मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीले पुरानो मानसिकता छाड्न सकेनन् : अध्यक्ष प्रचण्ड

शुक्रबार, २० मङ्सिर २०७६, १६ : ३४
शुक्रबार, २० मङ्सिर २०७६

धनगढी । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु पुरानो मानसिकताबाट अघि बढ्न नसकेको बताएका छन् । उनले कर्मचारीहरुले संघीय व्यवस्था पचाउन नसक्दा संविधानले प्रदेश र स्थानीय तहमा प्रत्यायोजन गरेको अधिकार प्रदेश र स्थानीय सरकारले उपयोग गर्न नपाएको गुनासो पनि गरे ।

अध्यक्ष दाहालले जिल्लामा रहेको कार्यालय अर्को जिल्लामा सर्दा नागरिकलाई सेवा पाउन गाह्रो भएको भन्दै सबैलाई सहज हुनेगरी सेवा केन्द्रहरु विस्तार गर्न आवश्यक रहेको बताए । विगतमा पछाडि पारिएका प्रदेशलाई विशेषाधिकार, रिजर्भेसन वा क्षतिपूर्तिका रुपमा विशेष कार्यक्रम दिएर अगाडि ल्याउनुपर्ने प्रचण्डको भनाई छ ।

उनले समान रुपमा कार्यक्रम दिँदा अगाडि रहेको क्षेत्र अगाडि भइरहने र पछाडि परेको क्षेत्र पछाडि भइरहने अवस्था आउन नहुने भन्दै सबैलाई समान हैसियतमा पु¥याउन सुदूरपश्चिम र कर्णाली प्रदेश जस्तालाई विशेष कार्यक्रम दिन आवश्यक रहेको दावी गरे । ‘यसका लागि आवाज उठाउन आवश्यक छ । पार्टीका तर्फबाट मैले पनि पहल गरिरहेको छु’ अध्यक्ष प्रचण्डको भनाई छ ।

शुक्रबार कैलालीको धनगढीमा सुदुरपश्चिम वित्तीय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुनाफा कमाउने वातावरण नभएपछि कसैले पनि लगानी गर्न नचाहनु स्वाभाविक रहेको धारणा राखे । ‘लगानीको वातावरण तयार गर्नुपर्छ । पुँजी जहिले पनि ओरालेतिर बग्ने गरेको छ । देशमा लगानीको वातारण नभए विदेशतिर बग्न सक्छ’ प्रचण्डले नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नका लागि समयमा कानुन र सुरक्षाको व्यवस्था गरी नाफा कमाउन सक्ने वातावरण बनाउनुपर्ने पनि बताए । उनले त्रिदेशीय व्यापार मार्गको रुपमा गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग बनाउन पहल शुरु भएको जानकारी दिए । ‘गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग निर्माणका लागि हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने, ‘यसका लागि सरकारले काम शुरु गरिसकेको छ ।’

धनगढीमा सुरु भएको वित्तीय सम्मेलन वित्तीय पहुँचको सुनिश्चितता र प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलनको आयोजना गरेको हो ।  सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, पर्यटनमन्त्री, श्रम तथा रोजगारमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य संघका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख लगायत झण्डै चारसय बढीको सहभागिता छ ।

प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्नको लागि सम्मेलन कोसेढुङ्गा सावित हुने सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराको भनाई छ । ३६ लाख खर्च अनुमान गरिएको सम्मेलन मार्फत सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक स्थापना गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ । अहिले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ वटामा मात्र वित्तीय पहुँच पुगेको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ । सम्मेलनमार्फत् घोषणापत्र समेत जारी गरिने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेश सरकारले आयोजना गर्न लागेको वित्तीय सम्मेलनलाई सकारात्मक रुपले लिएको बताए । प्रदेश सरकारले आयोजना गर्न लागेको वित्तीय सम्मेलनमा यो प्रदेशमा लगानी गर्न ईच्छुक लगानीकर्ताहरुलाई कस्ता खालका सुविधा दिन सकिन्छ भन्ने बारेमा प्रदेश सरकार लाग्नु जरुरी रहेको डा.रणबहादुर रावलको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप