शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : सागमा भारतको फराकिलो अग्रता, अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

बिहीबार, १९ मङ्सिर २०७६, १९ : १२
बिहीबार, १९ मङ्सिर २०७६

प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।  उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । 

 त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन् । 

उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । त्यसयता उनी अस्पतालमै उपचाररत थिए ।  डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।  प्रधानमन्त्री ओली डिस्चार्ज भएपनि केही दिन बालुवाटारस्थित निवासमै आराममा रहनु पर्ने चिकित्सकहरुले बताएका छन् । 

सागको पदक तालिका 

१३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत मेडल तालिकामा नेपाललाई उछिन्दै भारतले अग्रता लिएको छ ।
बिहीबार साँझ ७ बजेसम्मको मेडल तालिकामा भारतले ५४ स्वर्ण, ३५ रजत र १८ कास्य जितेको छ भने नेपालले ३५ स्वर्ण, २५ रजत र ३३ कास्य पदक जितेको छ । 
यस्तै श्रीलंकले १३ स्वर्ण, पाकिस्तानले १२ स्वर्ण, बंगलादेशले ४ स्वर्ण र माल्दिभ्सले १ स्वर्ण जितेको छ ।  भुटानले भने ६ कास्य पदक मात्रै जितेको छ ।

पदक तालिकाबारे पछिल्लो अपडेटका लागि यहाँ क्लिक गर्नुहोस्

बेलुका ६ बजेकाे भिडियो समाचार हेर्नुहाेस्

पौडीको नतिजा

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । 

सातदोबाटोस्थित पौडी पोखरीमा २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् । नेपालले पौडीमा व्यक्तिगत प्रतिस्पर्धामा सागमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो ।

यता सागअन्तरगत आज भएको टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । 

अन्तर्रा्ष्ट्रिय टी–२० म्याचमा यो १८ औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक रहे । उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे । 

नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेको थियो । पूर्वकप्तान पारस खड्काले अद्र्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए । भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे ।

 भुटानका लागि रङजुङ्ग मिक्यो दोर्जीले सर्वा्धिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले एक–एक विकेट लिएका थिए । 

महिला फुटबल 

सागअन्तर्गत पोखरामा जारी महिला फुटबलमा नेपालले माल्दिभ्सलाई हराउदै फाइनलमा प्रवेश गरेको छ । 

पहिलो खेलमा श्रीलङ्कालाई १–० ले हराएको नेपालले आज भएको खेलमा माल्दिभ्सलाई ३–०ले हराउन सफल भयो ।

त्यसैगरी आजै भएको पहिले खेलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको खेलमा भारत श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

साइक्लिङ 

यस्तै  साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी  हुन् । त्यसैगरी, साइक्लिङकै उषा खनालले रजत पदक जितेकी छिन् । 


आजै उसु तर्फ नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी छन् । निमाले थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी हुन् । निमाको सागमा लगातार दोस्रो स्वर्ण हो । यसअघि भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा निमाले बङ्गलादेशकी मोर्जिना अख्तरलाई हराइन् । निमाले १८.१९ स्कोर गरिन् । अख्तरले १६.३ अंक ल्याएकी थिइन् । आमालाई आफूले जितेको पदक लगाइदिँदै निमाले  आफूले जितेको स्वर्ण पदक आफ्नो परिवारलाई समर्पित गर्न चाहेको बताइन् । 

यसअघि भारतमा स्वर्ण जितेपनि अहिले आफ्नो परिवार र साथीभाइको अगाडि पदक जित्नुको छुट्टै महत्त्व भएको निमाको प्रतिकृया थियो ।

एथलेटिक्स भारत 

एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागि भएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलङ्काको नाममा समान १ स्वर्ण रह्यो । भरतले लङजम्प पुरुषतर्फ, १० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।

स्वरसम्राट स्मृति सम्मान

संगीतकार रञ्जित गजमेर र गायक जगतमर्दन थापालाई स्वरसम्राट स्मृति सम्मान २०७६ बाट सम्मानित गरिएको छ । 

स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसका अवशरमा नारायण गोपाल संगीत कोषले गजमेर र थापालाई जनही २५ हजार नगद र सम्मानपत्रसहित सम्मानित गरेको हो । थापालाई सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

भ्रमण वर्षबारे छलफल

पर्यटनमन्त्री योगेश भट्टराईले सन् २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिएका छन् । 

नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको लागि जोड दिने बताएका हुन् । 

 उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिने बताए ।  उनले त्यसका लागि सबै राजनीतिक दलहरुलाई आफ्ना नेता, कार्यकर्ता, विदेश स्थित निकायहरुलाई परिचालन गर्नु आग्रह गरे । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारले मनाउन लागेको पर्यटन वर्षमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने बताए । 

त्यस्तै कांग्रेसका नेता मोहन बस्नेतले राजनीतिक रुपमा विवाद नगरी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप