शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिका विद्रोही नेताको खुल्ला पत्र

आइतबार, ०४ भदौ २०७४, ११ : १५
आइतबार, ०४ भदौ २०७४

कौरवहरुलाई अभिवादन !

केही दिन पहिले एउटा अनलाइनमा १५ भाइको रोचक अन्तर्सङ्घर्ष भन्ने लेख पढ्न पाएँ । डम्बरजीप्रति व्यक्तिगत रुपमा मेरो केही भन्नु छैन र रोचक अन्तर्सङ्र्घष भनेर विचारको अन्तर्सङ्र्घष व्यङ्ग्य गर्ने र भ्रमित कुरा लेख्ने प्रयत्नप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामी लामो अन्तर्सङ्घर्षको इतिहासबाट आएका मानिस हौँ । नेपाली उखान छ ‘बाहुनले च्याउ खाओस् न त्यसको भेउ पाओस्’ भनेझैँ विचरा क्याम्पसको एकाउन्टेन्ट भएर बस्नुभएको हुनाले वैचारिक सङ्घर्ष रोचक लाग्नु स्वभाविक हो । हामी एकता, सङ्घर्ष, रुपान्तरण र नयाँ आधारमा नयाँ एकता चाहान्थ्यौँ । हामी अन्तर्सङ्घर्षको विधि, एकता, सङ्घर्ष र निषेधको राजनीति गरेका छैनौँ र गर्ने पनि छैनौँ । डम्बरजीले त्यही निषेधको राजनीति बुझ््नुभयो, त्यसका लागि धन्यवाद छ । जहाँसम्म यो बहसले राजनीतिक वृत्तमा कस्तो आकार ग्रहण गर्ला भन्ने प्रश्न उठाउनुभएको छ । यथास्थितिवादी र प्रतिगामीको विरुद्ध तेस्रो पोलका रुपमा यसले आकार ग्रहण गरिसकेको छ । जहाँसम्म नयाँ शक्तिको प्रश्न हो, वर्ग पक्षधरमा सामन्तवर्गको वर्गतिर दिशा सोझ्याएको र दिशाविहीन, राजनीतिक उद्देश्यविहीन, एनजीओकरण भएकाले नयाँ शक्तिभित्र यस बहसको कुनै अर्थ राख्दैन ।

१. उहाँले १५ भाइको भनेर सम्झाइदिनुभएको छ, त्यो ठीक हो । यो लडाइँ महाभारत जस्तै नै हो । कौरव र पाण्डवको लडाइँ हो । हामी १५ भाइ सत्यको पक्षमा छौँ । वर्गको पक्षमा छौँ । परिवर्तनको पक्षमा छौँ । अग्रगामी सोँचको पक्षमा छौँ । जित हाम्रो निश्चित छ, डम्बरजीले चिन्ता लिनुपर्दैन ।

२. हामी १५ भाइले आरोप होइन, विचारका कुरा उठाएका छौँ । हामीले पटक पटक लिखित रुपमा र बैठकमा कुरा उठाउँदै आएका छौँ । दोस्रो पूर्ण बैठक २०७४ वैशाखमा भएको थियो । त्यो समय म स्वयम्ले लिखित रुपमा बाबुराम भट्टराईलाई बुझाएको छु । बीचमा अर्थात् जेठमा मुक्ति प्रधानले बुझाउनुभएको छ र कार्यकारी बैठकको ९–१० श्रावणको बेला सबैले देख्नेगरी मञ्चमा म आफैँले बुझाएको छु । त्यो विचार सङ्घीय परिषद्मा राख्ने हामीले हो कि संयोजकले हो ? किन भ्रम पार्न खोजेको हो ? त्यसैले जब वास्ता गरिएन विधानको ९.१ (झ) मा उल्लेख छ, राजनीतिक बहस सार्वजनिक गर्न पाइनेछ । त्यसलाई अनुशासनको दायरामा ल्याइने छैन भनिएको छ । के पत्रकार सम्मेलन गर्नु सार्वजनिक अपराध हो ? भ्रमको खेती कति दिन टिक्ला ? ध्यान दिन जरुरी छ । यो कुरा क्रमशः सबैले बुझिसकेका छन् ।

३. हो, देवेन्द्र पौडेलले रातो कार्पेट विच्छाए पनि जाँदिन भन्नु स्वभाविक हो । त्यो भन्नुको अर्थ बाबुरामको प्रतिबद्धता के थियो भने सबैका विचारलाई सम्बोधन गरेर दस्तावेजलाई समृद्धि गर्ने कुरा गर्नुभएको थियो तर त्यसो गर्नुभएन । अर्को थियो विचारको बहस फोरम चलाएर यही शक्तिमा गर्ने र महाधिवेशनसम्म जाने थियो तर विचार उठाउन वित्तिकै आरोप ठान्ने र निषेध गर्ने तरिका जो गरियो बाध्य भएर यो बाटो अपनाउनु परेको हो । यो दुई चार दिनको खिचडी होइन । बाबुरामलाई बुझ्नुस यो ६ महिनादेखिबाट उठाएको बहस हो । केही बुँदा थपिए होला । के तपाईंलाई थाहा छैन ? स्मरण गर्नु त श्रावण ९–१० को कार्यकारिणीको बैठकभन्दा २० दिन पहिले बालुवाटारमा होटलमा बाबुरामसहित हामी १५, २० जनाबीचको छलफलमा पासाङ शेर्पा, मसहितले संयुक्त मोर्चा र ध्रुवीकरण उपेन्द्र यादवसित मात्र होइन, विचार मिल्ने सबैसित गर्नुपर्छ भन्दा तपाईं, केशव दाहाल, देवी ओझाले असहमती जनाएको होइन ? यो लिखित रुपमा बाबुरामलाई बुझाएका छौँ । यसलाई दुई चार दिनमा खिचडी पाक्यो भन्ने ? स्मरणशक्ति कमजोर भएको भए मेरो भन्नु केही छैन, तर राजनीतिक इमानदारिता पनि हुन्छ भनेर बुझ्न जरुरी छ ।

४. जहाँसम्म आरोप लगाउने साथीहरु सबै उत्तरदायित्वका जिम्मेवार हुनुहुन्छ । सङ्गठन विभाग प्रमुख, प्रदेश प्रमुख हुनुहुन्छ । उहाँहरुलाई आरोप कसका लागि भन्नुभएको छ । विधिका कुरा गर्ने तपार्इंलाई थाहा होला बालुवाटारको होटलमा तपार्इं, केशव दाहाल, गङ्गा श्रेष्ठ र बाबुराम भट्टराईले सङ्गठन विभाग प्रमुखलाई जानकारी नदिईकन, नबोलाईकन १५ दिनसम्म सबै जबस, मोर्चा, पार्टीको टिमलाई बोलाएर छलफल गर्नुभयो र गुटबन्दी गर्नुभयो । के त्यो बेला यिनी प्रदेश प्रमुख र सङ्गठन विभाग चाहिन्छ भनेर याद आएन ? बाबुरामलाई घेराबन्दी गरेर सङ्गठन विभाग प्रमुख, प्रदेश प्रमुखको विरुद्ध छलफल गर्ने, तलैसम्म सम्प्रेषण गर्ने फेरि जिम्मा उहाँहरुको हो भन्न सक्ने कति कागताली जानेको हो । हो, यही कारण नयाँ शक्ति पार्टी या एनजीओ बन्छ या बिघटन हुन्छ निश्चित छ ।

५. अर्को प्रश्न संयोजक एकेडेमीकहरुको घेराबन्दीको प्रश्न हो, त्यो सत्य हो । हामी अग्रगामी, परिवर्तनकामी, विचार र वर्गका पक्षधरका बुद्धिजीवी भए, एनजीओकर्मी र रिटायर्ड प्रशासकहरु भएको क्लबजस्तो भयो, त्यसप्रति चिन्ता हो । फिल्डमा काम गर्ने, सङ्गठन निर्माण गर्ने, गाउँगाउँमा जाने कार्यकर्तालाई उत्पीडन गर्ने, यस्ताखालका अर्थात सभ्रान्त वर्गको प्रतिनिधित्व गर्ने र क्लब बनाएर होटलहरुमा बहस गर्ने बन्न थाल्यो । बाबुरामको स्वभाव यस्तैलाई रुचाउने र वर्षौं सँगै लडेकालाई छाड्ने, विचारलाई छाड्नेप्रति चिन्ता हो ।

६. जहाँसम्म वैचारिक प्रश्न हो, हामीले परम्परागत माक्र्सवाद, लेलिनवाद, माओवादी भन्नु पर्छ भन्ने होइन तर बाबुराम भट्टराईले हामीलाई भनेको माक्र्सवादको समृद्धीकरण हो । यो गतिशील विज्ञान हो भन्नुभएको हो । हामी त्यसमा प्रतिबद्ध थियौँ । कुन वर्गको राजनीतिक कार्यदिशा बनाउने, कुन वर्गको राजनीति गर्ने भन्ने हो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद उत्पीडित शोषित वर्गको विचारधारात्मक हतियार हो । तर राजनीतिक कार्यदिशा अतिभूतवादी आदर्शवाद शोषक वर्गको बनाउने, फेरि द्वन्द्वात्मक भौतिकवादको समृद्धीकरण गर्ने भन्ने कहाँ मिल्छ ? हामीले के बुझेका छौँ भने दुस्मनलाई पनि चिन र आफूलाई पनि चिन, तब लडाइँ कहिल्यै हारिन्न भन्ने द्वन्द्वात्मक भौतिकवादलाई बुझेका छौँ । दुस्मन र उत्पीडित वर्गलाई छासमिस बनाउने दर्शन कहीँ पनि हुँदैँन र हुन पनि सक्दैन । कहिले इतिहासलाई भुल्ने पार्टी बुझ्ने, कहिले पार्टी बुझ्ने समाजलाई भुल्ने दर्शन भनेको ःबतबउजथकष्कतष्अ क्ष्मभबष्किm हो । त्यो एमालेले ग्रहण गरेको छ हामी यो विचारलाई स्वीकार गर्न सक्दैनौँ । हामी उत्पीडित वर्गको पक्षमा छौँ । उत्पीडित राष्ट्रको पक्षमा छौँ । माओवादी जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, दलित, मुस्लिम, थारुहट सबै परिवर्तनकामी आन्दोलनको स्वामित्व लिन चाहान्छौँ र यिनी शक्तिको ध्रुवीकरण चाहेका हौँ । माओवादी जनयुद्धलाई प्रगतिशील आन्दोलन भनेर अपमानित गरेको स्वीकार गर्न सकिँदैन । त्यस्तो सोँच राख्नेले पार्टीलाई सही दिशामा लैजान्छ भन्ने हामीलाई लागेन ।

७. अब बाबुरामलाई पनि दुविधा छ । अग्रगामी, परिवर्तनकामी, पक्षधरताको पक्षमा उभिएर नेतृत्व गर्ने कि सम्भ्रान्त वर्ग, एनजीओकर्मी र यथास्थितिवादी या विचारविहीन पार्टी विवेकशील साझा पार्टीको नेतृत्व गर्ने गम्भीर प्रश्न उठेको छ । हामीलाई उहाँले जो कारबाही गर्नुभयो, त्यो हामीलाई गौरव नै छ । प्रचण्डले नगरेको काम उहाँले गर्दा अब उहाँलाई बुझ्न जनतालाई पनि असजिलो नहोला ।

८. हामीलाई चुनावबाट आत्तिनुभयो भनिएको छ । हामी आत्तिएका होइनौँ । नयाँ शक्ति पार्टीभित्र एकथरी माओवादीलाई देख्नै नसक्ने प्रकृति छ । अर्को प्रकृति कुरा गर्ने ठूलाठूला काम नगर्ने छ । एकथरी बाबुरामको वरिपरि बिहान, बेलुका डा. साहेब भन्ने प्रकृति छ । यो पार्टी बन्ने दिशामा देखिएन । नयाँ पनि आएनन् । ५ (स) को व्याख्या त अन्तर्राष्ट्रिय मानव अधिकार  २०० वर्ष पहिले १९४८ को हुमन राइट डिक्लेरेसनमा नै छ नि । तत्कालको संविधान पनि उल्लेख छ । के नयाँ भयो त ? कसरी गर्ने भन्ने त परिवर्तनकामी शक्तिसित जोडिएर होला नि । प्रतिगामी र यथास्थितिवादीलाई हावी हुन दिने परिवर्तनकामीलाई कमजोर बनाउँदै जाने कतै चालबाजी त होइन ? शङ्का पनि गर्न आवश्यक छ ।

अन्त्यमा, जे भयो ठीक भयो । यो हुनु थियो, बाबुरामसँगका सहयात्री केही साथीहरुले पहिले बुझ्नुभयो र आउनुभएन । हामीले बाबुरामलाई ढिलो बुझियौँ, हीनताबोध छैन गर्व नै छ । रामचन्द्र र रामकुमार इमानदार हामी धोकेबाज पनि भन्नु स्वभाविक हो । रामचन्द्रजी सिधैँ जानुभयो हामीले सत्यतथ्य विचार उठाएका छौँ । बाबुरामले माओवादीमा रहँदा गरेको अन्तर्सङ्र्घष स्मरण गर्नुपर्छ । जहाँसम्म मानवीय प्रश्न हो, हामीले पनि बुझेका छौँ, मानिस सार्वभौम प्राणी हो, राजनीतिमा भावना प्रधान होइन विचार प्रधान हो र स्वाभिमान पनि हो । हामी स्वस्थ थियौँ, हामिलाई घाइते बनाउनुभयो । उहाँको भौतिक रुपमा अप्रेसन थियो, फरक त्यही मात्र हो । तैपनि हेर र पर्खको स्थितिमा छौँ । उहाँ ध्रुवीकरणमा आउन स्वागत गर्न पर्खेर बस्ने पक्षमा छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वामदेव क्षेत्री
वामदेव क्षेत्री
लेखकबाट थप