बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गढीमाईमा निरिह पशुको बकपत्र

शनिबार, २१ मङ्सिर २०७६, १० : ५८
शनिबार, २१ मङ्सिर २०७६

प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला
मेरो बलि दिएर मनाइँदैछ 
सुन्दैछु, सयौँका सङ्ख्यामा मारकहरु
खटिएका छन्,
एक लाख मजस्ता अबोध
राँगा, बोका, सुँगुरहरुको 
बलि चढेर
भक्तालुको आस्थामाथि
कल्याण हुने यो कस्तो आस्था ?
बलि निरुत्साहित गर्न
सर्वोच्चले दिएको आदेशको 
खै परिपालन ?
के हाम्रो जीवन
यति सस्तो छ ?
भक्तालुको मनोकाङ्क्षासँग
सजिलै साट्न मिलोस् 
संसारमा म र म जस्तै
अपहेलित जीवजन्तुहरु
धर्म र चाडपर्वका व्यर्थै
सहानुभूतिहरुमा
सिकार भइराखेका छन्
आखिर
कहिले अघाएर बोल्छन्
मन्दिरका निर्जीव भगवानहरु !

मलाई लाग्छ
मानव जाति संसारभरको
अन्धो र अभागी जाति हो
जो ज्ञान खोज्छ र हमेसा 
अज्ञानमा रहन्छ,
खासमा त नेपालीहरु
विश्वभरी नै शान्ति र अहिंसाको
ज्योति फैलाउने भगवान बुद्धको
देशमा जन्मिएर पनि
बलिप्रथामा सरम र 
आत्मनिन्दाको भाव जगाउन सक्दैनन् तर
मांसहार गर्नकै लागि 
पशुबलिलाई धार्मिक आवरण ओढाउछन् 
म प्रश्न गर्न चाहान्छु
ती मांसहारी पण्डितहरुलाई
जो तिहारमा गाई र कुकुरको पूजा गरेर
हामी पशुलाई आदार र माया देखाउन पछि पर्दैनन्
तर संस्कृति र परम्पराको लेपन गर्दै 
दसैँलगायत अरू पर्वमा 
हामी खसी, बोका, राँगाकै बलि दिन अघि सर्दछन् 
असत्य माथि सत्यको विजयको खुसीयालीमा 
हाम्रो बलि चढाइनु
यो के हो ??
तिम्रो विद्वता कि मूर्खता ?
म भन्छु,
‘देवीलाई बलि दिनुपर्छ’
भन्ने तिम्रो कथन पक्षपाती छ र
यसले मानवजातिकै क्रुरताको पराकाष्ठ नाप्छ ।

हामी सबै जीवजन्तु पशुपक्षी 
प्रकृतिका अनुपम उपहारहरु हौँ,
हाम्रो पनि आफ्नै परिवार छ संसार छ,
दुःख पर्दा हाम्रो पनि आँसु झर्छ
पर्यावरणीय चक्र सन्तुलन गर्न 
हाम्रो पनि आवश्यक पर्छ,
हामी जस्ता अबोध जीवलाई
दुःख र कष्ट दिएर पुण्य पाइँदैन
हाम्रो छटपटाहटमा, तड्पनमा, करुण क्रन्दनमा
उत्सव मनाउने प्रवृत्ति दानवीय छ !
बरु स्वभावैले
मानिस पनि शाकाहारी हुनु स्वास्थ्यका 
लागि समेत कल्याणकारी हुन्छ
र हाम्रो बाँच्न पाउने अधिकार 
समेत सुरक्षित रहन्छ ।

मेरो हार्दिक आह्वान
हे मानव जाति ! 
म जस्ता निर्दोष निरिह जीवजन्तुको
निर्मम बलि दिनुभन्दा
आफूभित्रका लोभ, अहंकार, काम र क्रोधको 
बलि दिन सक्नुहोस्
अनि युगौँयुग स्वस्थ जीवन बाँच्न सक्नुहोस्,
सरकारसँग हातेमालो गरी
विश्वमा सत्य, धर्म, करुणा र अहिंसाको पाठ पढाउन सक्नुहोस् !
शुभकामना छ,
गढीमाई माताले हामी सबैको
रक्षा गरून् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अच्युतशाली घिमिरे
डा. अच्युतशाली घिमिरे
लेखकबाट थप