बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरुले मोटोपन घटाउने, डाइबिटिज हुन नदिने औषधी बनाए

मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : २३
मङ्गलबार, १७ मङ्सिर २०७६


वैज्ञानिकहरुले यस्तो ट्याब्लेट बनाएका छन् जसले अब मोटोपनलाई बाईबाई गराउनेछ । साथै, त्यो ट्याब्लेटको प्रयोगले मोटोपनको कारण हुने टाइप २ डाइबिटिज पनि लाग्ने छैन । 

यो ट्याब्लेटले हाम्रो सानो आन्द्रामा एउटा यस्तो पत्र निर्माण गरिदिनेछ, जसले गर्दा सानो आन्द्राले गुलियो सोस्न सक्दैन । आन्द्रामा त्यस्तो तह निर्माण गरिदिने सो पदार्थलाई वैज्ञानिकहरुले लुसीआई (LuCI)नाम दिएका छन् । 

हामीले खाएका खानेकुराहरुमा धेर थोर मात्रामा गुलियो हुने गर्छ । खासगरी कार्बोहाइड्रेड त्यो गुलियोका मुख्य स्रोत हो । हामीले खाएको खानेकुराबाट पोषकतत्वहरु मूलतः सानो आन्द्राबाट सोसिएर रगतमा जाने गर्छ । हामीले उक्त लुसीआई औषधी खायौं भने सानो आन्द्राबाट अन्य पोषकतत्वहरु त सोसिएर रगतमा जान्छ तर त्यसले गुलियोलाई चाहिँ सोसिन दिँदैन । वैज्ञानिकहरुले के आशा गरेका छन् भने यो औषधिको मद्दतले मोटोपन र टाइप टु डाइबिटिजलाई रोक्न र उल्ट्याउन सकिन्छ । 

जनावरहरुमा उक्त औषधीको प्रयोग गर्दा त्यसको सकारात्मक परिणाम प्राप्त भएको थियो । उक्त औषधीले सानोआन्द्रामा एउटा तह निर्माण गरेर गुलियो पदार्थ सोसिन नदिएको पाइएको थियो । सो औषधीको प्रयोग गर्दा खानेकुरा खाइसकेपछि पनि शरीरमा ग्लुकोजको मात्रा नबढेको पाइएको थियो । सामान्य अवस्थामा हामीले खानेकुरा खाइसकेपछि रगतमा ग्लुकोजको मात्रा बढेर जान्छ र त्यो केही समयसम्म बढेकै अवस्थामा रहिरहन्छ । 

मुसामा उक्त औषधीको प्रयोग गर्दा १ घण्टापछि मुसाको रगतमा ग्लुकोजको मात्रा ४७ प्रतिशतसम्म घटेको पाइएको थियो । र, त्यो औषधीले सानो आन्द्रामा ग्लुकोज सोस्न नदिने गरी निर्माण गरिदिएको पत्र चाहिँ ३ घण्टापछि आफैं घुलिएर नष्ट भएको थियो  ।

यो औषधी धुलो पाउडरको रुपमा क्याप्सुलमा हालिएको अवस्थामा पनि खान सकिन्छ । यो औषधीले मोटोपन हटाउनको लागि गरिने शल्यक्रियाको जस्तै काम गर्न सक्छ । भविष्यमा मानिसमा यो औषधि सफल र प्रभावकारी भयो भने तौल घटाउनको लागि गरिने लामो, झन्झटिलो र खर्चिलो प्रक्रियालाई नै विस्थापित गरिदिनेछ । 

मोटोपन घटाउनको लागि अहिले प्रचलनमा रहेको उपचारमा ग्यास्ट्रिक बाइपास सर्जरी हो । यसमा आमाशयमा एउटा ग्यास्ट्रिक थैलो बनाइन्छ जसले खानेकुराहरुको एउटा ठूलो हिस्सा  आमाशयमा राम्ररी पच्न पाउँदैन र सानो आन्द्राले त्यसलाई राम्ररी सोस्न सक्दैन ।  यो शल्यक्रिया गरेका मानिसहरुको आमाशयमा राखिएको ग्याँस्ट्रिक व्याण्डले मानिसहरुलाई थोरै मात्रै खाँदा पनि अघाएको अनुभूत गराउँछ । हुनत यो प्रक्रियालाई उल्टाउन सकिन्छ र तर त्यसका लागि पनि पुनः अपरेशन नै गर्नुपर्ने हुन्छ । 

मोटोपनाले मानिसमा डाइबिटिज लाग्ने सम्भावना ८० देखि ८५ प्रतिशत बढाइदिन्छ । डाइबिटिजमा रगतमा ग्लुकोज अर्थात् चिनीको मात्रा अति बढी हुन्छ । विशेष गरेर मोटोपनको कारण हुने टाइप २ डाइबिटिजमा शरीरमा इन्सुलिनले राम्ररी काम गदैन । इन्सुलिन त्यस्तो हर्मोन हो जसको मद्दतले हाम्रो शरीरका कोषहरुले रगतको मार्फत् आपूर्ति हुने ग्लुकोजलाई शक्तिमा रुपान्तरण गर्ने गर्छ । यसरी इन्सुलिनले काम नगर्ने वा शरीरमा इन्सुलिनको उत्पादन नै अति थोरै हुने यो स्थितिलाई बेलैमा उपचार गरिएन भने रगतमा बढी मात्रामा थुप्रिने ग्लुकोजले थुप्रै जटील खालका स्वास्थ्य समस्याहरु पैदा गरिदिन्छ । विशेष गरेर त्यसले हाम्रो आफ्नै शरीरको अंगहरु विशेष गरेर आँखा, मुटु र मृगौलाहरुलाई नोक्सान गर्न सक्छ ।  

Title Photo: https://cdn-prod.medicalnewstoday.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप