शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँग्रेस र नेकपा नै जनताका वैकल्पिक शक्ति, तेस्रो शक्ति आउने अवस्था देखिएन’

जनताको ध्यान डाइभर्ट गर्न कालापानी मुद्दा उचालिदैछ : राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लासँगको अन्तरवार्ता
शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ४०
शुक्रबार, २० मङ्सिर २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर लामो समय काम गरेका सर्वेन्द्रनाथ शुक्ला तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट मधेसको राजनीतिमा प्रवेश गरेका हुन् । तमलोपामा नेतृत्वदायी भूमिका रहेर काम गरेका उनी राष्ट्रिय जनता पार्टी नेपाल बनाएपछि त्यसमा उपाध्यक्षको भूमिकामा छन् । पटक पटक मन्त्री बनेका शुक्ला पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् । राजपा नेपालको अध्यक्षमण्डलले राम्रोसँग पार्टी सञ्चालन गर्न सकेन भनी आलोचना गर्दै आएका छन् । पश्चिम नेपालको राजनीतिमा राम्रो प्रभाव जमाएका शुक्लासँग हालै सम्पन्न उपचुनाव, उपचुनावको परिणामले राजपा र समाजवादीको सम्बन्ध, सरकारको कामकारबाही लगायतका विषयमा रातोपाटीले गरेको कुराकानीः

भर्खर उपचुनाव सम्पन्न भएको छ । उपचुनवाको परिणामा राजनीतिक रूपमा कसरी विश्लेषण गर्नुहुन्छ ?

–यो उपचुनावले देशको राष्ट्रिय राजनीतिमा कुनै परिवर्तन ल्याउँछ भने होइन तर यसले एउटा शिक्षा अवश्य दिएको छ । आमचुनाव सम्पन्नपछि राजनीति दलका नेताहरुले के–के गरे, चुनाव सम्पन्न भएको दुई वर्षको अवधिमा सत्ता पक्ष, प्रतिपक्षी दलले केके गरे, दुई नम्बर प्रदेशमा मधेसवादी दलको नेतृत्वमा रहेको सरकारले केके ग-यो, स्थानीय तहहरुले के–के गरे त्यसको सानो भए पनि उपचुनावले सङ्केत गरेको छ । यसबाट पाठ सिक्नुपर्ने अवस्था देखिएको छ । यो चुनावमा सबै दलको लोकप्रियाता घटेको देखिन्छ । अलिअलि काँग्रेसको लोकप्रियता बढेको देखाए पनि त्यसले पनि राम्रो परिणाम ल्याउन नसकेको हो । हाम्रो कुरा गर्ने हो भने राजपाले जनतामा जुन छवि कायम गर्नुपर्ने त्यो गर्न सकेको छैन । राजपा नेपाल कहिल्यै सरकारमा गएन, कालो दिवस मनायो । जतिखेर पनि जनताकै बीचमा रह्यो । त्यो हिसाबले त मधेसमा उथुलपुथुल ल्याउनुपर्ने हो, तर उसले पनि सोचे जस्तो गर्न सकेन । त्यसको कारण हो राजपा नेपालका अध्यक्षमण्डका सदस्यहरुको सोच ।

*****

हामी जनता समक्ष गएर हामी वैकल्पिक शक्ति हौँ भन्ने अवस्थामा छैनौँ । त्यो विश्वासनीयता कायम गर्न सकेका छैनौँ । हामी वैकल्पिक शक्ति बन्ने प्रयासमा छौँ तर त्यसअनुरुप काम गर्न सकेका छौँ । वैकल्पिक शक्तिको कुरा कागजमै सीमित रहेको छ । हामीलाई कमसेकम मधेसको आन्दोलनले स्थापित गरेको छ तर साझा पार्टी, विवेकशील पार्टी, नयाँ शक्ति (अहिले समाजवादी पार्टी बनेको) हरु आफूलाई सिधै वैकल्पिक शक्तिका रूपमा प्रचार गरेर नै राजनीतिमा आएका हुन् । तर ती दलहरुले पनि केही गर्न सकेनन् ।

*****

उपचुनावले जुन प्रकारको परिणाम ल्यायो त्यसले पुनः ठूला दलहरुलाई नै स्थापित गरेको छ । साना दल अथवा आफूलाई वैकल्पिक शक्ति भन्दै आएका दलहरु धेरै नै पछाडि देखिएका छन्, यो केको सङ्केत हो ?

–साना र ठूलो दलको अवस्था अहिलेको उपचुनावले गर्दा स्पष्ट गर्न सकिँदैन । यसका लागि आमचुनाव कुर्नै पर्छ । नेकपा सबभन्दा ठूलो दल हो । त्यो दलले झण्डै दुई तिहाइ बहुमतको सरकारलाई नेतृत्व गरिरहेको छ र सोहीअनुसार आफ्ना काम अगाडि बढाइरहेको छ । काँग्रेस प्रतिपक्षको भूमिकामा छ । काँग्रेसले पनि आफ्नो सुविधाअनुसार काम गरि नै रहेको छ । त्यसपछि तेस्रो र चौथो ठूलो दलको रूपमा हामी छौँ । ती दलभन्दा हामी धेरै पछाडि छौँ । हामी जनता समक्ष गएर हामी वैकल्पिक शक्ति हौँ भन्ने अवस्थामा छैनौँ । त्यो विश्वासनीयता कायम गर्न सकेका छैनौँ । हामी वैकल्पिक शक्ति बन्ने प्रयासमा छौँ तर त्यसअनुरुप काम गर्न सकेका छौँ । वैकल्पिक शक्तिको कुरा कागजमै सीमित रहेको छ । हामीलाई कमसेकम मधेसको आन्दोलनले स्थापित गरेको छ तर साझा पार्टी, विवेकशील पार्टी, नयाँ शक्ति (अहिले समाजवादी पार्टी बनेको) हरु आफूलाई सिधै वैकल्पिक शक्तिका रूपमा प्रचार गरेर नै राजनीतिमा आएका हुन् । तर ती दलहरुले पनि केही गर्न सकेनन् । ती दलहरु त झन् धेरै पछाडि छन् । अझै काँग्रेस र नेकपा नै जनताका वैकल्पिक शक्ति हुन् । अहिले नै तेस्रो शक्ति आउने अवस्था छैन । नयाँ वैकल्पिक शक्ति हौँ, नयाँ सोच लिएर मात्र हुँदैन त्यो अनुसारको व्यवहार गर्नुपर्छ, विश्वासनीयता सिर्जनता गर्नुपर्छ । त्यो अहिले देखिएको छैन ।

भन्नाले अगामी चुनावपछि पनि काँग्रेस र नेकपाबाहेक अरू वैकल्पिक शक्तिले त्यो ठाउँ लिनसक्दैन ?

–अहिलेको स्थितिमा आउनै सक्दैन भने होइन । राजनीतिमा कुनै कुरा असम्भव हुँदैन । तर वैकल्पिक शक्ति बन्ने वा काँग्रेस र नेकपाको ठाउँ लिने अवस्थाको सिर्जना गर्ने लक्षण अहिले कुनै शक्ति वा दलले देखाएका छैनन् । हामी वैकल्पिक शक्ति हौँ भन्नेबाहेक अरू केही गर्न सकेका छैनन् । स्रोत आर्जन गर्ने र परिणाममा हिस्सेदार बन्ने खालको पार्टी हुनुपर्छ । हाम्रो हकमा मत आर्जन गर्ने ठाउँ मधेस मात्र छ । तर संवैधानिक व्यवस्था मिलाउन अरूलाई पनि त्यहाँ स्थान दिनुपरेको छ । खस आर्यलाई दिनुपरेको छ, आदिवासी जनजातिलाई दिनुपरेको छ । त्यो संवैधानिक बाध्यता हो । हामीले मधेसको मत पाए पनि भागबण्डा लगाउनुपर्ने अवस्था रहेको छ ।

तपार्इंको राजनीतिक इतिहास र योगदान लामै छ । राप्रपा हुँदै तमलोपा र तमलोपापछि राजपा नेपालमा हुनुहुन्छ, जहाँ हुँदा तपाईंं नेतृत्वदायी भूमिकामा नै हुनुहुन्छ । तपाईंको पार्टी वैकल्पिक शक्ति बन्न नसक्नुमा तपाईंंले चाहिँ त्यसको दोष लिनुपर्छ कि पर्दैन ?

–तपाईंं कुरा उठाइहाल्नुभयो । के भन्नैपर्ने हुन्छ भने जुनबेला राजपा नेपाल गठन भयो त्योबेला सबै शक्ति, सबै अधिकार अध्यक्षमण्डलाई दिइयो । सबै काम अध्यक्षमण्डलले नै गर्ने भए । अरू पदाधिकारी अधिकारबिनाका पदाधिकारी भए । कसैलाई केही जम्मेवारी दिएन । एक वर्षभित्र महाधिवेशन गराइदिनुपर्ने थियो तर उहाँहरुले सक्नुभएन फेरि महाधिवेशनको म्याद थप्नुभयो । एक वर्षमा महाधिवेशन गराउँछौँ भनेर थपेको म्याद कार्यान्वयन गर्नुको सट्टा एकीकरणतिर ध्यान दिन थाल्यो । पहिलो कुरा त राजपा नेपालभित्र नै एकीकरण भएको छैन भने अरू दलसँग एकीकरण कसरी सम्भव हुन्छ ? पहिला राजपा नेपालको एकीकरण गरौँ, सबै दलबललाई मिलाएर सङ्गठित गरौँ अनि मात्र एकीकरण गर्दा राम्रो हुन्छ भन्ने मेरा बुझाइ रहेको छ । सबैलाई नसमेटीकन एकीकरण गरियो भने त्यो एकीकरण सफल हुँदैन ।

*****

अध्यक्षमण्डलमा कुरा मिलेको छ, तर मन मिलेको छैन । उहाँहरुका बीचमा मनभेद रहेको छ । उहाँहरुले सामूहिकरुपमा सोच्नुपर्छ । आफ्ना लागि मात्र भन्दा पार्टीको हितमा कुरा गर्नुपर्छ, त्यो कुराको अभाव देखिन्छ अध्यक्षमण्डलमा ।

*****

राजपा नेपालका थुप्रै मान्छे छुट्ने छन् । त्यसैले पहिला राजपा नेपालको सङ्गठित गरेर मात्र अरू दलसँग एकीकरण गर्दा राम्रो । अहिले त्यही एकीकरणका कारण न महाधिवेशन भइरहेको छ, न अरू काम नै भइरहेको छ । यो बीचमा एकीकरण केही दिनका लागि टर्यो भनेपछि राजपा नेपालको कामहरु अगाडि बढेको छ । थुप्रै ठाउँमा अधिवेशन सम्पन्न भएका छन् । अरू कामहरु अगाडि बढेका छन् । एकीकरणका कुरा पनि अगाडि बढाइ नै रहनुपर्छ । तर त्योभन्दा पहिले पार्टीको महाधिवेशन गर्नुपर्छ । अढाइ वर्षमा महाधिवेशन नै भएको छैन भने जनतामा विश्वास गुम्नेछ । त्यसैले पहिला महाधिवेशन गरेर मात्र अरू कुरामा ध्यान दिनुपर्छ । म व्यक्तिलाई दोष दिन्न चाहन्न । मेरो पनि कही दोष होला तर अध्यक्षमण्डलको कमी कमजोरीले नै यो समस्या आएको हो ।

अध्यक्षमण्डलका कुरा नमिल्नुको कारण के हो ?

– कुरा नै नमिलेको भन्ने होइन । अध्यक्षमण्डलमा कुरा मिलेको छ, तर मन मिलेको छैन । उहाँहरुका बीचमा मनभेद रहेको छ । उहाँहरुले सामूहिकरुपमा सोच्नुपर्छ । आफ्ना लागि मात्र भन्दा पार्टीको हितमा कुरा गर्नुपर्छ, त्यो कुराको अभाव देखिन्छ अध्यक्षमण्डलमा । हामी बलियो भएपछि अरू दलले पनि हामीलाई त्यही अनुसार कुरा गर्छन् । अहिले उल्टै राजपा नेपालमाथि के टिप्पणी हुन्छ भने राजपा नेपालमा अध्यक्षमण्डलमा रहेका छजना बीचमा कुरा नै मिलेका छैनन् भने अरू दलसँग कसरी एकीकरण हुन्छ । त्यही भएर पहिला आफू ठीक हुनुपर्छ अनि मात्र अरू दलसँग कुरा गर्नुपर्छ ।

तपाईंंले राप्रपामा काम गर्नुभयो त्यो पनि वैकल्पिक शक्ति बन्न सकेन । तमलोपा बनाउनु भयो त्यो पनि वैकल्पिक शक्ति बनेन । राजपा नेपाल बनाउनु भयो त्यसको यस्तो हालत छ । तपाईंं जहाँ–जहाँ जानुहुन्छ त्यहाँ त्यहाँ यो समस्या हुन्छ, तपाईंंमै कुनै त्रुटि छ कि ?

–हेर्नुस् म यो तीनवटै पार्टीको नेतृत्वदायी भूमिकामा भए पनि ड्राइभिङ सिटमा कहिल्यै बस्न सकिनँ । म राप्रपामा जाँदा प्रजातन्त्रका वैकल्पिक शक्ति बन्नुपर्छ भनिएको थियो । एकताका देशको साँचो नै राप्रपाको हातमा थियो । जसलाई चाहियो, प्रधानमन्त्री बनाउन सकिन्थ्यो, जसलाई मन्त्री बनाउन चाह्यो उसलाई बनाउन सक्ने अवस्थामा पुगेको थियो । तर नेताहरुको इगोका कारण त्यो पार्टीको अवस्था पनि खराब भयो । तमलोपा पनि म आउँदा विभिन्न कारणले समस्याहरु उत्पन्न भए । पार्टी पनि विभाजित भयो । त्यो पनि इगोले नै काम गरेको थियो । अहिले राजपा नेपालमा पनि त्यही समस्या रहेको छ । एक अर्कामाथि शङ्का उपशङ्का हटाएर, कामलाई अगाडि बढाउँदा फाइदा हुन्छ तर अध्यक्षमण्डलमा त्यो लक्षण देखिएको छैन । यही अवस्थामा वैकल्पिक शक्ति बन्दैन । साँचो छ जनाको हातमा छ । त्यसको ड्राइभिङ सिटमा हामी छैनौँ । वैकल्पिक शक्ति बन्नका लागि पहिला आफ्नै शक्ति आर्जन गर्नुपर्छ, त्यो हामीले गर्न सकेका छैनौँ ।

*****

तत्कालै संविधान संशोधन होला जस्तो मलाई पनि लागेको छैन । यद्यपि नेकपाले पनि संविधान संशोधनका लागि सोच्नुपर्ने हुन्छ । यो संशोधन मधेसका लागि मात्र होइन, आम जनताका लागि आवश्यक रहेको छ । संशोधन गर्न सकिएन भने मधेसवादी दललाई मात्र होइन, नेकपालाई पनि असर गर्छ ।

*****

उपचुनावमा जुन परिणाम आयो, त्यो परिणामले राजपा नेपाल र समाजवादी पार्टीको सम्बन्ध कसरी अगाडि बढ्छ जस्तो लाग्छ तपाईंंलाई ?

–परिणाम जस्तोसुकै आओस् तर राजपा नेपाल र समाजवादी पार्टी मिल्नुको विकल्प छैन । केही व्यक्तिलाई नोक्सान होला, त्यो छुट्टै कुरा हो । तर समग्र मधेसलाई फाइदा हुन्छ । तर त्योभन्दा पहिला हामी आफैमा व्यवस्थित हुनुपर्छ । त्यसका लागि दुईवटै पार्टी आआफ्नो साइडमा तयारी गर्नुपर्छ । दुईवटै पार्टी मिल्यो भने तेस्रो शक्ति बन्ने निश्चित छ । हामी मिल्यौँ भने अरू पनि मिल्नसक्छ, विश्वासको वतावरण तयार हुन्छ । त्यसैले दुईवटै शक्ति मिल्नुको विकल्प छैन । यो परिणामले दुईवटै दललाई मिल्नका लागि सन्देश दिएको छ ।

उपचुनावमा जुन परिणाम आयो त्यसले दुईवटै दलका बीचमा गठबन्धन बनाएर जानुपर्छ कि एकीकरण नै गर्नुपर्छ ? कस्तो लाग्छ तपाईंंलाई ?

–मधेसमा एउटा प्रवृत्ति कस्तो देखिएको छ भने फलानो त्यो पार्टीमा छ भने म त्यहाँ कसरी अटाउन सक्छु भन्दै विकल्प खोज्न थाल्छ । स्थानीय निकायमा गठबन्धन गरेर जानुपर्ने स्थिति आउन सक्छ । केन्द्रीय चुनावमा एकीकरण वा सिट बाँडफाँटका आधारमा अगाडि बढ्नुपर्छ । गठबन्धन भनेको समान्य गठबन्धन होइन, बलियो गठबन्धन बनाएर जानुपर्छ । २०७४ को चुनावमा एकचोटि ट्राइल भइसकेको छ, अब अर्को चुनावमा बलियो गठबन्धन बनाएर जानुपर्छ । त्यो चुनाव सम्पन्न भएपछि एकीकरणका लागि एउटा वातावरण पनि बन्छ । अनि एकीकरणका लागि अगाडि बढ्नुपर्छ । अर्थात एकीकरणको लक्ष्य राखेर गठबन्धन गर्नुपर्छ । जसरी एमाले र माओवादीले गरेका थिए ।


तपाईंंहरुको मुख्य माग नै संविधान संशोधन हो तर अहिलेको जुन अवस्था देखिएको छ त्यसले संविधान संशोधन होला जस्तो देखिएको छैन, अब के गर्नुहुन्छ ?

–कुरा जेजस्तो भए पनि हामीले मधेस मुद्दालाई स्थापित गरेका छौँ । तर तत्कालै संविधान संशोधन होला जस्तो मलाई पनि लागेको छैन । यद्यपि नेकपाले पनि संविधान संशोधनका लागि सोच्नुपर्ने हुन्छ । यो संशोधन मधेसका लागि मात्र होइन, आम जनताका लागि आवश्यक रहेको छ । संशोधन गर्न सकिएन भने मधेसवादी दललाई मात्र होइन, नेकपालाई पनि असर गर्छ । यद्यपि संविधान संशोधनका लागि राजपा नेपालले दबाब बनाउन छाड्ने छैन । आफ्नो सङ्घर्षलाई जारी राख्नुपर्छ । आज भएन भने भोलि, भोलि भएन भने पर्सी हुन्छ तर एक दिन न एक दिन  संविधान सशोधन हुन्छ भन्ने कुरामा विश्वास छ ।

संविधान संशोधनका लागि राजपा नेपाल र समाजवादी सङ्घर्ष गरिरहेका छन् तर दुईवटैको मुख दुईतिर फर्केको छ । यस अवस्थामा संविधान संशोधन होला जस्तो लाग्छ तपाईंंलाई ?

–दुईतिर मुख फर्कार बसेको त नभनौँ तर दुईवटै शक्ति एक ठाउँमा बसेका छैनन् । दुईवटै अलग अलग सिटमा बसेर संविधान संशोधनको कुरा गरिरहेका छन् । कुरा दुईवटैले गरेका छन् । हामीले केपी शर्मा ओलीलाई भेट्दा त्यही कुरा गरेका छौँ जुन कुरा समाजवादी पार्टीले पनि गरेको छ । तर समाजवादी पार्टीले कुर्सीको छेउमा बसेर सुनाउन प्रयास गरेको छ । हामीले टेबलको अगाडि टेबल ठोकेर कुरा गर्छौं । दुईवटै शक्ति दुई ठाउँमा बसेर कुरा गर्दा अलि दबाब पुगेको छैन । दबाब दिनका लागि एकै ठाउँमा बसेको हुनुपर्छ ।

तपाईंहरु पनि टेबलकै छेउमा जान सक्नुहुन्न ?

–विगतमा हामी एक ठाउँमा बसेर सङ्घर्ष गरेकै हौँ । एक खालको परिणाम पनि ल्याएकै हौँ तर पछिल्लो समय अलग अलग भएपछि शक्ति कमजोर भएकै हो । मोर्चा तथा गठबन्धन बनाएर हामीले त्यत्रो आन्दोलन गर्यौँ । सरकारलाई झुक्न बाध्य बनायौँ । वार्ता र सहमति गर्न बाध्य पार्यौँ । यहाँसम्म कि संविधान संशोधनको प्रस्ताव संसदसम्म पुगेको थियो तर अहिले त्यो अवस्था पनि छैन । अहिले प्रस्ताव प्रस्तुत गर्यो भने फेल हुँदैन । दबाब दिनका लागि हामी सरकारमा बसेरभन्दा बाहिर बसेर काम गर्नुपर्छ । हामी त सरकारमा जाने अवस्था छँदैछैन । प्रधानमन्त्रीको टेबलका अगाडि टेबल ठोकेर भन्यौँ भने धेरै सुनिन्छ, छेउमै बसेर भन्यो भने खासखुस मात्र हुन्छ । त्यसैले अहिले छेउमा जाने अवस्था छैन ।

समाजवादी पार्टीले सरकार छाड्यो भने राजपा नेपाल सरकारमा जान्छ भन्ने चर्चा बजारमा सुनिएको छ, त्यसमा कतिको सत्यता छ ?

–त्यसमा कुनै सत्यता छैन । यो चर्चाका विषय बनाइएको हो । जुन बेलामा ओलीजीले सरकार बनाउनु हुँदैथियो त्यो बेला हामीलाई पनि बोलाउनुभएको थियो । उहाँले हामीसँग पटक पटक कुरा गर्नुभएको थियो । उहाँबाट एक डेढ महिनअघि पनि कुरा आएकै हो । तर हामीले आधारभूत कुरा पूरा गर्न भनेका छौँ । रेशम चौधरीको रिहाइ, मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, घाइतेको उपचार, संविधान संशोधनको प्रक्रिया लगायतका कार्य अगाडि बढाइयो भने मात्र हामी सरकारमा जान्छौँ । तर यही अवस्थामा जाँदैनौँ । सरकारमा जानका लागि समाजवादी पार्टी बाहिरिन्छ अनि जान्छौँ भनेर कुरेर बस्ने अवस्था छैन । यो राजपा नेपालको विरुद्धमा हल्ला फैलाइएको हो ।

*****

पाँच वर्षको सरकारले दुई दशकपछि हुने कामको प्रचार गरेका कारण जनतामा महत्त्वकाङ्क्षा बढेको हो । जनतामा जुन प्रकारको महत्त्वकाङ्क्षा बढेको छ, त्यसबाट ध्यान हटाउनका लागि सरकारले यो बीचमा विभिन्न खेलहरु गरेका छन् ।

*****

अध्यक्षमण्डलका रहेका छजना बीचमा कुरा नमिलेर सरकारमा नगएको हो कि मुद्दा नमिलेर नगएको हो ?

–त्यस्तो होइन, पहिलो कुरा त सरकारमा जाने नजाने विषयमा पार्टीभित्र छलफल नै भएको छैन । छलफल भएको भए को जाने, को नजाने कुरा हुन्थ्यो । सरकारमा नजाने भन्ने सुरुमै माइन्डमेकप छ । त्यसैले त्यस विषयमा कुनै छलफल नै भएन । महन्थ ठाकुरले त आफू सरकारमा नजाने घोषणा नै गर्नुभएको छ । यदि सरकारमा पार्टी गयो भने अरू नेताहरु सिनियरका आधारमा जानुहुन्छ तर अहिलेसम्म सरकारमा जाने विषयमा सोचेकै छैन पार्टीले ।

मन्त्री हेरफेरदेखि लिएर प्रदेश प्रमुख परिवर्तन, कालापानीको विषय लगायत विभिन्न कुरा यो एक डेढ महिनाभित्रमै भयो, सरकारले यस्तो किन गरेको होला, के कारण हुनसक्छ ?

–पाँच वर्षको सरकारले दुई दशकपछि हुने कामको प्रचार गरेका कारण जनतामा महत्त्वकाङ्क्षा बढेको हो । जनतामा जुन प्रकारको महत्त्वकाङ्क्षा बढेको छ, त्यसबाट ध्यान हटाउनका लागि सरकारले यो बीचमा विभिन्न खेलहरु गरेका छन् । मन्त्री हेरफेर पनि त्यसैको एउटा कडी हो । काम गर्न सकेन भनेर जनतालाई देखाउनका लागि प्रधानमन्त्री ओलीले मन्त्री फेर्नुभयो । तर त्यसको अलोचना पनि भयो । अधिकांश काम गर्ने मन्त्री हटाएर अहिले केही कामै गर्न नसक्ने मन्त्रीलाई ल्याउनुभएको छ । हेर्दै जानुहोला अहिले आएका मन्त्रीहरुले पनि विगतको भन्दा केही फरक गर्दैनन् । जनताका आँखामा धुलो फ्याँक्नका लागि गरिएको काम हो ।

कालापानीको विषय पनि त्यस्तै हो । यो कुरा पुरानो हो । पहिलादेखि भारतीय सेना त्यहाँ बसिरहेका थिए । त्यो बेलादेखि नेपालमा सरकार थिएन भने होइन, विगतदेखि पनि सरकारले यस विषयमा कुरा गरेकै हो । तर अहिले आएर यसरी उठ्नु भनेको जनताको ध्यान डाइभर्ट गर्न खोजेकै हो । कालापानीको समस्या कूटनीति र राजनीतिक एजेन्डाका आधारमा समधान हुनुपर्छ । सरकार यो विषय टुङ्गो लगाउन कति गम्भीर छ भन्ने कुरा विगतका घटनाक्रमले देखाएको छ । सरकारले आफ्नो असक्षमता लुकाउन राष्ट्रियताको कुरा उठाएको मात्र हो ।

दुई तिहाइ नेतृत्वको यो सरकारले गर्नुपर्ने काम गरिरहेको छ कि छैन ?

–सङ्ख्या पुर्याएर ठूलो दल भएर मात्र हुँदैन, सोहीअनुसारको काम गरेर देखाउनुपर्छ । स्थिर सरकार भएर मात्र हुँदैन, क्षमतावान् सरकार हुनुपर्छ । नेकपा नेतृत्वको सरकारमा क्षमतावान नेताको अभाव छ । ती दलका थुप्रै क्षमतावान नेताहरु बाहिरैछन् । बाहिर मुलुकहरुमा प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा अनुभवी व्यक्तिहरुसँग सल्लाह लिएका हुन्छन् बेलाबेलामा तर यहाँ त्यस्तो संस्कार देखिएको छैन । त्यसैले यो सरकारबाट जनताले गरेको अपेक्षा तथा जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गरिरहेको छैन ।

यो वर्तमान सरकारको  भारतसँगको दूरी बढ्नु र चीनसँग दूरी घट्नुलाई तपाईंले कसरी लिनुभएको छ ?

–यो त खुला सत्य नै हो । वर्तमान सरकार नेतृत्व गरेको नेकपाले सी पथलाई अँगालेर अगाडि बढ्छौँ भनेको छ । नेपालमा चीनको जस्तो व्यवस्था ल्याउन चाहेको छ तर नेपाल जस्तो परिवेशमा त्यो सम्भव देखिएको छैन । नेकपाले सी पथ अँगाल्न सक्छ तर सी पथले सञ्चालन गरेको प्रणाली ल्याउन सक्दैन । तर देशमा चीनका जस्तो प्रभाव छ, त्यसले भविष्यमा राम्रो गर्ने छैन । नेकपा नेतृत्वले देशलाई कब्जा गर्ने प्रयास गर्यो, प्रेसलाई बाँध्न खोज्यो, मानव अधिकारलाई नियन्त्रण लिन खोज्यो, लोक सेवा आयोगलाई जुन त्रास देखाएको छ त्यसले लोकतन्त्र कमजोर हुँदै गएको छ ।

देशमा एकदलीय शासन आउने सम्भावना कतिको देख्नुभएको छ ?

–प्रयास भइरहेको छ । विभिन्न क्रियाकलापले त्यसको सङ्केत गरेको छ । तर एउटा कुरा के विर्सिनु हुँदैन भने, यो देशका जनताले निरङ्कुश कुरा धेरै दिन पचाउन सकेको छैनन् । कुनै कुरा जबर्जस्ती लाद्न खोजियो भने समय आएपछि जनताले त्यसको जवाफ दिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप