शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख निवास राष्ट्रियसभा अध्यक्षको ‘कब्जा’मा, कहाँ बस्लान् नयाँ सभामुख ?

आइतबार, २२ मङ्सिर २०७६, १५ : ४४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । कृष्ण बहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा मुछिएसँगै हाल सभामुख पद रिक्त छ । त्यससता (गत असोज १४) सभामुखको कार्यभार उपसभामुख शिवमाया तुम्बाहामफेले सम्हाल्दै आएकी छन् । 

महराले सभामुखबाट राजीनामा दिएलगत्तै बालुवाटारस्थित सभामुखको सरकारी निवास पनि खाली भएको थियो । तर मंसिर पहिलो सातापछि सभामुख बस्दै आएको बालुवाटारस्थित सभामुख बस्ने सरकारी भवनमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बस्दै आएका छन् । 

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना बस्दै आएको भवनमा भने हाल प्रधानमन्त्री केपी शर्मा ओली सरेका छन् । 

‘बालुवाटारको यो भवन नेपाल सरकारका मुख्य सचिवको निवासका लागि निर्माण गरिएको थियो । तर, मुख्य सचिव नबसेर यो भवनमा राष्ट्रियसभा अध्यक्ष बस्दै आउनु भएको थियो,’ शहरी विकास मन्त्रालय उच्च स्रोतले भन्यो, ‘अहिले फेरि सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष बस्नुभएको छ । उहाँ किन यसरी हतार गरेर सर्नुभयो थाहा भएन ।’

यता, प्रधानमन्त्री ओली गत मंसिर ५ गतेदेखि मुख्य सचिवको आवासका लागि बनाइएको तर राष्ट्रिय सभाका अध्यक्ष बस्दै आएको भवनमा सरेसँगै सभामुख निवास कहाँ खोज्ने भन्ने चिन्ता सहरी विकास मन्त्रालयका अधिकारीहरुलाई थपिएको छ । 

‘प्रधानमन्त्री निवासको मुख्य भवन भत्काएर बनाउनुपर्ने भएपछि प्रधानमन्त्रीलाई मुख्य सचिवका लागि बनाइएको भवनमा सारिएको हो । यो भवन बनाउन नौ महिनाको सम्झौता छ । भवन बनेर डेकोरेशन गर्दा झण्डै एक बर्ष लाग्न सक्छ । एक वर्षपछि प्रधानमन्त्री नयाँ भवनमा सर्नुहुन्छ,’ शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले रातोपाटीसँग भने, ‘प्रधानमन्त्री निवासमा दुईवटा भवन बन्दैछन् । एउटा प्रधानमन्त्रीको आवास र अर्को कार्यालय प्रयोजनका लागि । आवासका लागि बन्ने भवन पहिला बनाएर कार्यालय प्रयोजनको भवन अलि पछि बनाइने छ ।’
उनका अनुसार बालुवाटारमा बन्ने दोस्रो भवन २ वर्षभित्र बनाइसकिने छ ।    

यसअघि प्रधानमन्त्री बस्दै आएको भवन २०३२ सालमा डा. तुलसी गिरी प्रधानमन्त्री भएको बेला निर्माण गरिएको थियो । प्रधानमन्त्री निवासलाई व्यवस्थित बनाउने योजना अन्तर्गत बालुवाटारमा पुरानो भवन भत्काएर नयाँ बनाउन थालिएको हो ।

प्रधानमन्त्री बस्ने भवनको प्रधानमन्त्री केपी ओलीले गत असोजमा शिलान्यास गरेका थिए । शहरी विकास मन्त्रालयले नयाँ भवन निर्माणका लागि कन्टेक प्राली नक्सालसँग ३९ करोडमा भवन निर्माण सम्झौता गरेको छ । 
कहाँ बस्लान् नयाँ सभाभमुख ? 
हाल सभामुख नभएकाले प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्ष बस्दै आएको भवनमा बसेका छन् भने राष्ट्रियसभा अध्यक्ष सभामुख नभएको मौकामा सभामुख बस्ने निवासमा बस्दै आएका छन् । सभामुख चयन नहुँदासम्म यसरी व्यवस्थापन गरिएपनि लामो समयका लागि शहरी विकास मन्त्रालयले बिकल्प खोज्नुपर्ने भएको छ । सम्भवत पुस पहिलो साता भित्र प्रतिनिधिसभाले सभामुख पाउने छ । 

‘त्यसपछि सभामुख निवास खाली गर्नुपर्ने हुन्छ या अन्त कतै खोज्नुपर्ने हुन्छ । त्यतिवेला भने सभामुख कहाँ बस्लान् ? पछिल्लो समय बालुवाटारमा यो विषय चर्चाको विषयसमेत हुन थालेको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता दवाडीका अनुसार नयाँ सभामुखका लागि उपयुक्त स्थान खोजी भइरहेको छ । 

‘हामी सभामुखका लागि उपयुक्त स्थान खोजीमै छौँ । अहिलेसम्म भेटिएको छैन,’ दवाडीको भनाइ छ । उनका अनुसार बालुवाटारमा नयाँ भवन नबन्दासम्मका लागि सभामुखलाई अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

‘नयाँ भवन बनेर प्रधानमन्त्री सरेपछि पूर्ववत अवस्थामै सभामुख र राष्ट्रियसभाका अध्यक्ष बस्नुहुन्छ । त्यसबेलासम्मका लागि अर्को व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ प्रवक्ता दवाडीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप