्रेसको विधानमा दुई महामन्त्रीको व्यवस्था छ । सोहीअनुसार उक्त पदमा हाल डा. शशांक कोइराला (निर्वाचित) र पूर्णबहादुर खड्का (मनोनित) छन् । शशांक कोइराला बेलाबखत ‘हिन्दु राष्ट्र’ को विषयमा अभिव्यक्ति दिएर होस् या यदाकदा नेतृत्वको आलोचना गरेर चर्चामा आइरहन्छन् । तर अर्का महामन्त्री पूर्णबहादुर खड्का भने लामो समयदेखि मौन छन् । अर्थात् उनी समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रका गतिविधि लगायतका विषयमा बोल्न चाहदैनन् । ‘अहिले बोल्ने अवस्था छैन’ भन्दै उनी पन्छिने गरेका छन् ।
पार्टीभित्र गुटैगुट, बढ्दो आरोप–प्रत्यारोप
नेपाली काँग्रेसभित्र विभिन्न गुट छन् । साना–ठूला गुटहरु गणना गर्ने हो पार्टीभित्र सबैभन्दा धेरै गुट हुनेमा काँग्रेस अग्रपंक्तिमै आउँछ । संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको गुट, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट, पूर्व महामन्त्री प्रकाशमान सिंह नेतृत्वको गुटलगायत विभिन्न गुटले पार्टीभित्र जरा फैलाउँदै गएको छ । संस्थापन बाहेकका सबैजसो गुटले पार्टी नेतृत्वकै आलोचना गर्दै आएका हुन्छन्, यद्यपि उनीहरु आपसमै मिल्न सकेका भने छैनन् ।
पार्टीको निर्णय, एजेन्डा लगायतका विषयमा गुटगत स्वार्थका आधारमा टिप्पणी हुने भएकाले पनि काँग्रेसभित्र आरोप–प्रत्यारोप बढी देखिन्छ । यस क्रममा कतिपयले नेतृत्व वा पार्टी नीति विपरीतसमेत खुलेआम बोल्दै आएको पाइन्छ ।
यो परिस्थितिलाई ‘स्वतन्त्रता’ र ‘लोकतान्त्रिक अभ्यास’ भनेर व्याख्या गर्नेहरु पनि कम छैनन् । तर ०७५ वैशाख २१ बाट काँग्रेसको महामन्त्री पदमा रहेका खड्का भने आश्चर्यजनक रुपमा मौन छन् ।
‘काँग्रेसको आन्तरिक गतिविधिबारे बोल्नु र आकाशमा थुक्नु उस्तै हो,’ अनौपचारिक भेटघाटमा उनले भन्ने गरेका छन् । त्यसो त, उनी बोल्दै नबोल्ने स्वभावका पनि होइनन् । कुनै बेला उनले आफूलाई पार्टीभित्र ‘खरो नेता’का रुपमा स्थापित गरेका थिए ।
काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालालाई पार्टीले दोस्रो पटक प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा तत्कालिन सहमहामन्त्रीको जिम्मेवारीमा रहेका खड्काले राजीनामा दिएका थिए । पार्टीको पदाधिकारी बैठकले प्रधानमन्त्री पदको उम्मेदवार चयन गर्ने जिम्मेवारी तत्कालिन सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेललाई सुम्पिएको थियो । तीनैजना नेताको सहमतिमा कोइरालालाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने निर्णय भयो । पदाधिकारी बैठकको म्यान्डेटअनुसार पार्टीका तीन नेताले गरेको निर्णयप्रति विमति राख्दै खड्काले त्यतिबेला सहमहामन्त्री पदबाट राजीनामा दिएका थिए । उनको तर्क थियो, ‘आफूलाई मनोनित गर्ने (सभापति) कै निर्णयमा विमति राखेर सोही पदमा बसिरहनु नैतिकताका दृष्टिले उचित नभएर राजीनामा दिएको हुँ ।’
जानकारहरु खड्का अहिले पनि त्यही नैतिकताको डोरीमा बाँधिएर मौन बसेका त होइनन् भन्ने आशंका गर्छन् । सभापति देउवाका कतिपय निर्णयमा असन्तुष्टि राख्दा राख्दै पनि उनी राजीनामा दिने वा त्यस्ता निर्णयको विरोध गर्ने भन्ने विषयमा प्रष्ट खुल्न नचाहेर मौन बसेको हुन सक्ने उनीहरुको ठम्याइ छ ।
नेतृत्वप्रति असन्तुष्ट छन् खड्का ?
खड्कालाई संस्थापनको नेता मानिन्छ । पार्टीभित्र रहेका विभिन्न गुटले नेतृत्वको आलोचना गरिरहेको समयमा सामान्यतया संस्थापन पक्षका जिम्मेवार पदाधिकारीले नेतृत्वको पक्षमा बचाउ गर्छन् । तर राजनीतिक शास्त्रको सामान्य सिद्धान्तविपरीत महामन्त्री खड्का किन मौन छन् ? राजनीतिक विश्लेषक पुरञ्जन आचार्य महामन्त्री खड्काको मौनतालाई नेतृत्वको कार्यशैलीमाथि रणनीतिक रुपमा प्रदर्शन गरिएको विमतिका रुपमा व्याख्या गर्छन् ।
खड्का परिणाममुखी नेता रहेको उनको बुझाइ छ । उनले भने, ‘सभापतिले मनोनित गरेकाहरुलाई समस्या हुन्छ नै । कि नतमस्तक हुनुपर्छ, होइन भने विरोध जनाएर पदमा बस्न गाह्रो हुन्छ । त्यसैले उहाँ मौन बस्नु भएको होला ।’
विश्लेषक आचार्यको भनाइमा मनोनित महामन्त्रीलाई सभापतिले बढी जिम्मेवारी दिन्छन् । खड्काले स्वाभाविक रुपमा पार्टीको जिम्मेवारी बढी पाएको उनको भनाइ छ । ‘तर उनले (खड्काले) सोचेजस्तो गरी काम भएको भने देखिँदैन,’ आचार्यले भने, ‘आफ्नो लक्ष्य अनुसारको काम हुन सकेन भने साइलेन्ट बस्नु राम्रो हुन्छ भनेर पनि कुनै प्रतिक्रिया नजनाएको हुनुपर्छ ।’
महामन्त्री खड्का काँग्रेसभित्रको कुटनीतिक खेलाडी भएको आचार्यको बुझाइ छ । उनका अनुसार देउवाले आफ्नो पक्षको रणनीति तय गर्न उपसभापति विमलेन्द्र निधि र महामन्त्री खड्कालाई अघि सारेको पाइन्छ ।
देउवा पक्षका नेताहरु भने देउवाको ‘रक्षाकवज’का रुपमा महामन्त्री खड्का उत्रिन नसकेको भन्दै असन्तुष्ट छन् । तर, महामन्त्रीको काम प्रतिक्रिया दिनेभन्दा सांगठिनक रणनीति तय गर्ने भएकाले खड्काको मौनता स्वाभाविक भएको केन्द्रीय सदस्य प्रदीप पौडेलको तर्क छ ।
उनले भने, ‘मनोनयनबाट आएकालाई मनोनयन गर्नेमाथि बफादार बन्नुपर्ने बाध्यता हुन्छ । त्यो बाध्यता उहाँमाथि पनि हुने नै भयो । उहाँले पार्टीगत काम गरिरहनु भएको नै छ ।’
पार्टीको विधान संशोधन तथा परिर्माजन समितिको संयोजकको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरे पनि पछिल्लो समय त्यही विधान विपरित सभापतिबाट हुने गतिविधिमा खड्काको मौन समर्थन देखिन्छ । देउवाले उपनिर्वाचनमा चुनावी संयोजकको जिम्मेवारी पनि खड्कालाई नै दिएका थिए ।
देउवा पक्षले केही नेताहरु उपनिर्वाचन परिणामलाई सकारात्मक रहेको प्रतिक्रिया दिँदा पनि महामन्त्री खड्का भने मौन छन् ।
महामन्त्री खड्कासँगको संयोजनमा नै उपनिर्वाचन हुने जिल्लाले जिल्ला जिल्लामा चुनावी रणनीति तय गरेका थिए । भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको प्रमुखमा हासिल भएको जितलाई काँग्रेसले उपनिर्वाचनको ठूलो उपलब्धि मानेको छ ।
यद्यपि चुनावी कमाण्डरका रुपमा रहेका खड्काले कुनै प्रतिक्रिया दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?