शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : निवास भत्काउन थालेपछि प्रमलाई सारियो, भन्सार र करका कर्मचारीको सम्पत्ति विवरण अख्तियारसँग

आइतबार, २२ मङ्सिर २०७६, ०७ : ०६
आइतबार, २२ मङ्सिर २०७६

आज मंसिर २२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा १३ औँ दक्षिण एसियाली खेलकुदका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, फेवाताल अतिक्रमणदेखि दुर्घटनाले अर्थतन्त्रमा पारेको असरबारे पनि समाचार प्रकाशित छन् ।

राष्ट्रिय अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व (भन्सार र कर प्रशासन) समूहका कर्मचारीहरुको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको आजको कान्तिपुर दैनिकमा समाचार छ । अख्तियारको आग्रहमा राष्ट्रिय अनुसन्धान विभागले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व समुहका कर्मचारी, उनीहरुका परिवार र नातागोताको चल–अचल सम्पत्ति विवरण बटुलेको हो । अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई ‘सूक्ष्म निगरानी समुह’ नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको स्रोतले जनाएको समाचारमा उल्लेख छ । कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक सम्पत्तिसँग मेल नखाएपछि पहिलो चरणमा राजस्व समुहमा कार्यरतहरुको जानकारी बटुलेको हो । भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रणमा निगरानी समुह सक्रिय रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पत्रिकामा सरकारका मन्त्रालयहरुबीच नै समन्वय हुन नसक्दा भारत र चीनसँगको सीमा क्षेत्रमा प्रहरी चौकी स्थापना गर्ने योजना अघि बढ्न नसकेको समाचार पनि छ । दक्षिणी सीमामा १९ तथा चीनसँगको सीमामा चार गरी २३ स्थानमा सशस्त्र र नेपाली प्रहरीका चौकी राख्न स्वीकृति माग्दा वन मन्त्रालयले डेढ वर्षदेखि अल्भाmएको आरोप गृहमन्त्रालयले लगाएको छ । वनले भने प्रक्रिया नपुगेकाले प्रस्ताव रोकिएको बताएको छ । सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार दार्चुलाको कालापानीबाट करिब १५ किमि नेपालतर्फ व्यास गाउँपालिकास्थित थारुङ भन्ने स्थानमा प्लाटुन स्तरको जनशक्ति राख्न १५ रोपनी जमिन सरकारसँग माग गरेको डेढ वर्ष भएको छ ।

नयाँ पत्रिका दैनिकमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको समाचार छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्रीनिवास भत्काउन सुरु गरेको हो । भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीनिवासको पुरानो भवन भत्काउन करिब एक महिना लाग्नेछ ।

प्रधानमन्त्री केपी ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ । भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो । नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् । मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।

पत्रिकामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेङ्गु संक्रमण भएको समाचार छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । महिला फुटबलर ग्रायथी नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । डेङ्गु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथ्लेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्किएका छन् । रिामी हुनेमा धेरैजसो एथ्लेटिक्सका खेलाडी रहेको श्रीलङ्काली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए ।

नागरिक दैनिकमा बेथितिको अखडा स्थानीय सरकार, कार्यालय नगएको दिन पनि हाजिरी  शीर्षकमा समाचार छ । स्थानीय तहका कर्मचारी कार्यालयबाट टाढा बस्दा त्यसको सीधा असर सेवाग्राहीलाई परेको छ। टाढा बस्दा इन्धन र समयको खर्च त भएको छ नै, कार्यालयको काममा बाधा पुगेको छ। दुई वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाको अग्रसरतामा कर्मचारी टाढा बसेर सेवाग्राहीलाई सताएपछि मन्त्रालयले ‘परिपत्र’ गरेरै स्थानीय तहमा खटिएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहभित्रै बस्न भनिएको थियो। त्यसअघि सोही मन्त्रालयले २०७४ वैशाख १ मा स्थानीय तहका कार्यकारीहरू समयमै हाजिर हुन र मन्त्रालयको स्वीकृतिबिना बिदा लिन नपाउने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो। ‘अधिकृतहरूले मन्त्रालयको पूर्वस्वीकृति नलिई कार्यालय नछाड्नु हुन अनुरोध छ,’ त्यसमा भनिएको थियो, ‘पालिकाबाट बिदा लिँदा वा बस्दा स्वीकृति लिएर मात्रै जानुहुन अनुरोध छ।’ तर प्रमुख प्रशासकीय अधिकृतहरूबाट दुवै परिपत्रको पालना नभएको पूर्वसचिव तथा प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। ‘त्यसबेला कर्मचारी सम्बन्धित स्थानीय तहमा नबसेका गुनासा धेरै आए, त्यसपछि मन्त्रालयमा ५–६ जनाको समूह बसेर त्यो परिपत्र जारी गरेका थियौं,’ उनले भने, ‘तर कर्मचारी स्थानीय तहभित्र बस्नुपर्ने नियम पालना भएन।’

पत्रिकामा स्मार्ट लाइसेन्स समस्या तत्काल समाधान गर्ने उद्देश्यले खरिद गरिएको मास प्रिन्टरले सर्तअनुसार काम नर्ग नसक्दा लाखौँ सेवाग्राही बिचल्लीमा परेको समाचार छ । उपकरणले सम्झौताको सर्तअनुसार काम नगरेपछि आपूर्तिकर्ता कम्पनीलाई खरिद ऐनको प्रावधानबमोजिम कालोसूचीमा राख्नुपर्ने हुन्छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागकै उच्च अधिकारी आचरणविपरित मास प्रिन्टर आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्सलाई जोगाउन लागिपरेको तथ्य खुल्न आएको छ । प्रिन्टिङ सेक्टरमा बदनाम भएको कम्पनीलाई मास प्रिन्टरको खरिदको ठेक्का सुम्पिदा प्रिन्टरमा सरकार ठगिन पुगेको छ । आपूर्तिकर्ताकै खर्चमा विदेश घुमेर आएकाले उपकरणले प्रभावकारी काम नगरे पनि मुलुकको हितमा नभइ आपूर्तिकर्ताको हितमा विभागकै उच्च अधिकारहिरु बोल्न थालेका छन् । 

अन्नपूर्ण पोष्ट दैनिकमा दुर्घटनाले सक्छ वर्षको ३० अर्ब शीर्षकमा समाचार छ । नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन। दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ।

अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ। दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ। ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना ९आर्थिक वर्ष २०७६/७७ साउन–कात्तिक० मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।

पत्रिकामा ‘किन ढल्यो लालकिल्ला’ भन्ने समाचार पनि छ । वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन हार्यो नेकपा रुजिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ।  नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन्। पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन्। पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ। तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यस बेला ११ हजार १ सय ८० मत पाएका थिए। तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ। तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए। नवनिर्वाचित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन्। आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप