बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

वेल प्लेड गर्ल्स !

जीतको नजिक पुगेर हार्दाको पीडा
मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : ०७
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिलातर्फको भलिबल खेलको फाइनल खेल सुरु हुनुअघिसम्म नेपाली टोलीका समर्थकहरुसँग नेपालले स्वर्ण जित्ने झिनो मात्र आशा बाँकी थियो । किनभने नेपाल सामु थियो, बलियो प्रतिद्वन्द्वी भारत ।

समूह चरणको खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भइसकेको थियो ।

फाइनलमा पनि भारत समूह चरणजस्तै हाबी हुने अनुमान धेरैको थियो । र, सुरुवातमा भयो पनि त्यस्तै ।

नेपालले १७–२५ ले पहिलो सेट गुमायो ।

तर, नेपाली चेलीहरु सजिलै हार कहाँ मान्थे र ? दोस्रो सेटमा आफ्नो खेल सुधारे र २५–२३ ले सेट आफ्नो पक्षमा पारे ।

यता, खेल हेर्न पुगेका नेपाली दर्शकहरुको हुटिङले कभर्डहल गुञ्जयमान हुन थाल्यो ।

तेस्रो सेटमा पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपाली चेलीको हौसला बढाउन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन पनि दर्शकदीर्घामा उत्साहित देखिन्थे । नेपालले २५–२१ ले सेट आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता बनायो ।

अब नेपाललाई स्वर्णका लागि एक सेट जित्नमात्र पर्ने थियो ।

नेपाली दर्शकको हुटिङ अझ चर्को हुन थालिसकेको थियो । खेलअघिसम्म नेपाल रजत पदकमा सिमित हुने लख काटेकाहरु समेत नेपालले स्वर्ण जित्नेमा आशावादी बनिसकेका थिए ।

तर, सबैको आशा केही बेरमा नै निराशामा बदलियो । बलियो टोली भारतले त्यसपछि सशक्त खेल प्रदर्शन गर्यो । नेपालले अन्त्यमा ६–१५ ले सेट गुमायो र खेल ३–२ ले भारतलाई सुम्पियो ।

हारसँगै केही बेरसम्म उत्साहित बनेको माहौल भावुक बन्न पुग्यो । जित नजिक पुगेर पराजय बेहोर्नु पर्दा नेपाली खेलाडीहरुले आँखा आँशुले छप्पकै भिजे । टोलीका अन्य सदस्यहरु खेलाडीहरुलाई सम्झाउनतिर लागे ।

सागको इतिहासमा नेपालले महिला भलिबलमा रजत जितेको यो पहिलो पटक हो । यसअघि नेपाली महिला भलिबल टोलीले सागमा तीन पटक काँस्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा काँस्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप