शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : ६ महिने कार्ययोजना ल्याउँदै प्रचण्ड, गुप्तचरलाई फोन ट्यापिङको अधिकार

निर्मला हत्या प्रकरणमा अनुसन्धानको सुई दिलीपतिरै
सोमबार, २३ मङ्सिर २०७६, ०७ : १२
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । आज मंसिर २३ गते सोमबार देशका राष्ट्रिय दैनिकहरुमा बाँकेको कोहलपुरमा स्कुले बालिकालाई ट्रकले किचेपछि उत्पन्न तनावबारे समाचार प्रकाशित छ । त्यस्तै, १३ औँ दक्षिण एसियाली खेलकुदबारे समाचारहरुले पनि प्राथमिकता पाएका छन् ।

कान्तिपुर दैनिकमा उत्तरपुस्तिाका नै साटफेर गरेर त्रिभुवन विश्वविद्यालयमा अनियमितता हुने गरेको समाचार छ । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा भएको सामान बिर्सिएका रहेछन् । उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबेल मच्चियो । दाहालको घर्रामा भेटिएका ती कापी उदयपुरको त्रियुवा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटमा अध्ययनरत हिरा कटुवालको खुल्यो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार त्रियुगा बहुमुखी क्याम्पसमा कार्यरत तेजनारायण चौधरीले सेटिङ मिलाएर उत्तरपुस्तिका साटफेर गरेका थिए । दाहालले परीक्षाको गोप्य शाखा पसेर जानुका र हिराका उत्तरपुस्तिका पत्ता लगाए । ती उत्तरपुस्तिकाको बाहिरी पाना निकालेर नक्कली उत्तरपुस्तिकामा लगाए अनि परीक्षा केन्द्रमा लेखिएको भित्री भाग झिकेर ल्याइ फेरबदल गरे । परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए । लगत्तै छानबिन सुरु भयो । सूचना थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्यो अनि दाहालललाई पक्राउ गर्यो ।

पत्रिकामा सीमा समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री माधव नेपाललाई विशेष दूत बनाएर पठाउने तयारी भए पनि भारतीय पइाले सकारात्मक सन्देश नदिएपछि नेपाल सरकारले सचिवस्तरीय सयन्त्रलाई नै प्राथमिकता दिने भएको समाचार पनि छ । नेपाल सरकारले संयन्त्रको बैठक यही डिसेम्बर महिनमा गर्न प्रस्ताव गरेको छ तर बैठकको मिति र स्थानबारे भारतले जवाफ दिएको छैन । यो विषयमा अब प्रधानमन्त्रीकै तहबाट जानकारी लिने तयारी रहेको स्रोतले जनाएको छ । सीमा विवादले सडकसमेत तात्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै छिटो समाधान गर्न ट्रयाक टुका रुपमा विशेष दूत पठाउने मनस्थिति बनाएका थिए ।

पत्रिकामा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा गठन गर्ने तयारी गरेको समाचार छ । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकअघि नै केन्द्रीय विभाग गठन, समितिहरूलाई पूर्णता र भ्रातृसंस्थाहरूको अधिवेशन टुंगो लगाउन लागेका हुन् । देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नुपर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन् । देउवाले उनीहरूसँग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिलाई खटाएका छन् । नियमित समयमा महाधिवेशन गर्न नसकिने र विधानअनुसार कार्यकाल एक वर्ष बढाउने करिब निश्चित भएकाले सहमति नजुटे पनि पार्टीका निकायहरूलाई पूर्णता दिने देउवाको तयारी छ ।

नयाँ पत्रिका दैनिकमा गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै भन्ने समाचार छ । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । विभागलाई विदेशीको प्रतिजासुसी गर्नेदेखि टेलिफोन ट्यापिङ गर्न सक्ने अधिकार दिन लागिएको छ । संसद्मा दर्ता भइसकेको नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा गुप्तचरमा व्यापक परिवर्तन लागिएको हो । विभागलाई बलियो बनाउन प्रधानमन्त्री तथा मुख्यसचिवको नेतृत्वमा दुई समितिको हुनेछन् । छिमेकी देश भारतमा पनि यो अधिकार विवाददित बन्दै आएको छ । भारतमा अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने सिबिआई, आइबी, दिल्ली पुलिस, डिआईलगायतलाई यस्तो अधिकार छ । तर, अनुसन्धान अधिकारीहरुले यो सुविधाको दुरुपयोग गरेको भन्दै विवाद हुँदै आएको छ ।

पत्रिकामा विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि प्रहरीले सय राउन्ड गोली चलाएको खबर छ । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ ।  स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे ६प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् । पछिपछि आउँदै गरेको ना २ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबुछोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए । स्कुलनजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्‍याइयो । घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरु गरे । विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो, तर दमनको बाटो रोज्यो ।

पत्रिकामा सरकारले तोकेभन्दा बढी शुल्क असुलीको विरोधमा आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले आइतबारको वार्षिक परीक्षा पनि बहिष्कार गरेको समाचार पनि  छ । चितवन, नेसनल, युनिभर्सल र गण्डकी मेडिकल कलेजका विद्यार्थीले बहिष्कार गरेका हुन् । आइतबार एमबिबिएस र नर्सिङको पहिलो वर्षका विद्यार्थीको परीक्षा थियो । परीक्षा बहिष्कार गरेका चितवन मेडिकल कलेजका विद्यार्थीले दिउँसो मुखमा कालोपट्टी बाँधेर धर्नासमेत दिए । गण्डकीमा केही विद्यार्थीले भने परीक्षा दिएका छन् । गत बिहीबार पनि चारवटै कलेजका एमबिबिएस विद्यार्थीले बहिष्कार गर्दा गण्डकीमा प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँचजनाले मात्रै परीक्षा दिएका थिए ।

नागरिक दैनिकमा निर्मला हत्या प्रकरणमा अनुसन्धानको सुई दिलीपतिरै शीर्षकमा समाचार रहेको छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो। केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सुदूरपश्चिमको भ्रमणमा गएका थिए। गत हप्ता नै प्रहरीले सो घटना सुल्झाउने गरी आशंकित व्यक्ति पक्राउ गर्ने तयारी थालेको थियो। प्रहरी महानिरीक्षक खनाल सिआइबीका प्रमुख डिआइजी शाहीलाई लिएर धनगढीसम्म पुगेर आएलगत्तै विष्टलाई पक्राउ गर्ने तयारी भएको थियो। तर त्यहाँ खटिएका केही अधिकृतहरूको सुझावलाई ध्यानमा राखेर केही समयलाई पछि सारिएको छ।

पत्रिकामा बिपी प्रतिष्ठानमा किर्ते चेक काण्डमा एमबिबिएस विद्यार्थीसहित बैङ्क कर्मचारी पक्राउ परेको समाचार छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैङ्कका दुई जना कर्मचारी पक्राउ गरेको छ । किर्ते चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैङ्कमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा नेकपा अध्यक्ष पुष्कमल दाहालले पार्टी कामको ६ महिने रुपरेखा तयार पारेको समाचार छ । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठककमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताए । ४ मंसिरको सचिवालय बैठकले कार्यकारी अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेतारुसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रुपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा बताए ।

पत्रिकामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ । भारत–पक टकरावको बन्दी बनेको छ सार्क । यसलाई गति दिन सबै सदस्य राष्ट्र तयार देखिएक छन् । त्यही अनुरुप उनीहरुले ३५ औँ स्थापना दिवसको अवसरमा प्रतिबद्धता व्यक्त गरे । तर, पाकिस्तानमा हुनुपर्ने १९ औँ शिखर सम्मेलनको मिति तय हुन सकेको छैन । काठमाडौँ घोषणापत्र जारी भएको पनि पाँच वर्ष बितिसकेको छ । २०१६ नोभेम्बरमा पाकिस्तानले शिखर सम्मेलनको तयारी गरेको थियो । भारत–पाकिस्तान ‘टसल’ कै कारण त्यो सम्मेलन स्थगन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप