केन्द्रीय संस्करण
बालकथा

ज्ञानकाजीको गाेरु

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0

 

वर्षौअघिको कुरा हो । त्यसताका मुलुकमा राणाशासन थियो । ज्ञानकाजी थापा त्यति बेलाका सेनाको हवलदार बनेका थिए । हवलदार हुँदाहुँदै पछि जङ्गीलाठको आठपहरिया भए । गाउँमा झिंगटी छानाको घर । गैह्री खेत । ठुला पाटा गैह्री बारी । छुट्टीमा गाउँ पुग्थे । घरखेतीको रेखदेख गर्थे । शहर फर्कन्थे । यसरी गाउँ शहर गर्दागर्दै जागीर खाने उमेर सकियो । ज्ञानकाजी सेवानिवृत्त भए । यसैबीच राणाशासन पनि ढल्यो । ज्ञानकाजी अव शहर नफर्कने गरी घर आएका थिए । कमाउन दिएको खेती आफैं गर्ने सोच बनाए । हल गोरु किने । जोत्नका लागि चाहिने सामान जुटाए । गोरो अनुहार । खाइलाग्दा हात पाखुरा । अग्लो कद । रिस नउठ्दा मुसुक्क हाँसेर बोल्ने रिस उठ्दा लबटो उठाएर जाइलाग्ने खरो बानी । सुनिदिने मानिस भेटेपछि  जहाँ जति बेला पनि विश्वयुद्धको कथा हाल्थे । विश्वयुद्धमा उनी बर्मामा खटिएका थिए । त्यहाँ जापानी सेनासँग घमासानको लडाइँ भएको थियो । उनी त्यही घमासानको कथा हाल्थे । लडाइँमा जापानी सैनिकलाई जितेको, लखेटेको र समातेको कथा हाल्थे । बहादूरीका कथा हाल्थे ।

गाउँका किशोर किशोरी, बालबालिकाहरु भन्थे, “काजीबा, तपाइँ जानुभएछ । हामी  त बर्मा  जाँदैनौं । कलकत्ता पनि जाँदैनौं । बेलायत पनि जाँदैनौ । हामी हाम्रै देशमा नयाँ नयाँ उद्योग चलाउँछौं । देशकै विकास गरेर बस्छौं !” बालकहरुको अठोट सुनेर ज्ञानकाजी छक्क पर्थे । स्याबास् भन्थे । खुसी हुन्थे । वास्तवमा ज्ञानकाजीसँग युद्धका रोमान्चकारी कथा भने धेरै नै थिए । सुनेर अघाइन्नथ्यो । युद्धका कथा बालकदेखि वृद्धसम्म सबैलाई चाख लाग्थ्यो । कथाकै कारण पनि उनको उपस्थिति गाउँले सबैलाई मन पर्थ्यो ।

शिशिर बित्यो । गाउँबस्तीका डाँडा पाखामा बसन्त फर्केर आयो । धञेरो फुलेर पाखा पखेरा रातै भए । रुखहरुमा नयाँ पालुवा पलायो । कुँडारका आरु आरुबखडा, दारिम र निबुआका बोटहरु फूल फुलेर लटरम्म देखिए । आँगनमा हावा मगमगायो । यसैबीच एक दिन पानी उधुमसित पर्‍यो । किसानहरु खुसी भए । बारीमा मकै रोप्नकालागि यो पानी अमृतबराबर थियो । ज्ञानकाजीले पनि भोलिबाट जोत्न थाल्ने मन बनाए ।

उनले खाल्डेको ठुलो पाटोबाट जोत्न थाल्ने बिचारले बिहान चाँडै नै गोरु फुकाए । हलोजुवा काँधमा बोके । बडो उत्साहसाथ गोरु धपाउँदै खाल्डेतिर हिँडे । छिमेकका बालक मुक्तिनाथ र धनजीत लामालाई काजीबाले हलो जोतेको हेर्न रउस लाग्यो । उनीहरु कतै कसैलाई नभनी आफ्नै सुरले सुटुक्क काजीबाको पछि लागे ।

बारीमा पुगेर ज्ञानकाजीले गोरु नारे । जुवाका बीच झुण्डेको हलुँडोमा हरिस मिलाएर ठेडीले अल्झाए । अनौ समातेर हलो उचाल्दै माटोमा फाली सोझ्याए । वर्षौंपछिसम्म पनि गोरु नार्ने तरिका नबिर्सेकोमा मनमनै आफूलाई धन्यवाद दिए । बडो शानसित गोरुतिर हेर्दै सिप्कनो उजाए र गोरुलाई ‘चलो भाइ !’ भने । गोरुले टेर पुच्छर लाएन । गोरुका ढाडमा सिप्कनो डुलाउँदै ह ह काले, ह ह माले, भने । गोरु डेग चलेन । ज्ञानकाजीलाई झनक्क झोक चल्यो । सिप्कनाले सोठ्याउँदै अझ हिँड्दैनस् भन्दै च्याँट्ठिए । गोरुहरु जुवा तानातान गर्न थाले अगाडि बढेनन् । अरु झोक्किएर सिप्कनाले सोँठयाए । एउटा गोरु थचक्कै बस्यो । अब ज्ञानकाजीलाई खपिसाध्य भएन । गोरुका अगाडि गएर टुक्रुक्क बसे । टाउकाबाट खुकुरीक्रस कालोटोपी निकालेर गोरुका मुखैनिर तल भुइँमा राखे र भने, “कालेसाहव, मैले हजूरलाई किन्दा परेको रुपैयाँ यसै टोपीमा फिर्ता दिइबक्स्योस् । म मेरो बारी जोत्नुपर्छ भन्दिनँ । म जुवा फुकाइदिन्छु । हैन भने हजूरले नजोते कसले जोत्छ काजी ? कल्ले जोत्छ ? जंङ्गलमा दुगुर्ने बाँदरले आएर जोत्छ ?”

त्यहाँ नजिकै गेडुल्लाका बुटामा छेलिँदै लुकेर हेरिरहेका बालक मुक्तिनाथ र धनजितलाई हाँसो उठयो । खितितित्त हाँसे । ज्ञानकाजीले पल्याक्पुलुक् हेरे । केही देखेनन् । मनमा कता कता डर पनि लाग्यो । सम्हालिएर भने, “यो हाँस्ने को हो ? हाँस्नेले देखा परेरै हाँस्नु नि । अनुहार पनि देखाउन नस्क्नेले के हाँस्नु ?”

ज्ञानकाजी सेनाका मान्छे । रिसाउन परेपछि नराम्ररी रिसाउँछन् भन्ने यी बालकहरुले पनि सुनेका थिए । धनजीतले भन्यो, “जाउँ, मुक्ति, यी बुढाले गोरु नार्नै जानेनन् । मिलाएर नारिदिउँ । दंङ्ग पर्छन् ।” “ल जाउँ न त !” मुक्तिनाथले भन्यो । दुवै बालक डराउँदै डराउँदै ज्ञानकाजीका अगाडि प्रकट भए । “एः अघि हाँस्ने छाउरा तिमीहरु नै हौ । यहाँ किन आयौ ?”

“काजीबाले जोतेको हेर्न मन लागेर आको !” धनजीतले भन्यो । मुक्तिनाथले जान्न खोज्दै सोध्यो, “काजीबा, यी गोरुहरु नचिनेका मान्छेलाई हान्छन् कि ? हान्दैनन् ?” “अरु कुरामा त दैव छन् तर जोत्न मानेनन् । भर्खर नयाँ जोरेको हल । के चित्त नबुझेको हो । ज्ञानकाजीले भने ।”

“एक पटक हामी प्रयास गरौं है काजीबा ?” धनजीतले भन्यो । अचम्म मानेर धनजीतलाई हेर्दै ज्ञानकाजीले भन्यो, “म बर्मामा जापानसँग लडाइँ गरिआएका बहादुरले नसकेको तिमी फुच्चेले यी गोरु तह लाएर जोत्ने ? यसरी नहँसाओ न केटा हो !” “कोसिस गरिहेरौं न काजीबा, कोसिस गर्दा के बिग्रन्छ र ?” मुक्तिनाथले भन्यो । “ल हेरौं त तिमीहरुको कोसिस !” ज्ञानकाजी एक्कासि लहडी भावमा आयो र भन्यो, “सकेनौ भने त तिमीहरुको कान बाँकी रहँदैन नि है !” “सक्यौँ भने नि ?” मुक्तिनाथले ठङ्कारो आवाजमा भन्यो । धनजीत हाँस्यो । “सक्यौ भने पर्सि खसी काट्ने दिन आउनू एकेक  धार्नी मासु पठाइदिउँला !”ज्ञानकाजीले भन्यो । बालकहरु एकै लयमा हाँसे । ज्ञानकाजी अलमलमा पर्दै उठ्यो । अलि पर गएर उभियो । धनजीतले गोरुलाई बाँधेको जोतारो फुकायो । मुक्तिनाथले गोरुको पुच्छरको फेद समातेर पुच्कार्दै भन्यो, “उठ् बावु उठ् !” बसेको गोरु जुरुक्क उठ्यो । मुन्टो फर्काएर मुक्तिनाथलाई हेर्‍यो । गोरुको हेराइमा मित्रता थियो । धनजीतले काँधमा जुवा राखेर तान्दै देब्रेतिर उभिएको गोरुलाई दायाँतिर ल्याएर उभ्यायो । अनि दुवैका काँधमा मिलाएर जुवा राख्यो । जोतारो मस्कायो । मुक्तिनाथले हलुँडोमा हरिस छिरायो । गोरुहरु तम्तयार मुद्रामा उभिएका थिए  । मुक्तिनाथले अनौ समात्यो । धनजीतले पुच्कार्दै गोरु हाँक्न थाल्यो  गोरुले थपक्क मेलो लिए । नजिकै उभिएर हेरिरहेको ज्ञानकाजी छक्क पर्‍यो ।

“गोरु नार्दा दाहिने देब्रे मिलाएर नार्नु पर्छ काजीबा, त्यसो भएपछि बल्ल मेलो लिन्छ !” धनजीतले भन्यो । अघिपछि कसैले यसरी सल्लाह दिएको हुँदो त ज्ञानकाजी लबटो उठाएर  कुट्न जाइलाग्थ्यो । अहिले उ लज्जित थियो । “गोरु किन्दै सोध्नुपर्थ्यो। सोध्याथिइनँ । गल्ती भएछ । म त यी गोरुलाई फुकाएर जंङ्गलतिर लखेट्ने मुडमा पुगिसकेको थिएँ । तिमीहरुले ठुलो काम गरिदियौ । म सधैँ बालख भनेपछि मूर्ख ठान्थेँ । हेप्प्थेँ । आज बालकहरु हामी पाकाभन्दा पनि बुद्धिमान् हुँदारहेछन् भन्ने नयाँ ज्ञानपाएको छु । भन म तिमीहरुलाई के इनाम दिऊँ ?” ज्ञानकाजीले एकै सासमा यति धेरै कुरा भन्यो ।

“यो त साधारण सहयोग हो । कुन ठूलो कुरा हो र ? आपसमा परिआउँदा ठूलाठूला सहयोग त गर्नुपर्छ । आज यसरी काजीबा खुसी हुनु नै हाम्रो लागि इनाम भयो । अरु के चाहिन्छ र ?” धनजीतले मुसुक्क हाँस्दै भन्यो । यति बेला मुक्तिनाथ पनि ज्ञानकाजीतिर हेरेर मुस्कुराइरहेको थियो ।

‘यी बालकहरुजत्तिको पनि म रहेनछु !’ भन्ठान्दै ज्ञानकाजी हलोगोरुतिर अघि बढ्यो र लाज मानीमानी अनौ समातेर जोत्न थाल्यो ।

++

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.