केन्द्रीय संस्करण
अन्तरवार्ता

'निर्वाचन परिणाम शिक्षाको विषय हो तर धक्का होइन'

पार्टी एकता टिक्दैन भनेर कोही आशङ्कामा रमाउन चाहन्छ भने छुट छ : नेकपा महासचिव विष्णु पौडेलको अन्तरवार्ता

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline1

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलसँग रातोपाटीले हालै सम्पन्न उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ महासचिव पौडेलसँग फणिन्द्र नेपालले गरेको कुराकानीको सम्पादीत अंशः

–हालै सम्पन्न उपनिर्वाचनको परिणाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लागि कस्तो शिक्षा भयो ?

खासगरी तपाईंले धरान र भक्तपुरको कुरा उठाउनु भएको हुनसक्छ । यदि त्यो हो भने, त्यहाँको निर्वाचन परिणाम विश्लेषण, विवेचना, समीक्षा र शिक्षाको विषय बनेको छ । भक्तपुर र धरानमा दुईवटा दृश्य देखिएको हो । एउटा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारका विरुद्धमा गठबन्धनको स्थिति पनि बन्यो । त्यसको पनि निर्वाचन परिणाममा प्रभाव छ । त्यसैले हामीले यस सन्दर्भमा सूक्ष्म विश्लेषण गर्ने र त्यसका आधारमा अघि बढ्ने भनेका छौँ ।

समग्रतामा भन्दा यो निर्वाचनमा सिट सङ्ख्या या मतको आधारमा नेकपाप्रति जनताको विश्वास र भरोसा अटुट र कायम छ भन्ने स्थापित गरेको छ । हिजो नेकपाले नजितेका महत्त्वपूर्ण स्थानहरु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पनि उल्लेखनीय सङ्ख्यामा यो पटक जितेको छ । यस आधारमा पनि नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा अटुट छ भन्न सकिन्छ ।

–यस्तो अटुट भरोसा हुँदाहँुदै पहिला जितेको भक्तपुर र धरान किन गुमाउन पुग्यो त नेकपाले ?

भक्तपुर, धरान र अरू केही वडाहरुको सन्दर्भमा हामी सूक्ष्म विश्लेणकै क्रममा छौँ किन यस्तो परिणाम आयो भनेर ।

–कहिलेसम्म विश्लेषण गरिसक्नुहुन्छ ?

सचिवालय बैठकले सम्बन्धित पार्टी कमिटीलाई रिपोर्ट पठाउन भनिसकेका छौँ । त्यो रिपोर्ट आएपछि त्यसको अध्ययनपछि निष्कर्ष आउँछ ।

–तपाईंलाई भन्न असजिलो लागे पनि नेकपामा अझै गुट उपगुटको प्रभाव कायमै छ । भक्तपुर र धरानको परिणामले पनि त्यही सङ्केत गर्छ । यसबाट नेकपालाई कि सच्चिन कि सक्किन दबाब दिएको प्रस्टै छ, यो शिक्षापछि के अब नेकपा सच्चिएला ?

यो प्रश्न मैले त्यति सान्दर्भिक ठान्दिनँ । किनभने नेपाल कमयुनिस्ट पार्टी निरन्तर आत्मसमीक्षा गर्दै अघि बढ्ने पार्टी हो । यात्राका क्रममा कहीँकतै भूल र त्रुटि भयो भने त्यसलाई फर्केर हेर्ने र कमजोरीहरुलाई सच्याएर अघि बढ्ने यसको विशेषता हो । आवधिक रूपमा समीक्षा गर्ने र अनुभवहरुलाई लिएर अघि बढ्ने पार्टी हो यो । यो कम्युनिस्ट पार्टीको जीवन पद्धति पनि हो । त्यस कारण नेपाल कम्युनिस्ट पार्टीका बारेमा यस्तो सस्तो टिप्पणी गरेर नरमाउँदा हुन्छ ।

–त्यसो हो वा तपाईंहरुलाई अरूले गरेको आलोचना सह्य नभएर हो ?

नेपाल कम्युनिस्ट पार्टी, यसको पृष्ठभूमि, यसका घटकका पृष्ठभूमिका कुरा गर्दा धेरै ठूला धक्काहरुबाट पनि उठेको पार्टी हो । धेरै ठूला सफलतामा पनि मातिएर हिँडेको पार्टी यो होइन । जिम्मेवारीबोधका साथ अघि बढेको पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीकाप्रति अहिलेको निर्वाचन परिणामको मुख्य सन्देश के हो भने जनताको भरोसा अटुट छ । जनताले जुन तहको भरोसा गरेका छन्, तदनुकूल नै नेकपाले अरू प्रभावकारी र सशक्त ढङ्गले कामहरु गर्दै जाओस् भन्ने चाहना हो ।

*****

बुुधबारको सचिवालय बैठकले यो परिणाम आउनुका पछाडिका कारणहरु खोज्न निर्देशन दिइसकेको छ । यसमा सम्बन्धित कमिटीहरुको बैठक बसेर समीक्षा गरेर रिपोर्ट पठाएपछि मात्रै अरू प्रक्रिया अघि बढ्छ । यो जगमा उभिएर केन्द्रबाट थप समीक्षा हुन्छ । त्यसमा के कारण हो त ? आन्तरिक हो भने त्यसैअनुसार समीक्षा गर्छौं, बाह्य कारण रहेछ भने त्यसैअनुसार अघि बढ्छौँ ।

*****

–धेरैको चाहना जनताको भरोसा नटुटोस् भन्ने नै हो तर, भनाइ र गराइमा एकरूपता नभएकैले धरान र भक्तपुरको परिणाम उल्टिन पुग्यो । यसमा अब तपाईंहरुले गर्ने सूक्ष्म विश्लेषणको निस्पक्ष नतिजा आउँला ?

यो परिणाम आउनुका पछाडि बाह्य कारणहरु र आन्तरिक कारणहरु के छन् भनेर हेर्नुपर्ने हुन्छ । यी सबै कुराको समीक्षा हुन्छ । जस्तो बाह्य कारण निर्णायक हो वा आन्तरिक कारण निर्णायक हो भन्ने छट्याँउछौँ । धरान र भक्तपुरको परिणामलाई आधार बनाएर नेपाल कम्युनिस्ट पार्टी सकियो भन्ने खालको चित्रण गर्न खोजिएको छ । म दोहोर्याएर भन्छु नेपाल कम्युनिस्ट पार्टीप्रति जनताको भरोसा यो उपनिर्वाचनले पुनर्पुस्टि गरेको छ ।

–भक्तपुर र धरानमा घात अन्तर्घातको शिकार नेकपाका उम्मेदवार बने भन्ने मतदाताको भनाइ छ । तर तपाईं प्रमाणका आधारमा आवाश्यक कारबाहीको कुरा गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा जुट्ने प्रमाण सही नै हुन्छ या सही प्रमाण आए पनि त्यसको सही कार्यान्वयन हुन्छ भनेर कसरी विश्वास गर्ने ?

बुुधबारको सचिवालय बैठकले यो परिणाम आउनुका पछाडिका कारणहरु खोज्न निर्देशन दिइसकेको छ । यसमा सम्बन्धित कमिटीहरुको बैठक बसेर समीक्षा गरेर रिपोर्ट पठाएपछि मात्रै अरू प्रक्रिया अघि बढ्छ । यो जगमा उभिएर केन्द्रबाट थप समीक्षा हुन्छ । त्यसमा के कारण हो त ? आन्तरिक हो भने त्यसैअनुसार समीक्षा गर्छौं, बाह्य कारण रहेछ भने त्यसैअनुसार अघि बढ्छौँ ।

–विधान त निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले घात अन्तर्घात गरेको पाइए उनीहरुलाई निष्काशनसम्म गर्ने व्यवस्था छ । तर नेकपामा कायम रहेको गुटको राजनीतिले पनि त काम गर्ला ?

घात अन्तर्घातकै कारण निर्वाचन परिणाम यस्तो आयो भन्ने मलाई लाग्दैन । अहिलेसम्मका तथ्यहरुले पनि त्यतातर्फ सङ्केत गरेको छैन । किनभने कसैले अन्तर्घात गरेको छ भने ठाउँका ठाउँ कारबाही गर्न अनुमति छ र त्यस प्रकारको प्रवन्ध पनि छ । त्यसैले किन यो परिणाम आयो भन्ने नै विश्लेषण र समीक्षा  गर्न जरुरी छ । समीक्षा गर्दा तथ्यमाथि आधारित भएर गर्छांै अनि त्यसको निष्कर्षका आधारमा मात्रै अगाडि बढ्छौँ ।

–पार्टी एकता घोषणा र सरकार बनेको दुई वर्ष हुन लाग्यो । यस हिसाबले भन्नुपर्दा कि सरकारले राम्रो काम गरेन कि पार्टीले भनेर बुझ्न त यो परिणामले सहज बनाइदिएको छ नि ?

निर्वाचनको सन्दर्भमा अघि नै भनिसके । दुई ठाउँमा हारेको विषयलाई देशैभर हारेको र पार्टी सकिएको जसरी प्रचार गर्नु उचित हुन्न । नेकपा यसरी सकिने पार्टी पनि होइन । नेकपामाथि अहिले पनि जनताको मुख्य भरोसा छ । तर निर्वाचन परिणाम शिक्षाको विषय कुनै धक्काको कुरा होइन । शिक्षाको विषय जरुर भएकाले यसबाट हामी शिक्षा लिन्छौँ, कारण खोज्छाँै । मैले आज बताउन सक्ने भनेको हामी वस्तुनिष्ठ समीक्षाका आधारमा अगाडि बढ्छौँ ।

*****

हामीमा अव पूर्वएमाले र माओवादी भन्ने छैन । एउटै पार्टी छ नेपाल कम्युनिस्ट पार्टी । हो, काम र व्यवहारका दौरानमा पार्टीमा मतान्तर र अन्तरविरोधहरुलाई विधिसम्मत ढङ्गले समाधान गर्दै जानेछौँ । एउटा जीवन्त पार्टीमा हुने यो सामान्य प्रक्रिया नै हो । तर नेकपा पूर्वसमूहहरुको फेडेरेसन र मोर्चा होइन । यो चुनावी गठबन्धन पनि होइन, चुनावी गठबन्धन पनि होइन, पार्टी एकता हो ।

*****

–पूर्व माओवादीका उम्मेदवार जहाँ थिए त्यहाँ पूर्व एमालेहरुले सहयोग नगर्दा नेकपाले हार्यो भनिन्छ, यसमा तपाईं सहमत हुनुहुन्छ ?

हामीले उम्मेदवार बनाउदा पूर्वएमाले र पूर्वमाओवादी बनाएनौँ । नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरु मात्रै उम्मेदवार थिए । पहिलो कुरा यो हो । दोस्रो अव हामी पूर्वको पृष्ठभुमि हेरेर बस्दैनौ । आजको यथार्थ हेरेर विश्लेषण हेर्छांै । यसको अर्थ हामीमा अव पूर्वएमाले र माओवादी भन्ने छैन । एउटै पार्टी छ नेपाल कम्युनिस्ट पार्टी । हो, काम र व्यवहारका दौरानमा पार्टीमा मतान्तर र अन्तरविरोधहरुलाई विधिसम्मत ढङ्गले समाधान गर्दै जानेछौँ । एउटा जीवन्त पार्टीमा हुने यो सामान्य प्रक्रिया नै हो । तर नेकपा पूर्वसमूहहरुको फेडेरेसन र मोर्चा होइन । यो चुनावी गठबन्धन पनि होइन, चुनावी गठबन्धन पनि होइन, पार्टी एकता हो । यदि हामीले पूर्वसमूहहरुको अस्तित्वलाई कायम राख्नुथियो भने पार्टी एकताको बाटो रोज्दैन थियौँ । पूर्वसमूहहरुलाई जीवित राख्ने हो भने पार्टी एकताको बाटो रोज्न आवाश्यक थिएन ।

–यदि त्यसो हो भने त्यस कोणबाट कुरा उठाउनेलाई तपाईंको जवाफ के हुन्छ ?

त्यो कोणको खास सान्दर्भिकता नै छैन ।

–पार्टी एकता भएको लामो समय भयो । तर अझै एकताको बिट मरेको छैन । जसले गर्दा टाउको मिले पनि गुदी नभरिएको कार्यकर्ताहरुले महसुुस गरेका छन् । के कुराले रोक्यो तीन महिनामा सक्ने भनिएको काम डेढ वर्षसम्म ?

पार्टी एकता लगभग टुङ्गियो । केहीकेही बिट मार्न बाँकी छ । घर बनाइसकियो धुरी छाउन बाँकी जस्तै हो ।

–घर बनाएर सके पनि धुरी नछाएसम्म त पानी चुहिरहन्छ नि यो कुरा कतिको याद छ ?

मैले धुरी छाउँदैनाँै भनेको छैन ।

 –कतिवटा बर्खा सकिएपछि धुरी छाउने भन्ने मेरो जिज्ञासा हो ?

कतिवटाको प्रश्न नै छैन । एकता प्रक्रियाको लगभग काम सकेका छौँ । केही कामहरु बाँकी छन् । ती काम केही दिन या हप्तामा सक्छाँै ।

*****

गठबन्धनले सुविधाजनक बहुमत त ल्यायो तर दुई तिहाइ बहुमत त आएको थिएन । सरकार बन्दा बेलासम्म प्रधानमन्त्रीलाई दुई तिहाइको समर्थन प्राप्त भयो । अब सरकार त बन्यो तर टिक्दैन, मारामार हुनेवाला छ भनियो । त्यसमा पनि सरकार अगाडि बढेरै गयो । चुनौतीहरुलाई किनारा लगाउँदै गयो । अनि फेरि सरकार बने पनि पार्टी एकता त सम्भव नै छैन एउटा जङ्गलमा दुईवटा सिंह बस्ने कुरा सम्भव नै छैन भन्न थालियो । पार्टी एकता भयो । त्यसपछि केन्द्रीय तहमा त गरे तर अरु तल गर्न सक्दैनन् भने । तर पार्टी एकता भयो । हो, तपाईंले भनेजस्तो समय लागेकै हो । समय लागे पनि हामीले आम सहमतिका रूपमा सहमतिको प्रक्रियालाई टुङ्ग्याएका छौँ । यद्यपि केही काम बाँकी भए पनि आधारभूत काम सकिएको छ ।

*****

–पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्नुभयो । लामो समयसम्म एउटै अध्यक्षले काम गर्नुभयो । बल्ल अहिले कार्यविभाजन भयो । के अब पार्टीको गति बढेर चलायमान बन्ला त ?

मैले बारम्बार भन्ने गरेको छु– हामी निर्णय गर्दै अघि बढेका छौँ । कामहरु गर्दै गएका छौँ । हाम्रा काम र निर्णयहरुका बारेमा आशङ्काहरु व्यक्त हुँदै आएका छन् । विभिन्न प्रकारका नकारात्मक प्रचार र पूर्वानुमानहरु पनि हुँदै आएका छन् । 

तर हरेक निर्णयपछिका घट्नाक्रमले ती आशङ्कालाई जवाफ दिने गरेको छ । उदाहरणको रूपमा यो नेपाल कम्युनिस्ट पार्टी दुईवटा समूहको बीचमा चुनावी तालमेल सम्भव छैन भनिन्थ्यो । चुनावी तालमेल सम्भव छैन भन्दैगर्दा स्थानीय चुनाव सकिएपछि यति ठूलो कटुता छ यी दुई पार्टीमा पार्टी एकता त परकै कुरा, चुनावी तालमेल पनि सम्भव नै छैन भनियो, तर्कहरु आए । तर हामीले सहज ढङ्गले भन्यौँ, हामी चुनावी तालमेल गर्दैछौँ । भव्य समारोह नगरेर औपचारिक ढङ्गले देशवासीलाई हामीले यो कुराको जानकारी दियाँै । तालमेल मात्रै होइन, पार्टी एकता पनि गरेर एउटै पार्टी बनाउँदैछौँ भनेर । यसमा मानिसहरुले के भने भने यो चुनावी तालमेलेको घोषणा उम्मेदवार घोषणा गर्ने अघिल्लो दिनसम्मलाई मात्रै हो । उम्मेदवारी दर्ता गर्ने दिनपुग्दा तालमेल भत्किन्छ भने । जब उम्मेदवारी दर्ता भयो, हामी चुनावी मैदानमा गयौँ, त्यो आशङ्कालाई व्यवहारले खण्डित गर्यो । एकथरीले त्यसैबेला भने पार्टी नमिलेसम्म घात अनतरघात हुन्छ, कहीँ कसैले जित्दैन । एउटाले अर्कोलाई हराएर छियाछिया हुन्छन्, सकिन्छन् भनेर अनुमान गरे । जब परिणाम प्रकाशित भयो त्यो आशङ्कालाई पनि गलत सावित गरिदियो । परिणाम आएपछि फेरि यो गठबन्धन टिक्दैन, सरकार बनाउन सक्दैन । मारामार चलेको छ भनियो । ठूलो सत्ता र शक्ति सङ्घर्ष छ भन्ने अफवाह फैलाइयो । तर सहज ढङ्गले सरकार बनाइयो । सरकार मात्रै बनेन अरू साथीहरुलाई पनि गोलबन्द गरेर दुई तिहाइ बहुमतको सरकार बनाइयो । गठबन्धनले सुविधाजनक बहुमत त ल्यायो तर दुई तिहाइ बहुमत त आएको थिएन । सरकार बन्दा बेलासम्म प्रधानमन्त्रीलाई दुई तिहाइको समर्थन प्राप्त भयो । अब सरकार त बन्यो तर टिक्दैन, मारामार हुनेवाला छ भनियो । त्यसमा पनि सरकार अगाडि बढेरै गयो । चुनौतीहरुलाई किनारा लगाउँदै गयो । अनि फेरि सरकार बने पनि पार्टी एकता त सम्भव नै छैन एउटा जङ्गलमा दुईवटा सिंह बस्ने कुरा सम्भव नै छैन भन्न थालियो । पार्टी एकता भयो । त्यसपछि केन्द्रीय तहमा त गरे तर अरु तल गर्न सक्दैनन् भने । तर पार्टी एकता भयो । हो, तपाईंले भनेजस्तो समय लागेकै हो । समय लागे पनि हामीले आम सहमतिका रूपमा सहमतिको प्रक्रियालाई टुङ्ग्याएका छौँ । यद्यपि केही काम बाँकी भए पनि आधारभूत काम सकिएको छ ।

–अहिले पार्टी एकता त टुङ्गियो तर टिक्दैन पनि भनिन्छ नि ?

त्यो आशङ्का गर्नेहरुलाई त्यसमा रमाउन चाहने हकलाई हामी केही गर्न सक्दैनौँ । म त्यस्ता व्यक्तिलाई केही भन्न चाहन्न । कोही आशङ्कामा रमाउन चाहान्छ भने रमाए हुन्छ । यही बीचमा आलोपालोको कुरालाई पनि उछालियो । अस्ति हामी बैठक बसेर हार्दिकतापूर्वक छलफल गरेर एउटा निष्कर्ष सार्वजनिक गर्यौँ । अब यही सरकार ५ वर्षको कार्यकाल पूरा चल्छ । नेपाली जनताले लामो समयदेखि ५ वर्ष चल्ने सरकार देख्न पाएका छैनन् । अब हामीले राजनीतिक स्थायित्व सुनिश्चित गरेका छौँ । नेताहरुका बीचका सम्बन्धहरुलाई नयाँ उचाइमा उठाएका छौँ । विश्वासको नयाँ जग खडा गरेका छौँ । त्यस कारण हामीमा के टिपपणी गरिन्छ भन्दा पनि हाम्रा अभिभारा र जिम्मेवारी के हुन् भन्नेतिर केन्द्रित हुन्छौँ । अभिभारा र जिम्मेवारीमा केन्द्रित भएर अगाडि बढ्ने हाम्रो अठोट हो ।

–अध्यक्षहरुको कार्य विभाजनपछि सरकार र पार्टीका कामकारबाही रफ्तारमा अघि बढ्ने सम्भावना छ त ?

हो, हामीले पार्टीमा दुईजना अध्यक्षको प्रवन्ध गर्यौँ । यसो गर्दा मानिसहरु अचम्मित बने यो के गरेको भनेर । हामी आन्दोलन या अभिभारा र अभियानलाई प्रभावकारी ढङ्गले पूरा गर्न, सम्पादन गर्न सिर्जनात्मक ढङ्गले सोच्छाँै ।

हाम्रा दुवै अध्यक्ष कार्यकारी अध्यक्ष नै हुनुहुन्छ । एउटा कार्यकारी अर्को गैरकार्यकारी भन्ने होइन । निर्णयपछि अध्यक्षद्वयका अन्तरवार्ताहरु हेर्दा पनि थाहा हुन्छ । दुवै अध्यक्षले यही कुरा जुन विधानले परिभाषित गरेको जिम्मेवारी पूरा गर्ने भूमिकामा कार्यकारी रहेको बताउनुभएको छ ।

–तर प्रधानमन्त्रीको अन्तरवार्ता हेर्दा त उहाँ (केपी ओली पहिलो अध्यक्ष हो भन्ने बुझिन्छ नि ?

त्यसमा पनि हामीले हाम्रो निर्णयमा प्रस्ट पारेका छौँ । पहिलो दोस्रो भन्ने कुरा हाम्रो निर्णय हेर्नु भएकै कुरा हो नि ।

–बराबरी भने पनि दुई जना भएपछि पहिलो र दोस्रो भन्ने त देखिएकै कुरा हो नि ?

बरियताको प्रश्नमा अध्यक्षहरुका बीचमा मिस अन्डरस्ट्यान्डिङ होइन । कतिपयले यसमा यो चरबाट खेल्न सकिन्छ कि, भनेर कोसिस गर्छन् । त्यो व्यर्थको कोसिस हो । म बताऊँ, दुई अध्यक्षका बीचमा, सचिवालयका बीचमा, पार्टी नेतृत्वका बीचमा र आम पार्टी कार्यकर्ताका बीचमा दुई अध्यक्ष र अधिकारहरु आपसी सम्बन्ध, सरकार पार्टी यी कुनै पनि विषयमा केही मतान्तर र मतभेद छैनन् ।

–दुई अध्यक्षबीच एकले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने कुरा त लिखित सहमति नै भयो । यद्यपि मैले जान्न चाहेको अब विधानअनुसार स्थायी कमिटी, केन्द्रीय समिति बैठक नियमित बस्ने अनि पोलिटब्युरो गठन हुने हुन्छ त ?

हुन्छ । पार्टीका सबै काम र सरकारका सबै कामले गति लिन्छन् । सरकार र पार्टीको प्रभावकारी सञ्चालनका विषयमा अध्यक्षद्वयका बीचमा जीवन्त र घनिष्ठ छलफल हुन्छ । पार्टीमा संस्थागत ढङ्गले निर्णयहरु पनि हामी गर्छांै ।

–खासगरी नेकपा विधि, विधान र पद्धतिभन्दा पनि दुई नेताको चाहाना, निर्देशन र सनकमा चल्ने गरेको भनेर कार्यकर्ताको गुनासो छ नि ? वास्तविकता के हो ?

कुनै पनि कार्यकर्ताको त्यस्तो गुनासो छैन ।

–हामीले सुनेका छौँ नि ?

गुनासो आउने फर्मल मेकानिजम पार्टीको केन्द्रीय कार्यालय हो । जरुर यो बीचमा कार्यकर्ताहरुले एकता प्रक्रियामा विलम्ब भयो भनेका हुन् । एकता प्रक्रिया टुङ्गिन ढिला भयो, समय धेरै लाग्यो भनेकै हुन् तर त्योभन्दा अन्यथा टिप्पणी छैन । तपाईंले दुइटा नेताका इच्छाका आधारमा पार्टी चलेको छ भन्ने सत्य होइन ।

*****

प्रष्ट भाषामा भन्नुपर्दा पार्टीमा नेताको पनि व्यवस्थापन हुन्छ, कार्यकर्ताको पनि व्यवस्थापन हुन्छ, सदस्यको पनि व्यवस्थापन हुन्छ । व्यवस्थापन गर्नु नपर्ने, नहुने भन्ने विषय होइन, सबैको व्यवस्थापन गर्नुपर्छ र गरिन्छ । अर्थात उपयुक्त पात्रलाई उपयुक्त जिम्मेवारीका साथ काममा लाग्ने परिस्थिति निर्माण गर्नुपर्छ । हरेकलाई उचित जिम्मेवारीसहित व्यवस्थापन गर्नुपर्छ ।

*****

–सत्य भन्नुस् है ! भोलि कार्यकर्ताले प्रश्न गर्लान् ?

सत्य कुरा म भन्छु । यो बीचमा पार्टी केन्द्रीय कमिटी बैठक नबसेको हो । स्थायी कमिटी बैठक पनि गत वर्षको पुसयता बसेको छैन । यसमा लामो समय भएकै हो । तर यसबीचमा जति पनि निर्णय भएका छन् ती निर्णयमा सचिवालयमा छलफल गरेर संस्थागत रूपमै भएका छन् । सचिवालयका निर्णयहरु केन्द्रीय कमिटी र स्थायी कमिटीमा अनुमोदनका लागि प्रस्तुत हुन्छन् । केन्द्रीय वा स्थायी कमिटीले चाह्यो भने ती निर्णयहरुलाई रिजेक्ट र ड्रप गर्न पनि सक्छन् । हेरफेर र करेक्सन गर्न सक्छ । त्यसकारण सचिवालयले पनि निर्णय गर्दा केन्द्रीय कमिटी र स्थायी कमिटीप्रति पनि उत्तरदायी भएर गर्ने गरिएको छ । र, दुईवटा अध्यक्षले मात्रै पार्टी चलाउनुभएको छ भन्ने कुरा पनि गलत छ । दुईवटा अध्यक्षले अध्यक्षको हैसियतले नेतृत्व गर्नुभएको हो । 

–नेताहरुको व्यवस्थापनमा बढी सयम लाग्यो भन्ने पनि छ नि ? नेताहरुको मर्यादाक्रम मिलाउने, एउटालाई मनाउँदा अर्को रिसाउने जस्ता परिस्थिति पनि देखियो, पछिल्लो समय वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरियो, त्यो पनि यत्तिकै सेलाएको अवस्था छ, होइन र ?

प्रष्ट भाषामा भन्नुपर्दा पार्टीमा नेताको पनि व्यवस्थापन हुन्छ, कार्यकर्ताको पनि व्यवस्थापन हुन्छ, सदस्यको पनि व्यवस्थापन हुन्छ । व्यवस्थापन गर्नु नपर्ने, नहुने भन्ने विषय होइन, सबैको व्यवस्थापन गर्नुपर्छ र गरिन्छ । अर्थात उपयुक्त पात्रलाई उपयुक्त जिम्मेवारीका साथ काममा लाग्ने परिस्थिति निर्माण गर्नुपर्छ । हरेकलाई उचित जिम्मेवारीसहित व्यवस्थापन गर्नुपर्छ ।

रह्यो उपाध्यक्षको कुरा, यो स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव हो भनेर हामीले निर्णय गर्दा नै भनेका छौँ । उपाध्यक्ष पद सिर्जना गर्ने र उक्त पदमा कमरेड वामदेव गौतमलाई निर्वाचित गर्ने प्रस्ताव लिएर हामी जान्छौँ भनेर सचिवालयले सर्वसम्मतिका साथ गरेको निर्णय हो । स्थायी कमिटीको आगामी बैठकमा यो प्रस्ताव पेस हुन्छ ।

–अरू विषयमा सचिवालयले गरेकै निर्णय फटाफट कार्यान्वयन भयो, उपाध्यक्षका बारेमा भने सचिवालयबाट निर्णय भएको लामो समयसम्म पनि कार्यान्वयन हुन नसक्दा प्रस्तावित उपाध्यक्षले पनि गुनासो गर्ने ठाउँ रहन्छ नि, होइन ?

स्थायी कमिटीको बैठकमा यो प्रस्ताव जान्छ । हाम्रो विश्वास के हो भने स्थायी कमिटीले यसलाई अनुमोदन गर्नेछ ।

–सचिवालयको निर्णयबाटै सोझै कार्यान्वयन तहमा जान सकिँदैनथ्यो ?

त्यो बाटो हिँडेको भए पनि हुन्थ्यो । सचिवालयले निर्णय गर्दा नै कार्यान्वयनमा लाने भनेको भए त्यही हुन्थ्यो । त्यो बेला हामीले स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने प्रस्तावका रूपमा निर्णय ग¥यौँ । स्थायी कमिटी बैठकमा सचिवालयको सर्वसम्मत प्रस्ताव त्यही रूपमा प्रस्तुत हुन्छ । स्थायी कमिटीले सचिवालयको प्रस्तावलाई हार्दिकतापूर्वक स्वीकार गर्छ भन्ने विश्वास छ ।

*****

नेकपामा सामूहिक ढङ्गले नै निर्णय गरिन्छ । वैयक्तिक ढङ्गले कुनै पनि विषयमा कहिल्यै निर्णय भएको छैन, यो दावाका साथ भन्न सकिन्छ । विधानले व्यक्तिलाई पनि विशेष अधिकार दिएको हुन्छ । विधानले व्यक्तिलाई दिएको अधिकारको सीमाभित्र रहेर व्यक्तिले निर्णय गर्न सक्छ । यसलाई वैयक्तिक ढङ्गले भएको निर्णय भनेर भन्न मिल्दैन ।

*****

–कम्युनिस्ट पार्टीमा सामूहिकतालाई जोड दिइन्छ तर नेकपामा अहिले कुनै पनि निर्णयमा त्यो पद्धति स्वीकार गरिएको छ ?

नेकपामा सामूहिक ढङ्गले नै निर्णय गरिन्छ । वैयक्तिक ढङ्गले कुनै पनि विषयमा कहिल्यै निर्णय भएको छैन, यो दावाका साथ भन्न सकिन्छ । विधानले व्यक्तिलाई पनि विशेष अधिकार दिएको हुन्छ । विधानले व्यक्तिलाई दिएको अधिकारको सीमाभित्र रहेर व्यक्तिले निर्णय गर्न सक्छ । यसलाई वैयक्तिक ढङ्गले भएको निर्णय भनेर भन्न मिल्दैन ।

–त्यसो भए यसबीचमा भएका निर्णय त्यही विधेषाधिकारभित्र पर्छन् ?

कसरी विशेषाधिकार भए र ? हामी संस्थागत रूपमै गइरहेका छौँ, सचिवालयमार्फत । हामीभन्दा माथि स्थायी कमिटी छ, हामीभन्दा माथि केन्द्रीय कमिटी छ, हाम्रा निर्णयलाई केन्द्रीय कमिटी, स्थायी कमिटीले पछि हेर्छ, त्यहाँबाट हाम्रा निर्णयहरु अनुमोदित हुनुपर्छ भन्ने हेक्का राखेर सचिवालयले निर्णय गर्छ ।

–तर सचिवालयले निर्णय गर्दै जाने र स्थायी कमिटी र केन्द्रीय समिति बैठक लामो समय नबोलाउने गर्दा असन्तुष्टि पनि देखिएको छ नि ?

ढिलो भएको र नबोलाएको एउटै कुरा होइन । हामीले भन्दै आएका छौँ नि, स्थायी कमिटी बैठक बोलाउन केही विलम्ब भएको छ । ढिलो हुनु र नबोलाउनु फरक कुरा हो । ढिलो भएको अनुभूति हामीले गरिरहेका छौँ । छिट्टै बैठक बोलाउने तयारी पनि भइरहेको छ ।

–पोलिटब्युरो कहिले गठन हुन्छ ?

हाम्रो यो कुराकानी पाठकहरुले पढ्दा नपढ्दै हुन सक्छ, स्थायी कमिटी बैठकको मिति थाहा पाउनु होला । केन्द्रीय समिति बैठकको मिति पनि आउन सक्छ । विधानमा जे–जस्ता संरचनाहरुको प्रवन्ध गरिएको छ, उपयुक्त समयमा आवश्यकता अनुसार बन्छन् ।

–सत्तारुढ दलको महासचिव भएका नाताले तपाईंसँग मैले सरकारका र राष्ट्रिय सरोकारका विषयमा पनि केही सोध्नुपर्ने हुन्छ । मुलुकको सर्वोच्च निकाय संसदमा सभामुख हुनुहुन्न, कालापानी लगायत सीमा विवाद उठिरहेको छ, यी कुरा सम्बोधनमा सरकार र पार्टी अलि सुस्त देखिएको हो ?

त्यस्तो प्रश्न गर्नुपर्ने आवश्यकता यहाँले महसुस गर्नुभयो र ?

–जनताले त भनिरहेका छन् नि ?

सरकार त्यसबाट पछि हटेको देख्नुभयो त ?

–परिणाम नआएसम्म त .....

के गर्नुपथ्र्यो त त्यसो भए ?

–जस्तो, कालापानीको सवालमा अहिलेसम्म प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा गर्न सकिन्थ्यो । परराष्ट्रमन्त्री भारत गएर कुरा गर्न सक्नुहुन्थ्यो । सरकारले विशेष दूत पठाउन लागेको भनिए पनि जान सक्नु भएको छैन ।

को दूत ?

–माधव नेपाललाई सरकारले पठाउन लागेको भन्ने कुरा आएको छ, यो असत्य हो र ?

कालापानीको प्रश्न अथवा लिम्पियाधुराको प्रश्न अहिलेको सरकारले सिर्जना गरेको हो र ? यो सरकारले वा यो सरकार बनेपछि उत्पन्न भएको प्रश्न हो ?

–समाधान गर्ने दायित्व त हो नि यो सरकारको ?

म यहाँ जान्छु, यो विरासतदेखि रहँदै आएको समस्या हो । यसका लागि सरकारले के ग-यो भन्दा, सीमाना र भौगोलिक अखण्डताको प्रश्नमा, सिङ्गो राष्ट्रियताको प्रश्नमा सिङ्गो राष्ट्र एक ठाउँमा उभिनुपर्छ भन्ने विश्लेषण ग-यो । त्यसका आधारमा प्रमुख राजनीतिक दलहरु र यो विषयमा जानकारी भएका सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरुका बीचमा स्वयं प्रधानमन्त्रीले बैठक आयोजना गर्नुभयो । त्यो बैठकले नेपाल राष्ट्रको पोजिसन यो विषयमा एउटै छ भन्ने ठाउँमा हामीलाई उभ्यायौँ । यो मामुली उपलब्धि होइन ।

*****

शक्तिशाली सरकारले शक्तिशाली सरकारकै ढाँचामा काम गरोस् भन्ने जनताको चाहना त्यो पनि स्वाभाविक हो । तद्अनुकुल नै सरकारले काम गरेको पनि छ । के के काम ग-यो भनेर मैले अघि पनि भनिसकेँ । अब सरकारले गरेको कामको नतिजा आउन स्वाभाविक रूपमा समय त लाग्ला !

*****

–राष्ट्रियताको सवालमा अभूतपूर्व राष्ट्रिय एकता देखियो तर सरकारले त्यति नगरेको हो कि भन्ने प्रश्न हो मेरो ?

यो दल– त्यो दल होइन, यो व्यक्ति– त्यो व्यक्ति होइन, सिङ्गो राष्ट्र यो प्रश्नमा एक ठाउँ छौँ भन्ने सन्देश हामीले सम्प्रेषण गर्न सक्यौँ । यो समस्यालाई सही ढङ्गले समाधान गर्नका लागि, नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नेगरी समाधान गर्नका लागि यस हिसाबले सिङ्गो राष्ट्र एकताबद्ध गर्ने पहल जसरी सरकारले गर्यो, प्रधानमन्त्रीले गर्नुभयो, त्यो धेरै नै महत्त्वपूर्ण कुरा हो ।

सरकारले के गर्यो भन्नुहुन्छ नि, पहिलो कुरा सरकारले यो प्रश्नमा सिङ्गो राष्ट्रलाई एक ठाउँमा उभ्यायो । एकताबद्ध गर्यो, गोलबद्ध गर्यो । दोस्रो कुरा, सरकारले प्रष्टसँग भनेको छ, यो समस्यालाई कूटनीतिक र राजनीतिक रूपमा समाधान गर्छौं । समस्या पहिचान, समाधानका उपाय र त्यसका लागि चाल्नुपर्ने कदमका विषयमा सिङ्गो राष्ट्र एक ठाउँमा आयो । यो नेपालको भूभाग हो र नेपालको भूभाग हो भन्ने कुरा नै स्थापित गर्नुपर्छ । त्यसका लागि कूटनीतिक र राजनीतिक पहल गर्ने निर्णय सरकारले गरेको छ । कूटनीतिक र राजनीतिक पहल गर्ने भनेपछि कति समाचारको दायरामा आए होलान्, कति नआएका होलान्, प्रयासहरु त भएको होला नि !

बाहिर आएकै कुरा गर्नुहुन्छ भने पनि सरकारले औपचारिक ढङ्गले ‘डिप्लोम्याटिक नोट’ अर्थात् यस विषयमा आफ्नो दृष्टिकोण के हो भन्ने कुरा ‘ब्ल्याक एन्ड ह्वाइट’, प्रष्ट रूपमा पठाएको छ । त्यति मात्र होइन, तपाईंले नै अहिले विशेष दूतको कुरा गर्नुभयो । विशेष दूतको कुरा मलाई थाहा छैन । हुन पनि सक्ला अथवा नहुन सक्ला । हामीलाई औपचारिक ढङ्गले यस विषयमा केही भनिएको छैन । यदि तपाईंले भनेजस्तै हो रहेछ भने पनि सरकारले त्यत्तिकै आँखा चिम्लेर त बस्या रैनछ नि ! प्रयास त गर्दै रहेछ नि !

–माधवकुमार नेपालले सचिवालय बैठकमै भारतीय प्रधानमन्त्रीले समय दिनुभएन भनेर जानकारी गराएको कुरा आएको छ, तपाईंलाई सचिवालय बैठकमा भएको कुरा थाहा नहोला र ?

सचिवालय बैठकमा म पनि उपस्थित थिएँ तर मलाई त्यस्तो थाहा छैन । म यति मात्र भन्न चाहन्छु कि यदि तपाईंले भनेजस्तै ‘दूत’ को कुरा हो रहेछ भने, हो या होइन मलाई थाहा छैन । प्रधानमन्त्रीज्यूले मलाई केही भन्नु भएको छैन ।

–तपाईं एकछिनका लागि सत्तारुढ दलको नेता होइन, आफूलाई एउटा स्वतन्त्र नागरिक सम्झनुहोस् । सीमाकै बारेमा हामीले गर्ने काम धेरै पहिलादेखि कूटनीतिक, प्रशासनिक रूपमा हुँदै आएको छ । समस्या जस्ताको तस्तै छ । यति बलियो सरकारले चाँडो परिणाम आउनेगरी, सबैले महसुस गर्नेगरी काम गरोस् भन्ने अपेक्षा जनताले गर्नु अनुचित हो र ?

जनताको त्यो अपेक्षा सर्वथा जायज छ । यो स्वाभाविक हो । यो सरकार शक्तिशाली छ, एउटा तथ्य हो यो । शक्तिशाली सरकारले शक्तिशाली सरकारकै ढाँचामा काम गरोस् भन्ने जनताको चाहना त्यो पनि स्वाभाविक हो । तद्अनुकुल नै सरकारले काम गरेको पनि छ । के के काम ग-यो भनेर मैले अघि पनि भनिसकेँ । अब सरकारले गरेको कामको नतिजा आउन स्वाभाविक रूपमा समय त लाग्ला ! सरकारले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका प्रश्नमा, सीमा विवादका प्रश्नमा, नेपालले आफ्नो हितलाई सुरक्षित राख्न सरकारले आफ्नो ठाउँबाट गर्नुपर्ने यावत कामहरु प्रभावकारी ढङ्गले गर्नुपर्छ । प्रभावकारी ढङ्गले गर्दै जान्छ ।

–यही सरकारको पालामा नतिजा आउँछ ?

तपाईं यसमा शङ्का गर्नुहुन्छ र ?

–शङ्का केमा छ भने भारतका पूर्व विदेश सचिवले आर्टिकल नै लेखेर नेपालको आन्तरिक खपतका लागि मुद्दा उठाएको हो, वार्तामा बसौँ भन्दा नेपाल नै वार्तामा बस्न चाहँदैन भन्नु भयो । सरकारले पठाएको कूटनीतिक नोटको पनि जवाफ भारतले दिएको छैन, यसलाई कसरी बुझ्ने त ?

मैले तपाईंलाई यति मात्र भन्न चाहन्छु कि सरकारले कूटनीतिक, राजनीतिक संवादका माध्यमबाट यो समस्या समाधान गर्ने स्पष्ट दृष्टिकोण लिएको छ । त्यसका लागि तद्अनुकूल प्रभावकारी पहल गर्छ ।

*****

मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीज्यूको क्षेत्राधिकारभित्रको विषय हो । मन्त्रीहरुको कार्यसम्पादन मूल्याङ्कन प्रधानमन्त्रीज्यूले गर्नुहोस्, कहाँनेरी कुन विन्दुमा कस्तो पुनर्गठन गर्नुपर्ने आवश्यकता हो, त्यसमा उहाँले स्वतन्त्रतापूर्वक निर्णय गर्नुहोस् भनेर हामीले यस पटक प्रवन्ध ग-यौँ ।

*****

मन्त्रिपरिषद् पुनर्गठनमा व्यापक असन्तुष्टि भयो, तपाईंहरुले बनाएको मार्कसिटमा राम्रो नम्बर ल्याएका पनि बाहिरिए, नराम्रो नम्बर ल्याएकाले पनि निरन्तरता पाए भन्ने आलोचनालाई कसरी हेर्नुहुन्छ ?

मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीज्यूको क्षेत्राधिकारभित्रको विषय हो । मन्त्रीहरुको कार्यसम्पादन मूल्याङ्कन प्रधानमन्त्रीज्यूले गर्नुहोस्, कहाँनेरी कुन विन्दुमा कस्तो पुनर्गठन गर्नुपर्ने आवश्यकता हो, त्यसमा उहाँले स्वतन्त्रतापूर्वक निर्णय गर्नुहोस् भनेर हामीले यस पटक प्रवन्ध ग-यौँ ।

हो, एउटा कुरा यो हो, प्रधानमन्त्रीले सुझाव चाहिँ लिनुहोस् । निर्णय लिने उहाँको कुरा हो, सुझाव चाहिँ लिनुहोस् भनेर हामीले भनेका हौँ । तद्अनुकुल नै उहाँले पुनर्गठन गर्नुभएको छ ।

–सल्लाहअनुसार नै भएको हो ?

तद्अनुकुल नै भएको हो । उहाँले सुझाव लिनुभयो, सुझाव लिइसकेपछि जे गर्न उपयुक्त लाग्छ, त्यसैगरी निर्णय गर्नुभयो ।

–प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता छ आम मानिसलाई, हुन त यो क्रिटिकल कुरा हो, केहीको धारणा चाहिँ प्रधानमन्त्रीलाई अब आराम गर्न दिए हुन्छ भन्ने छ, उहाँको दीर्घ जीवन चाहनेहरुले चाहिँ प्रधानमन्त्रीलाई आराम गर्न दिए हुन्छ भन्ने छ । पार्टीले यसबारेमा केही सोचेको छ कि छैन ?

यस्तो धारणा व्यक्त गर्नुहुने श्री, सुश्री, श्रीमान् को हुनुहुन्छ ? उहाँको शुभ नाम पाउँ न ?

नेपाली जनता नै हुन् ।

लामो हासो... ।

अहिले पार्टीमा एउटा जहाजमा दुईवटा पाइलट हुनुहुन्छ । (नेताहरुकै भाषामा) तर, एउटा पाइलट एकदमै प्रजातान्त्रिक ढङ्गबाट आउनुभएको र पाइलट सशस्त्र क्रान्तिमार्फत । तपाईं मिडिएटरको भूमिकामा हुनुहुन्छ । के देख्नुहुन्छ अब चाहिँ दुवैको पुराना पृष्ठभूमिबाट नयाँ पृष्ठभूमि बनाउने प्रयासमा हो ? अर्थात यो जहाज सहजै उडान र अवतरण होला ?

के भनियो भने दुईवटा पार्टी र दुईटा नेतालाई एकअर्काका विरुद्धमा निश्चित कार्यसम्बन्ध भएका पार्टी र निश्चित सम्बन्धभएका नेताका रूपमा बुझियो । यसका पनि कारणहरु छन्, विगतमा दुईवटा पार्टीका बीचमा र दुईवटा नेताका बीचमा तीतो समस्या कहीँ थियो भने त्यहीँ थियो । दुईटा पार्टीका बीचमा तीखो वैचारिक समस्या थियो भने नेकपा एमाले र नेकपा माओवादीबीचमा थियो । दुईटा नेताका बीचको वैचारिक सम्बन्ध स्मरण गर्नुभयो भने पनि हाम्रा अध्यक्षद्वयका बीच आपसी सङ्घर्ष चाहिँ त्यसरी मुखरित भएको, प्रकट भएको यथार्थ हो विगतमा ।

त्यसले गर्दा मानिसहरुले के अनुमान गरे भने यी दुईटा नेताबीचको सम्बन्ध यो दुईटा पार्टीको बीचको सम्बन्ध कहिल्यै पनि राम्रो हुन सक्दैन । मित्रवत हुन सक्दैन । एकता चुनावी गठबन्धन परको कुरा मान्छेहरुका लागि भन्ने थियो । धेरैले के भन्थे भनेदेखि एकले अर्कालाई निषेध गरेर एकले अर्कालाई पराजित गरेर अगाडि बढ्न नै दुई पार्टी र दुई नेताहरु लागिरहेका छन् भनिन्थ्यो । नदीका दुई किनारा भनिन्थ्यो । नदीका दुईवटा किनारा कहिल्यै मिल्दैनन् । त्यसकारण उहाँहरुको मेल सम्भव छैन भन्ने थियो । घटनाक्रमले कुनै मैले सुरुको इतिहासको चर्चा गर्नु परेन । निकट विगतले नै के पुष्टि गर्यो भने यो सबै कुरा गलत रहेछन् । विचारको सङ्घर्ष काहीँ केन्द्रित थियो भने  पनि त्यहीँ केन्द्रित थियो । एकताका निम्ति कहीँ न कहीँबाट प्रयास केन्द्रीकृत भएको थियो भने त्यहीँबाट भएको थियो भन्ने स्थायी भइसक्यो नि । उहाँहरु दुवैजना दुवै अध्यक्ष एउटै साझा निष्कर्षका साथ आआफ्नो भूमिकामा हुनुहुन्छ । साझा निष्कर्ष के हो भने, हामीले २०७५ साल जेठ ३ गते पार्टीको विधान र प्रतिवेदन पारित गर्यौँ । ती कार्यक्रमिक नीतिगत प्रस्तावना बोकेर अघि बढ्न दुवै अध्यक्ष समान ढङ्गले प्रतिबद्ध र तयार हुनुहुन्छ ।

–यो व्यक्तिगत प्रश्न पनि हुनसक्छ । यी दुई पृष्ठभूमिका नेताहरुको एउटै मन बनाउन या जोड्न तपाईंलाई चाहिँ कति सकस पर्यो र अगामी दिनमा पनि पर्लाजस्तो छ कि छैन ?

अनुमानमा मान्छेहरुले भन्ने गर्छन् । नहुनुपर्ने कुरा भइरहेको छ । नमिल्नुपर्ने मिलिरहेका छन् । त्यसकारण यहाँ जटिलता छ होला भनेर अनुमान गर्छन् । तर व्यावहारिक रूपमा त्यो छैन । हामी साक्षी हौँ । उहाँहरुका बीचमा, पार्टी बैठकमा भएका छलफललाई हेरिरहेका र देखिरहेका छौँ । दुईवटा पार्टी बीचको एकता नहुने र हुन नसक्ने होइन, हुनसक्ने र हुनपर्ने कुरा भएको हो ।

–तर, पार्टीको अन्तरपार्टी निर्देशिका जारी गर्ने बेलामा समान धारणा त देखिएन नि ? एउटाले जारी गरिसकेको निर्देशका फेरि अर्को अध्यक्षले पनि हस्ताक्षर गरेर दोहोरो काम गरियो ?

अन्तरपार्टी निर्देशिका जारी गर्दा अध्यक्षद्वयको हस्ताक्षरमा गर्ने प्रचलन अनुसार प्रकाशन भएको हो ।

किन गर्नुभयो त एकजनाले मात्रै पहिला ?

एकजना दुई जनाको प्रश्न नै छैन । प्रकाशित अनतरपार्टी निर्देशिकामा अध्यक्षद्वयकै हस्ताक्षर छ ।

कमेन्ट

  1. Dec. 8, 2019, 9:06 a.m. jeevan hamal
    baluwatarko jagga .
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...