शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक मिलिसेकेण्डको महत्त्व र सन्तोषीको स्वर्ण

जितपछि भनिन्–म यो पदक गरिब र अवसर नपाएका महिलाप्रति समर्पित गर्न चाहन्छु
मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : ३१
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । एक मिलिसेकण्डको महत्त्व जीवनमा कस्तो हुन्छ भन्ने सायद कसैले बुझेका होलान् । समयको महत्त्वको वास्तविक अर्थ मंगलबार नेपालकी सन्तोषी श्रेष्ठले बुझेकी छन् ।

 ‘समयको म त्यति ख्याल गर्दिनँ थिए । १३ वर्षको उमेरदेखि स्कुलस्तरको दौडमा भाग लिन्थेँ । कलेजमा स्नातक सकेपछि फेरि दौडन सुरु गरेको हुँ । सागमा राम्रो गर्छु भन्ने लागेको थियो । तर दौड सुरु गरेको दुई वर्षमा देशलाई स्वर्णनै जिताएर खुसी भएकी छु । जीवनमा एक मिलिसेकेण्डको महत्त्व अहिले आएर बुझेँ,’ धादिङ ज्वालामुखी धाविका सन्तोषीले भनिन् ।

२६ वर्षीया सन्तोषीले मंगलबार एथलेटिक्सको १० हजार मिटर दौडमा भारतकी कविता यादवलाई एक मिलिसेकेण्डले पछि पार्दै नेपाललाई ऐतिहासिक स्वर्ण जिताएकी छन् । कुनैपनि महिला एथलेटिक्स खेलाडीले नेपाललाई जिताएको यो अहिलेसम्मकै पहिलो स्वर्ण हो ।

यसअघि नेपालकी कान्छीमाया कोजुले श्रीलंकामा २००६ भएको सागमा १० हजार मिटरमा रजत पदक जितेकी थिइन् । पुरुष म्याराथनमा भने बैकुन्ठ मानान्धरको किर्तिमान अहिलेसम्म दक्षिण एसियामा कसैले तोड्न सकेका छैनन् । 

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन् । सबै ल्यापमा अगाडि रहेकी सन्तोषीलाई अन्तिम ल्यापको अन्तिम पाइलामा भारतकी कतिवाले उछिन्न खोजिन्, तर, चतुरी सन्तोसषको धैर्यता गुमेन । उनले अन्तिम फड्कोमा कवितालाई उछिनेरै छाडिन् । जहाँ कविताले ३५ मिनेट ७.९५ सेकेण्डमा दौड सक्दै रजतमा चित्त बुझाइन् ।

पब्लिक हेल्थ विषयमा स्नातक गरेकी सन्तोषी पढाइ र खेललाई सँगै लैजाँदै छिन् । सागमा पनि उनले बन्द प्रशिक्षण बाहिर बसेर तयारी गरेकी हुन् । उनलाई एथलेटिक्सका पूर्वप्रशिक्षक रघुराज वन्तले अभ्यास गराए । 

रघुराजको घर गोरखा र सन्तोषीको घर धादिङ । नाताले सन्तोषी रघुराजका फुपुकी नातिनी हुन् । काठमाडौंको पढाइसँगै सन्तोषीको एथलेटिक्समा निखारता ल्याउने काम उनै रघुराजले गरे । उनलाई सागको प्रशिक्षणमा मुख्य प्रशिक्षक चन्द्र गुरुङले पनि सघाएका थिए ।

 सन्तोसीले आफूभित्र एथलेटिक्सको दम भएको त्यतिबेला थाहा पाएकी थिइन् । जब उनलले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच हजार मिटर दौडमा स्वर्ण जितिन् । त्यसपछि सागमा छनोट भएकी सन्तोषीको यो नै पहिलो अन्तर्राष्ट्रिय पहिलो सहभागिता हो । 

‘सागको पहिलो सहभागितामै स्वर्ण, त्यो पनि नेपाली महिलामा पहिलो जित्दाको खुशीलाई शब्दमा ब्यक्त गर्न सक्दिनँ । तरपनि म यो पदक गरिव र अवसर नपाएका महिलाप्रति समर्पित गर्न चाहन्छु । अवसर पाए भने दुर दराजमा रहेका नेपालका धेरै पिटडिएका महिलाले खेलाडी बनेर देशको नाम राख्नेछन् । मैले पनि अन्जानमै स्वर्ण जितेको हुँ,’ सन्तोषीले भनिन् । 

उनका गुरु रघुराजले सन्तोषीमा असिमित प्रतिभा रहेकोले उनले एसियाली खेलकुदमा समेत पदक ल्याउन सक्ने बताए । सन्तोषीले अवको पहिलो ध्यान कै साग पाँच हजार मिटरको दौडमा रहने बताइन् । त्यसमा पनि उनको लक्ष्य स्वर्णको हुनेछ ।

मंगलबार एथलेटिक्समा नेपालले एक स्वर्ण र एक कांस्य जित्दा पुरुष १५ सय मटिर दौडमा नेपाललाई कांस्य पदक टंक कार्कीले दिलाए । टंकले निर्धारित दूरी तीन मिनेट ५९.२० सेकेन्डमा पूरा गरेका थिए । यस स्पर्धामा स्वर्ण र रजत भारतले जित्यो । सोही स्पर्धाको महिलामा सरस्वती भट्टराई पाँचौ स्थानमा रहिन् । श्रीलंकाकी कुबुरालागेले स्वर्ण र भारतका चद्राले रजत र चित्रा पलाकिजलेक कांस्य जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप