शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

राहतमा पनि राजनीति ?

आइतबार, ०४ भदौ २०७४, १० : ३५
आइतबार, ०४ भदौ २०७४

दुई वर्ष अगाडि भूकम्प आउँदा पहाडलाई रुवायो । पहाडसँगै हिमाल र तराई रोयो । मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकास भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो लाग्थ्यो । कसैलाई भेट्दा पनि केही मन ढक्क फुल्ने गर्दथ्यो । मनमनै यिनी पनि सकुशल नै रहेछ जस्तो लाग्थ्यो । महिनौँ पछिसम्म पनि कसैसँग भेट्दा खुशी हुन्थ्यौँ । यो भावना महिनौँसम्म चल्यो ।

अहिले तराई डुबानमा छ । तराईको विपत्तिको कुरा सञ्चार माध्यमबाट सुन्दा र देख्दा पनि कहाली लाग्दो छ । समय र परिस्थिति फरक भए पनि समस्या र पीडा उस्तै पायौँ । प्रकृतिको जथाभावि विनास गर्दा र संरक्षण गर्न नसक्दा ‘आमा’ पनि भन्न नपाइने रहेछ । कताबाट कसरी आयो मान्छे डुबाउने मुसलधारे पानी ? एक रात परेको पानी पनि यस्तो होला र, या कतै जमिन फाटेर हो वा मूलै फुटेर जवाफ कसैसँग छैन । एकै छिनमा आधा नेपाल डुबानमा पर्यो । तराईको गर्मीमा पानीभित्र शीतलता खोज्ने त्यताको जीवन, संसारैभरि पानी, कल्पनाभन्दा बहिर थियो । कहिले सुख्खा त कहिले आगलागी, कहिले खडेरी त कहिले शीतलहरले आक्रान्त बनाउने तराई यो पटक बाढीले सर्वस्व बगाउँदा सम्पूर्ण नेपालीलाई स्तब्द बनाउनु स्वाभाविकै हो । अझ मरेको लासलाई गाड्न जमिन नभएर पानीमा बगाउनुपर्ने बाध्यता फोटो पत्रकार नरेन्द्रको फोटो र पानी सुक्दै गर्दा लास भेटिएका खबर सुन्दै गर्दा जोकोही नेपालीको मन विच्छिप्त हुनु स्वाभाविक हो ।

विपद् जस्तोसुकै होस्, यी दुई घटनाहरुले कुन नेपालीलाई छुँदैन र ? उपत्यका वा पहाडमा आएको भूकम्प होस् या पहिरो वा तराईमा आउने वर्षैपिच्छे तराईमा हुने डुबानको समस्या । विपद् भनेको विपद् नै हो । न यसले धनी गरिब भन्दछ, न त यसले मेरो वा तेरो नै । प्रकृतिक विपद्को सामना सबैले समान ढङ्गले गर्नै पर्छ । पहाडको भूकम्प र पहिरोले रुँदै गर्दा तराईले आवश्यक सामग्रीसहित सहयोग र साथ दिएका थिए । तराईकै अधिकांशले पहाडका झुपडी बनाउन सहयोग गरेका थिए । तर आज तराई रुँदै गर्दा पहाड उपत्यकाले किन साथ र सहयोगका हातहरु बढाउन गम्भीर भएनन् । तराईका बालबालिका, महिला, वृद्ध वृद्धाहरु विचल्लीमा पर्दैगर्दा किन चाडको माहौल सृजना भइरहेको छ । 

पहिलो, इतिहासमा कथा जस्तो भए पनि टाढाको माइती, घरको समस्या, शोषण, पीडा र समाजका विकृति विसङ्गतिको खुलेर आवाज उठाउने दिनका रुपमा महिलाहरुको तीजलाई लिइन्थ्यो । आज भोलि हप्तौँ अगाडिदेखि ब्याङ्क्वेटहरु बुकिङ गर्दै तीजका कार्यक्रम गर्ने विकृति बढ्दो छ । अझ आजभोलि तीजका दरमा फलफूल हैन, ह्विस्की वाइनको प्रचलन बढेर गएको छ । बाढी र डुबानले देश आक्रान्त भएको अवस्थामा, के हामी सम्पूर्ण नेपाली महिलाहरु यस वर्षको तीज नमनाउने आँट गर्न सक्छौँ । वा हामीले तीजका लागि छुट्याएको रकम बाढीपीडित क्षेत्रमा राहत स्वरुप हस्तान्तरण गर्न सक्छौँ ? किन हामी मलामी जाँदा रातो साडी र सुट बुटमा जाँदैछौँ ?

दोस्रो, त्यसो त राहत सङ्कलनका कार्य उपत्यकाभित्र मात्र हैन देशैभरि सञ्चालन भइरहेको छ । विगतको विपद्मा राहत सङ्कलन कार्य पनि कसै कसैलाई दशैँ जस्तै लाग्यो । जनताले पीडितसम्म पुगोस् भनेर दिएको राहत वास्तविक पीडितसम्म पुग्न सकेन । पीडित खान नपाएर मर्दै गर्ने पीडितका नाममा सङ्कलन भएको राहत पीडितसम्म नपुग्ने । राहत पनि ठगी खाने भाँडो भएको थियो । यति मात्र हैन एक प्याकेट चाउचाउ राहात दिएर पनि सञ्चार र समाजिक सञ्जालमा स्वप्रचार गर्ने कार्यहरु पनि धेरै भए । यस्तै समस्या समाधानका लागि सरकाले यो पटक एकद्वार प्रणाली अपनाएको छ, ताकि वास्तविक पीडितले राहात प्राप्त गरी आफ्नो जीवन सहज अनुभूति गरोस् । यो हस्तक्षप गर्ने वित्तिकै राहत सङ्कलनमा कमी अवश्य आएको छ । 

तेस्रो, यी सम्पूर्ण कुरा गर्दैगर्दा सदनतिर पनि अवश्य सबैजनाको ध्यान जान्छ नै । देश बाढीले आक्रान्त हुँदै गर्दा सदनमा गाईजात्रा चल्दै थियो । डुबानमा परेकाहरुलाई कसरी तत्काल राहत र उद्दार गरी राष्ट्रिय सहमति कायम गर्नेभन्दा पनि सत्ता पक्ष र प्रतिपक्षबीच दुुई नम्बर प्रदेशको चुनाव केन्द्रित राजनीति व्यस्त थियो । ४, ५ दिन अगाडिदेखि डुबानमा परेका क्षेत्रका संसदहरुले बोल्न विशेष समय माग गरिएको थियो । डुबानमा परेका संसदहरुले विशेष समयमा बोल्न ४०, ५० जनाले नाम लेखाएका थिए । तर, एकै दिनमा एकाएक दुईवटा कार्यसूची आयो । एकमा सार्वजनिक सरोकारको विषय नभएको अर्कोमा सार्वजनिक सरोकारसहितको । जसले गर्दा १५ मिनेट सदन स्थगनपश्चत पुनः संसद चल्यो । दुई दिनसम्म प्रतिपक्ष दलका नेता भीमरावलले राख्नुभएको सार्वजनिक सरोकारको विषयमा छलफलमै सीमित रह्यो । प्रतिपक्ष भनेको वेइटिङ सरकार हो । यसमा विमति छैन तर, देश सङ्कटमा पर्दा प्रतिपक्षको मुख्य भूमिका राष्ट्रिय सहमति कायम गर्न हुनुपर्दथ्यो । विगतमा भूकम्प आउदा ऐतिहासिक संविधान बनाउने चटारो सबैलाई थियो । तर, राष्ट्रिय सङ्कट आउँदा जसरी तत्कालीन प्रतिपक्ष दलका प्रमुख नेता पुष्पकमल दाहल (प्रचण्ड) ले जुन भूमिका खेल्नुभयो यो सबैले अनुसरण गर्न योग्य नै थियो ।

वास्तवमा प्रतिपक्षले राष्ट्र सङ्कटमा हुँदा राष्ट्रिय एकताको आह्वान गर्दै सम्पूर्ण सदनलाई एकताबद्ध बनाउन सक्नु पर्दथ्यो । पीडितहरुको उद्धार न सत्तापक्ष न  प्रतिपक्ष एकजुट भएर अगाडि बढ्न महत्वपूर्ण भूमिका खल्न आवश्यक थियो । अझ प्रतिपक्षमै बसेर पनि सरकारले गरेको राहत वितरण, उद्धारका काम कारवाहीमा अनुगमन गर्ने र सुझाव सल्लाह दिने भूमिका खेल्नुर्पथ्र्यो । तर तराई डुब्दै गर्दा उद्धारभन्दा पनि दुई नम्बरको प्रदेश चुनाव र सविधान संशोधन रोक्ने रणनीति बनाउँदै फुर्सद छैन प्रतिपक्षलाई । 

नेपालको बाढीपहिरो प्राकृतिक प्रकोप दिन प्रतिदिन विकराल हुँदै छ । आजको समस्या सेलाउन नपाउँदै कहिले अर्को विपद् आइलाग्नेको थाहा छैन । छिमेकीसँगको राष्ट्रघाति सम्झौता, जलवायु परिवर्तन वन जङ्गलको विनास, जथाभावि प्लटिङका कारण समस्या झन् विकराल बन्दैछ । यस्तो अवस्थामा न सत्ता पक्ष न प्रतिपक्ष, न तराई, न पहाड सम्पूर्ण नेपाली एकताबद्ध भई पीडितलाई तत्काल राहत र राष्ट्रिय समस्या समाधानको लागि एकताबद्ध हुन जरुरी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रुपा महर्जन (श्रेष्ठ)
रुपा महर्जन (श्रेष्ठ)

रुपा महर्जन (श्रेष्ठ) नेकपा माओवादी केन्द्रकी सांसद हुन् ।

लेखकबाट थप