मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : नेपाललाई उछिन्दै भारत शीर्ष स्थानमा

बुधबार, १८ मङ्सिर २०७६, २१ : २३
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपाललाई उछिन्दै भारतले अग्रता बनाएको छ । बुधबारसम्म नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ समावेश छ । 

यसैगरी भारत ३३ स्वर्ण, २४ रजत र १३ कांस्यसहित ७० पदक जित्दै पदक तालिकामा शीर्ष स्थानमा रहेकाे छ । यसअघि नेपालले लिड गर्दै आएकाेमा बुधबार साँझयता भारतले अग्रता बनाउँदै नेपाल दोस्राे स्थानमा रहेकाे हाे । 

यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कांस्यसहित ४५ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ कांस्यसहित ६९ पदक जितेको छ । 

पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २६ कांस्यसहित ३७ पदक जित्दा माल्दिभ्स १ स्वर्ण र २ कांस्य जितेर छैटौँ स्थानमा रहेको छ । यता तालिकाको पुछारमा रहेको भुटानले ४ कांस्य जितेको छ ।

तेक्वान्दोको नतिजा

नेपालले तेक्वान्दाको पुरुष ८७ केजी तौल समूहमा सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । 

उनले भारतका वकार अलीलाई २९–९ ले हराएका  हुन् । योसँगै नेपालको स्वर्ण पदक संख्या २९ पुगेको हो ।

त्यसैगरी, नेपालले तेक्वान्दोमै आज अर्को स्वर्णपदक जितेको छ ।

तेक्वान्दोमा नेपालकै संगीताबस्यालले भारतलाई हराउदै स्वर्ण जित्न सफल भएकी हुन् । महिला ६२ केजी तौल समूहमा संगीताले स्वर्ण पदक जितेकी हुन् । उनले भारतकी गगनजोत जिललाई १९–८ ले हराएकी हुन् ।

साग पुरुष क्रिकेट

१३औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १०९ रनले पराजित गरेको छ । टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सको ब्याटिङमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशको लागि तन्भिर इश्लाम एक्लैले ५ विकेट लिए भने अबेदिन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका तन्भिर इश्लाम चुनिए। प्रतियोगितामा बंगालदेशको यो लगातार दोश्रो जित हो । पहिलो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो ।
भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो ।


यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दुरी २३.६६ सकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् । 

सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । 

त्यस्तै लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटर को दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर को दुरीका साथ कास्य जिते । 

महिला लङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर को दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दुरीका साथ कास्य पदक जितिन् ।

पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । 

व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । 

सागअन्तर्गत खो खोको महिलामा नेपालले बुधबार रजत जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित ग¥यो । बंगलादेश तेश्रो भयो । बंगलादेशले श्रीलंकालाई १०–७ ले हरायो ।

पुरुषतर्फ पनि भारत नै च्याम्पियन बन्यो । फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पाखा लगायो । नेपाल र श्रीलंकाबीच तेश्रो स्थानका लागि भएको खेलमा नेपाल १३–७ ले विजयी भयो ।
भारतमा भएको १२ औं सागदेखि खो खोलाई पहिलो पटक समावेश गरिएको थियो । र, अहिले फुटबल अन्तर्गत नेपालले श्रीलङ्काबीचको खेल जारी छ । 

प्रम ओलीको स्वास्थ्य
 
एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताए । 

 मृगौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रकृया जारी रहेको र त्यसपछिको उपचार प्रकृया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार हुने उनले बताए । 

स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार ‘मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो । उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह समेत हेर्नुभएको थियो । सोमबार ओलीले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका थिए । 

नेकपा बैठक

नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपनिर्वाचनको समीक्षा रिपोर्ट केन्द्रीय कमिटीमा पेश गर्न सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समीक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।
कमिटीहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आगामी सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उनले बताए । नेकपाको स्थायी कमिटी र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराएका थिए । 

शेयर बजार 

शेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदविक्री घटाएका छन् । 

बुधबार भने नेप्से बढेको भएपनि तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ । 

लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थमन्त्रीलाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन् । तर विश्लेषकहरु भने अर्थमन्त्रीका कारण भन्दा पनि पूँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मूख्य कारण भएको बताउँछन् । 

२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ । यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन् । बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन् । अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ती र सरकारका नीतिहरु कै कारण शेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाई छ ।  

भिडियो समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप