बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेशको टिप्पणी : 'केपी'को पछि लाग्दा 'सिके'को जमानत जफत

'सिके राउत त्यही दिन समाप्त भए, जुन दिन उनले केपी शर्मा ओली समक्ष आत्मसमर्पण गरे'
शुक्रबार, २० मङ्सिर २०७६, ०९ : ३२
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । मधेशलाई छुट्टै देश बनाउन हिँडेका सिके राउतको पार्टीले त्यही मधेशमा एउटा वडासम्म जित्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ । मधेश आन्दोलनसँगै स्वतन्त्र मधेशको अभियानमा लागेका सिके राउतले जनमतसङ्ग्रहको कुरा उठाउँदै गर्दा तराई–मधेशमा आफ्नै जनमत बनाउन नसकेको भन्दै मजाक उडाइदैछ । धेरै ठाउँमा पार्टीको जमानतसमेत जफत भएको छ ।

मधेश राजनीतिमा लामो समय बिताएका सप्तरीका बलराम यादवले उपनिर्वाचन सिके राउतका लागि एउटा परीक्षा भएको तर त्यसमा उनी फेल भएको प्रतिक्रिया दिए । अगामी दिनको परीक्षाका लागि अझै कडा मेहनत गर्नुपर्ने उनले सुझाए ।

विगतमा स्वतन्त्र मधेशको कुरा गरेर जनतालाई भ्रमित पारेर पछि नेकपासमक्ष आत्मसमर्पण गरेको आरोपसमेत उनीमाथि लागिरहेको छ । उपचुनावमा त्यो कुराले पनि असर गरेको विश्लेषण भइरहेको छ । तराई–मधेशमा मात्र आफ्नो राजनीति गतिविधि सीमित राखेका सिके राउतले आफ्नो पहिलो ‘टार्गेट’ मधेशवादी दललाई नै बनाएका थिए । ठूला दल नेकपा र काँग्रेसप्रति नरम हुँदै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आलोचनामा बढी समय दिएका थिए ।

उपचुनावमा उनीसँग राष्ट्रिय एजेण्डा केही थिएन । उनले केवल मधेशवादी दललाई गाली गर्दै भोट मागेका थिए । त्यसले गर्दा उनीमाथि नेकपाको निकट रहेको आरोप लागिरहेको थियो । यसले पनि उपचुनावमा उनलाई घाटा लाग्यो ।

स्वतन्त्र मधेशको आन्दोलन गर्दा एउटै छुट्टै पहिचान बनाएका सिके राउत मुलधारका राजनीतिमा आएपछि त्यो पहिचानलाई कायम राख्न सकेनन् ।

****

अन्य मधेशवादी दलहरु आन्दोलन गरेर आएपनि उनी फरकधारबाट आएका हुनाले पनि जनताको मन जित्न नसकेको धेरैको बुझाइ रहेको छ । आन्दोलन गरेको भए, मधेशमा स्थापित हुन्थे । उनले त्यो पनि गरेनन् । बरु मधेश आन्दोलनलाई आलोचना गर्दै बसे ।

****

उनले कार्यक्रम गर्दा अन्य दलको तुलनामा बढी ‘मास’ देखाउँथे । तर, त्यो मासले उनलाई साथ थिए । चुनाव हुनुभन्दा एक हप्ताअघि उनले रंगभेदको विरुद्धमा काठमाडौँमा शक्ति प्रदर्शन नै गरेका थिए । राजधानीमा मान्छे भेला पारेर उनले अन्य दलहरुलाई चकित पारेका थिए ।

मधेश मामिलाका जानकार बलराम यादव भन्छन्, मास र चुनावी पोल्टिक्स दुई फरक–फरक कुरा हुन्, जुन कुरा सिके राउतले बुझ्न सक्नुभएन ।’ उनले आफ्नो भाषण सुन्न आउने भीड आफ्नै भीड हो भनेर बुझेका थिए, तर त्यो भीडले उपचुनावमा साथ दिएन ।

*****

यत्रो मधेश आन्दोलन गरेका नेताहरु प्रति त जनताले हतपत विश्वास गरिरहेका छैनन् भने एक दुई वर्षमै आफ्नो सिद्धान्त र विचार परिवर्तन गर्ने सिके राउतमाथि जनताले कसरी विश्वास गर्ने ?

*****

अन्य मधेशवादी दलहरु आन्दोलन गरेर आएपनि उनी फरकधारबाट आएका हुनाले पनि जनताको मन जित्न नसकेको धेरैको बुझाइ रहेको छ । आन्दोलन गरेको भए, मधेशमा स्थापित हुन्थे । उनले त्यो पनि गरेनन् । बरु मधेश आन्दोलनलाई आलोचना गर्दै बसे ।

महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर–२ मा भएको उपचुनावमा सिके राउत नेतृत्वका जनमत पार्टीबाट बिरेन्द्र कुमार साहले उम्मेदवारी दिएका थिए तर उनले २२३ मत मात्र प्राप्त गरेका थिए ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर–२ मा राधेश्याम साह बनिया उम्मेदवार बनेका थिए । त्यहाँ उनले १२ मत मात्र पाए । त्यस्तै, महोत्तरीको बलवा नगरपालिका वडा नम्बर–८ मा फुलकुमारी देवी उम्मेदवार बनेकी थिइन् तर उनले ९ मत मात्र प्राप्त गरिन् । त्यस्तै बारको बारागढी गाउँपालिका वडा नम्बर १ मा शंकरप्रसाद चौधरी उम्मेदवारी दिएका थिए तर उनले पनि ३ मत मात्र ल्याए ।

महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपचुनावमा जनमत पार्टीबाट अन्जनी देवी मण्डलले उम्मेदवारी दिएकी थिइन तर उनले एक मत पनि पाउन सकिनन् । त्यस्तै, सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर–१ मा भएको उपचुनावमा जनमत पार्टीबाट दिनेश राय यादवले उम्मेदवारी दिएका थिए तर उनले ५२ मत मात्र प्राप्त गरे । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर–१२ मा भएको उपचुनावमा मोहम्मद अताउल रहमानले १६० मत मात्र प्राप्त गरे ।

*****

ट्वीटर र फेसबुकबाट ‘लाइक’ र ‘फलोअर’ बढे पनि मतपत्रका लागि जनमत नबढ्ने कुरा यो उपचुनावले पुष्टि भएको छ ।

*****

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ११ मा भएको उपचुनावमा दिनेशकुमार यादवले उम्मेदवारी दिएका थिए । उनले ११ मत मात्र प्राप्त गर्न सके । त्यसैगरि, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षका लागि भएको चुनावमा सो पार्टीबाट उम्मेदवार बनेकी चनरादेवी मण्डलले १ मात्र प्राप्त गरेका थिए ।

यो शर्मनाक पराजयले सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरु निराशा देखिएका छन् । सिके राउत भने आफ्नो फेसबुकमार्फत निराश नहुन पटक–पटक आह्वान गरिरहेका छन् । उनले विशिष्ट व्यक्तिहरुको भनाइहरुको राखेर आफ्ना नेता तथा कार्यकर्तालाई सान्तवना दिइरहेका छन् ।

ट्वीटर र फेसबुकबाट ‘लाइक’ र ‘फलोअर’ बढे पनि मतपत्रका लागि जनमत नबढ्ने कुरा यो उपचुनावले पुष्टि भएको छ ।

मधेश राजनीतिमा लामो समय बिताएर अहिले स्वतन्त्र रुपमा आफ्नो कलम चलाइ रहेका श्रीमननारायण मिश्र भन्छन्, ‘सिके राउतमाथि जनताको विश्वास नै थिएन, त्यही भएर उहाँले मात पाउनुभएन । यत्रो मधेश आन्दोलन गरेका नेताहरु प्रति त जनताले हतपत विश्वास गरिरहेका छैनन् भने एक दुई वर्षमै आफ्नो सिद्धान्त र विचार परिवर्तन गर्ने सिके राउतमाथि जनताले कसरी विश्वास गर्ने ?’ उनले सिके राउतका पार्टीले ल्याएका मतले उनको अगामी राजनीतिको चित्र कोरेको बताए । उपचुनावले सबै कुराको निर्धारण गर्न नसके पनि यसले एउटा सन्देश पक्कै दिएको उनको विश्लेषण छ ।


‘मास’ जुटाउनमा माहिर सिके राउतले मत जुटाउन नसकेको कुरा विश्लेषक मिश्रले पनि दोहोर्याए । रौतहटमा रहेका मिश्रले भने, ‘मास देखाउनु एउटा कुरा हो, मत लिनु अर्को कुरा हो ।’

सिके राउतले आठ–नौ महिना अगाडिसम्म एउटा सिद्धान्त लिएर राजनीति गरिरहेका थिए । अहिले अर्कै रुपमा आएका छन् । उनको राजनीतिक उद्देश्य नै  जनताले अझै नबुझेको मिश्रको विश्लेषण छ । 

कुनै बेला सिके राउतले तराई मधेशमा मात्र होइन, केन्द्रमा पनि त्रास उत्पन्न गराएका थिए । स्वतन्त्र मधेशका लागि राजनीति गर्दा होस् वा मुलधारका राजनीतिमा आउँदा होस्, उनी जहिले चर्चामा रहे । उनलाई मधेशवादी दलका लागि चुनौतिको रुपमा हेरिएको थियो । उनले २०७४ को चुनावमा ‘कोठली बाहर मत’को नारा दिएर मधेशवादी दलको मत काटेका थिए भने यसपटकको उपचुनावमा भाग लिएर नै मत काटे ।

तर यो उपचुनावबाट सिके राउतको राजनीति समाप्त भएको विश्लेष्ण गर्छन्, उपेन्द्र झा । मधेश राजनीतिमा लामो समयसम्म सक्रिय रहेका झा भन्छन्, ‘सिके राउत त्यही दिन समाप्त भए, जुन दिन उनले केपी शर्मा ओली समक्ष आत्मसमर्पण गरे । यसलाई मधेशले रुचाएको छैन ।’

‘मधेश अहिले पनि केपी शर्मा ओलीप्रति सकारात्मक छैन । त्यसैले ओलीलाई साथ दिने नेतालाई मधेशले साथ नदिने कुराको सन्देश यो उपचुनावले दिएको छ,’ उनले भने ।

मधेशवादी दलको मत काट्नका लागि नेकपा अर्थात् केपी शर्मा ओलीले सिके राउतको पार्टी जनमतलाई उपचुनावमा सहभागी गराएको टिप्पणीहरु मधेशमा भइरहेको छ । हुन पनि सुरुमा जनमत पार्टी चुनावमा भाग लिने मनस्थितिमा थिएन तर अन्तिम समयमा आएर मात्र पार्टीले उपचुनावमा भाग लिने निर्णय लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप