शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरीको जिर्णोद्धार तथा पुनःनिर्माणमा सहयोग गरेकामा नेपाली सेनाको प्रशंसा

बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ०७
बिहीबार, १९ मङ्सिर २०७६

नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ । 

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने, कलात्मक मयूर झ्याल उपहार दिएका हुन् । 

भक्तपुरको नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि नेपाली सेनाले पु¥याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिएको हो ।
 
नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी (काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो) लामो समयदेखि जीर्ण अवस्थामा रहेको र उक्त पोखरीले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको, वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो पनि भएकाले उक्त रानीपोखरीको २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणको साथै सर्वसाधारण जनताको लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि पोखरीको उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । नेपाली सेनाले स्थानीय जनताको भावना, यहाँको कला, संस्कृति, सम्पदा र धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताए ।  

कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप