दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा: मन्त्री भट्टराई
भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डमा पुर्याइने बताएका छन् ।
चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिए ।
उनले चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढङ्गले विकास र विस्तार गर्ने गुरुयोजनाको समर्थन गर्दै यसका लागि जग्गा अधिग्रहण गर्दा कसैले पनि विवाद निकाल्न नहुने धारणा राखे । ‘प्रधानमन्त्रीको गृह जिल्लाको एयरपोर्ट भएको कारण यसमा विशेष जोड हुन्छ’, मन्त्री भट्टराईले भने, ‘फ्लाइट सेफ्टी र रन–वे विस्तारका लागि केही सरकारी र केही निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको रहेछ, यसमा सबैले आफ्ना ठाउँबाट सहयोग गरिदिन आग्रह गर्छु ।’
सैद्धान्तिकरुपमा सबै जमीन राज्यको भएको बताउँदै उहाँले जग्गाधनीलाई उचित मुआब्जा र विकल्प दिएर जग्गा अधिग्रहण गरिने जानकारी दिए, ‘तर यो जग्गाको भाउ यति र उति भनेर उकास्ने र भड्काउने काम कतैबाट पनि नगरियोस्’, उनले भने, ‘जमिनको अवधारणामा पूँजीवाद र समाजवाद हुँदैन, यसरी गएन भने विकास हुँदैन ।’
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले विमानस्थलका लागि १०० बिघा जग्गा थप्नुपर्ने आवश्यकता औँल्याए । महाप्रबन्धक पोखरेलले चन्द्रगढी विमानस्थलको पूर्वी भागमा नजिकै भारतीय सीमा र दक्षिणतर्फ घना आवादी भएको जानकारी दिँदै अब उत्तरतिरको जिल्ला कारागार र निजी जग्गा अधिग्रहण गरी नयाँ टर्निमल भवन बनाउनुपर्ने तथा पश्चिमतिर रहेको नेपाली सेनाको ब्यारेक र जिल्ला प्रशासन कार्यालय हटाएर विमानस्थलको एप्रोच रन–वे विस्तार गर्नुपर्ने बताए ।
चन्द्रगढी विमानस्थलका व्यवस्थापक पूर्ण चुडालले दैनिक औसत ६५० जना यात्रुले सेवा लिने विमानस्थललाई विस्तार र विकास गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन रु चार अर्ब, २० करोड लागत लाग्ने गुरुयोजना तयार भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म