प्रेस रिभ्यू : अस्पतालबाटै सरकार र पार्टी चलाउँदै प्रम ओली, मन्त्रिपरिषद्को निर्णयबाटै मन्त्रीहरुलाई सागमा दौरासुरुवाल
आज मंसिर १८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा १३ औँ दक्षिण एसियाली खेलकुदका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि समाचारहरु प्रकाशित छन् ।
कान्तिपुर दैनिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने समाचार छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने । एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।
पत्रिकामा अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री शीर्षकमा समाचार पनि छ । प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नै पर्ने काम नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । ‘सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, ‘आवश्यक विषयमा सचिवालय र सल्लाहकार मार्फत समन्वय भइरहेको छ ।’ उनले मन्त्रीहरुको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत भइरहेको जानकारी दिए ।
नयाँ पत्रिका दैनिकमा मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार मन्त्रीलाई पनि दौरा–सुरुवाल शीर्षकमा समाचार छ । दक्षिण एसियाली खेलकुद ९साग०का आयोजकले मन्त्रीलाई दौरा–सुरुवाल दिने निर्णयको बचाउ गरेको छ । मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधिअनुसार र चलिआएको परम्पराअनुसार नै पोसाक दिएको उसको स्पष्टीकरण छ ।
‘साग सम्पन्न गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरिएको छ, समितिमा रहेका मन्त्रीहरूलाई पनि पदाधिकारीका रूपमा पोसाक दिइएको हो,’ १३औँ साग सचिवालयका प्रमुख कमल खनालले नयाँ पत्रिकासँग भने । खेलाडी र व्यवस्थापकलाई पोसाक दिनु स्वाभाविक भए पनि खेलकुदबाहेकका मन्त्रीलाई पनि पदाधिकारी मानेर पोसाक किन दिइयो भन्ने प्रश्नमा आयोजकमध्येका अर्का अधिकारी भन्छन्, ‘विगतमा पनि तत्कालीन युवराजाधिराजसम्मलाई यसै गरी पोसाक दिने गरिएको थियो, त्यो हाम्रो परम्परा हो, त्यसैले मन्त्रीहरूलाई पोसाक दिनु नौलो विषय होइन ।’ नीतिगत निर्णयअनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल र कोट लिइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दौरा–सुरुवालबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।
पत्रिकामा नेता ठेकेदार भएका योजना अलपत्र हुने गरेको समाचार पनि छ । ओखलढुंगामा पूर्वाधार विकासका दर्जनभन्दा बढी योजना अलपत्र छन् । विभिन्न राजनीतिक दलका नेता ठेकेदार बनेर ठेक्का लिएका योजना अलपत्र परेका हुन् ।ठेक्का लागेका जिल्लाको मुख्य तथा सहायक सडक निर्माणदेखि पक्की पुल, शिक्षा र स्वास्थ्यका भवनसहितका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । कतिपय योजनाको काम तोकिएको समय सकिँदासम्म सुरु नै भएका छैनन् । अधिकांश योेजना अलपत्र छन् । यी सबै अलपत्र योजनाका ठेकेदार नेता हुन् । १० वर्षअघि तत्कालीन स्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेले रामेछापको साँघुटारमा शिलान्यास गरेको साँघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरीघाट सडक अलपत्र छ । कांग्रेस नेता कान्छाराम तामाङ, जितबहादुर श्रेष्ठसहितका निर्माण व्यवसायीले जिम्मा लिएको उक्त सडकमा भएको कामसमेत गुणस्तरीय नभएको संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बताइन् । नेता नै ठेकेदार रहेको र अलपत्र परेको अर्को योजना हो, मान्द्रे दोभानमा निर्माणाधीन पक्की पुल । ठेकेदार राजेन्द्र–लोकप्रिय जेभीका भीमबहादुर साउद कांग्रेस नेता हुन् । उनी अहिले डडेल्धुराको परशुराम नगरपालिकाका मेयर छन् । मोलुङ–एकवार सडकअन्तर्गतको मोलुङ दोभानमा अर्को सडक पुल निर्माणको काम अलपत्र छ । वाइबा–केउरिनी जेबी कन्स्ट्रक्सनका ठेकेदार रवीन्द्र लामा कांग्रेस नेता हुन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी चलेको समाचार छ । विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले नेपाली पक्ष राजनीतिक खपताका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डियन एक्सप्रेस’ मा लेखमार्फत लगाएका थिए । उनको आलेखलाई राष्ट्रसंघका प्रतिनिधिसमेत भएका आचार्यले खण्डन गरेका हुन् । आचार्यले उक्त अभिव्यक्त झुटो रहेका बताएका छन् ।
यता, भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतवासी नेपालीले लण्डनमा प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आह्वानमा लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।
नागरिक दैनिकमा बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको बताएका विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् । यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति केन्द्रलाई समेत कन्भिन्स गरेर ल्याउँथे । नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नासाथ आक्रममा पुग्थे । गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे । त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैँसी पूजा गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे