भारतमा ह्वाट्स एपमा मात्र होइन, इमेलमार्फत पनि पत्रकार र मानव अधिकारकर्मीको जासुसी भएको खुलासा
एजेन्सी । केहीअघि भारतका केही मानव अधिकारकर्मी र पत्रकारका मोबाइल–फोन जासुसी गरिएको सार्वजनिक भएको थियो । त्यस जासुसीका लागि इजरायलमा निर्माण भएको स्पाइवेयर पेगाससको प्रयोग भएको थियो ।
हाल आएर जासुसीका लागि इमेल पनि प्रयोग भएको पत्ता लागेको छ ।
इमेलको प्रयोग गरेर गरिएको यो खालको डिजिटल आक्रमणको एक सुनियोजित ढाँचा सार्वजनिक भएको छ । इमेल प्राप्तकको पृष्ठभूमिलाई ख्यालमा राखेर पठाइएको देखिएको छ । यी इमेल यही वर्ष सेप्टेम्बरदेखि अक्टोबर महिनाका बीचमा पठाइएको थियो ।
भारतीय मिडिया ‘द वायर’ले यी इमेलको स्रोत र प्रकृतिबारे विशेष जाँच नै गराएको लेखेको छ । उसले एम्नेस्टी इन्टरनेसनलबाट जाँच गराएको र त्यसमार्फत कैयौँ आश्चर्यजनक खुलासा भएको लेखेको छ ।
बर्लिनस्थित एम्नेस्टीको डिजिटल टिमद्वारा गरिएको अध्ययनले भनेको छ– ‘यी इमेल विशेष रूपबाट पत्रकार र कार्यकर्ताहरुलाई फसाउनको लागि तयार गरिएको देखिन्छ । एम्नेस्टीको प्रविधि विभाग (टेक)ले यी इमेलमा पठाइएका सामग्री मालवेयर लिङ्क भएको पत्ता लगाएको छ । यसलाई डाउनलोड गरेपछि यसले काम गर्न थाल्छ ।’
सङ्गठनका अनुसार यी फाइल खराब मनसायले पठाएको पायो । एम्नेस्टी टेकको खोजका अनुसार ‘एक पटक यो मालवेयर कम्प्युटर उपकरणमा इन्स्टल गरेपछि त्यसमार्फ कम्प्युटरमाथि पूर्ण नियन्त्रण कायम हुन्छ ।
त्यसमार्फत कम्प्युटरमा हुने सबै काम हेर्न सकिन्छ । कम्प्युटर प्रयोगकर्ताको फाइल्स, क्यामेरामा समेत इमेल पठाउने नियन्त्रण हुन्छ । यसबाट स्क्रिनसट पनि लिन सकिन्छ । यसले कम्प्युटर प्रयोगकर्ताले किबोर्डमा टाइप गरिएको हरेक कुराको रेकर्ड राख्न सक्छ ।’
यी इमेलहरु मुख्यत तिनै अधिकारीलाई पठाइएको पाइएको पाइएको छ जसलाई यसअघि पेगाससद्वारा डिजिटल आक्रमण गरिएको थियो ।
त्यसमा प्रेमकुमार विजयनको नाम मात्र नयाँ रहेको देखिन्छ । विजयन दिल्ली विश्वविद्यालयमा अङ्ग्रेजी विषयमा प्रोफेसर हुन् ।
‘द वायर’ले यस प्रकरणबारे लेखेको समाचारमा आफूहरुले इमेल पठाइएका सबै मानिससँग कुराकानी गरेर डिजिटल आक्रमणको ढाँचा पहिल्याउने कोसिस गरेको बताएको छ । उसले सम्पूर्ण इमेलको अध्ययन गराउन एम्नेस्टी इन्टरनेसनललाई संलग्न गराएको थियो ।
अझ थप प्रमाणिकताका लागि इमेलहरु ‘क्यानाडाको युनिभर्सिटी अफ टोरन्टो’सँग सम्बन्धन रहेको अनुसन्धान सङ्गठन ‘सिटिजन ल्याब’ले पनि गरेको थियो । सिटिजन ल्याब यस अघि इजरायलको स्पाइ वेयर पेगाससको प्रभाव र त्यसको शिकार भएको सम्भावित मानिसको सहयोगका लागि ह्वाट्स एपसँग काम गरिसकेको छ ।
सुरुवाती जाँचबाट यस आक्रमण पछाडि कसको हात रहेको स्पष्ट भएको छैन । प्रविधि समूहले यसमा एनएसओ समूह या पेगाससको भूमिकालाई अस्वीकार गर्यो ।
‘द वायर’ले गरेको प्रश्नको एम्नेस्टीको जवाफ थियो, ‘एम्नेस्टी इन्टरनेसनलको टेक सेक्युरिटी ल्याबले यी इमेल गलत मनसायले पठाइएका लिङ्क हुन् भन्ने प्रमाणित गर्छ । यसमार्फत विन्डोज कम्प्युटरमा स्पाइवेयर (जासुसी गर्ने सफ्टवेयर) लगाइन्छ । इमेल पठाइएका व्यक्तिलाई यी डाउनलोड र इन्स्टल गर्न भनिएको छ । यसको पछाडि एनएसओ वा पेगाससको भूमिका देखिँदैन । हामी जाँच गरिरहेका छौँ ।’
भिमा कोरेगाउँ कनेक्सन
विजयनलाई छाडेर यो इमेल पाउने सबै मानिसहरुबीच एक समानता देखिन्छ, त्यो हो–भिमा कोरेगाउँ मुद्दाको सुनुवाइ ।
इमेल पाएका डीपी चौहान छत्तिसगढको रायगढ जिल्लाका एक सक्रिय मानव अधिकार कार्यकर्ता हुन् र उनी सुधा भारद्वाजसँग नजिकमा रहेर काम गरिरहेका थिए ।
सुधार भारद्वाज अहिले माओवादीसँग सम्बन्ध रहेको आरोपमा जेलमा छिन् । उनलाई ‘सहरी माओवादी (अर्बन नक्सल)’ सञ्जालको हिस्सा भएको अनौठो आरोपमा गिरफ्तार गरिएको छ ।
निहालसिंह राठौर यही मुद्दामा गिरफ्तार अर्का वकिल सुरेन्द्र गाडलिङसँग जोडिएका छन् । त्यस्तै जगदलपुर लिगल ऐड ग्रुप पनि सक्रिय रूपमा भारद्वाज र अन्य कार्यकर्ताको मुद्दा हेरिरहेको छ ।
त्यस्तै पार्थसारथी रे कोलकाताका परिचित नागरिक अधिकार कार्यकर्ता हुन् । उनको नाम भिमा कोरेगाउँ मुद्दामा नौ अभियुक्तविरुद्ध दायर चार्जसिटमा कैयौँ पटक आएको छ ।
याहु र गुगलद्वारा भारतमा कैयौँ मानिसलाई ‘सरकार समर्थित मानिस’द्वारा जासुसीको प्रयास भइरहेको भन्दै चेतावनी दिइएको छ ।
याहुको अलर्टमा भनिएको छ, ‘हाम्रो विश्वासमा तपाईंको याहु एकाउन्ट सरकार समर्थित मानिसको निसानामा हुन सक्छ । यसमो अर्थ तिनले तपार्इंको एकाउन्टको प्रयोग गरेर तपाईंबारे महत्त्वपूर्ण जानकारी सङ्कलन गर्न सक्छन् ।’
गुगलले बताए अनुसार सन् २०१९ जुलाईदेखि सेप्टेम्बरबीच उसले १४९ देशका प्रयोगकर्ताहरुलाई १२ हजारभन्दा बढी सन्देशमार्फत सरकार–समर्थित आक्रमणकारीको निसाना बनाइएको चेतावनी जारी गरेको छ ।
तर हालसम्म ‘सरकार समर्थित मानिस’को हुन् स्पष्ट भएको छैन । त्यस्तै ती भारतीय प्रयोगकर्ताहरुलाई निसाना बनाएर किन जासुसीको प्रयास गरिरहेका छन्, त्यो पनि स्पष्ट भएको छैन ।