नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि तीन हजार रुख काटिने
पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो ।
सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ । वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान शुरु गरिने कोइरालाले बताए ।
रुखलाई दुई तहमा वर्गाीकरण गरी छपानको काम भएको छ । पाँच इञ्च मोटाई भन्दा ठूलो र पाँच इञ्चभन्दा सानो रुखमा विभाजन गरेर छपान गरिएको कोइरालाले बताउनुभयो । गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म वनका रुख काटिनेछ । थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धीदात्री कोटिहोम धार्मिक वन रहेका छन् । हनुमान मन्दिर धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला ७१२ रुख छपान गरिएको छ भने पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । सहायक वन अधिकृत कोइरालाका अनुसार मुकुन्दसेन सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला ८२८ तथा पाँच इञ्चभन्दा साना २०५ रुखमा छपान भएको छ ।
त्यसैगरी, नारायणी सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला एक हजार ७१ तथा पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । त्यस्तै सिद्धीदात्री कोटीहोम धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला सात तथा पाँच इञ्चभन्दा साना एउटा रुखमा छपान भएको उहाँले जानकारी दिनुभयो । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम शुरु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ । पहिलो खण्ड निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रुख छपान गरेसँगै कटानका लागि आदेश कुरेर बसेको छ । रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम शुरु गर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति