‘आशा’ : यौन हिंसाविरुद्ध ८ गृहिणीको सामूहिक अभियान
काठमाडौँ । नेपालमा गैरसरकारी संस्थाहरू प्रायः विदेशी डोनरको सहयोगमा चल्छन् । त्यसरी सञ्चालन गरिएका सङ्घसंस्थालाई कतिपयले ‘डलरको खेतीकर्ता’ भनेर आलोचनासमेत गरेको सुनिन्छ । सबै सामाजिक संस्था डलरको खेती गर्दैनन्, आफ्नै बलबुताबाट धेरथोर सङ्कलित रकमबाट दीनदुःखीको सेवा पनि गर्छन् भन्ने उदाहरण बनेका छन् ‘आशा’ नामक गैरसरकारी संस्थाका सञ्चालक ८ महिला ।
‘आशा’ तिनै ८ महिलाले दैनिक जीवनमा हुने नियमित खर्चमा कटौती गरेर सङ्कलन गरिएको रकमबाट यौन हिंसामा परेका नारीको सहयोगका लागि स्थापना गरेका हुन् । यौन हिंसा हुन नदिन र यौन हिंसामा परेका महिलालाई सहयोग गर्न उनीहरूले मासिक ५÷५ हजार रुपैयाँ सङ्कलन गरेर आफै नियमितजसो काममा खटेर उदाहरणीय काम गरेका छन् ।
उपत्यका लगायत सहरी क्षेत्रमा शिक्षित एवं आर्थिक रूपमा सम्पन्न महिला धेरै भए पनि समाज सेवाका भावले न्यून मात्रामा अग्रसर हुने गरेको पाइन्छ । घरको काम र बालबच्चाको व्यवस्थापन गरेर बचेको समयमा सामाजिक काम गर्ने उद्देश्यले ‘आशा’का ८ जना सञ्चालक एकजुट भएका हुन् ।
ललितपुरस्थित गुसिङ्गल सानेपामा २ वर्षअघि सञ्चालनमा आएको उक्त सामाजिक संस्थामा उनीहरू दैनिक उपस्थित भएर संस्थालाई प्रभावकारी र दिगो बनाउने उपाय तथा यौन हिंसामा परेका महिलालाई गर्ने सहयोगबारे छलफलमा व्यस्त हुन्छन् ।
एनएफसीसी अर्थात नेपाल प्रजनन् स्याहार केन्द्र अन्तर्गत सञ्चालनमा रहेको आशा गैरसरकारी संस्थाले स्थापनाकालदेखि यौन हिंसामा परेका बालिकादेखि वृद्धासम्म २५ जना महिलालाई उद्धार गरेको छ ।
‘आशा’को सञ्चालकमध्ये एक हुन्– सानेपाकी सोनिया गर्ग । घरको काम र बालबच्चालाई स्कुल पठाएर उनी ‘आशा’को कार्यालयमा पुग्छिन् । एमबीएसम्मको अध्ययन पूरा गरेर विभिन्न कार्यालयमा कार्यरत रहेकै अवस्थामा सन्तानको जायजन्मपछि उनी घरमै सीमित भइन् । महिला भएकै कारण गरिने विभेद तथा हिंसाको विरुद्धमा सचेतना तथा सहयोग गर्ने इच्छा जागृत भएसँगै आफू ‘आशा’सँग जोडिएकको उनको भनाइ छ । ‘आफु र परिवारका लागि मानवदेखि जीवजन्तुले समेत सहयोग गर्न सक्छन्,’ उनले भनिन्, ‘हिंसामा परेकालाई सहयोग गर्ने भावना सबैसँग हुन आवश्यक छ ।’
महिलाविरुद्ध हुने विभिन्न प्रकृतिका यौन हिंसाका घटना सञ्चार माध्यममा आइरहँदा यस क्षेत्रमा सहयोगको खाँचो महसुस गरेर नै आफूहरूले सामाजिक संस्था खडा गरेको उनको भनाइ छ । समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यौन हिंसामा परेकालाई आफ्नो सानो सहयोगले शारीरिक तथा मानसिक रूपमा बलियो बनाउन मद्दत गर्दा निकै खुसी लाग्ने उनको भनाइ छ ।
आशा संस्थाकै सञ्चालक समितिकी ४४ वर्षीया समिरा सिद्धी कङ्साकार पनि घरधन्दासँगै दुई बच्चालाई स्कुल पठाएर वृद्धवृद्धा आमाबुबालाई खानपानको व्यवस्था गरेर सामाजिक कार्यका लागि समय निकाल्छिन् । यौन हिंसामा परेमा महिलालाई विभिन्न अस्पताल तथा गैरसरकारी सङ्घ संस्थामार्फत आशामा ल्याएर आवश्यकता अनुसार सेल्टरमा राख्ने, परामर्श दिने, आत्मनिर्भर बनाउनका लागि विभिन्न तालिम र कानुनी रूपमा अधिकारका लागि लड्न सहयोग गर्ने गरेको उनले बताइन् ।
बाँसबारीस्थित नमुना कलेजमा फेसन टेक्नोलोजी अध्यापन गराउने उनी घरमा सासूआमा बिरामी परेका कारण जागिर छोड्न बाध्य भएकी थिइन् । त्यसपछि घरधन्दामा सीमित हुँदा समाजमा अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावका साथ आशामा संस्थागत रूपमा काम तथा सहयोग गर्ने अवसर पाएको उनले बताइन् ।
यौन हिंसामा परेर आशासम्म आइपुग्ने महिलालाई सहयोगका लागि व्यवस्थापन समितिका ८ जनाको टोली आआफ्नो कार्यविभाजन गरेर विभिन्न स्थानमा खटिने गरेको उनले बताइन् ।
आशाकी सञ्चालक समितिका प्रमुख हात्तीवनकी म्यालिन मानन्धर विगतमा शिक्षिकाका रूपमा कार्यरत थिइन् । शिक्षिकाको पेसा छोडेसँगै उनी घरपरिवारमै व्यस्त थिइन् । बाल्यकालदेखि नै हरेकजसो शनिबार पशुपतिस्थित वृद्धाश्रममा पुगेर त्यहाँ आश्रित वृद्धवृद्धालाई सहयोग गर्ने तथा अन्य सामाजिक कार्यमा उनी संलग्न हुन्थिन् ।
कठिन परिस्थितिमा भएका महिला तथा वृद्धवृद्धालाई व्यक्तिगत रुपमा सहयोग गरे पनि २ वर्षदेखि आशामार्फत यौन हिंसा न्यूनीकरणका लागि संस्थागत रूपमा काम गर्न थालेको मानन्धरले बताइन् । संस्थालाई दिगोरूपमा सञ्चालन गर्न विभिन्न कार्यक्रममा स्टल राखेर आर्थिक रकम जुटाउने गरेको उनको भनाइ छ ।
‘आशा’ संस्थाकै सञ्चालक समितिमा रहेकी थापाथलीकी राधिका तापरिया विभिन्न सङ्घसङ्गठनमा आबद्ध भएर गरेको कामभन्दा आशामा रहेर यौन हिंसाबाट प्रभावितलाई सहयोग र सचेतना जगाउने कार्यले फरक खालको अनुभूति सिर्जना हुने बताउँछिन् ।
यौन हिंसाविरुद्ध सचेनता फैलाउने क्रममा व्यक्तिगत क्षमता वृद्धि भएको उनको भनाइ छ । विभिन्न प्रकृतिका यौन हिंसा भोग्न बाध्य महिला विभिन्न सङ्घसंस्था र अस्पतालमार्फत ‘आशा’मा आउने महिलामध्ये राजधानी बाहिरका बढी छन् । त्यसैले ‘आशा’ यौन हिंसाविरुद्ध सचेतना जगाउन र आवश्यक सहयोगी भूमिकाका लागि राजधानी बाहिर जाने योजना बनाएको राधिका बताउँछिन् ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ आर्थिक अभाव अनि घरधन्दा र रोजगारीमा व्यस्त भएका कारण सामाजिक कार्यमा समय निकाल्न नसकेको भन्नेहरूका लागि उदाहणीय बनेका छन्, आशाका ८ जना सञ्चालक महिला ।
आगामी दिनमा संस्था सञ्चालनका लागि आर्थिक स्रोतको अभाव नहोस् भन्ने उद्देश्यले सञ्चालक समितिका ८ जना महिला मिलेर सामूहिक व्यवसाय गर्ने योजनासमेत उनीहरूले बनाएका छन् ।