शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी ‘मिसन’का लागि देउवाको रणनीति

मङ्गलबार, १७ मङ्सिर २०७६, १० : १४
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनको ४३ महिनापछि सङ्गठनिक संरचना निर्माणको तयारीमा जुटेका छन् ।

२०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट काँग्रेसको कमान्ड सम्हालेका देउवाले यो बीचमा साङ्गठनिक संरचना निर्माणलाई प्रथमिकता दिएनन् ।

४३ महिनासम्म देउवाले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाहेक एउटा पनि केन्द्रीय विभाग गठन गरेका छैनन् ।

उपनिर्वाचन सकिएसँगै अब देउवाको पहिलो प्राथमिकता साङ्गठनिक संरचना निर्माण रहेको केन्द्रीय सदस्य रमेश लेखक बताउँछन् ।

तत्कालीन विधानले दुई महिना र गत पुसको महासमिति बैठकबाट पारित नयाँ विधानअनुसार पनि महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ ।

नयाँ विधानले केन्द्रीय विभाग २८ वटा हुने व्यवस्था गरेको छ । विधान संशोधन भएको दस महिनामै २८ विभागलाई टुक्र्याएर ४५ बनाउने देउवाको तयारी छ ।

यसअघि तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा विभाग थपेर ४२ वटा पुर्याइएको थियो ।

विभाग बढी हुँदा साङ्गठनिक गतिविधि भद्रगोल हुने गरेको भन्दै विधान संशोधनका बेला २८ वटामा झारिएको थियो । तर देउवाले १४औँ महाधिवेशनाई ‘मिसन’ बनाएर आफूनिकट नेताहरुको व्यवस्थापनका लागि विभाग टुक्र्याउन लागिपरेको केन्द्रीय सदस्य शेखर कोइरालाको बुझाइ छ ।

‘विधान संशोधन गर्दा विभागको सङ्ख्या किन घटाइयो र अहिले किन बढाउनुपर्यो ? यसको जबाफ दिनुपर्छ,’ कोइरालाले भने, ‘१४औँ महाधिवेशनमा सत्ता कब्जा गर्ने नियतले विभागको सङ्ख्या बढाउँदै केन्द्रीय सदस्यहरुको व्यवस्थापन गर्न खोजेको प्रस्ट हुन्छ । यसले महाधिवेशनको सुनिश्चितमाथि पनि प्रश्न उठाउँछ ।’

देउवाले यता नेतृत्वविहीन भ्रातृ संस्था र केन्द्रीय कार्यसम्पादन समिति गठनमा पनि चासो देखाएका छन् ।  उनले यतिबेला देखाएको तीव्र चासोलाई १४औँ महाधिवेशनमा पार्टी गठन आफू अनुकूल तयार पार्न थालिएको संस्थापनइतर पक्षको बुझिएको छ ।

पार्टीका संरचनालाई पूर्णता दिएर पार्टीलाई पूर्णरूपमा जागृत बनाए महाधिवेशनमा होमिने देउवाको योजना रहेको लेखकको तर्क छ ।

त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माणको तयारीमा छन् देउवा ।

जसबाट आफूनिकट नेता–कार्यकर्ताको व्यवस्थापन हुँदा अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जाने उनको रणनीति देखिन्छ ।

नियमित महाधिवेशन आगामी फागुनमा हुनुपर्ने भए पनि विधानको सुविधा उपयोग गर्दै देउवाले ०७७ फागुनमा मात्रै महाधिवेशन गर्ने तयारी गरेका छन् । त्यहीअनुसार पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउने देउवाको तयारी छ ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकपछि बारम्बार महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

काँग्रेसमा केन्द्रीय महाधिवेशन गर्नका लागि करिब ६ महिना क्रियाशील सदस्यताको टुङ्गो लगाउन र अर्को ६ महिना बुथ, वडा, क्षेत्र, प्रदेश अधिवेशन गर्न लाग्छ ।

सभापति देउवा यहीअनुसार अगाडि बढ्ने रणनीतिमा रहेको बताए । गएको भदौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कात्तिकसम्म पार्टी सङ्गठनको वडा तहको समायोजन सक्ने, मङ्सिरभर क्रियाशील सदस्यताको अद्यावधि गर्ने, त्यसपछि क्रियाशील सदस्यता वितरण र महाधिवेशन कार्यतालिका तोक्ने निर्णय गरेको थियो ।

स्थानीय तहमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार बाँकी जिल्लाको समायोजनको काम टुङ्ग्याउन, विदेशस्थित जनसम्पर्क समितिलाई अधिवेशनका लागि परिपत्र गरी क्रियाशील सदस्यता उपलब्ध गराउने र पार्टी विधानअनुसार नयाँ प्रवेशी सदस्यहरुको क्रियाशील सदस्यता वडाबाटै सिफारिसका लागि पठाउने देउवाले तयारी गरेका छन् ।

देउवाको आगामी कदम काँग्रेसजनका लागि अर्थपूर्ण हुनेछ । किनभने सभापतिमा दोहोरिने सङ्केत गर्दै आएका देउवाका आगामी निर्णयहरु आफूअनुकूल महाधिवेशनको माहोल निर्माण गर्नेमा केन्द्रित हुने छ ।

संस्थापन पक्षबाट आसन्न पार्टी महाधिवेशनमा अहिलेसम्म देउवा सभापतिका एक्ला दाबेदारको रूपमा देखिएका छन् ।

आम निर्वाचनपछि हेटौँडामा भएको पार्टीका जिल्ला सभापतिको भेलामा देउवा त्यसको पहिलो सङ्केत छोडेका थिए ।

उनले भनेका थिए, ‘हाम्रो पराजय र कम्युनिस्ट पार्टीहरुको एकीकरणले चुनौती थपिएको छ । तर म विचलित भएको छैन । मैले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने प्रण गरेको छु ।’

त्यसयता देउवाले ‘काँग्रेसलाई पहिलो पार्टी नबनाएर राजनीतिबाट विश्राम नलिने’ उद्घोष गर्दै आएका छन् ।

देउवा क्याम्पमा सभापतिमा उनको उम्मेदवारी रहेको खण्डमा चुनौती उठाउन दोस्रो तहका कुनै नेता तयार भएको देखिँदैन । अहिलेसम्म कसैले पनि सभापतिका लागि इच्छा जाहेर गरेको पनि पाइँदैन । उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार पनि देउवाले आफैं नछाडेसम्म चुनौती दिने पक्षमा छैनन् ।

यताइतर पक्षमा भने दोस्रो पुस्ताका नेताहरु सभापतिका लागि खुलेर लागेका छन् । उनीहरुले देउवा र पौडेलले अब उत्तराधिकारी खोज्नु पार्टी र देशको हितमा हुने भन्दै विश्राम लिन दबाब दिँदै आएका छन् । तर देउवा पार्टी सभापति भएर अझै मुलुकको प्रधानमन्त्री बन्ने आसमा छन् ।

संस्थापनइतर खेमामा देउवालाई चुनौती दिन पौडेल अग्रभागमा छन् भने महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि देउवालाई चुनौती दिने लाइनमा छन् ।

यद्यपि इतर पक्षभित्र कसले जित्ने भन्ने प्रतिस्पर्धा छ । जसबाट आफूनो मिसन पूरा हुनेमा देउवालाई आशावादी छ । काँग्रेसमा पार्टीको भावी नेतृत्वमा आफूलाई उभ्याउन यति बेला त्रिकोणात्मक प्रतिस्पर्धा चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप