बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पनि विद्युतीय बस सञ्चालनको तयारी

बुधबार, १८ मङ्सिर २०७६, १९ : १९
बुधबार, १८ मङ्सिर २०७६

बुटवल । सुन्दर यातायात प्रालिले बुटवलमा पनि विद्युतीय बस चलाउने तयारी गरेको छ । काठमाडौंमा  विद्युतीय बस चलाएको सो कम्पनीले रुपन्देहीमा पनि ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको हो ।

त्यसका लागि बुटवलको तीनकुनेमा शाखा कार्यालय स्थापना गरिसकिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई मध्यनजर गरी काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीबाट सेवा विस्तार गर्न थालिएको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए ।

शाखा कार्यालयको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले बढ्दो ब्यापार घाटा कम गर्न र वातावरण संरक्षणका लागि पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए ।
नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सो कम्पनी सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । एक अर्ब रुपैयाँ लागतको उक्त परियोजना अघि बढ्न लागेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । उनकाअनुसार यसमा चिनियाँ कम्पनीले प्राविधिक किसिमको सहयोग गरेपनि प्रत्यक्ष वैदेशिक लगानी भने नल्याउने उनको भनाइ छ । आउँदो ६ महिनाभित्र एसेम्बलको शुरु गर्ने तयारी भएको थापाले बताए ।

सुन्दर यातायातले अहिले काठमाडौंमा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ भने छिट्टै ३० वटा पु‍र्याउने तयारी रहेको अध्यक्ष थापाले बताए । बुटवलमा बसले मुर्गिया र बर्दघाटदेखि बुटवल, भैरहवा हुँदै लुम्बिनीसम्म यात्रुलाई सेवा दिनेछ ।

विद्युतीय बस १० दशमलव ५ मिटर र ८ दशमलव ५ मिटर लामा हुने उनले बताए । उक्त कम्पनीले मुलुकमै पहिलोपटक विद्युतीय बस एसेम्बल्ड प्लान्ट स्थापनाका लागि गृहकार्य समेत शुरु गरेको छ । विद्युतीय बसमा सुरक्षाका लागि सीसी क्यामेरा हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप