शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : सागमा नेपालको उत्कृष्ट प्रदर्शन

मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : १५
मङ्गलबार, १७ मङ्सिर २०७६

जिप दुर्घटनामा १४ को मृत्यु 

गुल्मीको इस्मा गाउँपालिका– ४ स्थित पैयाँपाटा कुलपूजाको लागि बागलुङको देवीस्थान जाँदै गरेको जिप दुर्घटना हुँदा एकै स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।  एक जना भने खोलाले बगाएर अझै बेपत्ता छन् ।

कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट  उद्धार गरिएको हो । 

जिप निकै पुरानो र बेला बेला ब्रेक फेल हुने समस्या हुँदा पनि संचालनमा ल्याउँदा भयानक दुर्घटना हुन पुगेको जिल्ला समन्वय परिषद् गुल्मीका संयोजक लक्ष्मण पराजुलीले बताए । 

इलका प्रहरी कार्यालय भीमबिखेका प्रहरी नायव निरिक्षक रिनबहादुर बैदराका अनुसार गाडी तीब्र गतिमा चलाएका कारण दुर्घटना भएको देखिएको छ । 

सागको पदक तालिका 

१३औं दक्षिण सियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २३ स्वर्ण जितेको छ । तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा स्वर्ण जिते । फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले हराए । मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोमा स्वर्ण दिलाइन् । मंगलबार नेपालले तेक्वान्दोबाट दुई, कराँतेबाट दुई, उसुबाट दुई, एथलेटिक्सबाट र ट्रायथलनबाट एक एक गरी आठ स्वर्ण जितेको छ । 

यसैगरी भारतले १० स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ  भने श्रीलंकाले ५ स्वर्ण, १३ रजत र १९ कास्य जितेको छ । पाकिस्तानले २ स्वर्ण, ५ रजत र ८ कास्य जितेको छ भने बंगलादेशले १ स्वर्ण ३ रजत र १९ कास्य हात पारेका छ । यता माल्दिभ्सले भने १ स्वर्ण मात्र हासिल गरेको छ । र, भुटानले अहिलेसम्म १ कास्य मात्रै जितेको छ । 

भिडियोमा समाचार हेर्नुहाेस्

फुटबलमा नेपालको विजयी सुरुवात 

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । 

नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो । कप्तान सुजल श्रेष्ठको उत्कृष्ट प्रदर्शनमा नेपालले भुटानमाथि लगातार दबाब बनाएको थियो । नेपालको जितमा कप्तान श्रेष्ठले दुई गोल गरे । 

खेलको पाचौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका उनले ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई सुरक्षित अवस्थामा पु¥याएका थिए । ६५औँ मिनेटमा अभिशेष रिजालले तेस्रो गोल गरे । ७७ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै नेपालको जित सुनिश्चित गरेको हो । जारी प्रतियोगितामा भुटानले यसअघि बङ्गलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा भुटानले दुई खेलबाट तीन अंक जोडेको छ भने नेपालले पहिलो खेलबाटै तीन अंक बटुलेको हो ।

उता महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालका लागि सरु लिम्बूले ८८ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । 

खेलको १५ औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । 
टिमका क्यापटेन निरु थापाले खेलको ३८ औं मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथना ले सहजै रोकिन् । 

खेल अवधिभर पूरा दबाब राखेको नेपालले दोस्रो हाफको १३ औं मिनेटमा साम्भाले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो । 

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले आजको श्रीलङ्काविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । 

एथलेटिक्समा सन्तोषीको रेकर्ड

यता २६ वर्षीया सन्तोषी रुेष्ठले मंगलबार एथलेटिक्सको १० हजार मिटर दौडमा भारतकी कविता यादवलाई एक मिलिसेकेण्डले पछि पार्दै नेपाललाई ऐतिहासिक स्वर्ण जिताएकी छन् । 

कुनैपनि महिला एथलेटिक्स खेलाडीले नेपाललाई जिताएको यो अहिलेसम्मकै पहिलो स्वर्ण हो ।  यसअघि नेपालकी कान्छीमाया कोजुले श्रीलंकामा २००६ मा भएको सागमा १० हजार मिटरमा रजत पदक जितेकी थिइन् । 

पुरुष म्याराथनमा भने बैकुन्ठ मानान्धरको किर्तिमान अहिलेसम्म दक्षिण एसियामा कसैले तोड्न सकेका छैनन् ।  सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन् । सबै ल्यापमा अगाडि रहेकी सन्तोषीलाई अन्तिम ल्यापको अन्तिम पाइलामा भारतकी कतिवाले उछिन्न खोजिन्, तर उनले अन्तिम फड्कोमा कवितालाई उछिनेरै छाडिन् । जहाँ कविताले ३५ मिनेट ७.९५ सेकेण्डमा दौड सक्दै रजतमा चित्त बुझाइन् ।

पुरुष भलिबल 

त्यसैगरी, सागमा पुरुष भलिबलतर्फ भारत विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको छ । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो । पहिलो सेटमा पाकिस्तान २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो र भारत ३–१ को सोटमा विजयी भयो । यस्तै महिला भलिबलमा पनि भारतले नै स्वर्ण जित्दा नेपाल रजतमा चित्त बुझाउन बाध्य भयो ।

उद्योग समिति 

उपभोक्ता अधिकारकर्मीहरुले बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुहरुको गुणस्तरमा कमि आएको र मूल्यवृद्धि अत्याधिक भएको बताएका छन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबारको बैठकमा उपभोक्ताकर्मीहरुले नीतिगत व्यवस्था र अनुगमन गर्ने विभागमा सुशासनको अभाव हुँदा अनुगमन प्रभावित भएको बताएका हुन् ।

 उनीहरुले बजार महँगो हुनुका साथै गुणस्तरहिन वस्तु आउँदा समेत अनुगमन हुन नसकेको बताएका छन् । अत्यावश्यक वस्तुहरु दुध, तरकारी, पानी, तेल, औषधी लगायतका वस्तुको गुणस्तर र मूल्यमा अनुगमन आवस्यक रहेको उनीहरुको भनाई छ ।

बैठकमा खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने विषयमा उपभोक्ताकर्मीहरुसँग पहिलो चरणको छलफल गरिएको उपभोक्ता हित अनुगमन उपसमिति संयोजक नरबहादुर धामीले बताए ।  उनले अत्यावश्यक उपभोग्य वस्तुमा अनुगमन आवश्यक रहेको बताए । 

मलेसियाले नेपालसँग माग्यो कामदार

मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो ।

लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि गएको अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो । पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग गरेको हो ।

विधेयक माथिको छलफल लम्बियो

राज्य व्यवस्था समितिको बैठकमा विषय बाहिर गएर छलफल हुन थालेपछि विधेयक माथिको छलफल लम्बिएको छ । संघीय निजामती सेवाको गठन संचालन सम्बन्धी बिधेयक यसैको शिकार बनिरहेको छ ।

बैठकमा संघिय निजामती सेवाको गठन संचालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकको प्रतिवेदनमा छलफल भैरहेको छ । यो विधेयकमाथि समितिमा छलफल हुन थालेको १ वर्ष हुन लागेको छ । विधेयकमा भएका धेरै विषयमा प्रारम्भिक चरणका छलफलमा नै टुंगिएको थियो । 

संघीय निजामती सेवाको उमेर हद, बढुवा प्रक्रिया, सचिव स्तरीय पदको नियुक्ति बाहिरबाट पनि हुने विषय जस्ता विषयमा भने एकमत हुन सकेको छैन । यसैबीच विधेयक दर्ता गर्ने मन्त्रालयमा मन्त्री समेत फेरिएको छ । अहिले चलिरहेको बैठकमा विषय केन्द्रित भन्दा बाहिर गएर छलफल भइरहेको छ । साथै शब्द शब्दमा समिति सदस्यहरु बहसमा उत्रिएको देखिन्छ ।

प्रतिबेदन माथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमति जुटाएका बिषयमा तयार परेको प्रतिवेदनमा छलफल हुँदा पुराना सहमति भएका विषय पनि उल्टिएर बहसको बिषय बनेको छ । 
यसरी अनावश्यक बहसको कारणले आजको बैठक ठोस सहमति बिना स्थगित भएको छ । 

महिला हिंसा 

धार्मिक अगुवाहरुले अज्ञानता र अन्धविश्वासको कारण विकासोन्मुख देशहरुमा धर्मको नाउँमा नारीशोषण, भेदभाव, दमन तथा पितृसतात्मक व्यवहार हुने गरेको बताएका छन् । 

महिला हिंसा न्यूनीकरणमा धार्मिक अगुवाहरुको भुमिका सम्बन्धी मंगलबार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा उनीहरुले धर्मका नाउँमा महिला हिंसा बढ्दै गएको बताएका हुन् । सन १८७० देखि संयुक्त राष्ट्रसँघले महिला हिंसा विरुद्धको अभियान चलाएको भएपनि विकासोन्मुख मुलुकहरुमा अझैपनि धर्मको नाउँमा कुनै न कुनै हिंसा हुने गरेको उनीहरुको भनाइ छ । धार्मिक अगुवाहरुले महिलामाथि हुने गरेको पीडा, क्षति, अवहेलना, ठगी, अपमान र दुव्र्यवहार नै हिंसा भएको बताउँदै ती सबै कामहरु धर्मकै नाउँमा हुने गरेको बताएका छन् । 

हरेक वर्ष नोभेम्बर २५ मा ‘महिला हिंसा विरुद्ध अन्र्तराष्ट्रिय दिवस’ मनाउने गरिन्छ । सोही अनुसार नेपालमा पनि २५ नोभेम्बरदेखि १० डिसेम्बर सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान देशैभर सञ्चालन गरिने भएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप