पर्वतमा एक वर्षमा ९७२ ले गराए गर्भपतन
पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।
जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।
जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिए । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताए । डा देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ जबकि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ ।
अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, सङ्गीनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झण्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् । फलेवासमा १२२, पैयुँमा १२५, विहादीमा ९८, महाशिलामा ३८ ले गत वर्ष गर्भपतन सेवा लिएका छन् ।
जलजला गाउँपालिकामा ६२ र मोदी गाउँपालिकामा ३३ ले गर्भपतन गराएको तथ्याङ्क छ । डा देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताए । उनले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताए । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा देवकोटाको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा